काठमाडाैं । पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री समेत यतिबेला चुनावी मैदानमा छन् । २०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता गैरदलीय सरकार प्रमुख बाहेक प्रधानमन्त्री भएका जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट विश्राम लिएका छन् ।
चुनाव लडेका सबै पार्टी वा सरकारको नेतृत्व गरिसकेर पनि थाकेका देखिँदैनन्, कुनै न कुनै रुपमा फेरि प्रधानमन्त्री बन्ने वा उपल्लो ओहदामा उक्लिने आकांक्षा उनीहरुमा पाइन्छ । प्रधानमन्त्री भएका जीवित नेताहरुमये शेरबहादुर देउवा सबैभन्दा धेरैपटक प्रधानमन्त्री भएका छन् । तर हालसालै उनले फेरि प्रधानमन्त्री बन्ने मोह नलुकाएरै भने, \"ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्छन् भनेका छन् । फेरि प्रधानमन्त्री बन्ने त मै हुँ नि ।\" त्यति मात्रै होइन् देउवाले विभिन्न मिडियामा पनि अबको प्रधानमन्त्री म अाफै हुन्छ भनेर अभिव्यक्ति दिदैं अाइरहेका छन् । चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन देउवाले नेपालीको औषत आयु ७० वर्ष काटिसके । ४५ वर्षको उमेरमा गृहमन्त्री बनेका उनी ५० नपुग्दै पहिलो पटक प्रधानमन्त्री भएका थिए । राजनीतिक लडाइँको नाममा दशकौं बिताइए पनि स्थायित्व दिन विफल देखिएका नेताकै हालिमुहाली कैयौंलाई स्वाभाविक लाग्दैन । प्रथम राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार रहिसकेका राजनीतिशास्त्री हरि शर्मा भन्छन्, \"देश चलाउने यत्रो ठूलो यज्ञमा सामेल हुँदा एक पटक प्रधानमन्त्री बनेपछि थाक्नु पर्ने हो । तर किन थाक्दैनन् भने उनीहरुले काम गरेकै हुँदैनन् । कुन चाहिं प्रधानमन्त्री सफल भएका छन् ? काम गर्न नसकेपछि फेरि आफै हुनु पर्छ किन भन्ने ?\" \'बाह्रौं खेलाडी\' पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्द ४४ वर्षको छँदा पहिलो पटक प्रधानमन्त्री भएका थिए । कुनै बेला बाह्रौं राजनीतिक खेलाडीको संज्ञा पाएका उनी ७८ वर्ष पुग्दा राजनीतिक मैदान छाडेका छन् । उनले हालसालै भनेका थिए, \"अब राजनीतिको तनाव कति बोक्ने? पन्छिने उमेर पनि भयो । अब किताब पढ्न-लेख्न सकिन्छ ।\" चन्दको उमेरमा नपुगे पनि एमालेका नेतात्रय केपी ओली, माधव नेपाल र झलनाथ खनालले उनी जस्तै सरकार र पार्टीको नेतृत्व गरिसकेका छन् । कांग्रेसका अहिलेका एकजना चर्चित नेता गगन थापाको हाराहारी उमेरमा नेपाल उपप्रधान, रक्षा र परराष्ट्रमन्त्री, ओली गृहमन्त्री र खनाल कृषि एवं वनमन्त्री भइसकेका थिए । उनीहरु अझै मूलधारको राजनीतिको केन्द्रमै छन् । पञ्चायतकालका एकजना चर्चित अनेरास्वियु नेता टंक कार्की भन्छन्, \"बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको पुस्तापछि नेतृत्वको गुण ह्रासोन्मुख छ । सत्तामै बसिरहनु पर्छ भन्ने के छ, पार्टी पो चलाउनु पर्छ । नेताले सुविधामा बढी ध्यान केन्द्रित गरे ।\" भूमिगत राजनीतिबाट बाहिरिए लगत्तै पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले महात्मा गान्धी र नेल्सन मण्डेला बन्ने बताएका थिए । धेरैलाई लाग्थ्यो, पार्टी सम्हालेर राजकीय जिम्मेवारीमा अरुलाई पठाइ उनीहरु पुराना दलभन्दा पृथक र कतिपयलाई आकर्षक लाग्ने भूमिकामा हुनेछन्, तर त्यसो भएन । ठूलै हलचल र चर्चा निम्त्याउँदै पहिलो पटक ५३ वर्षको उमेरमा प्रधानमन्त्री बनेका प्रचण्डमा फेरि प्रधानमन्त्री बनेर \'ह्याट्रिक\' गर्ने आकांक्षा देखिन्छ । संविधान लेखनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइसकेका हुन् । \'भयानक बलिदानीको कठीन बाटो\' हिंडेका उनीहरुले पनि बारम्बार शक्तिमा पुग्ने पुरानै दलका नेताको पदचाप किन पछ्याए ? माओवादीको मूलधारबाट हालसालै अलग्गिएका एकजना टिप्पणीकार नरेन्द्रजंग पिटर भन्छन्, \"सिद्धान्तको राजनीतिको अन्त्य र सुविधाको राजनीति शुरु भएपछि सुरक्षाको राजनीति समातिन्छ । त्यसैले अन्त्यसम्म पनि शक्ति हातमा केन्द्रित होस् भन्ने मनोविज्ञान हुन्छ । कारण त्यही हो ।\" सबैजसो दलका युवा नेताले तत्काल आफ्ना अग्रजलाई विस्थापित गर्ने सम्भावना देखा परेको छैन् । त्यसको निम्ति संरचना र मूल्यको हिसावले राजनीतिक दलमा समस्या देख्ने पूर्वविद्यार्थी नेता टंक कार्कीका बिचारमा नयाँ पुस्ताले पुराना जतिको त्याग गर्न र गुणस्तर देखाउन नसक्नुलाई अर्को कारण ठान्छन् । पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वमा आउन आफूले कसैलाई नछेकेको बताउँछन् । तर उनी आफै मैदान खालि गरिदिने पक्षमा देखिएनन् । उनी प्रश्न गर्छन्, \"आउनु त पर्यो मैदानमा, जनताको बीचमा परीक्षण हुनु पर्यो । संकट पर्दा, गोली थाप्दा, लड्दा र घाइते हुँदा एउटा, परिवर्तनको अग्रपंक्तिमा उभिँदा बेपत्ता । अनि अर्को कसैलाई दिएर हुन्छ ? युवा भनेर मात्रै हुँदैन। युवा फूर्ति चाहिन्छ । गतिशीलता, समर्पण, इमान्दारी र निष्ठा चाहिन्छ ।\" नेता नेपालले राजनीतिबाट विश्राम लिने आफ्नो उमेर नभएको बताए । तर कतिपय पूर्वप्रधानमन्त्री त मृत्यु शैयामा पुग्नुअघिसम्म राजनीतिमा सक्रिय नै रहेका उदाहरण छन् । राजनीतिको चुचुरोमा पुगिसकेपछि नेताहरु उमेर छँदै किन किनारा लाग्न चाहँदैनन् ? संघर्षबाट आएको राजनीतिक नेतृत्व भए पनि त्यसबाहिरको काम गर्ने आत्मविश्वास नरहेको बताउने राजनीतिशास्त्री हरि शर्मा वर्तमान नेतृत्वबाट त्यो उदारता सम्भव देख्दैनन् । उनले भने, \"बीपी कोइराला जेलमा कथा-कविता लेख्नुहुन्थ्यो । पुष्पलाल आफ्नो दस्तावेज आफै लेख्नु हुन्थ्यो । बीपीले जेलमा आफ्नो भाँडा आफै माझेको पढेका छौं । अहिलेको नेतृत्वको ताल हेर्नुस् त, ढोका नखोलिदिए गाडीबाट झर्दैनन् । त्यो भनेको ढोका खोल्ने मान्छेको व्यवस्था नहुँदासम्म तिनले अवकास नै लिँदैनन् ।\" डेढ दशकअघि राजा ज्ञानेन्द्रले \'शान्ति स्थापनाको निम्ति तीन वर्ष\' भन्दै सत्ता हातमा लिएका थिए । तर डेढ वर्षमै उनको हातबाट सत्ता खोसेका दल र तिनका नेताले राजनीतिक व्यवस्थापनमै झण्डै तीन दशक बिताइ सके । तैपनि पनि कतिपयका नजरमा व्यवस्थित र स्थिर राजनीतिको आरम्भको साइत अझै टाढै देखिन्छ ।
प्रतिकृया लेख्नुहोस्: