Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

लाठी मात्रै होइन, ‘एके’ र ‘एम–सिक्स्टिन’ राइफल बाेक्छाैँ : पासाङ, पूर्व जनसेना कमान्डर

हाम्रो साप्ताहिक स्तम्भ  ‘संवाद डबली’ प्रत्येक हप्ताको शुक्रबार प्रकाशित हुन्छ । यस हप्ताको संवाद डबलीका लागि एनेकपा (माओवादी) का स्थायी समिति सदस्य तथा पूर्वजनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ सँग संवाद गरेका छौं । पुन एकीकृत नेकपा (माओवादीका) युवानेता मात्रै होइनन्, पूर्वजनमुक्ति सेनाका कमान्डर समेत हुन् । जनमुक्ति सेना समायोजनमा महत्वपूर्ण भूमिका खेलेका पासाङ एक देशभक्त नेता समेत हुन् । यसपटक  प्रस्तुत छ आफ्ना दुवै किड्नी फेल हुँदा समेत उपचार गर्न विदेश जान नमानेका तिनै देशभक्त नेतासँग खबरडबलीका लागि नरेश ज्ञवालीले गरेकाे डबली संवाद -सम्पादक । नेपाली राजनीतिको एउटा चर्चित पात्र पासाङ कता हरायो आजभोलि ? म कहीं हराएको छैन, ‘मुभमेन्ट’ मै छ पासाङ । ‘मुभमेन्ट’ दुई किसिमका हुन्छन्– एउटा, वर्गसंघर्ष अथवा राजनीतिक संघर्षको मुभमेन्ट; त्यही मुभमेन्टमा म सधैं, निरन्तर क्रियाशील छु । त्यसमा पार्टीका जिम्मेवारीलगायत सबै कुरा पर्ने भए । दोस्रो, संविधान निर्माण र जटिल मोडमा खडा भएको माओवादी आन्दोलनलाई कसरी पुनर्गठन गर्न सकिन्छ, माओवादीलाई नयाँ ढंगबाट कसरी लैजान सकिन्छ, फेरि पनि नम्बर १ पार्टीको तहमा कसरी उठाउन सकिन्छ भन्ने कोणबाट हुने क्रियाशीलता हो । राष्ट्रको मूल मुद्धा संविधानलेखनतर्फ चाहिँ केही छैन तपाईंको भूमिका ? माथि नै उल्लेख गरें कि ‘मुभमेन्ट’ का दुक्ष पक्षमध्येको दोस्रो पाटोअन्तर्गत संविधानसभाबाट संविधान जारी गर्ने वातावरण कसरी तयार पार्न सकिन्छ भन्ने प्रयासमा म निरन्तरै लागिरा’छु । कहाँ पुग्यो माओवादी पुनर्गठनको अभियान ? यो अहिले प्रारम्भिक चरणमै छ । सबै घटकका युवानेताहरुमा उत्साहजनक क्रियाशीलता र गम्भीरता देखापरेको छ । यसै अभियानअन्तर्गत विभिन्न तहका अन्तर्क्रिया, छलफल, गोष्ठीहरु निरन्तर चलिरा’छन् । तपाईंको स्वभाव र व्यवहार ‘मिडियामैत्री’ भएन पनि भन्छन् नि ? मिडियाबाट चर्चामा आउने मेरो ‘नेचर’ नै छैन । अत्यावश्यक परेर मिडियाका साथीहरुले बोलाए असहयोग गर्दिनँ, मिडियाप्रति मेरो उपेक्षाभाव होइन । धेरैजसो मिडियाका साथीहरुले बोलाउनुहुन्छ तर टाइम पुगिरा’ छैन । साथीहरुले ठान्नुभा’ होला– ‘पासाङजी मिडियामा आउनुहुन्न’ । तर, म त्यस्तो छैन । कुन बेला, कस्तो विषयमा बोल्ने भन्नेबारे सोचेर ठीक विषयमा मात्रै बोल्ने तर कम बोल्ने मेरो बानी छ । चर्चामा छाइरहन मिडियामा बिनाप्रसंग बोल्ने मेरो बानी छैन । यसैले गर्दा पनि \'पासाङ हराएको\' जस्तो देखिको होला । \"pasang_inter\" जनयुद्धकालमा ‘नेपाल हल्लाएको’ पासाङ, उपत्यका आएपछि त हराएकै अनुभूति भयो भन्नेहरु पनि छन् नि ? ठ्याक्कै तपाईंहरुले भनेजस्तो त होइन । उपत्यका  नेवाः राज्य भएका कारण यताका धेरैजसो काम यहीं जिम्मा पाएका लिडर–क्याडरहरुले गर्ने कुरा स्वाभाविक भयो । यसरी हेर्दा अहिले यहाँ मेरो उतिसारो भूमिका छैन किनकि मेरो जिम्मेवारी त मगरात राज्यमा छ । मगरात काठमाडौंबाट टाढा भएकाले त्यहाँको हाम्रो भूमिका र सक्रियताबारे त्यति चर्चा हुँदैन । राजधानीमा भएका आन्दोलन र कार्यक्रमहरमा त निरन्तर सहभागी भैरा’छु । १६ दिने आन्दोलनमा हामीले कलंकीतिरबाट ठूलै जुलुसको नेतृत्व गरेर आएका थियौं । काठमाडौंमा हुने पार्टीको केन्द्रीयस्तरका कार्यक्रमा म सधैं सहभागी छु । अध्यक्षसँग वैचारिक मतभिन्नताका कारण नै तपाईं निष्कृयप्रायः हुनुहुन्छ भन्ने कुरा साँचो होइन र ? अध्यक्षसँग वैचारिक रुपले कतै अन्तर पर्यो कि भन्ने साथीहरुको आशंका छ, त्यस्तो होइन । अध्यक्षसँग छलफलका केही विषय त मेरा पनि अवश्य नै छन् । तपाईंहरुलाई थाहै छ, म बिरामी हुँदा पार्टीभित्र अन्तर्संघर्ष भयो । त्यस बेलादेखि नै पार्टीलाई टुटफुटबाट कसरी बचाउन सकिन्छ भन्ने कुरामा मलाई गम्भीर चिन्ता लागिरा’थ्यो । अध्यक्ष कमरेडसँग पनि मैले कुनै हालतमा पार्टी फुट्न दिनुहुँदैन भनेर ‘सिरियसली’ कुरा राख्दै आएको हुँ ।
पार्टीलाई टुटफुटबाट कसरी बचाउन सकिन्छ भन्ने कुरामा मलाई गम्भीर चिन्ता लागिरा’थ्यो
फुट रोक्न किरण–बादलहरुसँग चाहिँ कुनै पहल र छलफल गर्नुभएन तपाईंले ? किन नगर्नु, गरें नि । किरणदाइ, बादलदाइसँग पनि कुनै बहानामा पार्टी फुटाउनै हुँदैन है भनेर बारम्बार छलफल गरिरहेको थिएँ । \"pasang\"अनि विप्लवसँग नि ? विप्लवजीलाई पनि अहिले फुट्ने बेला होइन, एकताबद्ध भएर संर्घबाट स्थापित मुद्दाहरुलाई निष्कर्षमा पुर्याउनुपर्छ, त्यसपछि मात्रै वैचारिक बहसहरुलाई प्राथमिकता दिँदै जाउँला भनेको थिएँ । आखिर माओवादी आन्दोलनलाई फुटबाट जोगाउन त सक्नुभएन, फुटका पछाडि कसको दोष बढ्ता देख्नुहुन्छ ? पार्टी टुटफुट त भयो नै । पार्टीलाई फुटबाट बचाउन सकिएन, यो दुःखद विडम्बना हो । यसका पछाडि क–कसका के–कस्ता कमीकमजोरी भए भन्नेतिर अहिले नजाऊँ । यसबारे त दूधको दूध, पानीको पानी समीक्षा भई नै हाल्नेछ । विभिन्न माध्यम र कोणबाट यो क्रम अगाडि बढेकै पनि छ । तर, पार्टी फुट्नु ऐतिहासिक कमजोरी भयो । त्यसमा मेरो कमजोरी कति, अध्यक्षको कमजोरी कति अरु साथीहरुको कमजोरी कति ? सबैले आ–आफ्नो जिम्मेवारी लिनुपर्छ । र, कमजोरीको ‘रियलाइजेसन’ गर्नुपर्छ । कसैले कसैमाथि औंला ठड्याएर, गाली गरेर कोही पनि पार लाग्ने स्थिति छैन । मूल नेतृत्वको हिसाबले अध्यक्षले त्यसको जिम्मेवारी लिई नै सक्नु भइसक्यो । उहाँले ‘मेरा पनि कमीकमजोरी भए, त्यसबेला कांग्रेस–एमालेलाई अलि बढि नै विश्वास गरियो’ भन्नुभा’छ । हुनुपर्ने के त ? कहाँनेर हो तपाईंको खास असन्तुष्टि ? अहिले जुन संक्रमणकालीन अवस्था छ, जनतालाई यसको निष्कर्ष चाहिएको छ । दोस्रो, माओवादी आन्दोलन जसरी घेराबन्दीमा परेको छ, अथवा विघटन हो कि के हो ? साथीहरुमा यसबारे उठेका प्रश्न र आशंकाको निकास चाहिएको छ । निकासका लागि पहिले वैचारिक रुपमा वा वैचारिक कार्यदिशाको आधारमा एकताबद्ध हुने कुरा त छँदै छ ।
अर्कोतर्फ किरणदाइले लिएको कार्यदिशा पनि पर्याप्त छैन । यसो हेर्दा हाम्रो कार्यदिशा र उहाँको कार्यदिशामा सारभूतरुपमा कुनै भिन्नता देखिँदैन । केही कुराहरुमा मात्रै ‘डिफरेन्स’ छ ।
वैचारिक–राजनीतिक हिसाबले छलफल, बहसबाट निष्कर्षमा पुग्नुको सट्टा टुटफुटबाट गुज्रने जुन अवस्था देखापर्यो, यो गलत छ । मलाई चित्त नबुझे नै यहींनेर हो । गलत छ भने त एकैठाउँ बसेर वैचारिक बहस गर्दैगर्दै सही निष्कर्षमा पुग्न सकिन्छ नि । तर, विचारको कलेबर लगाउने, भित्र अरु नै कारण रहने भएकैले पार्टी टुटफुट हुँदै आ’को छ । यो  ‘परम्परा’ तोड्नुपर्छ भन्दै प्रचण्डको नेतृत्वमा पार्टीलाई एउटा निष्कर्षमा पुर्याइयो र शान्ति प्रक्रियामा आइसकेपछि पनि एउटै मात्र कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्यौं । त्यसका लागि हामी लाग्यौं पनि । तर, व्यवहारमा चाहिँ टुटफुटमा गयौं । फुटका कारण के–के हुन् भन्ने ठान्नुहुन्छ ? नेपालको माओवादी आन्दोलन विभाजित हुनुमा अनेकौं राष्ट्रिय–अन्तर्राष्ट्रिय, आन्तरिक–बाह्य कारण होलान् । तर, मुख्य कारण त आन्तरिक कमजोरी नै हो । कतिपय कमरेडहरुले भनिराख्नु’भा छ– अहिलेको फुटका सबै कारणहरुको निराकरण र समाधान हामी गर्न सक्छौं । अहिलेका माओवादी कार्यदिशामध्ये सापेक्षित रुपले कुन घटकको चाहिँ अलिक् सहीजस्तो ठान्नुहुन्छ ? अहिले पूर्ण निकाससहितको कार्यदिशा कसैसँग देखा पर्दैन । हाम्रो पार्टीको हेटौंडा महाधिवेशन तथा बिराटनगर सम्मेलनले अघि सारेको कार्यदिशा पनि अपर्याप्त नै छ । मूल ‘ट्रेन्ड’ त त्यही नै हो । ‘अस्थिरपञ्जर’ त हेटौंडा महाधिवेशनकै कार्यदिशाको ठीक छ तर त्यो ‘शरीर’ बन्न सकेको छैन । त्यतिबेला हामीले गरेको संश्लेषण एक उचाईमा ठीकै थियो तर परिस्थिति अर्कैतिर मोडियो । अर्को महाभूल गरे भने अहिले त युवाहरुले लाठी मात्रै उठाएका छन्, त्यसको ठाउँमा ‘एके’ र ‘एम–सिक्स्टिन’ आउँछन् ।
अर्कोतर्फ किरणदाइले लिएको कार्यदिशा पनि पर्याप्त छैन । यसो हेर्दा हाम्रो कार्यदिशा र उहाँको कार्यदिशामा सारभूतरुपमा कुनै भिन्नता देखिँदैन । केही कुराहरुमा मात्रै ‘डिफरेन्स’ छ ।
पछि फेरि विप्लवजीहरु पनि टुक्रिनु’भो, उहाँले एकीकृत जनक्रान्तिको कुरा गरिरहनुभा’छ । एकीकृत जनक्रान्ति भनेको के हो ? त्यसको कुनै ‘डिफिनेसन’ छैन । अन्तर्यमा विप्लवजीको कार्यदिशासँग पनि हाम्रो हेटौंडा महाधिवेशनको कार्यदिशासँग त्यतिसारो ‘डिफरेन्स’ छैन । त्यसमा पनि हाम्रोभन्दा केही अन्तर त हुने नै भए । कार्यदिशामा खास अन्तरै छैन भने किन फुटाए होलान् त नेताहरुले पार्टी ? कसैले पार्टी फुटाउनुपर्यो भने आफूमा विचार र कार्यदिशामै फरक छ भनेर बाङ्गाटिङ्गा कुरा देखाउने गर्दछन् । आफ्ना कमजोरीको ढाकछोपका निम्ति सिद्धान्तको कलेबर लगाएर, विचारको बहस भनेर नै कम्युनिस्ट आन्दोलनमा विभाजन देखापर्ने गरेको छ । यो पुरानै ‘ट्र्याक’ भयो । यसलाई के भन्ने ? संकीर्ण, सामन्ती, व्यक्तिवादी.... ! यस्ता विषयमा युवापिँढीहरुबीच बहस गर्न मन लागेको छ । युवापिँढीका सबैलाई चिन्ता लागेको छ–‘मुभमेन्ट’ लाई कसरी अगाडि लैजाने ? नेता प्रधान हो कि नीति ? तपाईंले त एकता वा फुटको मूल कारक नीति नभई नेता भएको बताउनु भो नि ! राजनीतिक लडाइँमा, वर्गसंघर्षमा कुनै बेला कुनै मोर्चा प्रधान भएर आउँछ, कुनै बेला कुनै मोर्चा । त्यसैगरी नीति प्रधान विषय हुँदाहुँदै पनि कहिले नीति प्रधान भएर देखापर्छ त कहिले नेता प्रधान भएको स्थिति देखिन्छ । अहिले राजनीतिक प्रतिस्पर्धा प्रधान भएर आएकाले राजनीतिक गतिविधि बढि गर्नुपर्ने हुन्छ । यस्तो राजनीति मुख्य नेताको वरीपरी हुने भएकाले यतिबेला फौजी मोर्चा आवश्यक छैन । त्यसले गर्दा म मात्र नभएर थुप्रै कमरेडहरु ‘स्याडो’ मा परेजस्तो देखिएको छ । अहिले केन्द्रीय कमिटीमा हेर्नुहुन्छ भने धेरै कमरेडहरु कामविहीन छन् । उनीहरुलाई लाग्ने गर्छ– किन मलाई ‘स्याडो’ मा पारिएको होला ? राजनीतिक मोर्चा प्रधान भएकैले अध्यक्ष कमरेडलाई एकछिन पनि फुर्सद छैन, कहिले कता–कहिले कता दौडिइरहनु परेको छ; अरु कमरेडहरुले काम नपा’को जस्तो स्थिति देखापरिरा’ छ । राजनीतिक संघर्षमा यस्तै हुन्छ कि हामीले तलमेल मिलाउन नसकेको ? बिस्तारै स्पष्ट होला ।
सेना समायोजन भएपछि चुट्की बजाएर दुई घन्टामा समस्या समाधान हुन्छ भन्ने कुरा उनीहरुले गरे । अर्कोतिर हाम्रो क्याम्पभित्र घुसपैठियाहरु प्रवेश गरी, प्रलोभन देखाए । अाफैभित्र खत्तम पार्ने रणनीति देखियो । त्यसको ‘काउन्टर’ हामीले राम्रोसँग गर्न सक्नुपथ्र्यो, सकिएन । अहिले फर्केर हेर्दा सेना समायोजनलाई केही पर धकेलिदिन पाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ ।
अरुअरु त छुट्टै पार्टी बनाएर भए पनि अगाडि आए, तपाईं चाहिँ सधैं ‘स्याडो’ मै बसिरहने ? जनयुद्धकालमा फौजी संघर्ष प्रधान थियो । ‘लाइफ एन्ड डेथ’ को कुरा थियो । अलिकता ‘मिस्टेक’ भैदिँदा सारा आन्दोलन धरापमा पर्ने खतरा हुन्थ्यो । सानो ‘मिस्टेक’ ले सारा आन्दोलन धरापमा पर्न जान्थ्यो । त्यसले गर्दा हामी अत्यन्तै क्रियाशील थियौं । अहिले त्यस्तो अवस्था छैन । त्यतिबेला म फौजी कमान्डमा पनि थिएँ, पार्टीको पोलिटब्युरो सदस्य पनि थिएँ । पोलिटब्युरोमा भएकैले म कमान्डर भएको हुँ । अहिले मेरा पनि कति अपुग होलान् तर पनि म राजनीतिक रुपले पछि परेंजस्तो  लाग्दैन । संसदीय प्रणालीजस्तो राजनीतिमा त चुनाव आउँदा बढि तात्तिने, अरु बेलामा खासै काम नहुने अवस्था हुँदोरहेछ । संगठन विस्तारको कुरा पनि संसदीय राजनीतिमा दिगो हुँदैन, टिकाउ हुँदैन । एकचोटि बनायो भत्किन्छ, फेरि बनायो फेरि भत्किन्छ । मतदाता थपिएको थपियै हुन्छन्, त्यसैले संगठन बिस्तार पनि स्थायी हुँदैन । राजनीतिमा कहिले कोसँग ‘टसल’ पर्र्छ, कहिले कोसँग–स्थायी ‘मित्र र शत्रु’ कोही हुँदैन । ‘स्याडो’ मा परियो, आफैंले नयाँ पार्टी बनाऊँ भनेर किन सोच्ने ? हामी क्रियाशील छौं । परिणाम नआउँदा जत्रो काममा पनि क्रियाशीलता देखिँदैन । तपाईंहरु त पूरापूर संसदीय व्यवस्थामै डुबिसक्नुभयो रे नि ? संसदीय व्यवस्थालाई मानेर गएको कुरा त होइन । तर, संसदीय माहोलचाहिँ ‘चेन्ज’ भा’को छैन । संसदीय व्यवस्था पुरानै तरिकाबाट चलिरा’छ । यसको अर्थ यो होइन कि एमाओवादीले संसदीय व्यवस्था मान्यो । शान्ति प्रक्रियामा आइसकेपछि संसदीय व्यवस्थालाई ‘टोटल्ली रिजेक्ट’ गरेर जान सक्ने अवस्था छैन किनकि यो अवस्थामा रुपान्तरण ल्याउन नसकिएसम्म यसै प्रक्रियामा हेलिनैपर्यो । जस्तै– सुँगुरको खोर सफा गर्नुपर्यो भने खोरभित्रै पस्नुपर्यो । हामी सुँगुरको खोरभित्र पसिसकेकाले सुंगुरको दिशापिसाब त लागी नै सक्यो । खोर सफा गरिसकेपछि नुहाउने कुरा जो छ, त्यो त गर्नुपर्छ नै । पुरानो प्रकारको संसदीय व्यवस्था नै अहिलेको प्रमुख समस्या हो, प्रगतिको बाधक हो भनेर नै अहिले शासकीय स्वरुपको बहस चलिरा’छ । हामीले किन राष्ट्रपतीय प्रणाली भनिरा’छौं भने संसदीय प्रणालीमा बढि अस्थिरता हुने, बजेट अनावश्यक खेर जाने, जनताको मुखमा विकास नजाने, सांसद किनबेच चल्ने भएकाले यो प्रणाली नै गलत छ । यसलाई ‘चेन्ज’ गरौं भनेर राष्ट्रपतीय प्रणाली भनेका हौं । यदि राष्ट्रपतीय प्रणाली नभनिएको भए एमाओवादी पनि संसदीय प्रणालीमै डुब्यो भन्ने कुरा सही हुन्थ्यो । हामी त्यहाँ ‘चेन्ज’ चाहन्छौं तर निष्कर्षमा पुगेका छैनौं । त्यसैले माओवादी पनि संसदीय प्रणालीमा डुब्यो कि भन्ने आशंका किरणजीहरुलाई परिरा’छ तर उहाँले भनेजसरी हामी डुबेका छैनौं । सेना समायोजनमा कमजोरी भयो भन्ने कुरा पनि सही होइन ? सिद्धान्ततः सेना समायोजनमा कमजोरी भा’को हो । कुनै पनि युद्धबाट आएको शक्ति र सेनाबीच समायोजन गरी एउटै सेना बनाउने कुरा सिद्धान्ततस् ठीक थियो । यो १२ बुँदे सहमति र अन्तरिम संविधानको ‘स्पिरिट’ नै हो । राष्ट्रिय सुरक्षानीति बनाई दुवै सेनालाई समायोजन गरेर एउटै बनाउने कुरा थियो, त्यहाँसम्म सही थियो । पछि शैक्षिक योग्यता माग्ने र सात हजारमा झार्ने कुरा आयो, त्यहाँ गल्ती भयो । यो गल्ती अध्यक्षले स्वीकार्नुभएको छ । यो जानाजानको गल्ती हो कि समय–परिस्थितिको बाध्यता हो ? मैले पनि त्यसबेला समग्र उपलब्धिका लागि अंशको बलिदान गरौं भनेकै हुँ । सेना समायोजनका नाममा अरु पार्टीहरुले बखेडा झिकेर समस्या खडा गरेर ‘माओवादी नै शान्ति र संविधानको बाधक हो’ भन्दै चर्को घेराबन्दी गरे । सेना समायोजन भएपछि चुट्की बजाएर दुई घन्टामा समस्या समाधान हुन्छ भन्ने कुरा उनीहरुले गरे । अर्कोतिर हाम्रो क्याम्पभित्र घुसपैठियाहरु प्रवेश गरी, प्रलोभन देखाए । अाफैभित्र खत्तम पार्ने रणनीति देखियो । त्यसको ‘काउन्टर’ हामीले राम्रोसँग गर्न सक्नुपथ्र्यो, सकिएन । अहिले फर्केर हेर्दा सेना समायोजनलाई केही पर धकेलिदिन पाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, त्यसबेलाको स्थिति बडो जटिल थियो । सेना समायोजनको ‘मोडालिटी’ सुरुमा ठीक थियो, अन्तिम चरणमा आउँदा ‘मिस’ भयो । अहिले चर्चा गरिएको एकताको खास उद्देश्य के हो ? एकताको मूल उद्देश्य टुटफुटलाई एकतामा बदल्नु हो । सबै एकजुट नभएसम्म जतिसुकै राम्रो कार्यदिशा बनाइए पनि, सिद्धान्त आविष्कार गरिए पनि त्यसलाई लागू गर्ने ‘स्पिरिट’ चाहियो नि त । यसका लागि एकता जरुरी छ । अहिले जनताको भावना भड्किएको छ । फुटेको पार्टीले केही गर्न सक्दैन भन्ने छ । त्यसैले अहिलेको स्थितिले के देखायो भने एकता नभई अघि बढ्न सकिँदैन । क्रान्तिको कार्यभार पूरा गर्न, समाजवादी क्रान्ति गर्न त एकाध विरोध गरेर मात्रै पुग्दैन । क्रान्ति भनेको त सबैको सहभागिता होे । कम्तिमा कम्युनिस्टहरु त एकताबद्ध हुनुपर्यो । त्यसकारण अहिले नारा फरकफरक छन्, ती नारामा छलफल गरेर नयाँ नारा बनाऊँ र क्रान्ति ‘कम्प्लिट’ गरौं । जहाँ मुद्दा मिल्छन्, त्यहाँ एकतामा जोड गरौं । कार्यदिशा पनि फरकफरक छन्, यसमा पनि जोड र कोणबाट मिलाउँदै नयाँ कार्यदिशा बनाऊँ, यसो गर्नु ठीकै हुन्छ । टिम नै बनाएर पहल थाल्नु भो, यत्रो दरार समाधान भई तपाईंले आशा गरेजस्तो छिटो एकता सम्भव छ र ? तपाईंलाई भनौं, सबै कुरा मिलेर त एकता नै हुँदैन । एकता गर्न त क्रमशः एकताबद्ध हुँदै जाने हो । पहिलो कुरा पार्टी एकताका लागि केन्द्रीय स्तरबाट नै पहल चलिरा’थ्यो । यो अवस्थासम्म आउँदा कार्यगत एकता हुँदै पार्टी एकता गर्दै जाने ‘स्पिरिट’ केन्द्र र हाम्रो थियो । अब पार्टी एकता होला भनेको त आन्दोलनपछि कार्यगत एकता पनि नहोलाजस्तो स्थिति देखापर्यो । विप्लव फुट्नु’भो र किरण कमरेड पनि ‘नैतिक समर्थन’ भन्दै हिँड्नु’भो । यस्तो अवस्थामा दबाव पुगेन भन्ने हामीलाई लाग्यो । सुरुमा चाहिँ हामी थोरै साथीहरुले पहल गर्यौंं । यस अभियानमा हाम्रो पार्टीबाट बलदेव, म, प्रभाकर, किरणको पार्टीबाट हितमान, कुलबहादुर केसी, विप्लवजीको पार्टीबाट धर्मेन्द्र बास्तोलाको एउटा टिम थियौं । यसमा मूल नेतृत्व थियो भनेर भ्रम नपरोस्, यो टिमको उद्देश्य नै मूल नेतृत्वलाई दबाव दिनु हो । सबैले आ–आफ्नो पार्टीभित्र एकताका लागि ‘क्याम्पेन’ चलाऊँ भन्ने नै हो । हाम्रो अभियान नेतृत्वलाई सहयोग गर्नु नै हो । हरेक पार्टीभित्र एकताको ‘क्याम्पेन’ चलाऊँ र एकताविरोधीलाई निरुत्साहित गरौं, त्यस्तो प्रवृत्तिसँग संघर्ष पनि गरौं अनि एकताविरोधीहरुसँग वैचारिक संघर्ष गरेर एउटा भेला आयोजना गरौं भन्ने उद्देश्यका साथ हामी अघि बढ्यौं । यो कुनै घटकका पनि नेतृत्वका विरुद्धमा होइन, एकताका लागि सहयोग गर्नु हो, एकताका लागि तलसम्म अभियान लाने उद्देश्य हो । हामी ६ जनाले संयोजन गरी २ गतेको कार्यक्रम घोषणा गर्यौं । हामीले केन्द्रीय अभियान टिम घोषणा गरेर अभियान चलाइसकेका छौं । यसमा दुवै पार्टीका सीसीएमभन्दा माथिका करिव ७० जना साथीहरु छन् । विप्लवजीहरुसँग पनि धर्मेन्द्रजी, आँपे कान्छाहरुले अभियान चलाइराख्नुभा’छ । मणिजी र मात्रिकाजीसँग पनि हामी छलफलमा छौं । अध्यक्ष र किरणदाइलाई एकै ठाउँमा बसालेर जानकारी गरायौं– तपाईंहरुले एकता गर्नुभयो भने हाम्रो अभियानको औचित्य छैन, यदि गर्नुभएन भने अभियान जारी रहन्छ । उहाँहरुले पनि ‘तपाईंरुको अभियान ठीक छ, जारी राख्नोस्’ भन्नुभएको छ । उहाँहरुमा उत्साह राम्रो छ । यसले जनता र सहिद परिवारमा रक्तसञचार भएको छ । सहिद परिवारले त खबरदारी गरिराख्नु भएको छ, तपाईंले पार्टीएकता गर्नुभएन भने तपाईंको काम छैन भनिरहनुभएको छ । हाम्रो अभियालाई उनीहरुले साथ दिएका छन् । यसले आशंका पनि जन्माएको छ ।
रोल्पामा हाम्रा सेनाको स्वगत पाएर वामदेव दंग परेका थिए, अहिले त्यो बिर्सिएर ‘६२ हजार सुरक्षाकर्मी प्रयोग गर्छु’ भनेका छन् । त्यसो हुँदा खुकुरीदेखि बन्दुकसम्म उठाउन बाध्य भइन्छ, त्यो दिन नआओस् ।
एकता नचाहनेहरुले ‘के गर्न लागे’ भनिठानेका छन् । नेतृत्वको आकांक्षाले पनि हामीमाथि आशंका गर्नेहरुलाई बल पुर्याइरा’छ । यस अभियानले हामीलाई अप्ठ्यारो पार्ने हो कि भन्ने चिन्ता उनीहरुमा देखिन्छ । त्यो होइन, छुट्टाछुट्टै पार्टीको स्थायी समिति सदस्य, पदाधिकारी हुनुभन्दा एकीकृत पार्टीको साधारण पार्टी सदस्य भएर बसौंला भनेका छौं । हीनताबोध भएर कति बस्ने, टुक्रिएको पार्टीको ‘ठूलो नेता’ भएर के गर्ने ? त्यसको काम छैन । अहिले कहाँ पुग्यो त एकता–अभियान ? हामीले एकता टोलीको घोषणा गरिसकेपछि नेताहरु वार्ताटोली बनाउनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । र, तुरुन्तै वार्ताटोली समेत बनेकाले खुशी लागेको छ । माथिल्लोले मात्रै भएन, तल, सेलसम्म अभियान चलाउनुपर्छ । अब विगत कोट्याएर हुँदैन, इतिहासको ब्याज खानुहुँदैन । वर्तमानमा सकारात्मक रुपले अघि बढ्नुपर्यो । म पार्टीका लागि सबै कुरा गुमाउन तयार छु । अब क्रान्ति हुन्छ भन्ने वातावरण बने ज्यान दिन तयार छु । यसका लागि सबैभन्दा पहिले पार्टी एकताबद्ध हुनुपर्छ । परिआए फेरि हतियार चलाउने चेतावनी पनि दिनुभो नि ? के पर्यो र त्यस्तो ? परिस्थितिले फेरि हतियार माग गरिरहेको छ । त्यो वातावरण कांग्रेस–एमालेले बनाउँदैछन् । उनीहरुकै कारण ०५२ साल निम्तिएको हो । उनीहरु शान्ति सम्झौताविपरित ऐतिहासिक भूल गर्दैछन् । रोल्पामा हाम्रा सेनाको स्वगत पाएर वामदेव दंग परेका थिए, अहिले त्यो बिर्सिएर ‘६२ हजार सुरक्षाकर्मी प्रयोग गर्छु’ भनेका छन् । त्यसो हुँदा खुकुरीदेखि बन्दुकसम्म उठाउन बाध्य भइन्छ, त्यो दिन नआओस् । उनीहरुले जुन दमनकारी सोचाइ पालेका छन्, त्यसको प्रतिवाद गर्न त हामीसँग जे छ, त्यही उठाइन्छ । हामीसँग नभए पनि हतियार फेरि खोसेर जनताले आफ्नो अधिकार प्रयोग गर्छ । जबर्जस्ती ‘प्रक्रिया’ सुरु भयो भने हामीले संविधानसभा परित्याग गर्नुपर्ने हुन्छ र सडकमा बटालियन बन्छ । संविधानसभा त्याग्न र हतियार उठाउन तयार हुन्छ त तपाईंहरुको नेतृत्व ? हामीले नेतृत्वलाई ‘करेक्सन’ गर्दै लाने हो । तयार नभए नयाँ परिस्थितिमा नयाँ नै जन्मिन्छन् नेताहरु । कांग्रेस–एमाले माओवादी खोज्न ज्ञानेन्द्रको लातले पुगेका हुन् रोल्पादेखि दिल्लीसम्म । फेरि त्यसैगरी अर्को महाभूल गरे भने अहिले त युवाहरुले लाठी मात्रै उठाएका छन्, त्यसको ठाउँमा ‘एके’ र ‘एम–सिक्स्टिन’ आउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy