बैशाख १५ गते, २०७२ मगलवार 28th April, 2015 Tue१९:०१:१९ मा प्रकाशित
हाम्रो घर सिन्धुपाल्चोक सेलाङ् गाविस वडा नम्बर ८, चेपे भन्ने गाउँमा पर्छ । चार घर थिए । ती सबै हाम्रो दाजुभाइको थियो । खेती किसानी गर्ने गर्छौँ । बा पनि अस्ति चैत्र २६ गते खसेका थिए । ढुङ्गाको गाराको घर थियो । एक तल्लाको । बिहान बारीमा कोदोको बिऊ राखेर आएको थिएँ । घरको आगनमा म थिएँ, सफा गर्दै । मौसम पनि त्यस्तै थियो ।
बिहान पानी परेको थियो । डम्म परेको बादल पनि त्यस्तै थियो । बुहारीले खाना खान बोलाउँदै थिइन् । गुरुर्र आवाज आयो । म खाना खान होइन घर छोडेर अगाडी बढेछु । पछाडी फर्केर हेर्दा नातिनी चिच्याएको सुनेँ । घर भत्किएको थियो । झ्यालमा छोरी र नातिनी रहेछन् । नातिनीलाई छोरीले समातेर राखेकी थिइन् । हेर्दा हेर्दै छोरीले नातिनीलाई समातेर तल्तीर मिल्काइन् । मैले टिपेँ । जमिन हल्ली रहेको थियो । एक छिनमा छोरी पनि देखिनन् । ढुङ्गा माटो खोतल्न थालेँ । चार घण्टासम्म खोतल्दै गएँ । ढुङ्गा यताउता पल्टाएँ । भित्र ऐया... ऐया... भनेको सुनेँ । छोरी रहिछ । उसलाई निकालेँ । एकछिनमा छोरा र बुहारी सम्झेँ ती पनि छैनन् । सानो छोरा सम्झेँ, उ पनि छैन । कोट्याउँदै थिएँ । ऐया... ऐया... भन्ने अर्को आवाज झनै चर्को सुनियो ।
ती बुहारी रहिछन् । केहि बोल्दीनन् । टाउकोबाट भलभल्ती रगतमात्रै बगिरहेको थियो । एकघण्टा जतिमा बुहारी निकालेँ । बुहारी गर्भवती थिइन् । उनको नाम मायाँ तामाङ हो । जेठो छोरो रमेशको श्रीमती । उसको एउटा छोरो छ ।
बुहारी निकालेपछि फेरी जेठो छोरा खोज्न थालेँ । ढुङ्गा माटो पन्छाउँदै जाँदा जेठो छोरो भेटियो । जेठोलाई निकालेँ उसको ज्यानबाट रगत बगिरहेको थियो । राम्रोसँग हेर्न पाइनँ । कान्छोलाई खोज्न लागेँ । कान्छो छोरो यताउता काम गर्न सक्ने थियो । १० वर्षको । चार कक्षामा पढ्दै थियो । सेलाङ स्कुलमा । उसलाई खोज्न थालेँ । कतै भेटिनँ । दिनभरि खोज्दा पनि नभेटेपछि तल्लोघर तिर लागे । ठुल्दाई थिए । उनलाई निकालेँ तर उनको नातीलाई निकाल्न सकिनँ । अरुलाई बोलाउन खोजेँ कोहि छैन । सक्नेहरु सबैको होस् थिएनँ ।
कान्छो भाइको घरमा आमा थिइन् । त्यो घर पनि भत्केको थियो । खोतल्दै गएँ । ऐया...ऐया... भनेको सुनेँ । हात देखेँ । आमाको रहेछ । आमालाई निकालेँ । आमाको कम्मर मुनीको भागै नचल्ने अवस्थामा थियो । माथी बुहारीसँगै मिलाएर राखेँ ।
बुहारीको होस आएको थिएन । दाहिने आँखा नजिकै ठूलो चोट थियो । शनिबार र आईतबार त्यतिकै बित्यो । गाउँले सबैको होस थिएन । परिवारको हालत उस्तै थियो । केहि त गर्नै पर्छ भन्ने लाग्यो ।
सोमबार बिहानै बुहारीलाई डोकोमा हालेँ । काम गर्दा जे कपडा लगाएको थिएँ । त्यहि अवस्था थियो । अरु सबै घरले पुरेको थियो । साइलो भाइ अलिअलि घाइते थियो । उ र म सिन्धुपाल्चोक सदरमुकाम चौतारा तिर बुहारी डोकोमा बोकेर लाग्यौँ । बाटो सबै भत्किएका थिए । डोकोमा ल्याउन निकै गाह्रो भयो । ६ घण्टा पछि हामी सिन्धुपाल्चोक चौतारामा पुग्यौं । त्यति बेलासम्म मलाई बुहारी जिउँदै छिन् भन्ने लागेकै थिएन । टाउकोको मासु छैन । दायाँकान पनि छैन । कम्मर मुनीको भाग चलेकै छैन ।
त्यहा पुर्याएको केहि समयपछि बुहारीलाई आर्मीको जीपमा हालेर क्याम्प तिर लगियो । हामीलाई त्यता जान दिएन, काठमाडौं आउनु भन्यो । प्रहरीलाई बुहारीबारे सोध्दा छाउनी अस्पताल, शिक्षण अस्पताल, वीर अस्पताल, वा बि एण्ड बि अस्पताल जानु भन्ने सुझाव आयो । हामीसँग सम्पर्क माध्यम थिएन । हामी दुई भाइ थियौँ । प्रतिव्यक्ति एक हजार भाडा तिरेर काठमाडौं आयौं । सोमबार बेलुका चार बजे काठमाडौं आईपुग्दा कुन अस्पताल हो एकिन नै भएन । आउना साथ शिक्षण अस्पताल गयौँ । खोज्यौं । बुहारी कतै भेटिएन । त्यहि रात हामी हिँडेरै छाउनीको सैनिक अस्पताल गयौँ ।
त्यता पनि भेटिएन । सिभिल अस्पताल गयौं । बुहारी भेटिएन । मंगलबार बिहान फेरी एक पटक शिक्षण अस्पतालमा खोज्न गयौं बुहारी कतै भेटिएन । अब अन्तिम विकल्पको रुपमा केएमसी अस्पताल सिनामंगल पुग्यौं । बाहिर पाल टाँगेर राखिएको बिरामी हेर्यौँ । एक छेऊमा बुहारी जस्तै लाग्यो । बुहारी नै हो भनेपछि नजिक गयौं । नजिक पुगेपछि उनले सोधिन – ‘मलाई के भयो ? किन यहाँ ल्याएको ?’ त्यसपछि हामी खुसी भयौं । तर त्यो क्षणिक खुसी थियो ।
गाउँमा घर भन्नु छैन । कान्छो छोरो कता पुरिएको छ अहिले सम्म पत्तो छैन । आमाको कम्मरबाट रगत बग्दै थियो । अरु तीन जना विरामी उतै छन् । आमा मेरो जेठो छोरो छोरी र नाती विरामी अवस्थामै छन् । आफ्नो वरिपरिकाहरु त्यस्तै थिए । साइली बुहारीको हालत उस्तै थियो । तल्लोघरको दाई थलामै छन् । वडाभरि ३० जनाको लास निकालेर आएका हौं । अरु कति पुरिएका होलान् हेक्का छैन । जम्मा तिस घर थियो । कुनैको तीनवटै बच्चा छैनन् । उनीहरुको परिवार सबै बेहोस अवस्थामा छन् । उनीहरुलाई अस्पतालको चासो नै छैन ।
डाक्टरले भने अनुसार बुहारीको कम्मरको हड्डिी खुस्केको छ । टाउकोमा लागेको चोटले ठूलै असर गर्छ रे । पेटभित्रको बच्चाको पनि ठेगान छैन रे । तीन छोरा र एक छोरी थिए । जेठोको थलामै थियो । म यता आउदा छोरी रुदै थिई । उसको ज्यान पनि ठेगानमा थिएन । माइलो मलेसिया छ । कान्छो पुरिएको छ ।
सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: