नयाँ शक्तिले देखेको ‘समकालीन नेपालका प्रमुख अन्तर्विरोध’, प्रस्तावित दस्तावेजको अंशसहित
जेष्ठ १३ गते, २०७३ बिहिवार 26th May, 2016 Thu०७:३९:३७ मा प्रकाशित
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पार्टी घोषणा नजिकिएसँगै राजनीतिक प्रतिवेदन, पार्टीको विधान तथा भेला सम्मेलन कार्यविधि निर्माणलाई तिव्रता दिएका छन् । केही समय अघि तात्कालिन एमाओवादीबाट बाहिरिएका भट्टाराई नयाँ लक्ष्य र उदेश्य रहने भनिएको नयाँ शक्तिका लागी बाबुराम भट्टराईले लेखेको झण्डै २२ हजार शब्दको दस्तावेजमा १७ वटा शिर्षक सहितको दस्तावेज अहिले नयाँ शक्तिभित्र छलफलका लागी दिइएको छ । सोही दस्तावेजको ५ नं. बुँदामा ‘समकालीन अन्तर्विरोध र पाँच ‘स’’ नामक बुँदा समेत छ । सोही बुँदामा नेपालको राजनीतिक अन्तरविरोधबारे भट्टराईले व्याख्या गरेका छन् । सोहि दस्तावेजको अंश याँहा हामीले प्रस्तुत गरेका छौं । राजनीति मूलतः सामाजिक, आर्थिक र साँस्कृतिक अन्तर्विरोधलाई हल गर्ने सचेतन र संगठित मानवीय प्रयत्न हो । मानवीय अपेक्षा तथा आवश्यकता र समाजको वास्तविक स्थिति बीच जुन दूरी सृजना हुन्छ, त्यसैलाई अन्तर्विरोध भन्न सकिन्छ । मानवीय चिन्तन, चेतना, र अपेक्षाहरु निरन्तर परिवर्तनशील हुन्छन, तर तदनुरुप समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकास नभएको हुनसक्छ । यस्तो खाडलले समाजमा असन्तोष, विग्रह र समस्या पैदा गर्दछ । त्यसलाई हल गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुन्छ । हुनु पर्दछ ।
कुनै पनि समाजका अन्तर्विरोधहरु स्थीर रहँदैनन् । समय र परिस्थिति अनुसार ती बद्लिरहन्छन् । युगको परिवर्तनसंगै अन्तर्विरोध पनि परिवर्तन हुन्छ । तसर्थ हिजोको अन्तर्विरोध विश्लेषणले अबको राजनीति अगाडि जान सक्दैन । नेपाली समाजका आधारभूत तथा उपरीसंरचनीय अन्तर्विरोधहरुमा निक्कै परिवर्तन आएको छ । त्यसलाई हामीले पहिचान गर्न र तदनुरुप हल गर्ने उपायहरु सुझाउन सक्नुपर्छ ।
नयाँ शक्ति नेपालले समकालिन नेपाली समाजका प्रमुख अन्तर्विरोधहरुलाई पाँच अन्तर्विरोध र त्यसलाई हल गर्ने उपायलाई पाँच ‘स’का रुपमा सूत्रबद्ध गर्ने प्रयास गरेको छः
पहिलो– पिछडिएको आर्थिक आधार र विकसित राजनीतिक उपरीसंरचनाबीचको अन्तर्विरोधःकुनै पनि समाज/राज्य उसको निश्चित राजनीतिक उपरीसंरचना र आर्थिक आधारबीचको द्वन्दात्मक अन्तरसम्बन्धले बनेको/टिकेको हुन्छ । ती दुइबीचमा गतिशील सन्तुलन कायम हुन सकेन भने विग्रह, विद्रोह, क्रान्ति हुन्छ । नेपालमा झण्डै आठ दशक लामो संघर्षपछि औपचारिक रुपमा राजनीतिक उपरीसंरचनामा अग्रगामी लोकतान्त्रिक रुपान्तरण भएको छ । तर समाजको आर्थिक संरचनामा सोही अनुरुप क्रान्ति हुन सकिरहेको छैन । आर्थिक विकासले फड्को मार्न नसकेको मात्र हैन, देशको आर्थिक अवस्था झन्झन् खराब हुँदै गएको छ । निर्वाहमुखी कृषिको बाहुल्य र निरपेक्ष गरीबीको दुस्चक्रमा रहेको देशमा विगत पच्चिस वर्षदेखि औसत आर्थिक बृद्धिदर चार प्रतिशतभन्दा कम छ । अझै नेपाल अत्यन्त अल्पविकसित देशहरुको समूहमा रहँदै आएको छ । भौतिक र आर्थिक पूर्वाधारहरु अत्यन्त कमजोर छन् । वेरोजगारी व्याप्त छ । देश रेमिट्यान्सको भरमा टिकेको छ । अर्थतन्त्र पूरै परनिर्भर छ । कूल उपभोगको करिब ८३ प्रतिशत हामी अरु देशबाट आयात गर्दछौं । आन्तरिक क्षेत्रीय असन्तुलन उत्तिकै गम्भीर छ ।
नयाँ संविधानले सामाजिक न्यायमा आधारित कैयौं संरक्षणमुखी तथा प्रगतिशील मान्यताहरुलाई मौलिक हकका रुपमा नै स्वीकार गरेको छ । तर देशको तीब्र गतिमा आर्थिक विकास हुन सकेन, राज्यको आयस्रोत बलियो भएन भने यी प्रावधानहरु कागजमा मात्र सीमित हुनेछन् । फलतः आर्थिक अल्पविकासको समस्याले राजनीतिक प्रणालीलाई नै धान्न नसक्ने र लोकतन्त्र जोखिममा पर्ने समस्या आउन सक्छ । समाजको समग्र उत्पादक शक्ति र उत्पादकत्वको उच्च विकास विना समुन्नत समाजवादको ध्येय कोरा कल्पना मात्र हुनेछ ।
यो अन्तर्विरोध हल गर्न हामीले अबिलम्ब तीव्र आर्थिक विकास र समृद्धिको बाटो अबलम्बन गर्नैपर्छ ।तसर्थ नयाँ शक्ति नेपालले आफ्नो प्रतिवद्धताको पाँच ‘स’ मध्येको पहिलो ‘स’ लाई ‘समतामूलक समृद्धि’ भनेको छ । केही दशकसम्म सम्पूर्ण ध्यान समतामूलक आर्थिक विकास र समृद्धिमा केन्द्रित गर्ने नयाँ शक्ति नेपालको मुख्य प्रतिवद्धता रहेको छ ।
दोस्रो– औपचारिक लोकतन्त्र र वास्तविक लोकतन्त्र बीचको अन्तर्विरोध : दशकौं लामो संघर्षपछिनयाँ संविधानसँगै हामीले लोकतन्त्रलाई स्थापित र संस्थागत गरेका त छौंतर हाम्रो लोकतन्त्र अद्यापि नाम मात्रको छ । हाम्रो लोकतन्त्रको रुप प्रतिनिधिमूलक, औपचारिक र सीमित प्रकृतिको छ । लोकतन्त्रका नाममा दलतन्त्र, दलतन्त्रका नाममा गुटतन्त्र, गुटतन्त्रका नाममा नेतातन्त्र र नेतातन्त्रका नाममा व्यक्तितन्त्रलाई नै हामीले लोकतन्त्रको अभ्यास बनाएका छौं । नागरिक सार्वभौमसत्तासम्पन्न भनिए पनि वास्तविक रुपमा निर्णायक हुन सकेका छैनन् ।
राष्ट्रिय जीवनका सबै क्षेत्रमा डनगिरी, माफियातन्त्र, गिरोहतन्त्र हावी भएको छ । एक प्रकारको राजनीतिक सिण्डिकेटलाई अनौपचारिकरुपमासंस्थागत गरिएको छ । ठूला पार्टी वा शीर्ष समूहका नाममा जे जस्तो निर्णय भए पनि तिनका कार्यकर्ता र नागरिकले मान्दिनै पर्ने अवस्था सृजना भएको छ । राजनीतिक सम्भ्रान्त (एलिट)हरुको एउटा सानो समूहले राज्यसत्ताको सम्पूर्णरुपमा दोहन र उपयोग गरिरहेको छ । नागरिक निरीह र रमिते भएकाछन् । हाम्रो निर्वाचन प्रणालीले नागरिकलाई पाँच वर्षमा एक भोट हाल्ने बाहेक राजनीतिमाथि हस्तक्षेप गर्ने निर्णायक अधिकार दिएको छैन । त्यस्तो अधिकारलाई प्रत्याभूत गर्ने विधि र पद्धतिहरु सुनिश्चित छैनन् ।
वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य विविधता र विभेद व्याप्त भएको मुलुकमा समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्त औपचारिक रुपमा स्वीकारिए पनि त्यसलाई व्यवहारतः कार्यान्वयन गर्ने अनेकौं अड्चनहरु विद्यमान छन्। राज्यका महत्वपूर्ण अंगहरु र देशको साधन श्रोत माथि निश्चित् वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका एकाधिकार अद्यापि कायम छ ।
समग्रमा भन्नु पर्दा हाम्रो लोकतन्त्र औपचारिक मात्र छ, नागरिक वास्तविक लोकतन्त्र चाहन्छन् । यो अन्तर्विरोध निक्कै ठूलो अन्तर्विरोध हो । यो अन्तर्विरोधलाई हल गर्न नयाँ शक्ति नेपालले दोस्रो ‘स’‘समावेशी÷समानुपातिकसहभागितामूलक लोकतन्त्र’ प्रस्तावित गरेको छ ।
तेस्रो– भूराजनीतिक जटीलता, भूमण्डलीकरण र राष्ट्रिय हित बीचको अन्तर्विरोधःनेपाललाई मात्र हैन, विश्वका सबै देशहरु यतिखेर भूमण्डलीकरणको तीव्र प्रक्रियामा लपेटिदै गएकाछन् । भूमण्डलीकरण भनेको साम्राज्यवाद हो भनेर शाब्दिक निन्दा गर्ने र व्यवहारमा त्यसै द्वारा लपेटिँदै जाने आत्मरतिबाट हामीले राष्ट्रिय हितहरुको रक्षा गर्न सक्ने छैनौं । भूमण्डलीकरणले चुनौति र अवसर दुबै, जोखिम र संभावना दुबै ल्याएको छ । हामीले भूमण्डलीकरणका जोखिमहरुलाई कम गर्न, चुनौतिलाई सामना गर्न, अवसर र संभावनाहरुलाई उपयोग गर्न सक्ने गरी आफूलाई तयार राख्नु पर्ने हुन्छ । अहिलेको युगमा हामी भूमण्डलीकरणबाट न त भाग्नसम्भव हुन्छ नत स्वस्फूर्त र योजनाविहीन सहभागिता जनाउन नै उपयुक्त हुन्छ ।
भूमण्डलीकरणसँगै भूराजनीतिक हिसाबले पनि हामी एक प्रकारको जटीलतामा छौं । हाम्रा दुबै ठूला छिमेकीहरुको हाम्रा लागि उत्तिकै महत्व छ । हामी कुनै एकलाई गाली गरेर अर्काको नजिक जाने, एकका विरुद्ध अर्को कार्ड देखाउने, सत्तास्वार्थमा लागि राष्ट्रिय आत्मसमर्पणको नीति अपनाउने जस्ता गल्ती गरेर अगाडि बढ्न सक्दैनौं । यस्ता समस्याहरु आज निक्कै जटिल भएर गएकाछन् ।यी समस्यालाई हल गर्न नयाँ शक्ति नेपालले तेस्रो ‘स’ सुत्रीकरण गरेको छ, जसलाई हामीले ‘स्वाधीनता÷सार्वभौमसत्ता’ भनेका छौं ।
चाैथाे–सुशासितराज्य/सफा राजनीतिको अपेक्षा र भ्रष्ट राज्ययन्त्र/राजनीतिबीचको अन्तर्विरोधःनेपाली नागरिकहरु सभ्य, सुशासित राज्ययन्त्र, सफा राजनीति र सार्वजनिक जीवनमा सदाचार/सु–संस्कृति चाहन्छन् । तर हाम्रो राज्ययन्त्र भने यसको ठीक विपरित छ । भ्रष्टाचार, ढिलासुस्ती, कुशासनजस्ता मनोवृत्तिहरु हाम्रो राज्ययन्त्रका अन्तर्निहित गुणझैं बनेकाछन् ।जालझेल, देखाबटी बढप्पन, अपारदर्शीता, राज्यस्रोतको नीतिगत तथा अनैतिक दोहन आम समस्या हुँदै गएकाछन् । राज्य प्रणाली मात्र हैन, त्यसको नेतृत्व गर्ने राजनीतिक दल र नेताहरु नै भ्रष्टाचार, दूराचार, अनैतिकता, अपारदर्शिताका मूल स्रोत बन्दै गएका छन् । आम जनता र विशेषतः युवा पंक्तिमा फोहोर राजनीतिप्रति भयंकर वितृष्णा बढ्दै गएको छ । सम्पूर्ण समाजमा भ्रष्टता संस्कृति बन्दै जाने जोखिम बढेको छ । यो समस्यालाई हामीले अबिलम्ब हल गर्नै पर्छ, यसका लागि नयाँ शक्ति नेपालले चौथो ‘स’को रुपमा‘सुशासन/सदाचार’ सम्बन्धित नीति तथा कार्यक्रमहरु प्रस्तावित गरेको छ र सफा राजनीतिलाई आफ्नो प्रस्थानविन्दू बनाउने प्रण गरेको छ ।
पाँचाैं– वैचारिक जडता र बद्लिएको वस्तुगत परिस्थिति/राजनीतिक चेतना बीचको अन्तर्विरोधःहरेक युगका दार्शनिक तथा वैचारिक चिन्तन पद्धतिका निश्चित सीमा हुन्छन् । तिनीहरुले आआफ्नो युगका समस्यालाई चित्रण गर्न र समाधान गर्न प्रयत्न गरेका हुन्छन् । त्यसक्रममा तिनीहरुले कतिपय सार्वभौम तथा सर्वकालिक नियमहरुलाई पनि समाउने र उपयोग गर्ने प्रयास गरेका हुन्छन् । एकपटक निर्माण वा स्थापित गरेको दार्शनिकतथा वैचारिक प्रस्तावना युगौंयुगकालागि हुँदैन । त्यसभित्रका सार्वभौम तथा सर्वकालिक सत्यलाई समाउने, बाँकी विषयलाई निरन्तर परिमार्जनर सुधार गर्ने तरिकाबाट मात्र अगाडि बढ्न सकिन्छ । दर्शनले संसारको व्याख्या गर्ने मात्र होइन मुख्यतः त्यसलाई बदल्न सक्नुपर्छ ।
तर नेपाली राजनीतिमा आज पनि यो यथार्थलाई गहिरोगरी आत्मसात गरिएको छैन । अठारौं, उन्नाइसौं र बीसौं शताब्दीका अनेकन शास्त्रीय बहसलाई आज पनि राजनीतिक चेतनाको मानक बनाएर एकअर्काप्रति पूर्वाग्रह राख्ने, अनावश्यक निन्दा र गालीगलौज गर्ने वैचारिक जडता बाँकी नै छ । यस्ता प्रवृतिले सृजनशील परिकल्पना र वैचारिक उन्नयनलाई निरुत्साहित गर्न खोजेकाछन् ।
विचार मानिसका लागि हो, विचारका लागि मानिस हैन । दर्शन मानिसले बनाउने हो, दर्शनले मानिस बनाउने हैन । मान्छेका लागि मान्छेको विकास, गति र खुशीको सबैभन्दा बढी महत्व हुन्छ । ती चिजहरुलाई प्रवद्र्धन गर्न विचार, दर्शन चाहिने हो । तर हामी कहाँ विचारलाई जडनैतिकताका रुपमा लिने समस्या छ । यो अन्तर्विरोधलाई पनि हल गर्ने साहस हामीले गर्नै पर्छ ।
नयाँ शक्ति नेपालविचार/दर्शन र राजनीतिक कार्यदिशाको निरन्तर विकास र उन्नयनको पक्षमा छ । हामी तत्काल पुँजीवादी उत्पादक शक्तिको विकास गर्दै समाजवादको आधार तयार गर्न चाहन्छौं । निःसन्देश हाम्रो लक्ष्य समाजवाद हो । तर हाम्रो समाजवादको स्वरुप र चरित्र विगतका प्रयोगहरुभन्दा अगाडि बढेको हुनेछ ।
हामी समाजवादको आदर्शलाई नयाँ युगका यथार्थ र नेपाली समाजको मौलिकतामा पुनर्परिभाषित गर्ने प्रयास गर्नेछौं । हामीले कुनै शास्त्रीय विरासत वा जडवैचारिकतामा आधारित समाजवादको कुरा गरिरहेका छैनौं । हामी एक फरक धारको, वैकल्पिक समाजवादको कुरा गरिरहेका छौं जसलाई पाँचौं ‘स’‘समुन्नत समाजवाद’ भन्न सकिन्छ ।
पाँच ‘स’वस्तुतः नयाँ शक्ति नेपालको सैद्धान्तिक सुत्रीकरण हो । हरेक ‘स’भित्र हाम्रा निश्चित, ठोस र मूर्त नीति, योजना तथा कार्यक्रमहरु प्रस्तावित हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: