धनगढी, धनगढी नगरपालिका—५ को कैलाली खोलाबाट प्रहरीले एक थान राइफल बरामद गरेको छ । खोलामा माछा मार्दै गरेका स्थानीयवासीले बुधवार खोलामा बन्दुक देखिएको सूचना दिएपछि गएको प्रहरी टोलीले गोलीसहितको राइफल बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
राइफल द्वन्द्वकालीन समयमा तत्कालीन विद्रोहीले लुटेर लुकाएको हुन सक्ने बताइएको छ । यसैबीच बुधबार निगाली गाविसका दीर्घ साउदको एक तले कच्चीघरमा लागेको आगाले निजको करिब रु एक लाख ५० हजारबराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै रामशिखरझाला गाविस—५ का टीकाराम उपाध्याय, अम्बर उपाध्याय र परन उपाध्यायको घर र गाईगोठमा भएको आगलागीबाट अन्नपात, लुगा, भाँडावर्तनलगायत मालसामान जलेर क्षति पुगेको छ । उक्त घटनामा गोठमा बाँधिराखेको गाईको बाच्छोसमेत मरेको जनाइएको छ ।
प्रतिकृया लेख्नुहोस्: