चैत्र १६ गते, २०७३ बुधवार 29th March, 2017 Wed१३:०८:०९ मा प्रकाशित
हरेक समुदायभित्र मानिसका दिनचर्या र जीवन प्रणालीसँग जोडेर नियम र सँस्कार बनाइएको हुन्छ । यी सँस्कारहरु विभिन्न कालखण्डमा परिमार्जन भईरहेका पनि हुन्छन । सामाजिक व्यवस्थाको चरित्र अनुसार यस्ता सँस्कारहरु परिमार्जन हुन्छन र राम्रा अनि अनिवार्य सँस्कारहरु कायम रहन्छन । त्यस्तै अनावश्यक सँस्कारहरु हराएर पनि जान्छन । तथापी केही केही सँस्कारहरु बर्णको दम्भ, जातीय अहंकार र धार्मिक श्रेष्ठता कायम गर्न समयानुकुल नभएपनि लागु गरिन्छ वा परम्परा टिकाउँने नाममा मानिरहने गरिन्छ । हिन्दू परम्परा भित्रको ब्रतबन्ध पनि त्यस्तै औचित्यहिन तर अझ आडम्बरका साथ अपनाउने गरिएको सँस्कार हो ।
[caption id=\"attachment_125006\" align=\"alignleft\" width=\"365\"] रोहित दहाल[/caption]
हिन्दू परम्परामा विभिन्न संस्कारहरुलाई अपनाउने गरिन्छ । हिन्दु परम्परामा धेरै पहिलेदेखि गर्भाधान (सन्तानबृद्धिका लागि गर्भको शुभ होस भन्ने) सँस्कार, पुंसवन (पुत्र नै प्राप्त होस भन्ने) सँस्कार,सीमन्तोेन्नयन (श्रेष्ठ सन्तान होस भन्ने) सँस्कार, जातकर्म(बच्चाको नाल काट्नुपूर्व आयु,बल,बुद्धि बढोस भन्ने) सँस्कार,नामाकरण (नाम राख्ने) सँस्कार,निष्क्रमण (सूर्य,बायु,प्रकृतिको दर्शन गराउँने) सँस्कार,अन्नप्राशण(अन्न खुवाउँने) सँस्कार, विद्यारम्भ(पढन लेख्न सिकाउँने) सँस्कार,कर्णभेद (कान छेड्ने)सँस्कार, ब्रतबन्धअर्थात चुडाकर्म (जनै धारण गर्ने) सँस्कार,बेदारम्भ(बेद पढ्ने) सँस्कार,केशान्त(बेदबाट दीक्षित भएपछि केश काट्ने) सँस्कार,समावर्तन(ब्रहम्णले बेदबाट दीक्षित शिष्यलाई बैदिक मन्त्रबाट शुद्ध पर्ने) सँस्कार,विवाह सँस्कार, अन्त्येष्टी सँस्कार, श्राद्ध सँस्कार रहेका छन् ।
माथिका यी सबै सँस्कारलाई हेर्दा अधिकांश संस्कारहरु तत्कालिन ब्राह्मणहरुले ब्राह्मण क्षेत्रीहरुका लागि तयार गरेको देखिन्छ । त्यसमध्ये कतिपय बैज्ञानिक र अनिवार्य कर्म नै छन् भने कतिपय लैंगिक र बर्ण विभेद लागु गर्ने सोचाईका देखिन्छन । बेद पढ्ने र बेदबाट दीक्षित हुनुपर्ने जस्ता सँस्कारहरु बेद पढ्न पहिले नै बन्चित गरिएकाहरुका लागि किमार्थ थिएनन् भन्ने स्पष्ट नै छ । यी सँस्कारहरु पशुभन्दा तल्लो श्रेणीमा राखिएका मानिसहरुका लागि थिएन बरु सर्बश्रेष्ठ मानव भनी स्वघोषित ब्राह्मणहरुका लागि बनाइएको थियो ।
बर्तमान समयसम्म आउँदा कतिपय सँस्कारहरु हटिसकेका छन् र केहि केहि अब हटाउँदै जानुपर्ने समेत देखिन्छ । बर्तमानमा सबै मानिसहरुले गर्नैपर्ने अनिवार्य कर्महरु भनेको नामाकरण (न्वारन) सँस्कार, विवाह सँस्कार, अन्त्येष्टी सँस्कार र श्राद्ध सँस्कार नै हो । हरेक व्यक्तिको निजत्व र पहिचानका लागि नाम राख्नैपर्छ । यो सँस्कार आ–आफ्ना धार्मिक सामाजिक चलन अनुसार सबैले गर्नैपर्छ ।
भौतिकवादीहरुले पनि आफ्नै प्रगतिशील शैलीबाट जन्मिएको बच्चाको नाम राख्नै पर्छ । विवाह भनेको महिला र पुरुषबीच जीवन सँचालन गर्न ल्याइएको नियम हो र यो अनिवार्य कर्म हो । आदिम साम्यवादी समाजमा यौन स्वच्छन्द थियो । पछि यस्तो स्वच्छन्दताले अराजकता निम्त्याएको हुँदा निश्चित महिला र पुरुषबीच विवाह गर्ने चलन आयो र अहिलेको आधुनिक समाजमा भने बहुपत्नी /बहुपति प्रथा गैह्र कानूनी मान्दै एकनिष्ठताको सम्बन्ध कायम गर्नुपर्ने भयो । अन्त्येष्टी सँस्कार भनेको मानिसको शवलाई जलाउँने वा गाड्ने कर्म हो ।
स्वभाविकरुपमा मानिसको मृत्यु पछि लासलाई कुहाएर राख्ने वा बेवारिसे छाड्ने कार्य शोभनीय हुन्न । यसलाई पनि आफ्नै धार्मिक, साँस्कृतिक चलन अनुसार गरिन्छ र भौतिकवादीहरुले पनि आफ्नै तरिकाले गर्छन । श्राद्ध सँस्कार भनेको मृत्यु भईसकेका व्यक्तिहरुको सम्झनामा प्रत्येक बर्ष उसका सन्तानले सम्झना गर्ने दिन हो । धार्मिक मानिसहरु मरेको मान्छेको आत्मा स्वर्ग वा परमधाम पुगेको हुन्छ र उसका लागि राम्रो होस् भनेर पिण्ड लडाएर वा आ–आफ्नो चलन अनुसार गर्छन भने भौतिकवादीहरु मृत्यु भईसकेको मानिसको राम्रा र नराम्रा कामहरुको द्वन्दात्मक बिश्लेषण गर्दै विविध कार्यक्रम गरेर मनाउँछन ।
यी अनिवार्य कर्महरुसँगै नेपालका ब्राह्मण क्षेत्रीहरुले ब्रतबन्ध सँस्कार पनि मनाउँने गर्छन् । यसलाई चुडाकर्म वा उपनयन पनि भन्ने गरिन्छ । ब्रतबन्ध समान्यतः आठ बर्ष देखि २५ बर्षसम्ममा गर्ने चलन छ । ब्रतबन्ध गरेकाहरुले धार्मिक कार्यमा सँलग्न हुन पाउँछन् भनिन्छ । यस अर्थमा भौतिकवादीहरुका लागि यो कर्मको कुनै औचित्य छैन । साँच्चै भन्ने हो भने यो कर्मको कुनै बैज्ञानिक औचित्य पनि देखिन्न ।
यस जगतका प्राणीहरु मध्ये सर्वश्रेष्ठ प्राणी मानव हो भन्ने कुरामा कुनै द्विविधा छैन । तर मानिसहरुमध्ये सर्वश्रेष्ठ मानिस भनेका ब्राह्मण हो र त्यो पनि ब्रतबन्ध गरेको उपाध्याय ब्राह्मण मात्र सर्बोत्कृष्ट मानव हो भन्ने सोचाई भने गलत र पाखण्डी तर्क हो । यहि तर्कलाई स्थापित गरेको छ ब्रतबन्ध सँस्कारले । यस कर्ममा बालकलाई टुप्पी बाहेक टाउको मुण्डन गराई अष्टबक्र लौरो,कमण्डलु, पोटली लिएर गेरु बस्त्र र मृगचर्म धारण गरेर भिक्षा माग्न लगाइन्छ । अर्थात शुद्ध ब्राह्मण बनाउँने कोशिस गरिन्छ ।
बेद अध्ययन ब्राह्मण वा ब्राह्मणको बंशजमा पर्नेहरुले गर्नुपथ्र्यो र अरुले बेद पढ्न पाउँदैनथ्यो । ब्राह्मण वा सो कुलसँग सम्बन्धित बालकलाई बेद शिक्षा दिन अनिवार्य गरिएको थियो । त्यस बेला बालकलाई ब्रम्हचार्य पालन गराउँन ब्रतबन्ध गराइन्थ्यो । यो सँस्कार कायम राख्न नाटकका रुपमा बालकले ब्रम्हचार्य सहित बेद अध्ययनका लागि आश्रम जान खोज्ने र बालकको मामाले उसलाई गृहस्थ जीवनमा फर्काउन खोज्ने विधी अझै पनि ब्रतबन्धका क्रममा गर्ने गरिन्छ । यसको अर्थ त्यहाँ बेदको अध्ययनलाई प्रमुख मानिएको छ जबकि अरु मानिसले बेद पढ्न पाउँदैनथे । यसको अर्थ ब्रतबन्ध भन्ने कुरा ब्राह्मण वा ब्रह्मण वरिपरि रहेका क्षेत्री, राजपुतहरुले बेद पढ्ने जातले अझ उच्च बनी अरुलाई तुच्छ मानिसका रुपमा बिश्लेषण गर्न नै यो चलन चलाएको पुष्टी हुन्छ ।
जंगबहादुर राणाले जारी गरेको नेपालको मुलुकी ऐन १९१० मा नेपाली समाजलाई तागाधारी(ब्राह्मण,राजपुत,क्षेत्री), मासिने मतुवाली, नमासिने मतुवाली, पानी नचल्ने छोइछिटो गर्नु नपर्ने, पानी नचल्ने छोइछिटो गर्नुपर्ने गरी पाँच तहमा मानिसलाई विभाजन गरिएको थियो । तागाधारीहरुलाई अपराध गरे पनि अरुभन्दा कम सँजाय दिइन्थ्यो भने अरु समूदायले तागाधारीलाई छोएमा वा छोएको खाना खुवाएमा अरु समूदायकाले कडा सँजाय पाउँथे । यसरी ऐनबाटै मनुस्मृतिको विभेदकारी ब्यवस्थालाई राज्यले लागु गरेको थियो र समाजमा ब्राह्मणवादलाई बलियो बनाएको थियो । ऐनले नै तागाधारीहरुलाई उच्च मानिसको रुपमा व्यवस्था गरेपछि कतिपय तागाधारी समूदाय भन्दा फरक समूदायका मानिसहरुले पनि त्यो समूदायभित्र आफू उच्च भएको देखाउँन ब्रतबन्ध गरी जनै लगाउँन थालेको पाइन्छ ।
तागाधारीलाई उच्च मानेर निर्माण गरिएको नेपालको मुलुकी ऐन १९१० मा तल्लो जातले छोएको कुन कुन कुरा बिटुलो हुन्छ र कुन कुन कुरा बिटुलो हुँदैन भनेर पनि उल्लेख नै गरिएको थियो । उसिनेको भुटेको अन्न बिटुलो हुने तर त्यहि अन्न छोडाएको, पिसेको भए बिटुलो नहुने भनिएको थियो । पानी राख्ने माटाका भाँडो मात्र छुँदा बिटुलो नहुने तर त्यसमा पानी राखेको छ भने त्यो पानी बिटुलो हुने भनिएको थियो । यो सरासरी जनैवादलाई महान ठानेर उनीहरुलाई आम मानिसभन्दा उच्च बनाउँने राज्यकै नीति थियो । यसरी ब्रतबन्धका नाममा शुरु गरिएको जनैवादले छुवाछुत प्रथालाई बलियो बनाउँने काम ग¥यो र अहिले पनि त्यहि बिचारलाई टिकाउँन ब्रतबन्धलाई अझ तामझामका साथ स्थापित गराउँन खोजिएको देखिन्छ ।
ब्रतबन्धको औचित्य अबको समाजमा स्वतः समाप्त भएको छ । जनै धारण गरेर मद्यपान गर्नेहरुलाई पृथ्वीनारायण शाहको पालामा जनै झिकेर मतुवाली जातमा खसालिन्थ्यो । झुक्किएर मद्यपान गर्नेलाई ब्राह्मणहरुले विधी पु¥याएर पतिया(शुद्ध पार्ने कार्य) गरिन्थ्यो । यसले के देखाउँछ भने ब्रतबन्ध गरेर जनैधारण गर्नु भनेको अन्य मानिसलाई निकृष्ट र ब्राह्मण, क्षेत्री, राजपुतलाई उत्कृष्ट ठह¥याउँने सँस्कार थियो । तर अहिलेअवस्था बदलिएको छ । ब्राह्मणले जनै समाउँदै मद्यपान गरेर पनि ब्राह्मण भईरहने अवस्था आएको छ ।
अब व्यवहारिक रुपमा पनि जनैको औचित्य ब्राह्मणवादले कसरी पुष्टी गर्नसक्दैन। ब्राह्मणहरुले नै अरब र यूरोपतिरका देशहरुमा त्यहाँका गैह्र हिन्दु (धार्मिक शब्दमा म्लेच्छ)का भाँडा माझ्न छोराछोरी पठाइरहेको अवस्थामा उनीहरुको आफ्नै आदर्शले समेत जनैवादको औचित्य सिध्याईदिएको छ । अब कथित आडम्बरका लागि ब्रतबन्ध गरि जनै धारण गर्नुको अर्थ बाँकी देखिँदैन । बर्तमान समयमा गर्न नहुने खोक्रो सामन्तवादी आदर्शलाई बोकेर कथित जातीय उत्कृष्टता प्रदर्शन गर्ने जनैवाद र ब्रतबन्ध सँस्कारलाई अब अनिवार्य कर्म ठान्ने गल्ति गर्नु हुँदैन ।
“ऊँ भुर भुवस्वः तत्सविर्तुवरण्यम, भर्गो देवस्यधिमहि धियो यो ना प्रचोदयातः” भन्ने मन्त्र ब्रतबन्ध गर्ने बदुकहरुका कानमा बाहुनले फुसफुाउँदै यसलाई तागाधारीबाहेक अरुले सुन्न नहुने मन्त्र भन्ने गरिन्थ्यो । यसरी मानिसले नै बनाएको कथित मन्त्र समेत अरु मानिसहरु र महिलाले सुन्न नहुने भनिन्थ्यो । यसले नै पुष्टी गर्छ कि यो ब्रतबन्ध सँस्कार कति अमानवीय छ । अहिले आएर यो मन्त्र महिला(अनुराधा पौड्वाल)को स्वरमा माइकबाट सबैले सुन्ने गरी बाचन गरिन्छ । सो मन्त्र महिलाले नै गाएर माइकबाट बजाउँदा समाजमा नौलो केहि भएको त छैन नि ! तर अझै पनि आफ्नो बर्णको अहंकारलाई कायम राख्न सार्वजनिक भईसकेको मन्त्र कानमा फुसफुसाउँने चलन भने अन्त्य गरेको देखिन्न र अझै पनि यसलाई गोप्य राख्न र महिला, दलित(अछुत), जनजाति (मतुवाली) ले सुन्न हुँदैन भन्न पनि छाडिएको छैन ।
यसले स्पष्ट के देखिन्छ भने ब्रतबन्ध प्रथा हट्यो भने ब्रह्मणवाद समाप्त हुन्छ भन्ने भय छ । एकजना विचारक फ्रेडरिक निच्ज (Fridrich Nietzs) ले भनेका छन “समाजमा जेजस्ता मूल्य मान्यताहरु स्थापित छन्, ती तथ्यमा आधारित नभएर व्याख्या र बिश्लेषणमा आधारित छन् अनि त्यो ब्याख्या र बिश्लेषण पनि शक्तिकेन्द्रले बनाएको हुन्छ ।” विगतका समयमा ब्रतबन्ध जस्ता कर्मलाई तथ्यबाट हैन ब्याख्या र बिश्लेषणबाट तत्कालिन राज्यसत्ताको प्रमुख अंग ब्राह्मणवादी शक्तिकेन्द्रले चलाएको थियो र अझै पनि ब्राह्मणवादी मानसिक शक्तिकेन्द्रले त्यहि कर्मलाई तथ्यले हैन ब्याख्याले टिकाइरहन खोजेको छ ।
बर्तमानमा कतिपय आधुनिक बिचारका मानिस हौं भन्नेहरु पनि ब्रतबन्धलाई अनिवार्य कर्म बताउँने गर्छन र अझ पार्टी प्यालेसमा नाचगान , भोजभतेर गरी खर्च गरेर मनाउँछन् । यसरी पार्टी प्यालेसमा खाना खुवाइरहँदा खाना पकाउँनेहरु सबै तागाधारी हुँदैनन् । तर पनि ब्रतबन्धको भोज कार्य शुद्ध नै भएको मानिन्छ । तथ्यबाट हेर्दा ब्रतबन्धको कथित शुद्धता सिद्धिएको छ तर पनि जर्बजस्ति यो कर्मलाई अझै शुद्धताको प्रतिक बनाउँने ब्याख्या र बिश्लेषण भने जारी छ । यसरी ब्रतबन्ध बर्तमान समयमा सन्दर्भहिन सँस्कार भईरहेको छ तथापी बर्ण विभाजनलाई नयाँ ढंगले कायम राख्न यसलाई फेसनको रुप दिन थालिएकोछ । फेसनको रुपमा चल्न थालेको यस्तो ब्रतबन्ध सँस्कार अनिवार्य कर्म हुनै सक्तैन ।
व्यवहारिक नभए पनि, यसको औचित्य समाप्त भएको भए पनि, जतिसुकै आडम्बरी, ढोंगि क्रियाकलाप भएपनि ब्रतबन्ध प्रथा जोगाउँनु पर्छ र जनैवादलाई प्रोत्साहित गर्नुपर्छ भन्नु भनेको अर्को शब्दमा छुवाछुत प्रथा कायम राख्नु पर्छ, मुलुकी ऐन १९१० लाई ब्युँताउँनुपर्छ र मानिसले मानिसलाई नै तुच्छ र उच्च ठान्ने सँस्कार कायम राख्नुपर्छ भन्नु नै हो । तसर्थ मानव जीवनमा विभेदको जरा रोप्ने यस्ता कर्मलाई अनिवार्य पार्ने कुरा हटाउँनुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: