सरकार बदल्न राजनैतिक क्षेत्रमा चलेको बहसलाई हेर्ने हो भने कुर्सीको लागि सरकारको विकल्प खोजेको जस्तो देखिन्छ,ओली सरकार फेर्ने विषय र माओवादीको आन्तरिक तयारीले यतिबेला कतिपयको होस गुमेको छ । त्यसको वास्तविकताहरु हामी सामाजिक सञ्जालमा राम्रोसँग देख्न सक्छौँ । होस् गुमाउने त छदै छ यहाँ नयाँ सरकार बनिहाले भने मन्त्री बन्ने दाउमा लागेकाहरु पनि उत्तिकै छन् । ओली सरकारले निरन्तरता पाइएको खण्डमा होस् गुमाउनेहरु र मन्त्ती बन्न ठीक्क परेकाहरुको अवस्था के हुने हो त्यो भने हेर्न बाँकी नै छ । सरकार बदल्न राजनैतिक क्षेत्रमा चलेको बहसलाई हेर्ने हो भने कुर्सीको लागि सरकारको विकल्प खोजेको जस्तो देखिन्छ, अन्तर्राष्ट्रिय समुदायको दबाबलाई हेर्ने हो भने उसको निर्देशन अनुसार नचल्दा सरकार ढाल्ने योजनामा लागेको जस्तो देखिन्छ । सरकार ढाल्न लागि परेका माओवादीको खास चाहना र लक्ष्य के हो भन्ने अझै प्रष्टिएको छैन । ओली सरकारको विकल्प खोज्नुमा धेरै वटा कारणहरु जोडिएको पाइन्छ । माओवादी भन्छ एमालेले सरकारमा बस्दाबस्दै फँसाउन खोज्यो । शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न एमालेले तत्परता देखाएनन् । तर जनताको चासो माओवादीको चिन्ताप्रति केन्द्रित छैनन् । उनीहरु केपी सरकारले जनतालाई सपनामा जिउन सिकाएकोप्रति आपत्ति प्रकट गर्दै तत्परताका साथ काम गर्ने सरकारको खोजीमा लागेका छन् । ०७२ असोज २४ मा प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले हालसम्म दर्जनौ सपनाहरु बाँडे तर त्यसको कार्यान्वयनको कुनै प्रक्रिया अघि बढेको छैन । कतै अनुसन्धान भएको छ भने कतै त्यो पनि भएको छैन । ओली सरकारलाई यति लागेको छ कि, बस् घोषणा गरे भइहाल्छ । यसले निश्चय पनि जनमानसमा एक प्रकारको आक्रोश पैदा गराएकै छ ।
नयाँ बन्ने सरकार ओली, देउवा या प्रचण्डमध्ये जो सुकैको नेतृत्वमा किन नबनोस् । हाम्रो आपत्ति नेतृत्वप्रति होइन, नेतृत्वले देशलाई लैजाने बाटो र देखाएको दिशाप्रति हो ।त्यसैगरी नयाँ संविधानप्रति असहमति जनाएका असन्तुष्ट पक्ष हालसम्म पनि आन्दोलनमै छन् । संविधान जारीपूर्व र त्यसपछि मधेसमा आगोको राँको बालेकाहरु अहिले आदिवासी जनजातिसँग मोर्चाबन्दी गर्दै संघीय गठबन्धनको नाममा राजधानी केन्द्रीत आन्दोलनमा छन् । संविधान संशोधनसहित केही महत्वपूर्ण सहमति गरी ललीपप देखाई मधेसी मोर्चाको आन्दोलन तुहाएका ओली सरकारले हालसम्म पनि आन्दोलनरत पक्षको माग सम्बोधनका लागि गम्भिरता देखाएका छैनन् । यसले केवल हामी सबैलाई बेफाइदा बाहेक अरु केही पुर्याउनेवाला छैन । राम्रा भन्दा नराम्रा काम गरेकै कारण अपजसका भारी बोक्न बाध्य ओली सरकारको विकल्प खोज्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा कुरा भनेका छन्, ‘जसको नेतृत्वमा सहमति जुट्छ, उसैको नेतृत्वमा नयाँ सरकार ।’ प्रधानमन्त्री ओलीसँग पटक–पटक बुँदाका–बुँदा हस्ताक्षरसहित लिखित सहमती गरेका प्रचण्ड यो पटक सरकार फेर्न कस्सिएका छन् । सरकार फेर्ने दौरानमा उनले भनेका छन् कि देउवा या ओलीको नेतृत्वमा सहमति जुटे पनि आपत्ति छैन, माओवादी पनि सरकारको नेतृत्व गर्न तयार छ । सरकार परिवर्तनको विषयमा माओवादीले संविधान कार्यान्वयनको विषयलाई पनि उठाएका छन् । पुनर्निर्माण, महंगी, कालोबजारी तथा भ्रष्टचारी न्युनीकरणलाई पनि साथ–साथै उठाएका छन् । तर त्यसमध्ये उसको मुख्य चिन्ता र चासो भनेको द्घन्द्घकालीन मुद्दा सम्बोधनमा केन्द्रित रहेको पाइन्छ । जुन विषयमा सहमति गरेर सरकार टिकाइराखेको छ, ओलीले प्रधानमन्त्रीको कुर्सीमा राज गर्न पाइरहेको छ, त्यसलाई नै लत्याएपछि नैतिकताको आधारमा माओवादीले सरकार फेर्ने अभ्यास थालिनु गरिनुपर्दछ । किनकी उसको मुख्य चिन्ता सम्बोधनको लागि उसले मुद्दाको आधारमा सहमति खोजेर जानुको विकल्प छैन । त्यसैले कांग्रेस या एमालेले माओवादीको मुख्य चिन्ता द्न्द्कालीन मुद्दा सम्बोधनमा गम्भीरता देखाउनुपर्दछ । किनकी विगतमा भएको सहमति र सम्झौतालाई कसैले बिर्सनु हुन्न । इतिहासको पाना पल्टाएर त्यसको समाधान खोज्न जरुरी छ ।
गणतन्त्रको नुन खाएर, संघीय सरकारमा सहभागी भएर खुलेर गणतन्त्रको विरोध गर्ने र संघीयतालाई कमजोर बनाउन खोज्नेहरु सरकारमा सहभागी नहोस् ।संविधान कार्यान्वयन, भुकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय एकताका साथै देशमा स्थिरता कायम गर्नका निम्ति हामीलाई राष्ट्रिय सरकार चाहिएको छ । स्थिरता कायम गर्नका निम्ति द्घन्द्घकालीन मुद्दा सम्बोधनको विषय पनि उत्तिकै जरुरत छ । छिमेकी देशको हस्तक्षेपकारी भूमिकालाई न्युनीकरण गर्न या नेपालको दू्रत गतिमा विकासका निम्ति राष्ट्रिय सरकार आवश्यक छ । केवल त्यो नयाँ बन्ने सरकार केपी शर्मा ओली, शेरबहादुर देउवा या प्रचण्डमध्ये जो सुकैको नेतृत्वमा किन नबनोस् । हाम्रो आपत्ति नेतृत्वप्रति होइन नेतृत्वले देशलाई लैजाने बाटो र देखाएको दिशाप्रति हो । कार्यान्वयनको सम्भावना नभएको योजना र त्यसले देखाएको देशको विकासको हावा गफको पछि दौडाउने प्रयास गर्ने कोही पनि नेताको नेतृत्वमा सरकार नबनोस् । कमसेकम गणतन्त्रको नुन खाएर, संघीय सरकारमा सहभागी भएर खुलेर गणतन्त्रको विरोध गर्ने र संघीयतालाई कमजोर बनाउन खोज्नेहरु सरकारमा सहभागी नहोस् । त्यसलाई बढार्दै नयाँ संरचनामा ओली, देउवा या प्रचण्ड जोसुकैको नेतृत्वमा नयाँ सरकार बनोस्, तर ओली सरकार बदलियोस् । त्यसैले अहिलेको यो अवस्थामा हामीले ओली प्रधानमन्त्रीबाट हट्लान् कि भन्ने र हाम्रो पार्टीको मान्छे प्रधानमन्त्री बन्दैनन् कि भन्दा पनि राष्ट्रको आवश्यकतालाई मध्यनजर गरी नयाँ राष्ट्रिय सरकारका निम्ति घच्घच्याउनुपर्छ । ओली, देउवा र प्रचण्ड जोसुकै प्रधानमन्त्री बनोस्, तर सरकार बदलियोस् । प्रतिक्रियाका लागि saritathing54@gmail.com
प्रतिकृया लेख्नुहोस्: