ब्रिटिश गृहमन्त्री साजीद जावीदले केही भूतपूर्व गोर्खा सैनिकका नातेदारहरू लगायत ब्रिटेनमा आवासीय भीसाका लागि आवेदन दिएका चारसय भन्दा बढी मानिसहरूलाई डिएनए परीक्षण गर्न बाध्य पारिएको स्वीकार गर्दै क्षमायाचना गरेका छन् ।
बिहीवार ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा बोल्दै गृहमन्त्री जावीदले उनको मन्त्रालयले गरेको एक पुनरावलोकनले कम्तीमा ४४९ जनालाई आनुवंशिक (डिएनए) परीक्षण गर्न बाध्य पारिएको बताए । उनले त्यसरी डिएनए परीक्षण गर्न बाध्य पारिएकाहरूमध्ये ५१ जना ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकका परिवारका सदस्यहरू तथा र ब्रिटिश सरकारकालागि काम गरिसकेका अफगान नागरिकहरू रहेको पनि बताए। \"त्यो अस्वीकार्य हो र यस सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको निर्देशन अस्पष्ट वा गलत थियो,\" उनले भने। ब्रिटिश गृह मन्त्रालयले आप्रवासीहरूलाई डिएनए परीक्षण गर्न बाध्य पार्ने काम गलत भएको भन्दै चार महिना अघि त्यसको पुनरावलोकन सुरु गरेको थियो। \"यस्तो कामबाट प्रभावित सबैसँग म क्षमायाचना गर्न चाहन्छु,\" उनले भने। \"डिएनए परीक्षण गर्ने काम जहिले पनि बाध्यात्मक नभै स्वेच्छिक हुनुपर्दछ।\" उनले त्यसरी डिएनए परीक्षण गर्न बाध्य पारिएका मानिसहरूलाई ब्रिटिश सरकारले क्षतिपूर्ति दिने पनि जनाए। तर त्यस्तो रकम कति हुनेछ भन्ने चाहिँ उनले खुलाएका छैनन्। गोर्खा अगुवाहरूले ब्रिटिश गृहमन्त्रीको पछिल्लो घोषणालाई स्वागत गरेका छन्।
प्रतिकृया लेख्नुहोस्: