भाद्र १५ गते, २०७२ मगलवार 1st September, 2015 Tue१५:३४:०६ मा प्रकाशित
‘छाँया पात्र’ यो हाम्रो नयाँ स्तम्भ हो । खबरडबलीले प्रत्येक महिनाको दोस्रो हप्ताको मंगलबार यो स्तम्भलाई नियमित गर्नेछ । एउटा मानिस आफ्नो क्षेत्रमा सफल हुन उसका नजिकका र उसले आफुलाई कसरी व्यवस्थापन गर्छ भन्ने हो । नेताका सचिवालय, कर्पोरेट हाउसका सचिवालय तथा नीजि सचिव र सामाजिक व्याक्तित्वको पारिवारिक तथा नजिकका सम्बन्धहरुको मुख्य र महत्वपूर्ण हात हुन्छ । सफल मानिसको जति चर्चा हुन्छ उसलाई सफल बनाउन भूमिका खेल्ने छाँया पात्रका बारेमा चर्चा कम हुने गरेको छ । हामी यो स्तम्भमा विभिन्न राजनीतिक व्यक्ति, व्यापारिक रुपमा सफल व्याक्ति तथा समाजिक अगुवालाई सफल बनाउन भूमिका खेल्ने सहयोगी वा छाँया पात्रका बारेमा चर्चा गर्ने छौं । यो स्तम्भको पहिलो अंकमा राजनीतिमा सफल तथा चर्चित व्याक्तित्व एमाओवादीका नेता बाबुराम भट्टराईको निजि सचिवालय तथा निजि सचिव विश्वदिप पाण्डेका बारेमा खबरडबली सहकर्मी नरेश ज्ञावलीले तयार गरेको पहिलो स्तम्भ ‘छाँया पात्र’–सम्पादक ।काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन् विश्वदीप पाण्डे । राजनीतिक वृत्तदेखि सार्वजनिक रुपमा निकै चर्चित छन् । युद्धकालदेखि अहिलेसम्म न उनले बाबुरामलाई छोडेका छन्, न बाबुरामले उनलाई । बाबुरामले विश्वदीपलाई किशोर अवस्थादेखि नै सहयोगीका रुपमा स्वकीय सचिवालयमा राखेका हुन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा चर्चित नेपाली राजनीतिका केन्द्रीय पात्र र देशको कार्यकारी प्रमुख समेत भइसकेका शीर्ष नेतासँग यति लामो समय स्वकीय सचिवका रुपमा सँगै रहेका विश्वदीपसँग उनका विविध अनुभवका बारेमा कुरा गर्दा बजारमा बिक्ला भन्ने नै लाग्यो । नम्बर डायल भयो, रिङ बज्यो, केहीबेरमा फोन उठ्यो..
हेल्लो...
हेल्लो, विश्वदीप जी, सचिवालयबाट दिनुपर्ने कुनै सूचना छ होला ?
अहिले त्यस्तो केही छैन । केही भयो भने हामी आफैं सूचना दिन्छौं ।
बजार त पूरै तातिएको छ त बाबुराम सरको कुराले ।
अहिले यसबारेमा केही कुरा छैन ।
०००
खासमा उनीसँग बाबुराम र अहिलेको राजनीतिसँग सम्बन्धित विषयमा कुरा गर्नका लागि फोन गरिएको थिएन । खालि राजनीतिसँग जोडिएका व्यक्तिसँग कुराको थालनी मात्रै यसरी गर्न खोजिएको थियो । यतिखेर पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई चौतर्फी बहसको केन्द्रमा छन् । मुख्यतः कैलालीको टिकापुर घटनालाई उनको ट्वीट र फेसबुक स्टाटससँग जोडेर सामाजिक सञ्जालमा चर्को आलोचना भइराखेको थियो । सँगसँगै एक टेलिभिजन कार्यक्रमपछि आलोचनाको मात्रा झन् चुलिन थाल्यो । सामाजिक सञ्जाल मात्रै होइन धेरै समाचार शीर्षक पनि बन्न थाले । चुरो कुरो के रहेछ त भनेर युट्युबमा उक्त टेलिभिजन कार्यक्रममा बाबुरामले बोलेका कुरालाई दोहोर्याएर सुन्दा त्यहाँ त्यस्तो नयाँ कुरा खासै केही रहेनछ । उत्पीडित वर्ग, जाति, जनजाति, दलित, महिला, मधेशीको पक्षमा हुन्छु भन्ने कुरा कुनै नौलो कुरै थिएन । त्यो त माओवादीले जनयुद्धकालदेखि नै उठाएको कुरा हो र ती उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले माओवादीकै आडभरोसामा अहिलेका उपलब्धी सम्भव भएको हो, यो लुकेको कुरा होइन । तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भने बाबुरामले नै भड्काएर टिकापुर घटना घटेको हो भन्ने कोणबाट समाचार र टिकाटिप्पणी भएको देखिन्छ । प्रायः समाचारमा थारु र मधेशको आन्दोलन बाबुरामले उचालेको कुरा उनैले स्वीकार गरेको भनिएको छ, जुन कुरा उनले बोलेको भिडियोमा छैन । आन्दोलन उचालेको कुरा नभइ उनले ती उत्पीडितहरुका मुद्दामा आफ्नो पूर्ण समर्थन रहेको कुरा गरेका छन् । खैर, प्रसंगवश मात्रै यो सन्दर्भ उल्लेख गरिएको हो । यहाँ यस विषयमा भन्दा पनि बाबुरामका स्वकीय सचिवका बारेमा चर्चा गर्न खोजिएको हो ।
०००
विश्वदीपसँग धेरै पहिलेदेखि नै चिनजान र बाबुरामको सूचना लिनको लागि कुराकानी, भेटघाट भइरहन्छ । उनी मिडियालाई सन्तुलनमा राख्न माहिर छन् । कहिलेकाहिँ अलिक टाढिए कि जस्तो भान पनि पर्न थाल्छ तर आवश्यकताका बेलामा बाबुरामसँग मिडियाको साक्षात्कार गराउनेदेखि समयलाई बुझेर सबै खाले सञ्चारकर्मीसँग सन्तुलनको सम्बन्ध बनाइराख्छन् । बजारमा सबैखाले विचारधाराका पत्रकारहरु छन्, ती सबैखाले विचारधाराका पत्रकारसँग उनले समदूरीकै सम्बन्ध कायम गर्न हरसम्भव कोशिश गर्छन् र अहिलेसम्म त्यो सन्तुलन कायम गरेकै छन् ।
मिडियाकर्मीसँग सम्बन्ध बनाउने कुराको साथै बाबुरामको सचिवालयले मिडियालाई कतिपय सन्दर्भमा सूचनाहरु इमेल गर्ने, सचिवालयको सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने काम पनि गर्छ । यो सबै कामको व्यवस्थापन विश्वदीप आफैंले गर्ने गरेका छन् ।
अँ, सन्दर्भ थियो उनीसँगको संवादको ।
खासमा तपाईंसँग भेटेर एउटा स्टोरी बनाउन खोजेको थिए“ ।
के विषयमा होला ?
बाबुराम सरको स्वकीय सचिवका रुपमा तपाईंको अनुभवका बारेमा कुराकानी गर्न खोजेको ।
अहिले त्यस्तो के सन्दर्भ छ र ? अहिले नगरौं होला ।
होइन, त्यस्तो सन्दर्भ भन्दा पनि राम्रै स्टोरी होला भनेर हो । भेटेर नै कुरा गरौं न ।
ठीकै छ भेट्न त के भयो र तर मसँग कुरा गरेर स्टोरी नै लेख्ने हिसाबले चाहिँ नआउनु होला ।
हुन्छ ।
०००
उनीसँग कुरा गर्न जाँदै गर्दा एउटा पुरानो प्रसंग दिमागमा आयो । विश्वदीप एमाओवादीका केन्द्रीय नेता भक्ति पाण्डेका छोरा हुन् । भक्ति पाण्डेको पार्टीभित्र सिधा र इमान्दार मान्छेको रुपमा उनको परिचय स्थापित छ । सबैले उनलाई माया र सम्मान गर्दै ‘चाचा’ भनेर बोलाउन्छन् । पाण्डे एरिया कमिटि सदस्य देखि प्रचण्ड–बाबुराम सबैका ‘चाचा’ हुन् ।
माओवादी युद्धकालमा नै किशोर विश्वदीपलाई एमाओवादी नेता भक्ति पाण्डेले बाबुरामको सहयोगीका रुपमा बाबुरामकहाँ पुर्याएका थिए । त्यतिबेला विश्वदीपमा किशोर चञ्चलता थियो । भूमिगत बाबुरामलाई ‘फोटो खिचौं न’ भनेर हैरान पारेपछि बाबुरामले भक्ति पाण्डेलाई नै भन्नु परेको थियो । यो प्रसंग एक अन्तरवार्तामा विश्वदीपले नै भनेका हुन् । पछि बुबाले सम्झाएपछि भने उनले फोटो खिच्ने विषयलाई फेरि दोहो¥याएनन् । उनी फोटो खिचाउने मामलामा भने असाध्यै रुची राख्ने व्यक्ति हुन् । आजकल चाहिँ त्यति साह्रो उनको फोटो सामाजिक सञ्जालका भित्ताहरुमा देखिँदैन । सायद खिचेर राख्दा हुन्, पोष्ट गर्न त्यति मन नलाग्दो हो ।
०००
उनलाई भेट्न सानेपा पुग्दा उनी सचिवालयकै काममा व्यस्त थिए । केही बेर पर्खनु पर्ने भयो । राजनीतिक व्यक्ति त्यसमाथि संविधान निर्माणको काम अन्तिम र जटील अवस्थामा रहेको बेला बाबुराम व्यस्त त हुने नै भए, भेटघाटको समयदेखि सबै व्यवस्थापन सम्हालेका विश्वदीप पनि व्यस्त हुने नै भए । बाबुरामको सचिवालय विश्वदीप नै हुन् भन्दा हुन्छ । बाबुरामले सचिवालयको सबै जिम्मेवारी विश्वदीपलाई नै दिएका छन् । भेटघाटको समय मिलाउने, राजनीतिज्ञदेखि आवश्यकताअनुसार विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बोलाउने लगायतका बाबुरामको सबै कार्यक्रम र समयको व्यवस्थापन उनैले गर्ने गरेका छन् । मान्छेको स्वाभावअनुसारको व्यवहारले टाढिन नदिन पनि उनी माहिर नै देखिन्छन् । प्रायः नेताका स्वकीय सचिवहरु आर्थिक मामलामा विवादमा तानिने गरेका प्रसस्तै उदाहरण छन् तर बाबुराम प्रधानमन्त्री भएका बेलामा समेत विश्वदीप कुनै विवादमा तानिएनन् । प्रधानमन्त्री भएका बेलामा समेत भन्नुको अर्थ त्यस बेला प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिशाली स्थानमा हुन्छन् । तर उनले त्यो शक्तिलाई दुरुपयोग हुन दिएनन् । यसमा बाबुरामको स्वाभावले पनि काम गरेको हुनसक्छ । उनको भूमिकाको विषयमा बाबुराम अर्थमन्त्री भएका बेला अर्थसचिव रहेका रामेश्वर खनाल र बाबुराम प्रधानमन्त्री भएका बेला मुख्य सचिव रहेका लिलामणि पौड्यालले पनि प्रशंसा गरेका थिए ।
उनले सुरक्षाकर्मीलाई केही सूचना दिएर आए । ‘केहीबेरमा बाहिर निस्कनु छ, तपाईंलाई मैले धेरै समय दिन नभ्याउने भएँ, २/३ जनासँग भेटघाट छ त्यो सकिने वित्तिकै बाहिर जानु छ’, उनले भने । उनले सुरुमै कुनै त्यस्तो स्टोरी बनाउने भन्दा पनि सामान्य अनौपचारिक कुराकानी गर्न प्रस्ताव राखे ।
युद्धको बेलादेखि, भूमिगत, शान्ति प्रक्रिया हुँदै विभिन्न पदमा रहेका बेलादेखि अहिले संविधान निर्माणको कामले पूर्णता पाउनै लागेको अवस्थासम्म आउँदा उनको अनुभवका बारेमा नै चासो थियो । अनौपचारिक कुराकानी भन्दा पनि औपचारिक रुपमा नै प्रश्न तेर्सिए पनि अनौपचारिक रुपमै जवाफ आयो ।
‘स्कुले विद्यार्थी बेलादेखि नै राजनीतिमा लागेको, बाबुरामसँग नियमित १२ वर्षदेखि सँगै रहेको, प्रचण्ड–बाबुराम स“गस“गै रोल्पा–रुकुमदेखि विभिन्न स्थानमा हिँडेको, शान्ति प्रक्रियादेखि अहिलेसम्म सँगै रहेको यही त हो मेरो अनुभव’, उनले अलिक कुटील जवाफ दिए ।
हुन त यसरी उनीमाथि नै केन्द्रित रहेर औपचारिक कुराकानी यसअघि भएको थिएन । कुनै कुनै प्रसँगमा अनौपचारिक रुपमा कुराकानीहरु भए पनि यसखालको कुराकानी भएको थिएन । पहिले–पहिले कुराकानी हुँदा तत्कालीन ७ संसदीय राजनीतिक दल र विद्रोही माओवादीबीच सम्पन्न १२–बुँदे समझदारी–पत्र टाइप गरेका प्रसंगमा निकै बेर कुराकानी भएको थियो । पहिलो पटक प्रचण्डसँग भेट भएर पनि नचिनेको र पछि गइसकेपछि मात्रै थाहा पाएका लगायतका धेरै प्रसंगमा कुराकानी भएका थिए । युद्धकालमा नै बाबुरामलाई पार्टीले कारबाही गर्दा उनी निकै रोएका थिए ।
फेरि पनि उही कुरामा जोड थियो तर उनले त्यति चासो देखाएनन् । ‘अहिले ती विषयमा कुराकानी गर्ने समय पनि भएको छैन र अहिले मसँग त्यसका लागि समय पनि छैन, त्यसैले त्यतापट्टि नजाऊँ होला’, उनी अन्यत्रै कुरा मोड्ने मुडमा देखिए ।
बेलाबेला उनको मोबाइलमा सन्देशहरु आइरहेझैं लाग्थ्यो, उनी मसँग थिए सँगसँगै आफ्नो काम पनि गरिराखेका हुन्थे । मोबाइलमा आएका सन्देशको जवाफ दिन्थे । उनी एकैपटक धेरैतिर कुरा गरिरहेका थिए, मोबाइल सन्देशमार्फत ।
०००
उनले सानै उमेरदेखि ठूला–ठूला जिम्मेवारी लिए र पूरा गर्दै आए । अहिले त उनलाई बानी नै परिसक्यो, वर्षौंदेखिको काममा अभ्यस्त भइसके । राष्ट्रिय राजनीतिको जिम्मेवारी र समयका कारण चाहेजति सबैलाई भेटाउन सम्भव पनि हुँदैन । तर विषयबस्तु र संवेदनशीलता हेरेर प्राथमिकताअनुसार सबैलाई नेतासँग भेटाउने कोशिश गर्नु, सँगसँगै समयको व्यवस्थापन गर्नु, प्राथमिकता क्रम निर्धारण गर्नु जस्ता कुरामा ठूला नेताको सचिवालयको कुशलता जोडिएको हुन्छ । यी कुरामा बाबुरामको सचिवालय कुशल छ भन्दा अतियुक्ति नहोला । आफ्नो निर्वाचन क्षेत्रमा जाने, संविधान निर्माणमा केन्द्रित रहने, राजनीतिज्ञ भन्दा बाहिरका अन्य विषयका विज्ञहरुसँग छलफल गर्ने देखि कार्यकर्ता भेटघाटसम्मको समय सचिवालयले मिलाइराखेको देखिन्छ । यी सबैको पृष्ठभूमिमा विश्वदीपकै व्यवस्थापन क्षमताले काम गरेको छ । धेरै माओवादी नेताहरुका स्वकीय सचिव परिवर्तन भए पनि युद्धकालदेखि अहिलेसम्म बाबुरामको स्वकीय सचिवका रुपमा विश्वदीप लगातार सक्रिय छन् । यसो हेर्दा भट्टराई र विश्वदीपको सम्वन्ध नेता र कार्यकर्ताजस्तो होइन कि बाबुछोराको जस्तो छ ।
सोचेर आएजस्तो कुराकानी अघि बढेन तर उनमा केही परिवर्तन भने महसुस भयो । पहिले भन्दा अलिक परिपक्वताको विकास भएको महसुस भयो, उमेरका कारण पनि हुनसक्छ र जिम्मेवारीमा खारिँदै गएको पनि हुन सक्छ । त्यसमाथि केही समययता पारिवारिक जिम्मेवारी पनि थपिएको छ, आफ्नो व्यक्तिगत समयको व्यवस्थापनको कुरा पनि उनमा थपिएको छ । तर उनले आफ्नो व्यक्तिगत कुराबाट बाबुरामको सचिवालयमा प्रभाव पर्न नदिने प्रतिबद्धता गरेका रहेछन् ।
उनको विहेको कुरालाई केही सञ्चारमाध्यममा विवादास्पद पनि बनाइएको थियो । तर सञ्चारमाध्यममा आएका धेरै कुरामा तथ्यलाई बङ्ग्याइएको विवाहमै सहभागी नेताहरु बताउँछन् । त्यतिबेलै समाचारमा आएपछि विवाहमा सहभागी एक नेताले टिप्पणि गरेका थिए – ‘अहिले धेरैमा बाहिर देखाउने एउटा भित्र गर्ने अर्को हुन्छ । विश्वदीपले त सबैका अगाडि, स्पष्टसँग देखाएर विहे गरेका हुन् । त्यस्तो तडकभडक त केही लागेन अनि केटा र केटी दुबै जना पार्टी जिम्मेवारीमा रहेका कमरेडहरुको जनवादी विवाहजस्तो पनि थिएन । मिडियालाई मसला भयो नै ।’
०००
उनीसँग सोचेजस्तो औपचारिक कुराकानी त हुन सकेन । पहिले–पहिले भन्दा उनमा अर्को परिवर्तन पनि देखियो । पहिले उनी मिडियामा फरक ढंगले समाचार आउँदा अलि बढी आत्तिन्थे, सधैं बाबुरामसँगै हुने भएकाले पनि वास्तविक तथ्य उनैले बुझेका हुन्थे । तर अहिले अभ्यस्त भएछन् । मिडियाको प्रवृत्ति पनि राम्रैसँग बुझेछन् क्यार ।
तर आवश्यक पर्दा प्रचार शैलीमा उनी निकै माहिर छन् । उनमा व्यवस्थापक मात्रै भन्दा पनि अलि बढी राजनीतिक चरित्रको विकास पनि हुन थालेछ । जीवनको महत्वपूर्ण समय राजनीतिमा नै खर्च गरेका उनको अनुभव, लगानी जे भने पनि राजनीति नै हो ।
कुरा सकिएको थिएन । उनीसँग केही सबालहरु बाँकी थियो । केही प्रश्नहरु थिए । उसो त उनि सूरुबाटै अहिले आफ्नो र इतिहासका बारेमा बोल्ने बेला भइनसेको भन्दै आलटाल गरिरहेका थिए । त्यतिबेलाका लागि तय भएको भेटघाटको क्रम सकिएको थियो । उनले अब निस्कनुपर्ने जनाउ दिए ।
०००
सुरक्षाकर्मी र गाडी रेडि पोजिसनमा थिए । हतार–हतार उनी माथि उक्लिए र तुरुन्तै बाबुरामसँगै हातमा एउटा फाइल ब्याग झुण्ड्याएर गाडितर्फ लागे । अगाडि नेपाल प्रहरीको, बीचमा बाबुराम चढेको गाडी र पछाडि सशस्त्र प्रहरीको गाडि गेटबाट बाहिर निस्कियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: