Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘पूरा बिगार्ने बाबुरामजी, पछिपछि दगुर्ने प्रचण्डजी’

\"\"नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विभिन्न असतुष्ट पक्षको माग सम्बोधन गर्न भनी सरकारले अहिले ल्याएको संशोधनबाट पनि मुलुकको समस्या समाधान नहुने बताएका छन् । पछिल्लो मुलुकको राजनीतिक अवस्थाबारे कुरा गर्न खबरडबली टोली वैद्य निवासमा पुग्दा उनले संविधान संशोधनदेखि पार्टी फुटबारे खुलेर कुरा गरे । माओवादी विभाजन नभएको भए अहिले सत्ता नै कब्जा गर्न सकिने अवस्था रहेको भन्दै उनी चुक्चुकाए । उनले अहिले राष्ट्रियतामाथि अतिक्रमण भइरहेको भन्दै राष्ट्रियताका लागि राष्ट्रिय एकताको पनि आवश्यकता औंल्याए । मधेसवादी दललाई वर्तमान सरकाकै सगोत्री भन्दै वैद्यले उनीहरुलाई समेत मिलाएर लैजान नसक्नु अहिलेका प्रमुख तीन दलको कमजोरी औंल्याए । संघीयताको मापदण्डअनुसार नगइ पुरानै संरचनामा निर्वाचन गर्ने विषयलाई उनले संसदीय ब्यवस्थाकै असफलता बताएका छन् । संविधान संशोधनका लागि अहिले ल्याइएको प्रस्ताव पनि त्रुटिपूर्ण रहेको औंल्याए । प्रस्तुत छ, समसामयिक राजनीतिक विषयमा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यसँग गरिएको संक्षिप्त कुराकानी : सरकार संविधान संशोधन गरेर समस्या समाधान हुन्छ भनेर लागिरहेको छ, अर्काथरी संशोधन होइन, पुरानै संशोधन ठीक छ भन्दै आन्दोलित छन् । तपाईँहरु पनि संशोधन ठीक छैन भन्नेहरुलाई साथ दिँदै हुनुहुन्छ, यसको अर्थ के हो ? अहिले संशोधनको विरोध गर्नेहरु दुई पक्ष छन् जस्तो लाग्छ । एउटा अहिलेकै संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधानलाई मुलभूत रुपमा स्वीकार गर्ने अनि संशोधनको मात्रै विरोध गर्ने गरी एमाले आएको छ । हामी यो संविधान संशोधन गरेर हुँदैन, यसलाई खारेज गरेर नयाँ बनाउनुपर्छ भन्नेमा छौं । यसमा निकै फरक छ । हामीले त्यो धारासँग मिलेर आन्दोलन गरेका पनि होइनौं । मिलेर आन्दोलन गरेको भन्ने एउटा संयोग मात्रै परेको हो । अहिले बुटवल लगायतका ठाउँमा आन्दोलन भइरहेको छ । तर हामीले यो आन्दोलनको जायज माग मात्रै सम्बोधन गर्छौं भनेका छौं । बन्द गर्नेहरुले एकातिर पहाड र मधेसलाई टुक्र्याउनु हुँदैन भनिरहेका छन् । अर्कोतिर मगराँत चाहिन्छ भनेर पनि आन्दोलन गरिरहेका छन् । हामी चाँही मगराँत चाहिन्छ भन्ने कुरा ठीक हो भन्नेका छौं । मगराँतको कुरा राखेर भएको आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहन्छ । अब त्यही प्रदेश (५ नम्बर प्रदेश) अन्तर्गत थारुवान पनि पर्यो । थारुहरु कैलाली र कञ्चनपुर पनि थारुवानमा हुनुपर्छ भन्नेमा छन् । हामीले थारुहरुको माग पनि जायज मानेका छौं । त्यसैले हामीले जायज मागमा मात्रै समर्थन गर्ने भनेका छौं । अरु त्यो आन्दोलनमा हामी कस्सिएर लाग्ने भन्ने छैन । त्यसो भए, अहिले सरकारले अघि सारेको ५ नम्बर प्रदेशबाट पहाडका जिल्लाहरु छुट्याउने कुरा जायज छ ? हामीले त सरकारले ल्याएको यो प्रस्ताव नै ठीक छैन भनेका छौं । एमाले कोणबाट जुन विरोधहरु भइरहेको छ, त्यो विरोध पनि ठीक छैन । अहिले सरकारले अघि सारेको संशोधनबाट पनि समस्याको हल हुन सक्दैन भन्ने हाम्रो ठहर हो । तर जनता त्यही ठाउँमा जुटेका छन् भने जनताको आन्दोलनलाई त समर्थन गर्नुपर्यो नि । त्यसैले जायज मागलाई हाम्रो समर्थन छ भनिएको हो । अहिले एउटै सत्ताका दुई धारकाबीचमा लडाईँ छ । जनता र सत्ताविरोधी आन्दोलन असाध्यै कमजोर छ । त्यो आन्दोलनले टाउको उठाउनै सकेको छैन । यता मधेसीहरुको आन्दोलनलाई इण्डियनले सहयोग गरिरहेको छ, यतातिर सत्ताधारी भइहाले । हामीहरुको शक्ति चाँही कमजोर छ । त्यसैले हाम्रो आन्दोलन प्रभावकारी ढंगले उठ्न सक्दैन । सारमा अहिलेको आन्दोलनलाई हेर्दा सत्ताधारी र प्रतिपक्षकाबीचको लडार्इँ प्रमुख बन्न गएको छ । जनता र राज्यसत्ताबीचको अन्तरविरोध भने गौण बन्न गएको छ । त्यहाँ अलिअलि जनताको माग पनि मिस्सिएका छन् । सोही कारणले हामीले आन्दोलनको समर्थन गरेका छौं । मधेसमा थारुले आन्दोलन उठाइराखेका छन् । थारुले कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा ल्याउन चाहेकै हुन् । त्यसैले उनीहरुको जाजय मागप्रति समर्थन छ । तर त्यो तरिकाले पनि आन्दोलन उठ्दैन । अहिले एकदमै अप्ठ्यारो स्थिति छ । एउटा हाम्रो शक्ति कमजोर भएको तथा आन्दोलनले गम्भीर धक्का खाएको अवस्थामा ठीक ढंगले ठूलो आन्दोलन जतिगरे पनि उठ्दै उठ्दैन । यो आन्दोलनको नियम नै हो । त्यसैले हामीले जति सक्छौं आन्दोलन गर्ने र भण्डाफोर गर्ने नै मुख्य हो । अहिलेको अवस्थामा गलत कुराहरुको भण्डाफोर नै मुख्य हो । \"\"संविधान संशोधन हुनुहुँदैन भनेको एमालेका नेताहरु नै पछिल्लो समय संघीयता नै आयातित हो भन्ने अभिब्यक्ति दिन थालेका छन् । उनीहरुसँगको आन्दोलनले तपाईँहरुलाई पनि संघीयता नचाहिएको हो कि भन्ने ठाउँ रहँदैन ? त्यही भएर नै त हामीले आन्दोलनकारीले उठाएको जायज मागप्रति मात्रै हाम्रो समर्थन छ भनिरहेका छौं । हामीले पनि स्वतन्त्र आन्दोलनको विकास गर्नुपर्छ भनिरहेका छौं । जायज माग र स्वतन्त्र आन्दोलनको विकाश गर्दै अघि बढ्नु पर्छ भन्नेमा छौं । अहिलेको संविधान खारेज गर्नुपर्छ भन्ने एउटा समूह तपाइहरुबाटै छुट्टिएर संविधान कार्यान्वयन गर्न कस्सिएका छन्, यो अवस्थामा तपाईहरुको विरोधको पनि त तुक देखिदैन, होइन र ? अहिले हाम्रो आन्दोलन ठूलो हुँदैन । ठूलो आन्दोलन गर्ने हाम्रो क्षमता पनि छैन । हामीले यो संविधानको विरोध गर्दै जान्छौं । आखिरमा उहाँहरुले संविधान त बनाउनु भयो तर कार्यान्वयन गर्न सकिरहनु भएको छैन नि । उहाँहरुले अहिलेको संविधान कार्यान्वयन गर्न सक्नु हुन्न । संशोधन भनेर कस्सिए पनि त्यसले पनि समस्याको हल गर्दैन । अब हेर्नोस्, एकथरीले हिन्दु धर्म र राजतन्त्रका हिसाबले संशोधन गर्नुपर्छ भन्ने कुरा पनि उठाउन थालेका छन् । संशोधनका लागि अझ के के कुरा आउने हुन् विचित्र छ । यसो गर्दैगर्दै उहाँहरु कहाँ कहाँ पुग्ने हो ? उहाँहरुले हल गर्न सक्ने अवस्था नै छैन । उहाँहरुभित्रै गम्भीर प्रकारका संकटहरु छन् । उहाँहरुले जनताको कुराहरु सुन्ने, बुझ्ने तथा जनयुद्धबाट आएका हामीहरुको कुरा पनि त सुन्नु भएन भएन । उहाँहरुले हाम्रो कुरा सुन्नुहोला भनेर हामीले आशा गर्ने कुराहरु पनि भएन । विचित्रको कुरा त उहाँहरुले आफ्नै सगोत्रीलाई पनि मिलाउनु भएन । मधेसीहरु त मिलिहाल्थे त भन्या । त्यहिँनेर उहाँहरुले बुद्धि पुर्याउनु भएन । केही समययता आन्दोलन चलिराखेको छ तर जनविरोधी तत्वविरुद्धको संघर्ष गौण छ । उही सत्ता र उही संविधान स्वीकार गर्नेहरुको संघर्ष प्रवल छ । उनीहरुले ठूलो संघर्ष गर्ने भनेर मात्रै के गर्ने, लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर गइहाल्छन् । मधेसीहरु नै सत्तामा आउन आतुर छन् । अलिअलि बार्गेनिङ गर्या जस्तो मात्रै गरेका छन् । उतापट्टि (भारततिर) बाट ‘ल मान्नु पर्छ है, मान्नुपर्छ’ भन्दिराख्या छन् । उनीहरुले कहाँ कहाँ छिरेर एकपछि अर्को गञ्जागोल बनाउँछन् । स्थिरता र स्थायीत्व हुन नदिएर फेरि यहाँभित्र अनेक षड्यन्त्रहरु गर्न तयार छन् । त्यो प्रक्रिया एकदम शुरु भइसक्यो । अब उहाँहरु कहाँ जानुहुन्छ र ?सिद्धिने मेसो त आइहाल्यो । अरुले नभइ आफैभित्रको ‘कन्ट्रयाडिक्सन’ले असफल हुने अवस्था आएको छ । उहाँहरुले मिलेर नै सरकार बनाएको भए हुन्थ्यो नि । तर के गर्ने संसदीय ब्यवस्थामा सबै दलहरु मिलेर सरकार बनाउन नहुने, प्रतिपक्ष दल पनि चाहिने । अनि प्रतिपक्षलाई फेरि तुरुन्तै सत्ता चाहिने । धेरैबेर प्रतिपक्षमा बस्न नसक्ने बडो विचित्र । एउटाले अर्कोको विरुद्ध कस्सिएर स्थिरता र स्थायीत्व नै कायम हुन नदिने अवस्था आइरहेको छ । अब राष्ट्रियता र संकटको भुँवरीमा पर्ने र त्यही भुवँरीले उहाँहरु सिद्धिने अवस्था आउँछ । हामीलाई उठ्न अलि टाइमक लाग्छ । हामीले प्रयास गरिरहेका छौं, तयारी कसरी गर्ने भन्ने कुरा गरिरहेका छौं । अहिले संविधानको सामान्य संशोधन गर्न लाग्दा त यति धेरै सकस छ भने तपाईँले भनेजस्तो नयाँ ढंगले जान कसरी सम्भव होला र ? त्यो त परिहाल्यो नि । त्यसका लागि समय लाग्छ । अहिले नै जान्छ भन्ने कुरा नै होइन । अहिलेको आन्दोलन पनि त हुनेवाला छैन । तपार्इँँ हेर्नोस् न उहाँहरुले संशोधन गरेर पनि हुनेवाला छैन, नगरेर पनि हुनेवाला छैन । यो त त्यहि संविधानभित्रका परिधिका कुराहरु हुन् । त्यहि संविधानको परिधिभित्र कहाँ कहाँ स्वीकार गरेर जाने भन्ने नै उहाँहरुको कुरा छ । त्यसैले यो तरिकाले हुनै सक्दैन । अहिले गर्न खोजिएको संशोधनलाई एमालेले राष्ट्रघाती र भारतको डिजाइनमा आएको भनिरहेको छ, तपाईँहरु पनि भारतको डिजाइनमा संशोधन प्रस्ताव आएको गन्ध देख्नु हुन्छ ? डिजाइन त अलिअलि सबैका छन् । उहाँहरुले बनाएको संविधान कसैसँग सल्लाह नगरीकन बनायौं भन्ने कुरा पनि झुठ हो । कताकता सबैसँग सल्लाह गरेर मिलाएर बनाएकै हो । इण्डियामा पनि मोदी (भारतीय प्रधानमन्त्री) पक्ष र अर्को पक्ष गरी दुई पक्ष छ । अन्तर्राष्ट्रिय पक्षहरुबाट सहमति नगरीकन संविधान बनाएको कुरा होइन । उहाँहरु (एमाले) देशभक्त हौं भन्ने कुरा मिल्दै मिल्दैन, यो बेकारका कुरा हुन् । यतापट्टि पनि यस्तै त छ, एकदम स्वागत छ भन्ने कुरा आइ त हाल्यो । राजदूतावासबाट समर्थन गरेर वक्तब्य नै दिइहाले । हो, अलिअलि गन्ध पनि छ, उहाँहरु (एमाले)हरु निर्गन्ध भएको विशुद्ध भन्ने पनि होइन । उहाँहरु विशुद्ध राष्ट्रवादी भन्ने कुरा होइन । एउटा दुइटा कुरामा हुनसक्छ । पछिल्लो समय संयुक्त आन्दोलन गर्ने भन्दै विप्लव, मोहनविक्रम र तपाईँको संयुक्त विज्ञप्ति पनि आयो । संघीयताविरोधी मोहनविक्रमहरुसँग कसरी कार्यगत एकता सम्भव भयो ? हामीले संघीयताको सवालमा कार्यगत एकता गरेकै होइन । त्यहाँ संघीयताको कुरा छैन । हामीले राष्ट्रियताका विषयमा मात्रै कार्यगत एकता भनेका छौं । भारत विस्तारविरोधी, हामीले अप्पर कर्णाली लगायतका विषयमा संयुक्त आन्दोलन गर्ने कुरा हो । हामीले पनि पनि कार्यगत एकता गरेका थियौं, अहिले पनि त्यही हो । संघीयताको कुरा गर्यो, संघीयता अर्कैले समाइदिएको छ । संघीयतामा यिनीहरु पनि ठीक होइनन्, राष्ट्रियता पनि ठीक होइनन् । अप्पर कर्णाली लगायत राष्ट्रियताका विषयमा कार्यगत एकता गरेका हौं । हामी रामघाट, दैलेख, सुर्खेत, नेपालगञ्ज लगायतमा संयुक्त कार्यक्रम विगतमा पनि गरेका थियौं । विप्लव, मोहनविक्रम, हामी सबै थियौं । अहिले पनि त्यसलाई निरन्तरता दिउँ भनेर नै कार्यगत एकता गरेका हौं । संघीयता विरोधीहरुसँगको एकताले तपाईँहरुमाथि पनि शंका मान्ने ठाउँ त रहन्छ नी होइन र ? राष्ट्रियताको विरोध गरेर संघीयता ल्याउने हो भने हामी पनि त्यो संघीयता मानिदैन । राष्ट्रियता सबैभन्दा ठूलो हो । राष्ट्रियता पनि चाहियो, संघीयता पनि चाहियो । हामीले संघीयताको कहाँ विरोध गरेका छौं र ? हामीले संघीय जनगणतन्त्रको निम्ति लड्नुपर्छ भनेका छौं । मोहनविक्रमसँग संघीयताविरुद्ध कार्यक्रम दिएको भए पो कार्यगत एकता किन गर्यौ भन्ने हुन्छ । अहिले नै हेर्नु न, यिनीहरुले पीटीए (विद्युत ब्यापार सम्झौता) गरे । पीटीएको सम्बन्धमा भारतले फेरि अर्को निर्देशिका जारी गर्यो । गरेदेखि र सकेमा विद्युत ब्यापार त सबैसँग गर्ने कुराहरु हो तर उनीहरुले निर्देशिका जारी गरेर ठ्याक्कै इण्डियासँग मात्रै हुनुपर्छ भन्ने आशय ब्यक्त गरे । त्यसैले अप्पर कर्णाली लगायत राष्ट्रियको मुद्दामा राष्ट्रिय एकता आवश्यक देखियो । अप्पर कर्णालीमा जग्गाको क्षतिपूर्तिको कुरा लिएर आन्दोलन गर्ने कुरा पनि आइरहेको छ । ती इस्यूहरु गम्भीर भएको हुनाले हामीले राष्ट्रियताको मुद्दामा कार्यगत एकता गरेका हौं । मोहनविक्रमसँग संघीयताविरोधी कुनै मतलव छैन । हामीले राष्ट्रियताको मुद्दामा मात्रै कार्यगत एकता गर्दै आन्दोलन गर्न खोजेका छौं । संघीयताका नाममा फेरि राष्ट्रलाई टुक्राउने षड्यन्त्र भयो भने हामी त्यसको पनि विरोध गर्छौं । त्यसैले हामी कसैको निर्देशनमा नभइ स्वतन्त्र आन्दोलन गर्ने पनि भनेका छौं । कार्यगत एकता गर्नेमा पनि सोलोडोलो नभई राष्ट्रियताको विषयमा मात्रै कार्यगत एकता गरिएको छ । जनतन्त्रका विषयमा हामीले कार्यगत एकता नै गरेका छैनौं । राष्ट्रियताको लागि गर्न खोजिएको त्यो आन्दोलनको रुप चाँही कस्तो हुन्छ ? यो आन्दोलन सामान्य, शान्तिपूर्ण नै हुन्छ । हामी राष्ट्रियतामा मात्रै केन्द्रित गरेर आन्दोलन गर्छौं । राष्ट्रियताविरोधी सम्झौताको भण्डाफोर गर्छौं । राष्ट्रियताका पक्षमा जनतालाई आन्दोलनका लागि आह्वान गर्छौ । भारतीय अतिक्रमण भइसकेको निश्कर्ष हो तपाईहरुको ? भारतीय हस्तक्षेप अहिलेदेखि होइन, उहिल्यैबाट नै भइरहेको छ । भारतीय विस्तारवाद तथा सामान्तवादकाविरुद्ध लड्नुपर्छ भनेर हामीले पहिल्यैदेखि नै भन्दै आएका छौं । सन् १९५० लगायतका असमान सन्धि सम्झौताकाविरुद्ध लड्नुपर्छ भनिराखेका छौं । यो नयाँ कुरा भएन । भारतले अतिक्रमण अहिलेदेखि होइन, उहिल्यैदेखि गर्दै आएको छ । क्रान्तिकारीहरु छुट्टाभिन्न भएर कमजोर हुँदै जाने, राजतन्त्रवादी भन्ने पञ्चहरु मिल्दै जाने र बलियो हुने अवस्था आइरहेको छ । अनि तपाईहरु अरुको असफलतामा कहिलेसम्म खुच्चिङ मात्रै गरिरहने ? क्रान्तिकारीहरु भए न एक हुने हो । अरु कसलाई क्रान्तिकारी भन्ने ? क्रान्तिकारी नै होइनन्, कुनै जमानामा साथीहरुले गरे, उतै मिले । क्रान्तिकारी भएको भए त यस्तो थिति आउथ्यो र ? हामीले अर्के गर्ने थियौ नि । माओवादीहरु विभाजित नभएको भए साँचो अर्थमा राज्यसत्ता लिन सकिँदो रहेछ । अहिले अरु शक्तिहरु यति कमजोर भएका छन् । कांग्रेस एमालेहरु यस्तो कमजोर छन् कि त्यहिँ भित्रको कांग्रेसको एउटा तप्कालाई , एमालेको एउटा तप्कालाई मिलाउन सकिन्थ्यो । पूरा बिगार्ने बाबुरामजी हो । बाबुरामजीकापछि दगुर्ने प्रचण्डजी । आखिरीमा उहाँहरुको हविगत पनि त्यही भइहाल्यो । बाबरामजीहरु हिड्नुभयो । प्रचण्डजी सरकारमा हुनुहुन्छ तर सरकारमा भएर के गर्ने हो ? (हास्ँदै) हामीलाई त आनन्द छ । अहिले आफूले केही गर्न नसकेको बेलामा भण्डाफोर गर्ने हो । क्रान्तिकारी छुट्टिएका होइनन्, क्रान्तिकारी अलिअलि छुट्टिएका छन् । त्यहाँभित्रका क्रान्तिकारीहरुलाई पनि ल्याएर हामीले शक्ति सञ्चय गर्छौं । [caption id=\"attachment_107895\" align=\"alignleft\" width=\"585\"]\"\" माेहन वैद्य किरण[/caption] अब तपाईँहरुको पनि शक्ति कमजोर र सत्ताधारी दलहरुबीचको आन्दोलनकाबीच विकल्प के हुन्छ त ? यो संविधान संशोधन गरेर हुँदैन यो पूर्ण रुपमा नै खारेज गर्नुपर्छ । अहिलेको संविधान खारेज गरेर नयाँ संविधान बनाएपछि मात्रै समस्याको समाधान हुन्छ । संविधान संशोधन गर्नेहरुले जुन बुँदाहरु ल्याएका छन्, त्यो पनि क्लियर छैन । भाषाको कुरा गरिएको छ । भाषाको कुरा त क्लियर नै छ नि अहिले संशोधनमा भाषाको कुरा किन ल्याउनु पर्यो ? मातृभाषाको लिस्ट (सूचि) किन बनाउनु पर्यो ? नेपालमा यति मातृभाषाका छ भन्ने त सबैलाई थाहा छँदैछ नि । संशोधनमा मातृभाषाको नाटक किन गर्नुपर्यो ? प्रदेशहरुमा राष्ट्रियसभाको प्रतिनिधित्व भन्ने कुरा छ, त्यो पनि त्यतिका ठूलो विषय नै होइन । सामान्य खालको विषय हो । प्रतिनिधिसभामा मिलाइसकेपछि राष्ट्रियसभामा त मिलिहाल्छ । त्यसलाई ठूलो बबण्डर किन गुर्नपर्यो ? अर्को नागरिकताको कुरा उठाइएको छ । अंगिकृत नागरिकताको कुरा ल्याइएको छ, त्यसपनि दुई वटा कुराहरु छन् । एउटा नेपाली नागरिकले नागरिकता त पाउनुपर्ने नै भयो तर संवैधानिक निकायका प्रवेश गराउने जस्ता केही गलत कुरा पनि छिरिरहेका छन् । स्वस्थ र सहि ढंगले चिजहरु आइरहेका छैनन् । संघर्ष पूरै सीमांकनमा छ । सीमांकनमा संघर्ष हुनु स्वभाविक पनि हो । सीमांकनको सवाल भनेको त सबै मिलेर गर्ने हो । हामीले १४ प्रदेश भन्यौं । पछि आएर ११ प्रदेश भयो, त्यो पनि छैन । यो कताकताबाट ल्याएका छन्, उनीहरुले त्यसरी ल्याएको सीमांकनमा कुनै तुक छैन । संघीयता बनाएर एउटा क्लष्टरमा बनाउँछौं, विभिन्न किसिमकालाई भन्ने हो भने पनि त्यो क्लष्टर नै मिलेको छैन । १ नम्बर प्रदेशमा जम्मै त्यहीँ मिलेको छ । यो त करिब करिब ५ विकाश क्षेत्रजस्तै भयो । पश्चिममा कैलाली कञ्चनपुरलाई माथितिर मिलाउँदा त्यहाँ पनि विकास क्षेत्र जस्तै भयो । बीचकै बुटवल लगायतलाई पहाडी क्षेत्र मिलाएर गरिएको छ, त्यो पनि विकास क्षेत्र जस्तै नै छ । भनेपछि संघीयताको मान्यताअनुसार उहाँहरुले कसरी बनाउनु भयो त ? सीमांकन गर्दा क्लष्टर मिलाएर ल्याउनु पर्यो । यो त सबै उहाँहरुको बैयक्तिक झगडाजस्तो मात्रै हो । बेकारमा किन झगडा गर्नुहुन्छ कुन्नी उहाँहरु ? उहाँहरुको न कुनै मापदण्ड छ, न कुनै तुक छ ? सत्तापक्षले ल्याएको पनि ठीक छैन, प्रतिपक्षले ल्याएको पनि ठीक छैन । त्यसैले यसको विकल्पमा विल्कुलै नयाँ ढंगले ल्याउनुपर्छ । अहिलेको संविधानले पनि ठीक ढंगले प्रदेशहरुको निर्माण गरेको छैन, अहिले आएको संशोधनले पनि केही गरेको छैन । यसले कुनै पनि समस्याको हल हुँदैन । अब संविधान खारेज गरेर नयाँ ढंगले जानुपर्छ । स्थानीय निकायको निर्वाचनकै सन्दर्भलाई लिएर अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुले पुरानै संरचनामा निर्वाचन गर्ने कुरा पनि गरिरहेका छन् । यसलाई कसरी लिनुहुन्छ ? यहिँनेर नै उहाँहरुको असफलता देखिएको छ । आखिर अन्तरविरोध त समाधान हुन सकेन नि त । समाधान हुन नसकेपछि मुखले संघीयता पनि भन्ने संघीयताको मापदण्डअनुसार जान नसक्ने भइसकेपछि संविधान कार्यान्वयन गर्ने कुरै आएन । उनीहरु आफ्नो असफलता भन्न चाहन्नन् । यो संसदीय ब्यवस्थाको पूरै असफलताको प्रतिफल हो । संवैधानिक ब्यवस्था असफल भयो भनेर स्वीकार गर्न चाहेका छैनन् । सफल पार्ने भए त त्यही बनाएर ल्याउनु पथ्र्यो नि । पुरानै ल्याएर पुरानै तरिकाले जाने भनेको त हामी असफल भयौं, भन्ने नै हो । सकेनौं भन्या न हो । सिधै त्यही भने भइहाल्यो नि । यो असफलताको धोतक हो । अब पुरानै संरचनातिर जाने कुरा गर्दैछन् । भोलि धर्मनिरपेक्षता हटाउँ भन्लान् । उनीहरु अगाडि बढ्ने होइन कि पछाडि फर्किने हो । कहाँसम्मपछाडि फर्किने हो हेरौं । पछाडि फर्किने पनि एउटा उत्कर्ष होला भनौं न । संसदीय ब्यवस्था हुँदा हुँदै ‘कु’ भएर संसदीय ब्यवस्था ढलेकै त हो । राजतन्त्र ढल्यो, माओवादीले घिसारेर ल्याएपछि बल्ल चेत खुल्यो । उनीहरुले संविधानलाई एकदमै प्रगतिशील अग्रगामी पनि भने । अलिअलि प्रगतिशील पनि हो । तर गर्दै गर्दै गएर माओवादी भन्नेहरु पनि त्यहि पश्चमागी दिशातिर जाने लक्षणहरु देखा पर्न थालेका छन् । २०७४ माघ ७ भित्र तीन वटा निर्वाचन गर्ने कुरा पनि छ । त्यो अवस्थामा निर्वाचन भयो भने तपाईँहरुको उपस्थिति कस्तो रहन्छ ? निर्वाचन नै गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि आइरहेको छ । तर पनि निर्वाचन हुने नै अवस्था भयो भने हामीले एउटा निर्णय गरेर अगाडि बढ्छौं । हामीले निर्वाचनको उपयोग गर्ने कुरा पनि हुन सक्छ । बहिष्कार गर्ने कुरा पनि हुन सक्छ । त्यो त्यहि बेलाको स्थिति हेरेर निर्णय गर्ने कुरा हुन्छ । अहिले नै यो निर्णय गर्नु हतारो हुन्छ । यहि पनि हुने हो कि होइन निश्चित छैन । गर्दागर्दै त्यतिन्जेलसम्म के के हुने हो ठेगान छैन । दोस्रो संविधानसभाको निर्वाचनअघि सर्वपक्षीय गोलमेच सम्मेलन भन्नु भएको थियो, अहिले चाँही खारेज गर्ने कुरा आयो । संविधान खारेजपछिको स्थिति के होला ? हाम्रो मुल कार्यनीति नै यो संविधान खारेज भन्ने हो । संघीय जनगणतान्त्रिक संविधान निर्माणमा जानुपर्छ । अब गोलमेच सम्मेलन होइन, यो संविधान खारेज गरेर संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि तयार हुनुपर्छ । त्यसका लागि सत्ता कब्जा गर्ने दिशातिर जान्छ । अहिले शक्ति क्षयीकरण भयो । अब शक्ति सञ्चय गर्नेतिर नै हामी लाग्छौं । अहिले हामी सक्दैनौं । विरोध भण्डाफोर गर्छौं । त्यसका लागि पुराना गल्ती कमजोरीहरुबाट शिक्ष लिँदै अगाडि जानुपर्छ । एउटा कुरा निश्चित छ, क्रान्ति त हुन्छ हुन्छ । राष्ट्रिय कारणले मात्र नभइ अन्तर्राष्टिय कारणले पनि क्रान्ति हुन्छ । यतिबेला हाम्रो मात्र होइन, अन्तर्राष्टिय माओवादी आन्दोलन पनि कमजोर छ । यो साँचो कुरा हो । हामी स्वीकार्नुपर्छ । हामी रक्षात्मक अवस्थामा छौं । तर वस्तुगत परिस्थिति राम्रो बनिरहेको छ । अन्तर्राष्ट्रिय रुपमा पनि नवउदारवाद भनेर आयो । यो एकदम अचुक छ, यसको विकल्प नै छैन भनेर प्रचारप्रसार गरे । सन् २००७, ००८ मा अमेरिकामा ठूलो ‘क्राइसिस’ आइहाल्यो नि । अहिले पनि त्यो क्राइसिस कायमै छ । क्राइसिस सुधारोन्मुख छ त भन्छन् अहिले तर आर्थिकवृद्धि असाध्यै कम छ । मन्दिका मन्दि छ । नव उदारवादले ब्यक्तिगत मुनाफा कमाउ कमाउ मात्रै भन्छ । यतापट्टि जनताको आधारभूत कुराहरु पूरा गर्नेस्थिति पनि छैन । जनताको आधारभूत आवश्यकता पूरा गर्नेस्थिति नभइसकेपछि उत्पादन गरेको कसले किन्छ ? क्राइसिस भनेको त्यही त हो । त्यो संकटबाट उभिने उपाय छैन । एक प्रकारले विश्वयुद्धको तयारी गरिरहेका छन् । सबैस्थिति हेर्ने हो भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ । साम्राज्यवाद असाध्यै संकटग्रस्त अवस्थामा छ । यहाँ पनि बस्तुगत परिस्थिति क्रान्तिको निम्ति तयार हुँदै जानु, आत्मगत परिस्थिति कमजोर हँदै जानु यो हाम्रो दुर्भाग्य हो । त्यसैले हामीले मेहनत गर्दै जाने हो भने कमजोर बनेको शक्तिमाथि प्रहार गर्छौं । क्रान्ति भन्ने कुरा विश्वमा पनि र नेपालमा पनि हिजोको जस्तो तरिकाले हुँदैन । नयाँ तरिकाले सोंच्नुपर्छ । फेरि पनि प्रचण्डहरु संसदवादीहरुबाट एक्लिएर तपाईँहरुसँग नै एकता गर्न आउने अवस्था पो आउँछ कि ? प्रचण्डजीको कुनै भरविश्वास गर्ने स्थिति छैन । उहाँलाई जसले पनि उपयोग गरिदिन्छ । मैले नै देखेँ नि उहाँलाई कसैले विश्वास गर्ने ठाउँ छैन । उहाँ त मित्रले पनि विश्वास नगर्ने, दुश्मनले पनि विश्वास नगर्ने अवस्थामा पुग्नु भएको छ । उहाँ अब आउनु होला भन्ने आशा पनि गरिन्न । मैले धेरै आशा पनि गरेँ । उहाँ आउनुहुन्छ कि भनेर धेरै दुःख पनि गरियो । उहाँलाई आशा गर्न पनि सकिँदैन । अब एकता होइन, ध्रुवीकरणको दिशामा अघि बढ्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies