सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गरिन् । हिमा माथिल्लो कक्षामा पढ्न थालिन, तब उनलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उनलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो ।
अर्थाभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुगिन् । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनकी आमा तुलसी विकले भनिन्, “घरमा हामी आमाछोरीमात्रै छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।” तर अर्थावस्थाका कारण समस्या परेकी हिमाले अहिले छात्रवृत्ति पाउन थालेकी छन् । छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ ।
गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ । “हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो”, उनले भनिन्, “छोरीको नाममा गाउँपालिका र सोसेकले रु २५ हजार रकम जम्मा गरिदिनुभएको रहेछ, त्यही पैसाको ब्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छ”, उनी अहिले १० कक्षा पढ्दै छिन् ।
हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै छैनन् । उनीहरु अहिले हजुरआमाको संरक्षणमा छन् । उनीहरुलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा परे । सहकारीमा जम्मा भएको रु २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उनीहरुको पढाइ खर्च जुटेको छ । अर्थाभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ ।
प्रेम अहिले १० कक्षामा पढ्दछन् भने देवीसरा ८ कक्षामा पढ्दै छिन् । उनले भने । उनले भने, “देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।” आफूहरूको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको जनाउँदै उमेरले २० वर्ष पुगेपछि उक्त रकम पाउने प्रेमले बताए । गुराँस गाउँपालिकाले विसं २०७६ मा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल गाउँपालिकाका आठवटै वडाका सात सय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभान्वित भएका छन् । जसमध्ये तीन सय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: