नेकपा एकतापछि विनोद कटुवाल उदयपुरका जिल्ला अध्यक्षमा चयन भएका छन् । सम्भवत ३२ वर्षका कटुवाल नेपालकै सबैभन्दा कान्छा जिल्ला अध्यक्ष पनि हुन् । लामो बलिदानीपूर्ण संघर्षबाट देशको सबैभन्दा ठुलो पार्टीको कान्छा जिल्ला अध्यक्षसम्मको सिडिँ चढेका कुटवाललाई खबरडबलीले ११ प्रश्न सोधेको थियो । प्रस्तुत छ –११ प्रश्नका ११ उत्तर !
कसरी जोडिनु भयो राजनीतिक यात्रामा ?
मेरो बुबा मोहन कटुवाल ०३४/०३५ सालतिरबाटै कम्युनिष्ट आन्दोलनमा जोडिनुभएको थियो । उहाँ सक्रिय राजनीतिमा लागिसकेपछि त्यसको स्वभाविक प्रभाव परिवारमा पर्ने नै रहेछ । जसको कारण हामीहरु पनि सानैदेखि कम्युनिष्ट आन्दोलनतिर सहभागि भयौं । मैंले ०५१ साल अर्थात ७/८ वर्षको उमेरमै अखिल क्रान्तिकारीको सदस्यता लिएको थिएँ । त्यसपछि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै अहिलेसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमै आवद्ध छु ।
राजनीतिमा जोडिन केहि विशेष प्रेरणादायी घटनाले भूमिका खेले कि ?
हो खासमा मलाई मेरो पारिवारिक राजनीतिक प्रभावले यहाँसम्म ल्याएको हो । मेरो बुबा तत्कालीन माओवादीको उदयपुर जिल्ला संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । उहाँहरुको अुगवाईमा नै जिल्लामा कम्युनिष्ट आन्दोलनको सुरुवात भएको हो । जनयुद्ध सुरु भएसँगै बुबा सक्रिय रुपमा भूमिगत भई माओवादी आन्दोलनमा सहभागी हुनुभयो । जसको कारण हामी सबै विस्थापित हुने अवस्थामा पनि पुग्यौं । प्रहरीको दमन सहन नसकेपछि ०५४ सालदेखि घर छोडेर हामीहरु हिंडेका थियौं । पछि भाग्दै लुक्दै हिंड्नुपर्ने अवस्था पनि भयो । ०५५ को कार्तिकतिर उदयपुरको कटारीमा मेरो बुबाको हत्या भएछ । बुबाले आन्दोलनमा सहभागी हुँदै गर्दा शहादत प्राप्त गर्नुभयो । मुख्यत: बुबाको शहादतसँगै राज्यको अत्याचार अनि दमनले हामीलाई माओवादी आन्दोलनमा जोडिन र सक्रिय हुन जबरजस्त प्रेरणा मिल्यो भनौं ।
तपाईं उमेरले पनि सानै । माओवादी पार्टी भूमिगत अवस्थामा पनि थियो । कसरी कहाँबाट जोडिन पुग्नु भयो ?
बुबाको शहादत पश्चात मलाई माओवादी आन्दोलनमा जोडिनुको बिकल्प छैन भन्ने लागेको थियो । लगत्तै मैंले सम्र्पक खोज्ने प्रयास पनि गरें । त्यतिबेला म माओवादी नेता अग्नी प्रसाद सापकोटाको सम्र्पकमा गएँ । उहाँ हाम्रो नातेदार पनि पर्नुहुन्छ । म उहाँको घरमा बसेर विद्यालय शिक्षालाई निरन्तरता दिंदै पार्टी आन्दोलनमा सहभागी हुन थालें । सापकोटाको घरमा रहेर ७ र ८ कक्षाको अध्ययन पनि गरेको थिएँ । मैंले त्यहाँ छँदा पार्टीको काममा एकठाउँदेखि अर्कोठाउँसम्म जाने, पार्टी सम्पर्क जोडिदिने काम गर्थें ।
भनेपछि सानै उमेरदेखि नै सक्रिय हुनुभयो ?
कतिपयले यस्तो उमेरमा कसरी हिड्नुभयो भनि सोध्छन् । खासमा म उमेरमा सानो भएपनि राजनीतिक परिवारमा हुर्केको थिएँ । राजनीतिक चेतनाले मलाई समानता र न्यायसहितको समाजको परिकल्पना गर्न प्रेरित गर्यो । बुबाको राजनीतिक आन्दोलनमा हिंड्दै गर्दा भएको शहादत र प्रहरी दमनले स्वभाविक मलाई माओवादी आन्दोलनमा जोडिन अभिप्रेरित गरेको हो ।
राज्यसत्ताले हामीमाथि गरेको अन्याय र अत्याचारका कारण बदलाभाव जाग्ने कुरा भईहाल्यो । बुबाको शहादत, घर बस्ने स्थिति नहुने, पढ्ने स्थिति नहुने अनि कारण माओवादी आन्दोलनमा जोडिने अनि पूर्णकालिन भएर काम गर्ने अवस्था रहिहाल्यो । आन्दोलनमा सहभागि भइसकेपछि सामाजिक उत्पीडन, अन्याय र अत्याचारलाई नजिकबाट हेर्ने, समाजको वस्तुस्थिति गहिरो गरि बुझ्ने अवस्था बन्यो । त्यसले मलाई विस्तारै परिपक्क पनि बनाउँदै लग्यो । म वास्तवमै आन्दोलनबाट परिपक्क बनेको मान्छे हुँ ।
कहिलेदेखि सूरु भयो पूर्णकालिन राजनीतिको यात्रा ?
काम त विद्यार्थी संगठनमा रहि पहिलेदेखि नै गर्थें । पछि ०५७ साल चैत्रबाट म पनि पूर्णकालिन भई सबै छोडेर आन्दोलनमा सहभागी भएको थिएँ । पूर्णकालिन राजनीति सुरुभएसँगै मेरो क्षेत्र विद्यार्थी आन्दोलन नै थियो । म अखिल क्रान्तिकारी सिन्धुलीको जिल्ला सचिवको जिम्मेवारीमा सहित आन्दोलन होमिए । पछि आफ्नै गृहजिल्ला उदयरपुरमा गई काम गर्न थालें । मलाई पार्टीले अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षको जिम्मेवारीमा त्यहाँ पठाइएको थियो । पूर्णकालिन राजनीतिमा कहिले विद्यार्थी संगठन अनि कहिले पार्टीको जिल्लामा भिन्न भिन्न मोर्चामा रहेर काम गरें ।
युद्ध ! सुन्दै डरलाग्दो ! कसरी सम्झनुहुन्छ ?
युद्धमा छँदा धेरै पटक मृत्युले नजिकैबाट छोएर गएजस्तो अनुभव हुन्थ्यो । त्यस्तो अवस्था धेरैपटक आयो । कयौं पटक शाही सेनाको घेरामा पर्ने सके तोड्ने नसके भाग्ने अवस्था भइरहे । कतिपय नजिकै रहेका साथीहरु शहादत हुने अवस्था पनि आयो । त्यसबेला म शारिरिक रुपमा सानो र कमजोर भएपनि ममा भएको क्रान्तिप्रतिको चेत र उत्साहले आन्दोलनका बाटोमा हिंड्न धेरै अभिप्रेरित गरिरह्यो । गाह्रो सारो भन्ने स्वभाविक हो । युद्धमा धेरै पटक जीवन मरणको सामना गरेको थिएँ ।
०६० माघको पहिलो सातातिरको एउटा घटना अलि सम्झना आउँछ । एक बिहान म पार्टीकै कलाकार टिमसहित उदयपुरको कटहरे जाँदै थिएँ । हामीलाई अचानक तत्कालीन शाही सेनाले घेरा हाल्यो । एकजना कलाकार बहिनि त्यहिँ शहादत हुुनुभयो । ७/८ जना साथीहरु घाईते भए । केहि साथीहरु पक्राउ पनि परे । म अचम्मै गरि जोगिन पुँगेको थिएँ । यस्ता घटना धेरै पटक भए ।
शान्तिपूर्ण राजनीतिक यात्रा कस्तो रह्यो ?
हामीहरु युद्धबाट कठोर शैन्य प्रशिक्षणसँगै आएका मान्छेलाई शान्तिपूर्ण राजनीतिमा आउँदा कता–कता के– नमिलेको जस्तो लाग्थ्यो । तथापी आउँदो यात्रा त्यहि थियो । शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि म पहिला झैं पार्टीकै राजनीतिक संयन्त्रहरुमा जिम्मेवारी लिएर काम गरें । फेरिएको गतिविधि अनुसार भूमिका निर्वाह गरें । युद्ध सकिने वित्तिकै उदयपुरकै एक इलाका इन्चार्जको भूमिकाका थिएँ ।
हतियारबन्द राजनीति अनि खुला परिवेशको राजनीति अलिक अनौठो पनि थियो । जनतासँग जोडिने, विकास निर्माणका काममा जोडिने, जनताका जनगुनासाहरु सम्बन्धित निकायमा पैरविको लागि भूमिका खेल्ने, पार्टी संगठनका विभिन्न भूमिका काम गर्ने अवस्था रह्यो । यो करिब १ दशकभन्दा लामो यात्रामा हामी धेरै जनताको नजिक भएरै काम गरेका छौं । राजनीतिक उतारचडावहरु पनि निकै भएका छन् । तथापी बदलिंदो समय अनुसार पार्टीले लिएको नीति तथा कार्यक्रमलाई लागु गर्ने सबालमा हामी जुटिरहेका छौं ।
ऐतिहासिक रुपमा भर्खरै पार्टी एकता सम्पन्न भएको छ । यहाँ नयाँ जिम्मेवारीमा पनि हुनुहुन्छ । यसलाई कसरी लिनुभएको छ ?
हिजो धारे हात लगाएका हामीहरु आज कुम जोडेर हिंड्ने अवस्थामा छौं । यो समयको आवश्यकताले निम्ताएको अवस्था हो । यसलाई गतिशिल आन्दोलनको एक रुपमा लिनु पर्दछ । यससँगै व्यक्तिगत रुपमा मलाई जिम्मेवारी पनि थपिएको छ । चुनौतिपूर्ण घडिमा म जिम्मेवारीमा छु । तथापी मैंले जिम्मेवारीलाई एउटा राजनीतिक यात्राकै एक कोर्षमा रुपमा हेरेको छु । धेरै कुराहरु मिलाएर लैजानु पनि छ । विधि र प्रक्रियालाई अवलम्बन गर्दा त्यो मिल्दै जान्छ ।
चुनौति चाहिं खास के छ ?
चुनौति यो अर्थमा छ कि पार्टीहरु भित्र विकृति, विसंगति अनि अराजकताले शिखर चुमेको अवस्था छ । यहीबीच दुई तिहाई ल्याएको घमण्ड पनि हामीसँगै छ । यति भिन्न–भिन्न सोंच र इतिहास बोकेका साथीहरु हुनुहुन्छ । यो अवस्थामा नेतृत्व गर्ने विषय धेरै चुनौतिपूर्ण छ ।
यो अवस्थामा सबैको भूमिकालाई सम्मान गरेर, सबैको योगदानलाई ठाउँ दिएर आउने परिस्थितिको सामना गरेर जानुपर्छ । मेरो ठाउँमा मैंले गर्ने भूमिका पनि त्यहि हो । उदयपुर आफैंमा वामपन्थी पृष्ठभूमिको जिल्ला पनि हो । नेकपाको स्थापनादेखि नै यसको विरासत छ । गौरवपूर्ण हाम्रो इतिहासका बीच पनि आन्तरिक केहि चुनौतिहरु त भई नै हाल्ने भए ।
पार्टी संगठन सञ्चालनमा केहि समस्याहरु पक्कै छन् । त्यसलाई सामुहिक रुपबाटै समाधान गर्दै लैजानु पर्छ । सामुहिक रुपबाट विधिसम्मत ढंगले, सबैलाई न्याय दिलाउने गरी पार्टी अगाडि बढाउनु पर्दछ ।
दुई धारको मनोविज्ञानले समस्या ल्याउँछ भनिन्छ । यसलाई कसरी मिलाउनुहुन्छ ?
सबैभन्दा जटिल विषय एकता पश्चात दुई धारको मनोविज्ञान मिलाउने कुरा हो । हामी नेकपाका सदस्य हौं भन्ने कुरा स्थापित गराउनु नै चुनौतिपूर्ण विषय छ । सबै जिल्ला नेतृत्वमा छानिएका साथीहरुले यो विषयलाई गम्भिरतापूर्ण लिन आवश्यक छ । हिजो एकअर्कालाई धारे हात लगाएर हिंडेका हामी आज अंगालो मारेर हिंड्ने अवस्था आएको छ । मनोविज्ञानको हिसाबले एउटै बनाउको निम्ति अहिले आएका नेतृत्वले गम्भिरतापूर्वक सोंच र व्यवहार गर्न जरुरी छ ।
कतिपय सैद्धान्तिक विषय पनि छन् । साथसाथै संगठनात्मक विषय पनि छन् । कसैलाई आफुँ ठूलो भन्ने लाग्छ अनि कसैलाई हामी संघर्षपूर्ण आन्दोलनबाट आएको भन्ने लाग्छ । त्यसकारणले नेतृत्व हाम्रो अग्रस्थानमा हुनुपर्छ भन्ने छ । यस्ता थुप्रै खालका विषयहरु छन् । सैद्धान्तिक विषय सैद्धान्तिक ढंगले स्वस्थ छलफल गरेर जानुपर्छ । संगठनात्मक विषयलाई पार्टीले अबलम्बन गरेको विधिहरुलाई स्वीकार गरेर जानु पर्छ । जस्तो अधिवेशन, महाधिवेशनबाट ती समस्या हल हुन्छन् । तर हामी नेकपा नेकपाका हौं, हामी जनता कार्यकर्ताबाट छानिने चुनिने हो भन्ने मनोविज्ञानभन्दा बाहिरबाट लानुहुँदैन । अस्वस्थ खालको प्रतिस्पर्धा नगराउने अवस्था आउनु पर्छ ।
अन्त्यमा, यूवा प्रतिनिधिको हिसाबले नेतृत्वलाई के सुझाव दिनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा, कम्युनिष्ट पार्टीले आउँदो पुस्तालाई कन्भिस गर्न जरुरी छ । अहिलेको नयाँ यूवापुस्तामा कम्युनिष्ट प्रतिको आर्कषण एकदमै कम छ । हाम्रो नीति तथा कार्यक्रम या अन्य केहि कुराले यस्तो भएको हुनसक्छ । त्यसको विषयमा योजनागत रुपले लाग्नु पर्छ । संगठनात्मक संरचनामा यूवाहरुलाई समेट्ने विषय अझैपनि हाम्रो पार्टीले ल्याउन सकेको छैन् ।
हामी केहि युवाहरु एकदमै ठूलो संघर्ष पश्चात यहाँसम्म आएका छौं । धेरै यूवाहरुलाई कम्युनिष्ट आन्दोलनमा ल्याउने वातावरण संगठनात्मक रुपले नै बनाउन जरुरी छ । तथापी लामो समयदेखि आन्दोलनमा सहभागि भएका, त्याग, संघर्ष अनि बलिदान गरेका पुस्तालाई अपमान गर्ने वा भूमिका बिहिन बनाउने भन्ने होइन । उहाँहरुले पनि यस्तो वातावरण बनाउनु पर्छ कि यूवाहरु कम्युनिष्ट आन्दोलनको नेतृत् वगर्न आउन र आन्दोलनलाई गतिशिल बनाउन । अन्यथा कम्युनिष्ट आन्दोलन थारो गाई जस्तो नहोस । एउटा उर्वर चिन्तनशिल आन्दोलनको रुपमा ल्याउन यूवाहरुलाई समेट्नुको विकल्प छैन ।
प्रतिकृया लेख्नुहोस्: