फाल्गुन ७ गते, २०७३ शनिवार 18th February, 2017 Sat०८:२३:११ मा प्रकाशित
इतिहास छोड्न पनि नसक्नु दह्रोसँग समात्न पनि नसक्नु विभाजित माओवादीको समस्या हो । जनयुद्ध थालनीको २१ वर्ष बिते । जनयुद्ध, माओवादी, क्रमभंगः हस्तक्षेप, छलाङ, पहिचान, समानुपातिक, सहभागितामूलकजस्ता शब्द अब नेपाली शब्दकोश वा इतिहासमा चाहेर वा नचाहेर, आस्था, सम्मान वा घृणा जे जसरी भए पनि भुल्नै नसक्ने भए । तर, जनयुद्धको पहिलो प्रेरक र चिहानबाट सदा माओवादीलाई ललकार्ने को थियो त ! जसबाट माओवादीले जनयुद्धको प्रेरणा लियो र उनलाई चिहान खोतलेर आफ्नो कमान्डर बनायो ।
आखिर जनयुद्धको चिहानबाट कुर्लंदै ललकार्ने पहिलो माओवादी कामी बुढा नै हुन् । विस्मृतिका चिहानमा पुरिएका कामीलाई माओवादीले चिहान खोतलेर जनयुद्धको ऐतिहासिक ऊर्जा पाए र लिए ।
हरेक विद्रोह, आन्दोलन वा क्रान्तिलाई इतिहास आवश्यक हुन्छ । चिहानमा पुरिएका नायक उत्प्रेरक हुन्छन्, इच्छाशक्ति दिन्छन्, नैतिक अपिल गर्ने दृष्टान्त बन्छन् । माओवादीले जनयुद्ध थालनीपूर्व संसारमै पराजित विद्रोहहरू, विशेष गरेर पेरुको कम्युनिस्ट विद्रोह, चारु मुजिमदार नेतृत्वको भारतीय नक्सल विद्रोह त अध्ययन गर्यो नै, विभन्न कालखण्डमा चलेका किसान संघर्ष र विद्रोहलाई सूक्ष्म नियाल्यो । सफलताभन्दा असफलताको मिहिन अध्ययन गर्यो । त्यसमध्ये मुख्य विषय बन्यो– पहिलो दशकमा कर्णाली प्रदेशमा भएको कामी बुढा नेतृत्वको सशक्त, सशस्त्र विद्रोह र सहादतलाई । कामी बुढा र भीमदत्त पन्त चिहानबाट कमान्डिङ गर्ने माओवादी जनयुद्धका सहिद कमान्डर बने ।
[caption id=\"attachment_105125\" align=\"alignleft\" width=\"300\"] नरेन्द्रजंग पिटर, लेखक[/caption]
रुकुम चौखावाङ–८, खर्सुपानीमा १९७८ सालमा जन्मिएका कामी बुढा मगरका बाबु खिन्तु बुढा र आमाको नाम मंगली बुढा हो । भारतीय सेनामा काम गर्दा उनले सैन्य शिक्षा फस्टक्लास पास गरेकाले सेनाको प्रशिक्षक पनि बने । उनको कार्यथलो कलकत्ता थियो । त्यो काल दोस्रो विश्वयुद्ध, भारत–पाक विभाजन, बंगालको अनिकाल, विभाजनको त्रासदी, त्यसका राजनीतिक र मानवीय प्रभावले उनी सचेत हुँदै गए । एक सैन्य प्रशिक्षक भएकाले मातहत उच्च वर्गबाट आउने प्रशिक्षार्थीहरूको व्यवहारले पनि उनलाई नयाँ सोच्न बाध्य बनायो । विभाजनको चपेटामा परेको भारतमा हिन्दू–मुस्लिमको धार्मिक हिंसा, तेलंगाना किसान विद्रोह, त्यसमा कम्युनिस्ट पार्टीको नेतृत्व र भूमिका, भारतीय राष्ट्रवादको भावनात्मक असर उनमा पर्दै गयो । सामाजिक असमानता र शोषण–दमन त गाउँमा भोगेकै थिए । रुकुम र कलकत्ता, अन्यन्त्रका उत्पीडनकारीको चरित्र चंख कामी बुढाले दाँजे र बुझे । केही गर्नुपर्छ भन्ने विद्रोही मानवतावादी सोच पलायो । त्यसैले उनी नेपाली क्रान्तिमा सामेल हुन नेपाल फर्किए ।
भूमिकामा कामी बुढा
नेपाल फर्किएपछि ०७ को आन्दोलनमा उनी सिउराज (भैरहवा) क्षेत्रमा डा. केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी भए । दिल्ली सम्झौताले गर्दा सशस्त्र विद्रोह एकाएक रोकियो । उक्त सम्झौताको विरोधका अगुवा डा. सिंह पनि गिरफ्तारीमा परे । सत्ता त फेरियो, तर राजनीतिक, आर्थिक र सामाजिक कुनै परिवर्तनको छाँटकाँट भने उनले देखेनन् । त्यसैले कम्युनिस्ट पार्टीको खोजीमा लागे । दैलेख चौराठा घर भई दाङमा हुलाकका बहिदार भवानीप्रसाद शर्मा अधिकारीसँगै नेतृत्व खोजीमा पाल्पा हानिए । त्यसवेला कम्युनिस्ट पार्टीको कर्णाली प्रदेश इन्चार्जमा शैलेन्द्रकुमार उपाध्याय थिए भने सेक्रेटरीमा पाल्पाका कमलराज रेग्मी । पार्टीमा प्रतिबन्ध लागिसकेकाले रेग्मीको निर्देशनमा कामी बुढा र भवानीप्रसाद शर्मालाई पार्टी भूमिगत राख्दै किसान संगठनको नाममा भूमिका निर्वाह गर्न पश्चिम कार्यक्षेत्र पठाइयो । तर, कामी किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्युठान (आजको रोल्पा पनी त्यसवेला प्युठानमै थियो), सल्यान (आजको रुकुमको भूगोल पनि त्यसवेला सल्यानमै थियो), दैलेख, जुम्ला र हुम्ला पुग्छन् । नाम कामी बुढा भए पनि उनी भारतीय सेनामा कमानसिंह बुढा, दैलेखमा धनबहादुर चन्द र जुम्ला–हुम्लामा शेरसिंह, धनबहादुर शाही भनेर चिनिए ।
विद्रोहको राप र ताप पहिला राज्यले चालै पाएन, वास्तै गरेन, जब विद्रोह फैलिँदै गयो, तब ००९ कात्तिकमा हुम्लामा उनको फौजलाई सत्ता र स्थानीय ठालु मुने रावतको अगुवाइमा गिरप्mतार गरी जुम्लाको सदरमुकाम चौभानमा पु¥याइयो । उनीसँगै जुम्ला–चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजन भनेर छाडे पनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए । जुम्लामा पनि १५ जना कार्यकर्ता गिरफ्तारीमा परेर ६ महिना बन्दी बनाइए । जुम्लामा अझैै भनाइ छः अन्त प्रजातन्त्र ००७ सालमा आयो तर जुम्लामा भने ००९ सालमा । जुम्लाको कुडारीमा संगठन गरी हुम्ला लागेका कामी बुढा हुम्लाबाट चौभान ल्याइएपछि जुम्लाका गाउँबाट गिरफ्तार भएका हुन् । उनीहरूलाई रासन पु¥याउने, हाल कुडारी जुम्लाका ८५ वर्षीय रनबहादुर शाही कामी र उनको विद्रोह अझै सम्झन्छन् । जुम्लीबन्दीहरूमा दीपबहादुर शाही, दलबहादुर शाही, धनञ्जय पाध्या, दलनाथ योगी, रामनाथ योगी, निलु तिरुवा, आदित्यनाथ योगी, खुस्मल शाही, गजबहादुर शाही, शिवनाथ पाध्या, पुरीचन्द जैशी, बालचन्द जैशी ६ महिनापछि वैशाख ०१० मा जेलमुक्त भए । तीमध्येका दलबहादुर शाहीको भने सोही यातनाका कारण दुई महिनापछि मृत्यु भएको रनबहादुरको भनाइ छ । त्यही ०१० को दसँैको फुलपातीका दिनमा कामी बुढाको हत्या भयो । भवानीप्रसादलाई भने जुम्ला डाँडा कटाइयो । त्यसवेला जुम्लाका बडाहाकिम श्रीबहादुर खत्री र वनहाकिम कोमलदत्त तिवारी थिए । पाल्पामा बडाहाकिम तारकबहादुर शाह, प्युठानका प्रतिमान चन्द बोहरा, सल्यानमा खाँड ठकुरी, दैलेखमा भुवनविक्रम शाह थिए ।
कामी बुढाको राजनीतिक दृढता र संस्कृति
कामी बुढा नेपालमा पहिलो कम्युनिस्ट हुन्, जसले हतियारले टिकेको सत्तालाई बन्दुकले नै पल्टाउनुपर्छ भनेर किसान विद्रोहको आधारमा स्थानीय सत्ताका जरा काट्दै गए । यो संघर्षको स्वरूप स्थानीय सामन्त र राज्य दुवैका विरुद्ध केन्द्रित थियो । विद्रोह कर्णाली प्रदेशभरि नै फैलिएको र राजनीतिक प्रकृतिको सचेत थियो । गिरफ्तार भएपछि सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर उनले सम्पूर्ण जिम्मा लिए । माफी मागेर बाँच्न चाहेनन् । जेलमा पनि विद्रोही आदर्श देखाउँदै राजनीतिक दृढता कायम राखे । राज्यले उनको गतिविधिलाई दबाउन स्थानीय ठालु, जिम्बल, थरी, मुखियाहरूसँगै संयुक्त अभियान नै चाल्यो । विद्रोह फैलिएको क्षेत्रमा थुप्रै किसान गिरफ्तार भए । रुकुमका स्थानीय ठालु होमजंग मल्ल र उदयराम पुनहरूले त आफैँ गिरफ्तार पनि गराउने र गिरफ्तार गरिएका किसानहरू हरेकसँग नौबिस (रु.१८०) जरिवाना पनि गरे । हरेक जिल्लामा ४०–५० किसान गिरफ्तार गरिएको देखेको कामी बुढा विद्रोह–प्रकरणमा पाल्पाबाट जुम्ला चलान गरिएका कम्युनिस्ट पार्टीका प्रदेश सेक्रेटरी रेग्मीको भनाइ छ ।
भारतीय सेनाबाट घर फर्कंदा दुई थान राइफल र गोलीगठ्ठा ल्याउनु, ‘अब तिमी हामी सबै कम्युनिस्ट बन्नुपर्छ’, ‘आफ्से आफ राजा’ घरबाट विदा हुँदा ‘या त म जितेर फर्कन्छु, नत्र रातो अक्षरले लेखेको चिठी लिएर मेरा साथी आउनेछन्’ भन्नु । कम्युनिस्ट बनाउँदा अबिरको टीको लगाइदिनु र भेला कार्यक्रममा रातो झन्डा फरफराउनुुले कामीको सैद्धान्तिक भूमिकाप्रतिको दृढ निश्चिततालाई पुष्टि गर्छ । आफ्नो वर्गप्रतिको प्रेम र वर्ग दुश्मनप्रतिको चरम घृणा उनमा देखिन्छ । उनले सुरुवात गरेको वर्गसंघर्ष अर्थात् सशक्त र सशस्त्र आन्दोलनलाई नेपालको कम्युनिस्ट आन्दोलनले मात्र होइन, प्रजातन्त्रवादी आन्दोलनले पनि पछ्यायो । कांग्रेसको विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षका साथै कम्युनिस्ट नेतृत्वमा झापा विद्रोह, हर्रेबर्रे संघर्ष, जुठपानी, जुगेडी किसान विद्रोह र जनयुद्ध त्यसैको निरन्तरता हो ।
इतिहासका साक्षीहरू
उनका बारे देखी–जान्ने सुनी–जान्नेमा उनका सहयोद्धा भवानीप्रसाद शर्मा अधिकारी सबभन्दा महत्वपूर्ण सूत्र यस पंक्तिकारलाई बने । उनी ०५३ मा नेपालगन्जमा पंक्तिकारकै निवासमा एक महिना पाहुना थिए । सोही मुद्दामा पाल्पाबाट जुम्ला चलान गरिएका प्रदेश सेक्रेटरी एवं ०१५ मा पाल्पाबाट कम्युनिस्ट पार्टीबाट निर्वाचित कमलराज रेग्मी दोस्रा साक्षी हुन् । उनैले पार्टी सदस्यता कामी बुढा र भवानीलाई दिएका थिए । तेस्रा साक्षी तीर्थबहादुर थैब श्रेष्ठ रेग्मीसँगै जुम्ला गएका थिए, उनी अहिले गुल्मी रिडी बजारमै छन् । बन्दी किसानलाई रासन पु¥याउन जाने ८५ वर्षीय रणबहादुर शाही जुम्ला कुँडारीमा अझै छन् । तत्कालीन जुम्ला जिल्ला अदालतका कर्मचारी, पूर्वमन्त्री एवं राजपरिषद् स्थायी समिति सदस्य दिवंगत अदानसिंह कठायतले आफ्नो स्मरण गरेका छन् । भारतीय सेनादेखि विद्रोहसम्म साथै रहेका नरबहादुर बुढा मात्रै हैन, टेकबहादुर पुनका स्मरण पनि लिखित दस्ताबेज बनेका छन् । लोककथामा त इतिहास ज्युँदै रहेको छ ।
नेत्रलाल अभागी र शंकर पोखरेलले पनि विभिन्न प्रसंगमा यो विषय समेटेका छन् । तेजेन्द्र खाम मगरले ‘कामी बुढा मगरको जीवनी’ पुस्तक लेखेका छन् । कामी बुढाबारे नै थेसिस दाङका पत्रकार नरेन्द्र केसीले गर्दै छन् । नेकपा –एकता केन्द्र) को रुकुम जिल्ला कमिटीको बैठकमा पार्टी सचिव एवं जनमोर्चाका निर्वाचित सांसद खड्गबहादुर बुढाको प्रस्ताव र मोहन वैद्य किरण एवम् रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा उनलाई सहिद घोषणा गर्ने पहिलो प्रस्ताव पारित गरिएको थियो । जनयुद्धको थालनीपूर्वको अन्तिम विस्तारित बैठकले कामी बुढालाई जनयुद्धको प्रेरणा–स्रोत मानेको छ । एकीकृत नेकपा (माओवादी)को हेटौंडामा सम्पन्न एकताको सातौँ महाधिवेशनले उनलाई सहिद घोषणा गरेको छ । रुकुम खलंगाको शीतलपोखरीमा ०६५ मा उनको सालिक निर्माण भएको छ । सो सालिकको अनावरण वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६८ मंसिर २० गते गरेका हुन् । कामी बुढा अध्ययन समाज स्थापना गरेर स्मृति दिवस पनि मनाइँदै आएको छ ।
इतिहासको उत्खनन
कामीको जीवन विद्रोही लोककथामा रहेको श्रुति इतिहास त थियो नै, यसले अक्षर आकार भने लिन पाएको थिएन । रुकुमका कम्युनिस्टहरूले सहिदको चिहान खोतल्ने प्रयास गरेकै थिए । ४० को दशकमा सन्देश समूहका अगुवा नेत्रलाल अभागीले उत्खननको श्री गणेश गरे । २०४४–४५ मा यस पंक्तिकारले पनि खोजी अध्ययन गर्न थाल्यो । विभिन्न सन्दर्भ र आन्दोलनको औचित्य पुष्टि गर्न नेकपा (माले)का नेताले पनि उनको अनुसरण गरेका थिए । अकाट्य प्रमाण भनेकोे तत्कालीन कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सेक्रेटरी कमलराज रेग्मीद्वारा लिखत ‘आमा, पाल्पा र म’ नामक पुस्तक हो । तर, विषयकेन्द्रित घनीभूत कार्य भने माओवादी आन्दोलनले सहिदहरूको चिहान खोतल्न थालेपछि मात्रै भएको हो ।
चिहानको ललकारले चर्चा किन पाएन ?
उस्तै प्रकृतिका आन्दोलन गरेका भीमदत्त पन्तको चर्चा भए पनि कामी बुढा किन गुमनाम भएका होलान् भन्ने जिज्ञासा बढ्नु स्वाभाविकै हो । पन्तको विद्रोह भूभाग तराईसँग जोडिएको, विद्रोह दबाउन नेपाल–भारतको संयुक्त सैन्य अभियान चलेको, उनी ०७ पश्चात पहिलो डडेल्धुराका बडाहाकिम भएको, शिक्षितजनहरू पनि विद्रोहमा सामेल रहेको र त्यहाँका ठालुहरूसँग केन्द्रीय सत्ताको सीधा सम्बन्ध रहेको, उनको टाउको काटेर तीन दिन सार्वजनिक प्रदर्शन गरिएकाले पनि पन्तको विद्रोहको सौन्दर्यीकरण हुन पाएको हो ।
यसबारे राजनीतिक पार्टी र मिडियाले तत्कालीन चासो नदेखाउन वा बहसको विषय बन्न नसक्नुका कारणमध्ये भौगोलिक जटिलता र विकटता, विद्रोही क्षेत्र मुख्य सहर र राजधानीबाट सुदूर भूगोलमा हुनु, त्यसपछिको नेतृत्वमा क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मन, वचन र कर्मले स्वीकार नगरिनु, सो इतिहासको हकवाला कम्युनिस्ट पार्टीमै शान्तिपूर्ण वर्गसंघर्षको अभ्यास कार्यनीतिमा रहनु, विद्रोहकालमा विद्रोहको सौन्दर्यीकरण गर्ने क्रान्तिकारी चेतका बौद्धिक जमातको उपस्थितिको अभाव, क्रान्तिको प्रचार गरेमा आफू ओझेलमा परिने, त्यसपछिका कम्युनिस्ट नेतृत्वमा भयग्रन्थी पलाउनु आदि रहे ।
अन्त्यमा
जनयुद्ध थाल्दाको माओवादी पार्टी सगोलमा निर्मम समीक्षा नै नगरी फुटेर चारवटा भए । डा. बाबुराम भट्टराई कम्युनिस्ट पार्टी र दर्शनबाटै अलग भए भने विप्लवले आफ्नो पार्टीको नामबाटै माओवादी पदावली हटाउँदै छन् । अब भने समग्र माओवादी जनयुद्ध नै इतिहास समीक्षाकालबाट गुज्रिँदै छ । नेपाली राज्यसत्ताको चरित्रै फेर्ने र सामाजिक, सांस्कृतिक आन्दोलन बनेर सोचमै हस्तक्षेप गर्न सकेको जनयुद्धमाथि प्रतिध्रुवीय अनेकौँ प्रश्न, जिज्ञासा, भ्रम र आशंका उठेका छन् । त्यसको यथोचित जवाफ दिन भने कुनै घटक तयार छैन । आखिर जनयुद्धले थालनीताका जुन स्प्रिट, प्रतिबद्धता र लक्ष्य तय गरेको थियो, त्यसको अहिले वास्तविक हकवाला को भनेर स्पष्ट भन्न सक्ने अवस्था भने छैन ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: