बैशाख २० गते, २०७२ आइतवार 3rd May, 2015 Sun११:०९:४२ मा प्रकाशित
बुधबार बेलुकी कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुग्दा भूकम्पका घाईते बिरामीको भिड थियो । त्यहि भिडलाई अर्को सेतो एप्रोनधारी भिडले थेगीरहेको थियो । हामी एक एप्रोनधारी (नर्स) को खोजीमा थियौं । सुष्मा गजुरेल जसको नाम थियो । ४२ घण्टासम्म निरन्तर खट्ने नर्स थिइन्, उनी । जसले भूकम्पमा परेका विरामीको उपचार गर्दा गर्दै पानी पिउन समेत बिर्सेकी थिइ ।
जनरल वार्ड भित्र हातमा पन्जा र सेतै एप्रोनमा थाकेको शरिर देखियो । गहुँगोरो अनुहारमा हल्का हरियो रंगको डिस्पोजेबल मास्कले मुखमा ओत लगाइएको थियो । त्यो अनुहारलाई हामीले पछ्यायौं । सुष्मा जी हो ? हाम्रो प्रश्नमा उनले डिस्पोजेबल मास्क नखोल्दै उत्तर दिइन, ‘हो’ । व्यस्त भएकीले खबरडबली कर्मीलाई केहि समय कुर्न भनिन् ।
आधा घण्टामा डीउटी इन्चार्जसँगको अनुमतिमा उनी बाहिरिन् । बाहिर हामी थियौं । त्यो दिन जुन दिन मुलुकमा महाभूकम्प आएको थियो । त्यहि दिनदेखि उनले आफ्नो कुराकानी थालिन् । भूकम्पले कोहि पनि अछूतो रहन सकेन । शनिबार मध्यान्ह भूकम्पले देश काँपिरहेको बेला उनको ड्युटी ओपिडिमा थियो ।
अस्पतालको पहिलो तल्लामा रहेको बिरामीको रेखदेखमा थिइन् । बिहान ७ बजेदेखि आएकी उनको ड्युटीले एक बजे पछि त्यो दिनको लागि छुट्टी लिँदै थियो । अर्को सिफ्टका साथीहरु आएपश्चात् घर जाने तरखरमा उनी लागिरहेकी थिइन । एक्कासी ‘भूकम्प आयो...’ को चिच्याहट अस्पतालमा गुञ्जिन थाल्यो । मानिसहरु तीतरबितर हुन थाले । त्यतिबेला सुष्मा पनि आफ्नो ज्यान जोगाउन अस्पताल बाहिरको प्रांङ्गणमा हानिइन् । उनले साथीहरुसँग भनिन्, ‘ओहो, कति ठूलो भूकम्प, पक्कै पनि यसले ठूलै जनधनको क्षती पुर्याएको हुनुपर्छ ।’
भूकम्पले बिस्तारै आफ्नो म्याग्निच्युड कम गर्दै थियो तर कोलाहलको सुचक भने उचाइतिर बढ्दै थियो । आपतकालीन चिच्याहटको साइरनमा एम्बुलेन्सहरु सडकमा दौडदै थिए । मानिसहरु सुरक्षित लागेको घर छोड्दै खाली सडक खोज्दै भौँतारिदै थिए । एप्रोन खोलेर आफ्नो घर बालकोट इकुडोल यात्राको लागि ठिक्क परेकी सुष्माको पाइला अघि बढ्न सकेन । ठिक त्यतिबेलै आफ्नो कर्मथलोमा बिरामीको ओइरो लाग्न थालिसकेको थियो । बिरामीको चाप बढेसँगै उनको कामको चाप पनि बढेको थियो । अस्पतालको प्रांङ्गणमा बिरामी नअटेर बाहिर सडकमा राखिएका बिरामीको सेवा गर्न भित्र, बाहिर, तल, माथि गर्दा नै उनका त्यसपछिको समय बित्न थाल्यो । सुुरुमा आएका बिरामीमध्ये धेरैजसोको अस्पताल ल्याएलगत्तै मृत्यु भयो । शवहर्रु एउटा लाइन बनाएर राखिएको थियो । एकैछिनमा यस्तो भयावह अवस्थामा देखेपछि सुष्माले आफू बाँचेकोमा धन्य प्रकट गर्दै प्रण गरिन्, ‘अब यी बिरामीहरुलाई जतिसक्दो सहयोग गर्छु ।’ उनी भन्छिन्, ‘म मा सहयोग गर्नुपर्छ भन्ने भावना कहाँबाट जागृत भयो थाहा छैन, मलाई केहि कुराको पर्वाह थिएन । मात्र बिरामीको सेवा गर्नुपर्छ भन्ने मात्र थियो ।’
त्यो महाभूकम्पमा आफन्तलाई नसम्झने मनहरु सायदै होलान् । तर उनी अपवाद बनिन् । भूकम्पले निकै क्षती पुर्याएको क्षेत्र भक्तपुर, बालकोटमा उनको परिवार थिए । आमा बुवा र बहिनीहरु उतै थिए । ‘मैले त्यो दिन तत्कालै ड्युटी गर्दा गर्दै ममी ड्याडीलाई कल गर्न पनि भ्याएको थिइन ।’ सुष्मा त्यो दिनको घटनातिर फर्किन्छिन् – ‘उहाँहरुले मेरो खबर बुझ्न पनि पाउनु भएन, मेरो मोबाइल स्वीच आफ थियो ।’
बिरामीको चापलाई अलि व्यवस्थित गर्दै त्यहि दिनको अबेर राती उनले घरको स्थितीबारे सोधिन् । सबै सकुशल भएको थाहा पाएपछि उनी ढुक्क भइन् । उताबाट बुवाको ‘सेफल्याण्डिङ गरेर बिरामीको सक्दो हेरबिचार गर, यहाँ हामी छौँ, तिमी त्यहाँ बसेर काम गर’ भन्ने वाक्यले उनलाई झनै बलियो बनायो ।
उनले खुट्टा भाँच्चिएकी एक महिलाको पहिलो उपचार गरिन् । निकै आत्तिएकी उनलाई सुष्माले सम्झाउँदै प्लास्टर गरिदिइन् । धेरैजसो २,३ वर्षका बच्चाहरुको मृत्यु भएको देख्दा उनको मन कुँडिएको थियो ।
अस्पतालमा धेरैजसो फ्र्याक्चर केसहरु नै आएका थिए ।
अस्पतालले धान्न नसक्ने बिरामीको चापलाई सुष्माको सहयोगी मनले धानेको थियो । त्यहाँ आएका सबै बिरामीलाई उनले केहि न केहि रुपमा हेरेकी थिइन् । रगत बगिरहेको बिरामीको रगत रोक्न, घाउमा मलम पट्टी लगाउन, टाँका लगाउन, प्लास्टर गर्न र फस्र्ट ऐडको काम गर्दै गर्दा तीन दिन बितिसकेको उनलाई पत्तै भएन । हो, उनले आफ्नो समयको ४२ घण्टा पूरै बिरामीहरुको लागि समर्पित गरिन् । यसबिचमा उनले २४ घण्टासम्म पानी पिउनसमेत बिर्सिइन् । ‘कहिलेकाँही निकै प्यास लाग्दा पानी पिउन पाए हुन्थ्यो जस्तो लाग्दथ्यो तर त्यो प्यास धेरैपटक बिर्सिएँ ।’ उनी भन्छिन् – ‘बिरामी हेर्दाहेर्दै समय बितेको पत्तै भएन, अर्को सिफ्टका साथीहरु आएपछि मात्र यति बजेछ है भन्ने जस्तो लाग्थ्यो । खानाको बारेमा त झन् याद हुने कुरै भएन ।’
शनिबार काम गर्दै जाँदा बेलुका थकाइ लागेको जस्तो महसुस भएको थियो सुष्मालाई । तर बिरामीको विक्षिप्त शरिर अगाडी सुष्माको थकाइले हार खायो । भोलीपल्ट बेलुकासम्म त उनी आफ्नै खुट्टाहरु उचाल्न नसक्ने भइन् । तर खोइ, कुन शक्तिले हो सुष्माका हात खुट्टाले आफ्नो गति छाडेको थिएन । भूकम्प आएको दिन बिहान चिया र बिस्कुट खाएको भरमा एकैपटक भोलीपल्ट अस्पतालले दिएको चाउचाउ र जुसले उनको आँत भिजेको थियो । अस्पतालले घर जाउ, आराम गर भनिरहेको थियो तर उनको मनले अटेर ग¥यो । ‘सबैतिर बिरामी छट्पटाइरहेका छन्, म कसरी आराम गरेर बस्न सक्थेँ ?’ आफ्नो मनले जितेको दिनतिर फर्किदैँ उनी भन्छिन्, ‘आखिर म पनि मान्छे हो, मेरो पनि मन छ ।’
उनी गर्नसक्ने समयसम्म काम गर्छु, नसक्ने भएपछि मात्र घर जान्छु भन्ने मनस्थितीमा थिइन् । ‘मैले तीनदिनसम्म सबै कुरा त्यागेर काम गरेँ । यसले मलाई गर्न सक्छु भन्ने शिक्षा दियो ।’
सुष्माले गरेको उनको ड्युटीले यतिबेला उनको शरिरमा नकारात्मक असर देखाउन सुरु गरेको छ । डिस्पोजेबल मास्क खोल्दै सुस्माले भन्दै थिइन्– ‘सायद धेरै समयसम्म पानी नपिएकाले अहिलेसम्म चक्कर लागिरहेको छ ।’
६ घण्टे ड्युटीको लागि शनिबार शहिद मेमोरियल अस्पताल गेटबाट छिरेकी सुष्मा ४२ घण्टापछि मात्रै त्यहाँबाट बाहिरिन् । उनी घर गइन् । तर घरमा बस्न मन लागेन । आफ्नै आँखाले घरका सबै सकुशल देख्दा एकातिर निकै खुसी पनि लागेको थियो । तर अस्पतालको भयानक दृष्यको आगोलेअर्कोतिरबाट जलाउँदै थियो । घरमा रहुन्जेल उनको मनमा अस्पताल र त्यहाँका बिरामीको पिडा घुमिरहे । ठिक त्यसैबेला उनलाई घर फर्केकोमा दुख पनि लाग्यो । त्यतिबेला उनले सोचेकी थिइन् ‘मेरो आवश्यकता अस्पतालमा नै थियो, म किन घर आएँ ।’ उनको ५० वर्षीय बुवा पुष्कर गजुरेलले पनि दुईदिन आराम गरेर अस्पताल नै फर्कन सुझाए । तीन दिन आराम गर्न इकुडोल पुगेकी उनी त्यहि दिन अस्पताल फिरिन् ।
अस्पतालमा बिरामीको अनुहार नियाल्दै गर्दा उनलाई सबैलाई बचाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । ‘आफूले बचाउन चाहँदा चाहँदै पनि धेरै मानिसहरु मेरै अगाडी मरे ।’ अस्पताल परिसरमा राखिएका मृत शरिर सम्झँदै उनी भन्छिन्– ‘त्यो दिन सम्झँदा अहिले पनि आसु आउँछ ।’
कलंकीको लुम्बिनी गेष्ट हाउसमा पुरिएका ५४ मध्ये जिवित उद्धार गरिएकी एक महिलालाई बचाउन नपाएकोमा उनलाई निकै दुःख छ । ‘ती महिलालाई आइसियुमा राखेर उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो ।’ त्यो दिनको अस्वभाविक मृत्युलाई सम्झँदै उनी भन्छिन् – ‘परिस्थिती त्यस्तै थियो, तारन्तारको भूकम्प, स्थान र जनशक्तिको अभावले बिरामीहरुलाई भित्रै राख्न सम्भव थिएन ।’
उनका अनुसार अधिकांश बिरामीको मृत्यु राम्रो उपचार नपाएर भएको थियो ।
अस्पतालमा आएका सबैजसो बिरामी उनलाई आफ्नै लाग्थ्यो । कोही युवती टाउकोमा ठूलो चोट बोकेर आउँथे । त्यतिबेला सुष्मा अाफैँलाई चह¥याउँथ्यो । कुनै घाइते बालिका शरीर घिसार्दै आउँदा आफ्नै बहिनीको अवतार देख्थिन् । आफ्नै हजुरबा लाग्ने धेरै वृद्धहरु अस्पताल आए । सुष्माले आफ्नै ठानिन् ।
मानिसभित्र हराउँदै गएको दया मायाको भाव, भूकम्पले रिभाइभ गरेको उनको भनाई छ । यो बीचमा सुष्माले सहयोगको परिभाषा पनि पहिल्याइन, ‘सहयोग भनेको भित्री मनबाट आउने भावना हो ।’ यसअघि खुलेको सेतो पञ्जा लगाउँदै उनी भन्छिन् – ‘नर्स बन्छु भन्ने लागेकै थिएन । अब यो काम निकै प्यारो लागेको छ ।’
४२ घण्टे अस्पताल बसाईमा सुष्माले जे भोगीन्, त्यो उनलाई सपना जस्तै लाग्छ । मान्छेको जीवनमा आउने त्यस्तो अस्वभाविक अवस्थामा सुष्मा पुगेकी थिइन् । उनलाई बिरामीबाहेक प्यासमा पानी, आपतमा घर परिवार, भोकमा भोजन सबै फगत लाग्थे ।
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: