सीए अर्थात् चार्टर्ड एकाउन्ट बन्ने धोको लिएर भारतमा पढिरहेका नेपाली विद्यार्थीको सङ्ख्या अझै पनि हजारौँ छ। तीमध्ये अधिकांश राजधानी दिल्लीस्थित लक्ष्मीनगर र आसपासको क्षेत्रमा बस्छन् र पढ्छन्।
तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को दुई वर्षअघिको निर्णयपछि त्यहाँ जाने क्रम कम भएको बताइन्छ।
त्यसको कारण हो गत वर्ष असार ३२ गतेसम्म भारतको आइसीएआईमा पढ्न दर्ता भएकालाई मात्र मान्यता दिने आईक्यानको झन्डै दुई वर्षअघिको निर्णय। त्यसपछि त्यहाँ दर्ता भएकालाई उसले मान्यता दिँदैन।
बहुमतको आधारमा आईक्यानले भारतले आफ्ना सीएलाई मान्यता नदिएकाले एकतर्फी मान्यता नदिने अन्तर्राष्ट्रिय प्रचलन पछ्याएकोु जनाएको छ।
अन्योल र निराशा
विसं २०७२ साल साउन १ गतेसम्म सीएको परीक्षामा सहभागी नभएका विद्यार्थीले नेपालमा आएर थप एक वर्ष प्रयोगात्मक तालिम (आर्टिकशिप) गर्नुपर्ने प्रावधान पनि रहेको आईक्यानले जनाएको छ।
आईक्यानले मान्यता नदिए पनि त्यसले नेपाल आएर स्वतन्त्र रूपमा काम गर्न चाहनेलाई फरक नपर्ने धारणा पनि कतिपयको पाइन्छ।
तर दिल्लीको लक्ष्मीनगरमा भेटिएका सीए अध्ययनरत केही विद्यार्थीमा उत्साहसँगै आईक्यानको निर्णयका कारण केही अन्योल र निराशा पनि पाइयो।
प्रस्तुत छ सीए अध्ययनपछिको उनीहरूको आकाङ्क्षा, आईक्यानको निर्णयले उनीहरूमा देखिएको आशङ्का र सम्भावित अवसरबारे उनीहरूको धारणा।
निरुत्साहित तुल्याउने नियम- आयुश्मा अर्याल, बुटवल
एउटा सीएले कर, कानुन, लेखा परीक्षण, स्टक बजार, वाणिज्य हरेक कुरामा दक्षता हासिल गरिसकेको हुन्छ। त्यसैले समृद्ध नेपाल बनाउने यात्रामा सीएलाई पनि अवसर हुन्छ। त्यसको खोजी पनि हामीले पनि गर्नुपर्छ। किनभने विकास सीएबिना सम्भव छैन।
हामीले समेत नेपाल गएर त्यहाँ कर (प्रत्यक्ष(अप्रत्यक्ष) र कानुनको परीक्षा दिनुपर्छ। यहाँ तीन वर्ष आर्टिकलशिप गरेर फेरि एक वर्ष नेपालमा पनि गर्नुपर्छ। पहिले ब्याङ्क र उद्योगहरूमा पनि आर्टिकलशिप गर्न पाइन्थ्यो। तर आईक्यानले अब सीए फर्ममा मात्रै गर्नुपर्ने निर्णय गरेको छ।
विश्वकै ठूलामध्येको लेखापरीक्षण संस्थामा पढेकालाई यस्ता निरुत्साहित तुल्याउने नियम र निर्णयका कारण देशका निम्ति देशमै केही गर्ने सोच भएका हाम्रो उत्साहमा ठेस पुगेको छ। भोलि लाखौँ पारिश्रमिक पाउँदा विदेश किन नजाने भन्ने प्रश्न जन्मिँदोरहेछ।
नेपालले अहिले रेमिट्यान्स भित्र्याउने उद्देश्यले वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्न द्विपक्षीय सम्झौतालाई प्राथमिकता दिएको देखिन्छ।
तर अर्थतन्त्रको बारेमा ज्ञान हासिल गरेर देशमै केही गर्न चाहने हामी सीए विद्यार्थीलाई नै फर्किन नदिने वातावरण बनाइँदै छ। त्यो हाम्रो मात्र नभएर देशकै सरोकारको विषय बन्नु पर्छ।
राम्रो भन्दा पनि हाम्रो-निर्जा बाहेती, काठमाण्डू
अहिले नेपालबाट पढ्न आउने क्रम घटेको छ। यहीँ तीन वर्ष गरिसकेको आर्टिकलशिप नेपालमा फेरि गर्नुपर्ने भएपछि त्यसो भएको हो। त्यसमाथि नेपालमा राम्रो भन्दा पनि हाम्रोुलाई अवसर दिने चलन छ।
अर्को कुरा सीए र एमबीए गरेका दुई जना छन् भने सकेसम्म एमबीएबाटै काम लिन खोजिन्छ। त्यो कुरा त तलबले पनि निर्धारण गरेको हुनसक्छ।
तर सीए र सीएबीच पनि आफ्नो मान्छे हेर्ने गरेको पाइन्छ।
कतिपय ठूला कम्पनीले पनि सीएलाई भन्दा पनि कम पारिश्रमिक दिएर पुग्ने भएकाले रजिस्टर्ड अडिटर (आरए) लाई छानेको पाइन्छ।
राष्ट्र निर्माणमा सीए सँगसँगै-बसन्ती देवकोटा, जुम्ला
सीए जागिरे मात्र हुनुपर्छ भन्ने होइन। नेपालभित्र मात्र नभई विश्वबजारमा समेत व्यापारका साथै थुप्रै क्षेत्रमा रोजगारदाता समेत बन्ने अवसर छ।
त्यससँग सम्बन्धित विभिन्न आठवटा क्षेत्रमा सीएले विज्ञता हासिल गरेको हुन्छ।
त्यसैले एउटा क्षेत्रमा सीए सीमित हुनु पर्दैन। यदि सरकारले अब्बल सीएहरूलाई साझेदार बनाएर सरकारले काम गर्न सक्यो देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा पनि त्यसले टेवा पुर्याउँछ।
भारतको अर्थतन्त्र तीव्र रूपमा बढ्दो छ।
यहाँको सीए भइसकेपछि विश्वका धेरै ठाउँमा मान्यता पाइन्छ। विश्वबजारका काम गर्न पाउँदा विविध क्षेत्रमा नयाँ र व्यापक अनुभव लिन पाउँछौँ।
त्यो अनुभव नेपालमा कार्यान्वयन गर्न सक्थ्यौँ। तर त्यो कुरामा अङ्कुश लगाउन खोज्दा देश विकासमा कुनै न कुनै रूपमा घाटा पर्छ।
सरकारले राष्ट्र निर्माणमा सीएलाई सँगसँगै लगे अहिले असङ्गठित क्षेत्रलाई सङ्गठित बनाउँदै तिनको योगदान बढाउन सकिन्छ।
तर आईक्यानबाट केही निर्णयले त्यसलाई निरुत्साहित तुल्याउने देख्छु। त्यसतर्फ सरकारको ध्यान दिँदै सीएको निम्ति अनुकूल वातावरण बनाउनुपर्छ।
हैन पैसा मात्रै ठूलो कुरा होइन विदेश किन जाने भन्ने सोचलाई प्रोत्साहित गर्नुपर्छ। /बीबीसी
प्रतिकृया लेख्नुहोस्: