काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘ताज’ फुकालेको राजतन्त्रसँग अझै पनि बेलाबेलामा सशंकित भैरहेका जस्ता देखिन्छन् । आफ्नै नेतृत्वमा भएको १० वर्षे सशस्त्र विद्रोहले इतिहासको रछ्यानमा फ्याँकिदिएको राजतन्त्रले पटक-पटक शीर उठाउन खोजेको प्रचण्डको बुझाई देखिन्छ । यही बुझाईका कारण प्रचण्ड बेलाबेलामा आक्रामक रूपमा प्रस्तुत हुने गर्दछन् ।
शुक्रवार राजधानीमा आयोजित एक साहित्यिक कार्यक्रममा प्रचण्डले गणतान्त्रिक परिवर्तनका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताए । प्रचण्डले अँध्यारो कुनामा बसेर झटारो हान्दैमा देश समृद्ध नहुने भन्दै राजतन्त्र पक्षधर शक्तिमाथि धावा बोलेका थिए ।
यो भन्दा कडा धावा प्रचण्डले गत साउन १९ गते बीपीमार्गमा रहेको सुनकोशी नदीमाथि खैरेनी घाटामा बनेको पुलको उद्घाटन गर्ने क्रममा बोले । उनले राप्रपाका नेता कमल थापालाई इंगित गर्दै राजा-महाराजाका दासहरूले व्यवस्था फेर्न बकबक गरिरहेको आरोप लगाए लगाए । त्यसको अघिल्लो दिन राप्रपाका अध्यक्ष कमल थापाले अब व्यवस्था फेर्नुपर्छ भन्दै अभिव्यक्ति दिएका थिए ।
गत पुस २२ गते बुटवलमा आयोजित एक कार्यक्रममा प्रचन्डले पूर्वराजाप्रति लक्ष्य गर्दै उनले भने, ‘पूर्वशासकहरू कुनै न कुनै रूपले जनतालाई कमजोर पार्ने, उक्साउने र आफ्नो गुमेको शासन पुनर्स्थापित गर्न निरन्तर अभ्यासमा लागेका छन् ।’
त्यसको केही दिनमा कास्कीको सिक्लेस पुगेका प्रचण्डले राजतन्त्रका विरुद्धमा अर्को फायर खोले । उनले भनेका थिए, ‘निरङ्कुश शासकहरूलाई बिर्सेका छैनौँ । अहिले उनीहरू नाच्दै हिँडेका छन् रे होटल होटलमा । केका लागि नाचेका हुन् ?’
पूर्वराजा ज्ञानेन्द्र एउटा रेस्टुराँमा आफ्ना नातेदार राजीव शाहको जन्मदिन मनाउने क्रममा उनको नाचेको तस्वीर सार्वजनिक भएको थियो । प्रचण्डले पूर्वराजा नाच्दै हिंडेको भनेर गरेको टिप्पणी त्यही तस्वीर देखेर हुनसक्छ । त्यसको जवाफ भने राप्रपाका अध्यक्ष कमल थापाले धनागढ़ी पुगेर दिएका थिए । उनको भनाइ थियो, ‘राजा ज्ञानेन्द्र नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो ?’
यी त प्रतिनिधि उदाहरण मात्र हुन्, प्रचण्डले आफ्ना प्राय सबै भाषणहरूमा गणतन्त्रविरोधी शक्ति हाबी भएको र त्यसलाई परास्त गर्न लाग्नुपर्ने विषय छुटाउँदैनन् । आखिर गणतन्त्र स्थापना भएको दशक बढी भइसक्दा पनि गणतन्त्रका नायक मानिने प्रचण्ड किन पूर्वराजा र राजतन्त्रप्रति आस्था राख्नेहरूसँग सशंकित छन् त ?
नेपालमा राजतन्त्र फर्किने सम्भावना न्यून
प्रचण्डले बेलाबेलामा पूर्वराजा भइसकेका ज्ञानेन्द्र र राजतन्त्र बोकेर राजनीति गर्ने पूर्वमण्डलेहरूको समूहमाथि धावा बोल्ने गरेको भएपनि रछ्यानमा पुगिसकेको राजतन्त्र अहिले नै फर्किने खतरा भने नभएको कतिपय राजनीतिक विश्लेषकहरूको दाबी छ । तर पछिल्लो समयमा सामाजिक सञ्जालहरूमा राजतन्त्रलाई सहानुभूति दिनेहरूको संख्या बढ्दै गइरहेको छ ।
जनताले ठूलो अपेक्षा गरेको दुईतिहाइको कम्युनिस्ट सरकार छ देशमा । कतिपयले सरकारले जनताको चाहना पूरा गर्न नसकेको कारण देखाएर पूर्वराजाका पक्षमा माहोल बनाउन लागिपरेका छन् । सरकारले काम नगरेकाले विकल्प खोज्ने जनताको अधिकार पनि हो । सरकार अलोकप्रिय बन्दै गएपछि मान्छेको निशानामा गणतन्त्र स्वाभाविक रूपमा पर्ने कतिपय राजनीतिक विश्लेषकहरू बताउँछन् ।
राजनीतिशास्त्री प्रा.डा. कृष्ण पोखरेलले जनता बहकिने खतरा सधैं हुने आफूले ल्याएको व्यवस्थाको संरक्षणका लागि प्रचण्ड बेलाबेलामा आक्रोशित हुने गरेको टिप्पणी गरे । ठूला राजनीतिक उथलपुथलले मात्र पूर्वराजाहरू पुनर्स्थापित भएका केही देशहरूको उदाहरण प्रस्तुत गर्दै खनालले नेपालको हकमा अहिल्यै राजतन्त्र फिर्ताको सम्भावना नरहेको बताएका छन् ।
‘राजतन्त्रको एजेण्डा २०७४ सालमा भएको निर्वाचनमा जनताले पूर्णरूपमा खारेज गरिदिएका हुन्,’ प्रचण्ड निकट मानिने एक नेकपाका नेताले भने, ‘अझै पनि यो या त्यो रूपमा पूर्व भइसकेका राजाप्रति सहानुभूति राख्ने र त्यसैको सहारामा राजनीति गर्ने प्रवृत्ति मौलाएको छ । राजनीति नै गर्ने र देशको नेतृत्व गर्ने हो भने जनमत ल्याएर गरे भइगो ।’
राजतन्त्रको विकल्प होइन गणतन्त्र
जनयुद्धमा जनताले हाँसी-हाँसी दिएको बलिदानी र जनआन्दोलनमा देखिएको युवा जोशले गणतन्त्र यो भन्दा अलि बढी परिष्कृत होस् भन्ने माग गरेको थियो । गणतन्त्रपछिका १० वर्षपनि दुर्भाग्यवश राजनीतिक अस्थीरतामा बित्यो । त्यही अस्थीरतालाई प्रयोग गरेर कतिपय आन्तरिक र बाह्य शक्तिकेन्द्रहरूले जनतामा व्यवस्थाप्रति नै वितृष्णा फैल्याउन प्रयास गरे ।
‘पछिल्लो समय सरकारले केही गर्न खोजेको जस्तो देखिन्छ,’ पूर्वमाओवादी पक्षका एक नेताले भने, ‘तर जनताको सरकारमाथि विश्वासकै कमी देखिएको छ । सरकारले केही नयाँ काम गर्दा बिगार्न खोजेको जस्तो मान्नेहरूको ठूलो भीड छ । सामाजिक सञ्जाल र अन्य विभिन्न माध्यमहरू प्रयोग गरेर गणतन्त्रलाई राजतन्त्रको विकल्प मात्र रहेको देखाउन खोजिएको छ । विकल्प असफल भयो भने स्वतः पुरानो अवस्थामा पुगिन्छ भन्ने परेको छ धेरैलाई । जबकी गणतन्त्र राजतन्त्रको विकल्प होइन, समयले माग गरेको आवश्यकता हो ।’
गणतन्त्र र राजतन्त्रलाई एकअर्काका विकल्प मान्नेहरूले परिस्थिति बिगारेको उनको आरोप थियो । ‘कुनै बेला राजतन्त्र आवश्यक थियो देशलाई, हामीले स्वीकार्नुपर्छ । तर राजतन्त्र समयसँगै परिष्कृत हुन सकेन, त्यसैले समयले गणतन्त्रको माग गर्यो । गणतन्त्र हाम्रो होइन, समयको आवश्यकता थियो । हामीले नेतृत्व मात्र गरेका हौँ ।’
पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल लोकतन्त्रको उन्नत रूप थप लोकतान्त्रिकरण हुनुपर्ने बताउँछन् । ‘यदि यो व्यवस्थाले काम गर्न सकेन भने यसलाई थप लोकतान्त्रिकरण गर्नुपर्छ,’ दाहाल भन्छन्, ‘यसको विकल्प राजतन्त्र हुन सक्दैन ।’ दाहालले दोस्रो जनआन्दोलनताका नागरिक अगुवाको भूमिका निभाएका थिए ।
त्यसो भए जनअपेक्षा पूरा गर्नतिर किन नलाग्ने ?
सरकारको मुख्य चुनौती जनअपेक्षा पूरा गर्नु नै हो । यो या त्यो कारणले पटक-पटक जनताले सरकारसँग गरेका अपेक्षाहरू पूरा गर्न सरकार चुकिरहेको छ । यसको जानकारी प्रचण्डलाई छ ।
प्रचण्ड धेरैपटक सरकारको बचाउमा उत्रिन्छन भने सरकार संचालनका लागि सुझावहरू पनि दिने गरेका छन् । तर कहीं न कहीं पूरानो संरचनाले सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन नसकेको उनको बुझाइ रहेको छ । यो सरकार असफल भए पूरै व्यवस्था नै असफल हुन सक्ने खतरा प्रचण्डले नजिकबाट देखेका छन् ।
पछिल्ला केही महिनाहरूमा सरकार आफ्नै निर्णयका कारण जनतामाझ अलोकप्रिय हुँदै गइरहेको प्रचण्डले नजिकबाट देखेका छन् । यसअघि आफैले दुईपटक देशको बागडोर सम्हालेको अनुभव भएका प्रचण्डले पार्टीभित्रको शक्तिसन्तुलनका कारण तत्काल बोल्ड निर्णय लिइहाल्न सक्ने परिस्थिति बनेको छैन ।
तत्कालीन एमाले २०४६ सालमा बहुदल आएपछि सरकार संचालन र सहभागी भएको धेरै अनुभव बटुलेको पार्टी हो भने तत्कालीन माओवादी २०६३ सालको वृहत शान्ति सम्झौतापछि सरकार संचालनमा सहभागी भएको पार्टी हो । दुवै पार्टी एक भएर बनेको नयाँ र ठूलो पार्टी नेकपा अनुभवका हिसाबले परिपक्व हुनुपर्ने हो तर देखिएको छैन ।
उसो त सरकार सफल बनाउन प्रचण्डले पटक पटक प्रधानमन्त्री ओलीसँग भेटवार्ता र छलफल गरिरहेको स्रोत बताउँछ । ‘उहाँले मन्त्रीहरूलाई पनि बोलाएर परामर्श गर्नुहुन्छ,’ खुमलटार निवास स्रोतले भन्यो, ‘त्यसबाहेक प्रधानमन्त्रीसँग पनि धेरै पटक छलफल गर्नुभएको छ । सार्वजनिक कार्यक्रमहरूमा पनि उहाँले धेरैपटक सरकारको सफलतालाई व्यवस्थाकै सफलतासँग जोडेर अभिव्यक्ति दिइरहनुभएको छ ।’
प्रचण्डसामु अहिले दुई चिन्ताहरू छन् । पहिलो चिन्ता आफ्नो नेतृत्वमा आएको गणतन्त्रको रक्षा गर्ने र दोस्रो जनतालाई सरकार सफल भएको देखाउने । पहिलो चिन्ताका कारण उनले पटक पटक गणतन्त्र विरोधी अभिव्यक्ति दिनेहरूलाई निशाना बनाइरहेका छन् भने दोस्रो चिन्ताका कारण उनले पटक पटक प्रधानमन्त्री र मन्त्रीहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । व्यवस्थाको सफलता सरकारको सफलतामाथि टिकेको यथार्थता अहिले प्रचण्डले बाहेक कसले बुझेको होला र ?
प्रतिकृया लेख्नुहोस्: