मलङ्गवा । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचाँै बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।
प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो ।
घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमीक्षा एवं विभिन्न कार्यक्रममार्फत प्रेरित गर्ने, पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै अग्रज पत्रकारलाई पेन्सनका लागि सरकारको ध्यानाकषर्ण गराउने, विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको हकहित तथा संवद्र्धनका लागि बिनाकारण कामबाट निकालिएका पत्रकारको पुन:बहाली गर्न नेपाल पत्रकार महासङ्घले आवश्यक पहल गर्ने, कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका पत्रकार, प्रभावित भएका सञ्चारकर्मी तथा सञ्चारगृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।
यसैबीच प्रदेश नं २ बाट आएका पत्रकारलाई हरिवनमा उखुको लाक्रा दिँदै तरकारीको माला लगाइदिएर सम्मान गरिएको छ । हरिवनस्थित सगुन सहकारीको सभाहलमा आयोजना गरेको ‘नैतिक पत्रकारिता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया तथा प्रादेशिक समितिको पाँचौँ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य र अन्य जिल्लाबाट सहभागी पत्रकारलाई तरकारीको माला लगाइदिनाका साथै उखुको लाक्रा दिएर सम्मान गरिएको हो ।
उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिका तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढङ्गले पत्रकारलाई स्वागत तथा सम्मान गरिएको हो ।
नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश नं २ का पत्रकारलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानको समस्या र पीरमर्कालाई उठाइदिन आग्रह गरेका थिए । सरकार र उद्योगीले आफूहरुको कुरै नसुन्ने गरेको भए पनि पत्रकारले बर्सेनि आफूहरुको पीडालाई बाहिर ल्याएर ठूलो गुन लगाइरहेको मैनालीले बताए ।
त्यसैगरी लालबन्दी तरकारी बजार समितिका तर्फबाट पत्रकारलाई गोलभेँडा, भान्टा, खुर्सानी, काक्रो, मुलालगायत तरकारीको माला लगाएर सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा उपस्थित पत्रकारलाई उद्योग वाणिज्य सङ्घ लालबन्दीका तर्फबाट अध्यक्ष कल्याणकुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्स सर्लाहीका तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्: