संविधान संशोधन प्रस्ताव आज संसदमा पेस नहुने, यस्तो छ कारण
श्रावण ३१ गते, २०७४ मगलवार 15th August, 2017 Tue०८:१७:४१ मा प्रकाशित
काठमाडौं ।सरकारले संविधान संशोधन प्रस्ताव मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकमा पेस नगर्ने भएको छ । प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको, सरकार उद्धार तथा राहतमा जुट्नुपरेकाले तत्काल संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत नगरिने कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए ।
अाजको नयाँ पत्रिकामा खबर छ– संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ पुगे वा नपुगे पनि अघि बढाउन राजपा सहमत भएपछि सत्तारूढ कांग्रेस र माओवादी केन्द्र प्रस्ताव संसद्मा मतदानको प्रक्रियामा लैजाने पक्षमा थिए । तर, बाढीपहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएकाले मंगलबार संसद्मा संशोधन प्रस्तुत नगरिने श्रेष्ठको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू प्रकोपग्रस्त क्षेत्रको निरीक्षणमा निस्किरहनुभएको छ । सरकार अहिले उद्धार तथा राहतमा खट्नुपर्ने वेला हो । अनुकूल समयमा अझै राजनीतिक दलहरूबीच छलफल भएपछि मात्रै यो प्रस्ताव संसद्मा प्रस्तुत हुनेछ,’ उनले भने ।
माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि कतिपय सांसद नै उपत्यका बाहिर रहेकाले संविधान संशोधनको प्रस्ताव मंगलबारको संसद्मा प्रस्तुत नहुने बताइन् । ‘अहिले सबै दल मिलेर पीडित जनताको बीचमा जाने वेला हो । औपचारिक रूपमा संशोधन प्रस्ताव मंगलबार नै संसद्बाट टुंगिदैन भन्न त मिल्दैन, तर यो तत्काल अघि बढ्ने स्थिति अहिले छैन,’ उनले भनिन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधनजस्तो विषयमा सत्तापक्षले संसद्मा प्रस्ताव अघि बढाउनेबारे आफूहरूसँग छलफल नगरेको बताए । सत्तापक्षले दुईतिहाइ पुर्याउन सक्ने स्थिति नरहेकाले पनि यो प्रस्ताव तत्काल प्रस्तुत हुने अवस्था नरहेको उनको भनाइ छ । ‘हामीसँग छलफल भएको छैन । सत्तापक्षले संशोधन प्रस्ताव संसद्मा लैजाँदै छ भन्ने मिडियाबाट सुनिएको हो । तर, विपत्को वेला भएकाले प्रस्ताव तत्काल प्रस्तुत होलाजस्तो लाग्दैन,’ ढकालले भने ।
दुईतिहाइका लागि कसरत
संविधान संशोधनलाई पारित गराउन दुईतिहाइ मत अर्थात् ३९५ मत आवश्यक हुन्छ । तर, सत्तारूढ दलसँग अहिले २२ मत अपुग छ । राप्रपा फुटेपछि कमल थापा पक्षले भोट नहाल्दा २२ मत अपुग हुने देखिएको हो । तर, पनि दुईतिहाइ पुर्याउन सत्तारूढ र राजपाले कसरत गरिरहेका छन् । ‘दुईतिहाइका लागि औपचारिक-अनौपचारिक कुुराकानी भइरहेको छ,’ झाले नयाँ पत्रिकासँग भने, ‘हाम्रा नेताहरूले दुवै राप्रपाका नेतालाई मनाउने प्रयास गरिहनुभएको छ । एमालेलाई समेत संशोधनका पक्षमा भोट हाल्न भेटेरै आग्रह गर्दै छौँ ।’
प्रमुख दल र सभामुखबीच छलफल भएन
सभामुख ओनसरी घर्ती गृहजिल्ला रोल्पाबाट सोमबार साँझ मात्रै काठमाडौं फर्किएकी छन् । संविधान संशोधन प्रस्ताव सदनमा लैजानेबारे प्रमुख दल र सभामुखबीच छलफल नभएको उनका प्रेस सल्लाहकार बबिन शर्माले बताए । ‘रोल्पाबाट निर्वाचित प्रतिनिधि भएकाले पनि सभामुख जिल्लाको नगर सभामा जानुभएको थियो । यसकारण संशोधन प्रस्तावबारे छलफल भएको छैन,’ उनले भने ।
संसद् सचिवालयले मंगलबारको संसद्को सम्भावित कार्यसूचीमा समेत संविधान संशोधन प्रस्तावबारे केही उल्लेख गरेको छैन । संसद् बैठक बस्नुअघि कार्यव्यवस्था समितिले टुंगो लगाए मात्र संसद्ले संशोधन प्रस्तावमाथि कारबाही अघि बढाउने संसद् सचिवालयका प्रवक्ता जीवराज बुढाथोकीले बताए ।
चिकित्सा शिक्षा विधेयकसमेत रोकियो
चिकित्सा शिक्षा विधेयकसमेत मंगलबार संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिबाट संशोधित विधेयक सर्वसम्मत पारित भइसकेको छ । तर, सोमबार सार्वजनिक बिदा परेका कारण आफूले कार्यव्यवस्था परामर्श समितिलाई जानकारी गराउन नपाएको समिति सभापति रञ्जु झाले बताइन् । ‘केही दिनदेखि संसद् चलेको छैन । सोमबार सार्वजनिक बिदा भयो । मंगलबार कार्यव्यवस्थालाई जानकारी गराउँछु,’ उनले भनिन् ।
राजपाका नेता प्रस्तुत हुनेमा आशावादी
राजपा नेता केशव झाले निर्णयार्थ प्रस्तुत नै नभए पनि मंगलबारको कार्यसूचीमा संशोधन विधयेक प्रस्तुत भई छलफल हुने आश्वासन पाएको जानकारी दिए । ‘मंगलबार संशोधन विधेयक संसद्को कार्यसूचीमा प्रवेश हुने सूचना पाएका छौँ,’ उनले भने, ‘संसद्मा प्रस्तुत भएपछि छलफल गरेर मतदानको टुंगो केही दिनमा लाग्छ भन्ने आशा हाम्रो छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: