‘कुरा काट्नेको त समर्थन गर्दिनँ भने मान्छे काट्नेको समर्थन गर्ने कुरै भएन ।’त्यसपछि मैले लामो समयसम्म मनमोहन अधिकारी, निर्मल लामा, कृष्णप्रसाद भट्टराईको नक्कल गरें । तर, मैले शरीरको हाउभाउ र सम्पूर्ण गेटअपसहित नक्कल गरेको भनेको चाहिँ पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डको हो । मैले प्रचण्ड र ज्ञानेन्द्रको नक्कल लगभग सँगसँगै गरेको हुँ । तर, ज्ञानेन्द्र र प्रचण्डको नक्कल गर्नुका लक्ष्य भने फरक–फरक थिए । ज्ञानेन्द्रको नक्कल गर्नुको लक्ष्य राजनीतिक परिवर्तनलाई समर्थन गर्ने र मेरो कलाकारितालाई जनआन्दोलनसँग जोड्ने अभियान थियो । प्रचण्डको नक्कल गर्नुको लक्ष्यचाहिँ फरक छ । एउटा विद्रोही शक्ति, जो निश्चित राजनीतिक आस्था र आदर्श बोकेर ‘जङ्गल’ मा पुगेको थियो अनि त्यसप्रति जनताको निकै ठूलो अपेक्षा थियो । भलै, त्यो बाटो खराब थियो; म कुरा काट्नेको त समर्थन गर्दिनँ भने मान्छे काट्नेको समर्थन गर्ने त कुरै भएन । त्यो जनताकै ‘इस्यु’ थियो भन्ने ढङ्गले राजनीतिक आस्थालाई समर्थन गर्ने अनि हिंसाको बाटो र गतिविधिहरुको विरोध गर्ने ढङ्गले मैले उनको क्यारिकेचर गरेको हुँ । प्रचण्डका कुरा प्रचण्ड भूमितग हुनुहुन्थ्यो। भर्खरभर्खर उनको फोटो बाहिर आएको थियो । त्यो बेला म जुँगा पाल्थें । मेरा साथीहरु ‘के हो मनोजजी ! जुगाँमा त तपाईंको अनुहार प्रचण्डजस्तै देखियो नि’ भन्थे । त्यसले पनि मलाई केही प्रभाव पा¥यो होला । तर, कान्तिपुर टेलिभिजनले उहाँको भूमिगत केन्द्रबाटै ल्याएर प्रचण्डको पहिलो अन्तर्वार्ता प्रशारण गरेपछि मैले त्यो नक्कललाई बारम्बार दोहर्याएँ । किनभने, म नक्कल गर्ने मान्छे नक्कल पनि फेरि जसको–तसको होइन–प्रचण्डको ! जसले समाज परिवर्तनका लागि प्रभाव पारेको हुन्छ, असर पारेको हुन्छ– त्यो व्यक्तित्वको नक्कल गर्नुको मज्जै बेग्लै हुन्छ । ज्ञानेन्द्र पछाडि अबका मेरा पात्र प्रचण्ड हुन् भन्ने हिसाबले मैले उहाँका लेखहरु पढ्न थालें । फोटो त आइसकेको थियो । सँगसँगै, कान्तिपुरको उहाँको अन्तर्वार्ता आइसकेपछि मैले उहाँका शब्दचयन, उहाँले बोल्ने भाषा, छान्ने वाक्यहरु– सबैको अध्ययन गर्न थालें । र, त्यो अन्तर्वार्तामा उहाँको आम मान्छेभन्दा अलिकति फरक खालको अभिव्यक्ति–शैली, पिङ मच्चिएजस्तो मच्चिने तरिका, कुनै पनि कुरा बोल्दा अलिकति ‘स्ट्रेस’ दिएर बोल्ने, एउटा कुराको अर्थ दिँदा बाह्र–सत्ताइस घुमाएर बोल्ने ‘कम्युनिष्ट खालको’ हुन्छ नि, हो त्यो तरिका थाहा पाएँ । ‘भात खानु भो ?’ भनेर सोध्यो भने ‘खाएँ’ भन्नुको सट्टा ‘इतिहासमा सिक्स्टी–सिक्स्टी वा आदिकालमा के भो...’ भन्नेबाट सुरु गरेर बोल्ने अभिव्यक्ति–कलालाई मैले हास्य–व्यङ्ग्यका लागि राम्रो ‘फम्र्याट’ हुन सक्छ भन्ने हिसाबले सोचें र सोहीअनुरुप प्रचण्डको नक्कल गरें । यो प्रस्तुति धेरै ठाउँका गाइजात्रामा पनि गरें ।
‘जसले समाज परिवर्तनका लागि प्रभाव पारेको हुन्छ, उसको नक्कल गर्नुको मज्जै बेग्लै हुन्छ ।’जब प्रचण्ड खुला हुनुभयो, उहाँले मेरा कार्यक्रम हेर्नुभयो । आज पनि मलाई याद छ, उहाँ भर्खरभर्खर खुलेका बेला उहाँको लहर चलेको थियो । जे भए पनि एउटा विद्रोही शक्तिको मूल नेता । उहाँले हामीलाई भेट्न बोलाउनुभयो, हामी साथीभाइहरुसहित भेट्न गएका थियौँ । उहासँग थुप्रै पटक भेटियो, बसियो, खाइयो । पहिलोपटक भेट्दा उहाँमा मान्छेलाई प्रभाव पार्ने क्षमता थियो, अहिले के छ– थाहा छैन । अहिले त पार्टीले एउटा मान्छे ड्युटीमै खटाएको छ रे, जब प्रचण्ड धेरै बोल्न थाल्छन् नि त्यसपछि पछाडिबाट चिमोट्नका लागि; यो ‘रियल’ होइन, ‘गजुरियल’ मात्रै हो है, कुरो चाहिँ । प्रचण्डले त्यतिखेर मलाई भन्नुभयो– ‘ओहो ! यस्तो राम्रो प्रतिभा भएको, ट्यालेन्ट, मने यस्तो बौद्धिक कलाकार, विचार र मने कलाको फ्युजन !’ उहाँले मलाई उचालिहाल्नु भो । म त कहाँ पुगें–पुगें । मलाई त्यहाँ पुर्याएर अब के भन्नुभो भने ‘यस्तो प्रतिभा जन्माउने बाउआमा कस्ता होलान् ?’ उहाँ फेरि बाउआमामा पुग्नुभो। उहाँको त्यो शैलीबाट पनि म निकै प्रभावित भएको थिएँ । एभरेज मान्छे हुन् प्रचण्ड । म कुनै राजनीतिक हिसाबले आग्रह वा पूर्वाग्रह राख्दिनँ । उहाँका कतिपय बाटाका बारेमा, जीवनशैलीका कुराहरुमा मेरा विमति होलान् । उहाँ सार्वजनिक मान्छे भएकाले उहाँले कतिपय व्यक्तिगत इच्छाहरु पनि दबाएर राख्नुपर्छ । इच्छा त के–के हुन्छन्–हुन्छन् मान्छेका । यसरी मैले उहाँलाई नजिकबाट पढ्ने मौका पनि पाएको छु । उहाँको हाउभाउ इभन जुँगाको स्टाइल, कति दिनमा काट्छन्, कपालमा कुन तेल लाउँछन्, कुन जेल लाउँछन् भन्ने कुरो पनि मैले नजिकबाट मिहिन पाराले गहिरो अध्ययन गरेर नक्कल गरेको हुँ । तपाईं अहिले युट्युबमा पनि मेरो पुरानो भिडियो देख्नुहुन्छ ।
साँच्चिकै देश र जनताका लागि लड्ने मान्छे पनि माओवादी अनि यसो ‘खान पाइन्छ माओवादी भएपछि’ भन्यो– त्यो पनि माओवादी ।त्यतिखेरको (०६२ को) र अहिलेको भिडियोमा धेरै अन्तर पाउनुहुन्छ । अहिले त मैले प्रचण्डलाई पूरै सन्यासी बनाइदिइसकें । अर्काे रुप भा’छ प्रचण्डको । प्रचण्डले पूरै राजनीति छाडेर ‘प्रचण्डम् बैराग्यम्’ भएर सन्यास लिनु भा’छ मेरो भिडियोमा । त्यो रुप हेर्नु’भो भने आकाश–जमिनको फरक पाउनुहुन्छ । त्यतिखेरका जुँगा पनि अलि अर्कै खालका, दुब्ला–पातला, सर्ट पनि एउटै मात्रै– खैरोखैरो सर्ट, जुन माओवादीले भूमिगतबाट आउनासाथ लगाउँथे । त्यसपछि उहाँहरु टाईमा आउनुभो, सुटमा आउनुभो । अबचाहिँ स्विस घडीमा आउनुभो । अनि त्यसपछाडि ‘तेल’ को ठाउँमा ‘जेल’ आयो । उहाँका हरेक गतिविधिलाई मैले बारम्बार पछ्याइरहें । अहिले पनि मैले बारम्बार उहाँको नक्कल गर्छु । ०६२–६३ मा देखिएका प्रचण्ड र अहिले देखिएका प्रचण्डको ‘लुक्स्’ मा काफी अन्तर छ । जसरी उहाँको राजनीति लर्खराउँदै घुमिरहन्छ, त्यसरी नै मैले उहाँका पाइलाअनुसार आफ्नो ‘स्क्रिप्ट’ पनि चेन्ज गर्दै आएको छु ।
.......................
त्यतिबेला एउटा त्यस्तो बेला थियो, सबै मान्छेहरु माओवादी हुने, ढुङ्गा–माटो समेत माओवादी हुने, रुख–विरुवा पनि माओवादी नै माओवादी हुँ भन्ने । साँच्चिकै देश र जनताका लागि लड्ने मान्छे पनि माओवादी अनि यसो ‘खान पाइन्छ माओवादी भएपछि’ भन्यो– त्यो पनि माओवादी । ‘डन’–गुन्डाहरु पनि जोगिन माओवादी । यस्तो बेला उहाँहरुलाई पनि अपेक्षा थियो होला– हामीजस्ता नागरिक समाजका मान्छे पनि माओवादी भइदिए !
मैले उहाँलाई प्रष्ट भनिदिएँ– ‘कमरेड ! हामीजस्ता मान्छेलाई कुनै पनि पार्टीमा आउन या जान प्रोत्साहन नगर्नुहोस् । तपाईं पार्टीकै कार्यकर्ता बनाउनोस् तर हामीजस्ता सामाजिक कार्यकर्तालाई पनि पार्टीको कार्यकर्ता बनाउनुभो भने देशलाई त घाटा हुन्छ नै, सामाजिक कार्यकर्ताहलाई पनि फाइदा हुँदैन र राजनीतिक पार्टी समेत कसैलाई पनि फाइदा हुँदैन । तपाईंका राम्रा कुराको समर्थन गरेकै हो, नराम्रा कुराको विरोध पनि गर्नुपर्छ; त्यसकाण वी आर सरी !’ म सम्झिन्छु ती दिनहरु । विरोध भईकन पनि कतिपय अन्तर्क्रिया कार्यक्रममा मलाई बोलाउनुहुन्छ अनि मलाई पनि मज्जा लाग्छ ।.......................
नेपालमा दुई नेता छन्, जसले व्यङ्ग्य पचाउन सक्छन्; एक– केपी ओली र अर्का– प्रचण्ड ।
प्रतिकृया लेख्नुहोस्: