संविधान संशोधनमाथिको बृहत् छलफल अाइतबार, मतदान प्रक्रिया साेमबार
भाद्र ४ गते, २०७४ आइतवार 20th August, 2017 Sun०९:१६:२७ मा प्रकाशित
काठमाडौं ।संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसद्मा आइतबार हुँदै छ । गत बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै इच्छुक अन्य सांसदले समेत बोल्न समय पाउने भएकाले संशोधन प्रस्तावमाथि मतदान भने सोमबार मात्र हुने भएको छ । सोमबार दिउँसो १ बजे सुरु हुने बैठकमा संशोधन प्रस्तावमाथि संशोधन दर्ता गराउनेले बोल्ने क्रम जारी रहने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।
प्रमुख प्रतिपक्षी दल एमाले संशोधन प्रस्तावलाई संसद्बाट प्रक्रियागत रूपमा टुंगो लगाउन सकारात्मक भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो । संविधान संशोधनको माग गर्दै आएको मधेसकेन्द्रित दल राजपासमेत प्रस्ताव पास वा फेल जे भए पनि संसदीय प्रक्रियाबाट टुंगो लगाउन राजी भएको छ ।
यसरी आएको हो संशोधन प्रस्ताव
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत मंसिरमा प्रदेशको सीमांकन हेरफेर गर्नेसहितको संविधान संशोधन प्रस्ताव ल्याएपछि एमालेले सदन तथा सडकबाट विरोध सुरु गर्यो ।
एमालेसहित कतिपय कांग्रेस र माओवादी केन्द्रकै सांसद पनि विरोधमा उत्रेपछि अन्ततः सरकारले संशोधन प्रस्ताव फिर्ता लिँदै गत २९ चैतमा नयाँ संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकारले दोस्रोपटक ल्याएको संशोधन प्रस्ताव संसद्मा अघि बढेको हो । आफूअनुकूल संविधान संशोधनको माग गर्दै आएको मधेसकेन्द्रित दल अन्ततः सरकारले ल्याएको संशोधन प्रस्तावलाई नै संसदीय प्रक्रियाबाट टुंगो लगाउन सहमत भयो ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संशोधन प्रस्तावको प्रक्रियाको स्वरूप परिवर्तन गरिएकाले आफूहरू अन्तिमसम्म संशोधन प्रस्तावको विरोधमा उभिने बताए । ‘हामी विषयमा अवरोध गर्दैनौँ । यो प्रस्ताव सरकारले ल्याउनु हुन्नथ्यो भन्ने एमालेको धारणा हो । हामी विरोधमै रहन्छौँ । हामी अवरोध र विलम्ब दुवैको पक्षमा छैनौँ,’ उनले भने ।
सत्तारुढमा दुईतिहाइको आस, तर पुग्न कठिन
सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा राजपाले संविधान संशोधनमा अझै पनि दुईतिहाइ मत पुग्ने विश्वास मारिसकेका छैनन् । संसद्मा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ ।
तर, एमाले, राप्रपा र साना दलको सहयोग नहुँदा संशोधनमा दुईतिहाइ पुग्न गाह्रो छ । ‘अझै दुई दिनपछि संशोधनलाई निर्णयार्थ पेस गर्ने तयारी छ,’ कांग्रेस नेता डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘हामीलाई दुईतिहाइबाट संविधान संशोधन गर्न २२ मत अपुग छ । दुई दिनमा मत पुग्न सक्छ भन्ने विश्वास अझै छ ।’
कसरी पुग्ला दुईतिहाइ
एमाले, नेकपा मालेसहितका साना दल संविधान संशोधनका विपक्षमा छन् । तर, सत्तारुढ दल कमल थापा नेतृत्वको राप्रपासहितका साना दललाई मनाउने प्रयासमा छन् । राप्रपालाई ल्याउन सके संशोधनका लागि सात मत मात्र आवश्यक पर्छ । यस्तोमा केही साना दललाई विश्वासमा लिने पक्षमा सत्तारुढ दल छन् ।
‘साना दलहरूलाई पनि संविधान संशोधनमा ल्याउन हाम्रो पहल जारी छ,’ देउवानिकट नेता महतले भने, ‘राजनीतिक निकासका लागि संविधान संशोधनलाई सहयोग गर्नुपर्छ भन्नेमा हामी छौँ, तर कुनै दल सरकारमा सहभागी भई संशोधनमा तयार हुनुहुन्छ भने यो विकल्प पनि खुला छ ।’
आफूसँग रहेका चार मन्त्रालय साना दललाई दिन प्रधानमन्त्री शेरबहादुर देउवा तयार छन् । राप्रपाले संशोधनमा सहमति जनाए मात्रै नपुग्ने सात मतमा यो विकल्पलाई पनि प्रधानमन्त्रीले खुला राखेका हुन् ।
पार्टी विभाजनपछि कमल थापा नेतृत्वको राप्रपाले खुलेर पक्ष वा विपक्षको औपचारिक निर्णय नगरेपछि सत्तारुढ दल आशावादी देखिएका हुन् । थापाकै आग्रहअनुसार संशोधनमा ५ भदौमा भोटिङ गर्ने तयारी गरेको राजपा नेता केशव झाले जानकारी दिए ।
राजपाले संसद्बाटै एमालेलाई आग्रह गर्ने
राजपाले संविधान संशोधनमा सहमति जुटाउन एमालेलाई लिखित पत्र पठाएरै आग्रह गर्ने तयारी गरेको थियो । तर, नेताहरू बाढी प्रभावित क्षेत्र तराईमा केन्द्रित रहेकाले अब संसद्बाटै आग्रह गर्ने भएको छ ।
‘हामीले लिखित पत्र पठाएरै एमालेलाई संशोधनमा सघाउन आग्रह गर्ने तयारी गरेका थियौँ, तर नेताहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ,’ राजपा नेता केशव झाले भने, ‘अब निर्णयार्थ पेस हुने दिनमा संसद्बाटै एमालेको सहयोग माग्छौँ ।’ प्रधानमन्त्री शेरबहादुर देउवा ७ भदौमा भारत भ्रमणमा जाने भएकाले त्यसअघि संविधान संशोधनलाई टुंग्याउने सरकारो तयारी छ ।
संशोधनको पक्षमा
कांग्रेस २०७
माओवादी केन्द्र ८०
राप्रपा प्रजातान्त्रिक २२
फोरम लोकतान्त्रिक १७
राष्ट्रिय जनता पार्टी २५
संघीय समाजवादी फोरम १५
नेकपा संयुक्त ३
अखण्ड पार्टी नेपाल १
समाजवादी जनता पार्टी १
नेपाल परिवार दल २
संशोधनको पक्षमा जम्मा ३७३संशोधनका लागि आवश्यक संख्या : ३९५ अपुग : २२ (१५ सांसद रहेको राप्रपाले समर्थन नगर्दा )हाल संशोधन प्रस्तावको विपक्षमा रहेका दलहरू
एमाले १८०
राप्रपा १७
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेकपा माले ५
नेपाल परिवार दल २
बहुजन शक्ति पार्टी १
स्वतन्त्र १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
मधेस समता पार्टी नेपाल १
नेपाल सद्भावना पार्टी १
जनजागरण पार्टी नेपाल १
नेपा राष्ट्रिय पार्टी १
खम्बुवान राष्ट्रिय पार्टी १
नेपाली जनता दल १
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: