जिन्दगीले २६ वसन्त काट्यो । सोच्दैछु, अन्तिम दिन हो आज, मेरो जवानीको ! यस धर्तीमा ल्याउने, मलाई तातेताते गराउने र मेरा प्रथम साथीहरु नफर्कनेगरी जाँदा पनि यति दुःखी थिइनँ । असार महिना । हल्का बर्सिरहेको पानी । घर नजिकै उभिएको छ पहाड । हरिया फाँट । सर्प झैं लम्किरहेको नदी अनि देखिन्छ उसको घर ! आज पहाड पनि मौन छ । साँच्चै आज पहाड पनि मौन छ, अन्तिम भेटमा निम्तो दिदै मौन भएकी ऊजस्तै । उसको आँगनमा बजिरहेको पञ्चेबाजा लागिरहेछ एकोहोरो शंखको आवाज । उसको आँगनमा नाचिरहेका जन्ती लाग्दैछन् मलामी । सिमसिम बर्सिरहेको पानी लाग्दैछ उसको आँसु । र, आफूलाई सेकेन्डसेकेन्ड एक्लो बनाउँदै गइरहेछु । असारकै महिना । यसैगरी सिमसिम बर्सिरहेको पानी । एसएलसी दिएर बसेको म । खेतको रोपाइँ । रोपाइमा आएकी थिई । त्यति वास्ता नगर्ने मलाई त्यस दिन के भयो कुन्नि ? उसलाई देख्नेबित्तिकै भेटिएजस्तो न केही गुमाएजस्तो, खुसी मिलेजस्तो न दुख पाएजस्तो अनुभूति भएको थियो । हो, यसैलाई प्रेम भनेर परिभाषित गरेथेँ । त्यही दिनदेखि नजिकिएँ । उसलाई बताएको हुुँ मनका कुरा । उसले भनेकी थिई कि उसले नि मनमनै प्यार गर्थी । खेतबाट फर्कंदा आफूलाई भिन्न भएको आभास भयो । ऊसँग गफिदै फर्किएपछि आफ्नो घर लागी, चाडैं भेट्ने बाचासहित । नजिकै थियो हाम्रो घर । खालि समयमा सधैं सँगै हुन्थ्यौँ ।रोपाइमा आएकी थिई । त्यति वास्ता नगर्ने मलाई त्यस दिन के भयो कुन्नि ? उसलाई देख्नेबित्तिकै भेटिएजस्तो न केही गुमाएजस्तो, खुसी मिलेजस्तो न दुख पाएजस्तो अनुभूति भएको थियो । हो, यसैलाई प्रेम भनेर परिभाषित गरेथेँ ।
माथिल्लो गाउँको हर्के दाइले धोक्रो बोके । एउटा हाते झौला भिरेँ । र, लागेँ बाबासित सदरमुकाम ।एसएलसीको परीक्षाफल प्रकाशित भएपश्चात् उच्च शिक्षाको निम्ति गाउँदेखि एक दिनको पैदल दुरीमा रहेको सदरमुकाम जाने भएँ । आमाले आवश्यक सरसामान एउटा धोक्रोमा पोको पार्नुभयो । माथिल्लो गाउँको हर्के दाइले धोक्रो बोके । एउटा हाते झौला भिरेँ । र, लागेँ बाबासित सदरमुकाम । आशिर्वाद दिँदै आमाले भन्नुभएथ्यो, ‘दायाँबायाँ नलागेस् । राम्ररी पढ्नू ।’ दिदीले भन्नुभएथ्यो, ‘छुट्टी हुनेबित्तिकै घर आउनू ।’ बहिनीले भन्दै थिइन्, ‘दादा ! फर्कंदा मिठाइँ ल्याइदिनू है !’ अलि परसम्म विदा गर्न आएकी थिई ऊ । हो, त्यस दिन बेसरी रोएका थियौँ । भौगोलिक दुरीले हाम्रो प्रेम दुबो झै मौलायो । निरन्तर फोन र एसएमएस हुन्थे । नयाँनयाँ सपना सजाउँथ्याँै । मुनामदन र रोमियोजुलियट भन्दा उत्कृष्ट प्रेमीप्रेमिका सोच्थ्यौँ । दिन दुगुना रात चौगुणा झाँगियो हाम्रो प्रेम । समय समयमा गाउँ उसलाई भेट्न गइरहन्थेँ । प्रविणता प्रमाणपत्र तह पार गरेपछि सदरमुकाममै अध्ययन जारी राखेँ । ऊ गाउँकै कलेजमा प्रविणता प्रमाणपत्र तह पढी । एक कान दुई कान मैदान भएछ हाम्रो प्रेम । उसका बाबाले थाहा पाएपछि उसलाई स्पष्टीकरण लिएको र होइन भनेको फोनमा भनी । उसको विहेको लागि उपयुक्त वर खोजिरहेको पनि उसले रुँदै भनी । सम्झाउँदै मैले आफ्नो बनाउने बाचा गर्थेँ । बैशाख १२ । नेपालीको कालो दिन । घरमा फोन नलागेपछि उसैलाई भनेको थिएँ घरको खबर गर्न । औधी आत्तिएर छिट्टै घर हिँड्न भनी । झटपट घर लागेँ । सदरमुकामबाट बेलुकी ८ बजे घर पुगेँ । पुरै बस्ती शोकाकुल रहेछ । केही आफन्त मेरो भग्नावशेष घरमा रहेछन् । दाजु आउनु भयो भनेर रमाउँदै गाउँगाउँ गएर मैले ल्याइदिएको गुडिया देखाउने मेरी प्यारी बहिनी थिइन । भाइले के के ल्यायो भनेर झोला खोतल्न आउने मेरी प्यारी दिदी नै हुनुहुन्नथ्यो । ‘कत्तिको पढेको छस् त केटा ? के छ सहरको खबर’ भनेर सोध्ने बाबा र छोरो आएछ भनेर खुसी हुँदै मीठो मीठो बनाएर खुवाउने आमा हुनुहुन्नथ्यो । थिए तिनका पार्थिव शरीर । भक्कानो फुट्यो । भेल बग्यो आँखाबाट । गाउँले अनि आफ्नो परिवारको बेवास्ता गरी सम्झाई र आफू भएको आभास दिलाई । रात बित्यो । सम्पूर्ण परिवारलाई नजिकैको घाटमा सेलाइयो । अर्धबेहोसीमा थिएँ । काजकिरिया चलुन्जेल ऊ आइरही । मेरो भएको आभास दिलाइरही । उसैको निम्ति बाँच्नु पर्ने भनी । सुन्थेँ मात्र । उसले सुनाइरही । बिस्तारै पीडाहरु भुलेर बाँच्न थालेँ उसैको निम्ति । एक महिनापछि नातेदार लिएर गएँ उसको हात माग्न । रित्तो हात फर्कन बाध्य भएँ । कारण टुहुरो थिएँ । भन्थी कि उसको परिवारको स्वीकृतिबिना पनि मेरो बन्न तयार थिई । त्यसैले कुनै पीडा भएन अपमानित भएर उसको घरबाट फर्कंदा पनि । ... ऊ अल्लि टाढिदैथिई । घरायसी कारणले होला भन्ठानेँ । धेरै पछि । भेट्ने प्रस्ताव राखी । औधी खुसी भएँ । सोचेँ, त्यही दिन विहेको प्रस्ताव राख्छु । भैदियो अर्को । ऊ त आफ्नो विहेको निम्तो बोकेर आई । केही नबोली छुट्टियौँ । उसले त आफूलाई सम्हाली । जीवनको नयाँ बाटो हिँड्ने अठोट गरी । म फेरि एक्लै भएँ ! ... भर्खर अन्माएर लगे उसलाई । सूर्य डुब्न लागेको छ पश्चिम पहाडबाट । बिना लक्ष्य कुदेको यात्री झैँ आफूलाई सम्हाल्न भाग्दैछु गाउँबाट । के म यसरी भाग्दैमा भाग्ला र उसको याद ? स्वर्ग झैँ लाग्ने आफ्नै गाउँबाट भाग्दैछु । र, भगाउँदै छु, आफूबाट हिउँ पग्लिएर बगेको नदी झै आफू पनि बग्दै त्यही भेलमा ।
प्रतिकृया लेख्नुहोस्: