काठमाडौ । नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।
सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र अछाम कुष्ठरोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।
विगत नौ वर्षको तथ्याङ्क हेर्दा वार्षिक तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६७औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिइयो ।
उक्त तथ्याङ्कअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी एक हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७१९, प्रदेश १ मा ४७१, सुदूरपश्चिम प्रदेशमा २६६, वाग्मती प्रदेशमा १६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका हुन् ।
यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या दुई हजार ९२१ रहेको महाशाखाअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन शाखाका निमित्त प्रमुख डा उत्तम घिमिरेले जानकारी दिए । कुष्ठरोगको कारणबाट हालसम्म करीब ३१ हजारभन्दा बढी अपाङ्गता भएको अनुमान छ भने बहुऔषधिबाट उपचार पूरा गर्नेको सङ्ख्या एक लाख ९२ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइको ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने निमित्त प्रमुख डा घिमिरेले बताए ।
यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुँदैन । कुष्ठरोग निवारणका लागि हाल मुलुकभर जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, अपाङ्गता बचावट, पुनस्र्थापना, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, साझेदारसँगको समन्वय तथा सहकार्य, बहुऔषधिको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: