नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका गलत भूमिकाबाट सुरु भएको हो । जुन आजसम्म पनि दोहोरिरहेको छ । शासकहरुको शासन गर्ने व्यवस्था परिवर्तन आए पनि शैली भने उस्तै छ । सय वर्ष अगाडिका शासकले आफ्नो शासन जोगाउन गर्ने गलत अभ्यास आज पनि कायमै छ ।
यहाँ देशलाई अपमानित गराउने केहि त्यस्ता घटनाबारे चर्चा गरिएको छ । हेरौं नेपाललाई कसरी अपमानित गराउने काम हुँदै आयो :
१. सन् १८१४ मा अंग्रेज साम्राज्यवादबाट आक्रमण भयो ।
२. सन् १८१५ मा युद्धबिराम गर्ने मलौन सन्धिमा सम्झौता गरिँदा ब्रिटिश उपनिबेशी शासकको सेनामा सेवा गर्न पाइने प्राबधान राखियो, र अक्टरलोनिले अमर सिंह थापालाई ब्रिटिश उपनिवेशको सेनामा प्रवेश गर्न अनुरोध गरे । उनी रोए । खोई आज त्यो इतिहासको सम्मान भएको ?
३. सन्धीसँगै नेपालको जमिन खोसियो ।
४. नेपालमा ब्रिटिश प्रतिनिधि बस्न थाल्यो । उसको काम नेपालमा शासकहरुमा विभाजन ल्याउने र सत्ता विद्रोह गराउने भयो। भीमसेन थापा, फत्तेजङ्ग, माथवर सिंह, गगनसिंह मारिए । यी सबै उपनिबेशी खेल थिए ।
५. जंगबहादुर राणालाई राष्ट्रवादी देख्नेहरुले बुझ्नु आवश्यक छ, जंगबहादुरले साम्राज्यवादको पक्षमा भारतीय जनताको विद्रोह दबाउन आफै सेना लिएर भारत गएका थिए । तर पनि उनको बंश नास गरिदिए, उपनिवेशी शासकका सहयोगमा ।
६. सन् १८८६ मा वीर शम्शेरले नेपाली युवा बेच्ने सनद जारी गरे ।
७. सन् १८८८ मा हरेक नेपाली युवा ब्रीटिसको सेवा गर्न जानू भन्ने हुकुम देब शम्शेरले जारी गरे ।
८. चन्द्र शम्शेरले हामी तपाईँहरुको सेवामा उपस्थीत छौं भनी बेलायतको ताबेदारी गरे । पहिलो विश्वयुद्वमा ८६ हजार नेपाली मारिए । दोस्रो विश्वयुद्वमा १ लाख ९ हजार नेपाली मारिए । यो संख्या त्यस समयको जनसंख्याको अनुपातमा निकै ठूलो हो ।
९. सन् १९५० मा पद्मशम्शेरले भारतसँग सन्धी गरे । नेपालको मन्त्री परिषदमा भारतीय सचिव बसाल्ने परम्पराको सुरुवात गरियो । त्यससँगै नेपालमा भारतीय सेना भित्र्याइयो । नेपालको हरेक कुरा दिल्लीले निर्देश गर्ने परिपाटी बनाईयो ।
१०. सन् १९५० को दशकपछाडि पश्चिमा शक्ति नेपालमा विभाजनको खेल खेल्न थाल्यो । सन् १९५६ सिल भन्ने विदेशी संस्था नेपालमा आयो । जसले नेपालको भाषा समाप्त गर्न निकै भूमिका खेल्यो । सिआइएले खम्पा विद्राेहका लागि नेपालको भुमी प्रयोग गरेको थियो ।
११. वि.सं. २०२८ सालमा नयाँ शिक्षाका नाममा नेपालको, इतिहास, पहिचान र सबै मौलिकता समाप्त पार्ने अर्को षड्यन्त्र गरियो ।
१२. वि.सं. २०४७ पछि नवउदारबादका नाममा देशको उद्दोेग र व्यापार विदेशीका हातमा सुम्पीने काम भयो ।
१३. प्रजातन्त्र प्राप्तिका उपलब्धि स्वरुप देशका राजनीतिक दल एनजिओले चलाउने व्यवस्थाको सुरुवात गरियो ।
१४. मधेश फुटाउन सिके राउत ल्याइयो।
१५. विदेशीको गुलामी गरेर सत्ता प्राप्त गर्ने खेल शुरु भयो। कम्युनिष्ट र कांग्रेसले आफ्नालाई क्रमशः तिलाञ्जली दिँदै गए ।
आज पनि देश गरिब छ । आज पनि गरिबले खान पाउँदैन् । शिक्षा व्यापार भएको छ। स्वास्थ्य व्यापार भएको छ। आज पनि हाम्रा नागरिक विदेशीका सेनामा काम गर्छन्। देशका उर्बर भूमि बाँझो भएको छ । सीमानाभित्र विदेशी सेनाले सडक खन्ने स्थिति बनेको छ । देशको कानुनभन्दा अमेरिकी संस्थाको नियम ठूलो हुने सन्धी सम्झौता अनुमोदन गर्न राष्ट्रवादी भनेर उपाधि पाएको कम्युनिष्ट सरकार लागि परेको छ ।
के देश अपमानित छैन् ? राजनीतिक व्यवस्था जे आए पनि नेतृत्व फेरिएन । देशको राजनीति केही मानिसहरुको लागि प्रधानमन्त्री बन्ने खेल मात्र बन्यो । देशको यस अपमानित हैसियतभित्र अहिले पनि सामन्तवादी चिन्तन यथाबत छ । जबसम्म देशको स्वाभिमान स्थापित हुँदैन्, विदेशीका हस्तक्षेप रोकिदैन् । तबसम्म देश साँचाे अर्थमा सम्मानित बन्न सक्दैन् । अब नेपालीले स्वाभिमानको पाठ सिक्नु आवश्यक छ ।
यो २१ औं शताब्दी हो, अब देशको शासन १९ औं सताब्दीको व्यवस्था अनि परिपाटीले चल्न सक्दैन् । देशका विरुद्धमा विदेशीको जुठो खाने, विदेशी एजेन्ट बनेर देशघाती सम्झौता गर्ने, देशकै नक्सा बदल्ने, सरकारी मानिस भएर राष्ट्रका विरुद्ध काम गर्ने २०० वर्षको इतिहासलाई विदा गर्नुको विकल्प छैन् ?
प्रतिकृया लेख्नुहोस्: