अधिकार माग्न मनाही छ जातका कुरा गर्न निषेध छ , चौतर्फी निषेधको आदेशका विचमा स्वास फेर्न हुने कठिनाई राजधानीका चार दलका नेताले जन्दैनन होला । तर यो मरेर वाच्नु भन्दा भयावह हुने रहेछ ।हामीलाई मुक्त हुने रहर थियो, यसकारण हामी भिमदत्तसँग सलवलायौं, जनयुद्धसंग चलमलायौं र बन्दै गरेको समाजवादोन्मुख संविधानको अनुहार हामीतिर फर्कियोस भन्ने ठानेर सडकमा ओर्लियौं । जनयुद्ध र जनआन्दोलनले भत्काएको भनिएको विभेदको पर्खाल नयाँ संविधानमा जसरी संम्मिन सकेको थिएन, त्यसको प्रतिरुप सडकमा प्रष्टै थियो । अखण्डको हुलियामा हुलहुज्जत गर्नेहरु र सेतो छालाधारीहरु पुलिसका सलोट खान्थे हामी रवरका गोली र टियरग्याँसले टन्न हुन्थ्यौं ! हामी कालो हुनु नै प्रचण्ड गर्मीले डढेको छालाको पुस्तौनी प्रमाण हो । यो इतिहासको त्यो सजिव वकपत्र हो जो हरेक थारुको अनुहारमा प्रष्ट देखिन्छ । इतिहासको यो वकपत्रले हामीलाई यो भुगोलको भूमीपुत्र भने पनि सिंहदरबार हामीलाई पराया व्यवहार गर्दा जितेको महसुुस गर्दथ्यो । यसकारण त सकिएको भनिएको सामन्तवाद, सामन्तवादका अन्तिम केन्द्र ज्ञानेन्द्रकै बर्दिमा आजकल हाम्रो वस्तीमा मार्चपास गर्छ र भन्छ, खबरदार बोल्न मनाही छ । अधिकार माग्न मनाही छ जातका कुरा गर्न निषेध छ , चौतर्फी निषेधको आदेशका विचमा स्वास फेर्न हुने कठिनाई राजधानीका चार दलका नेताले जन्दैनन होला । तर यो मरेर वाच्नु भन्दा भयावह हुने रहेछ । सिहदरवार आसपासकाले जति भोगेका छौ, हाम्रो भोगाई त्यो भन्दा कम छैन । जवसम्म औलो थियो तिमी त्यहाँ थिएनौ । पुल र झुल नहुँदा तिमी न हिड्न जान्दथ्यौ न सुत्न मान्दथ्यौ । यी सालका विसाल रुखहरु हाम्रा पाखुरीले नै सुताएका हुन । यी कहाली लाग्दा झाडिहरु हाम्रै पाँसुलाले फाडेका हुन । आगो ओकल्ने जमिन हाम्रै पौरखले सम्याएका हुन । तरेली परेका फाँटलाई यो अनुहार दिंदा सम्मका काहाली लाग्दा दिन हामीलाई थाह छ । बाढीले हामीलाई सोहोरेर लैजाँदा रुने हामी नै थियौं, रुखले च्यापिने, बाघले चिथोर्ने, हात्तीले निचोर्ने, सर्पले वेर्ने र विच्छीले घेर्ने पनि हामी नै थियौं । तिम्रो आगमनको सुरुवातमा हामी कम्ता रमाएका थिएनौं । यो समथर जमिनको पहिलो भुमी तिमिलाई मित भनेर दान गरेको । तिमीले सिमामा फर्सिंको झाल लगाउदै झालका मुन्टा सम्म सिमा सारेर हामीलाई पेल्दै गयौ । मधेशको फराकीलो छातीमा यो तिम्रो मुर्खता प्रति हाम्रो सदासयता नै थियो, प्रेम नै थियो । तिम्रो नादानीमा हाम्रा छोरीहरु तिम्रो स्याहारमा खाटाउँदा पनि हामी खुशी नै थियौं । तिमीले यसलाई चलनै बनायौ । आज बुद्धत्व साछि राखेर भन्न सक्छु । शहरका ठूला मान्छेका भान्सामा हाम्रा छोरीहरु छन् । तिनका पुष्ट नितम्व हेरेर तिमी सौर्यकल्पमा रमाउँछौ । तिम्रो ढोकामा हाम्रा छोराहरु उभिएका छन् । ति तिम्रो हेपाहा प्रवृत्तीका बाबजुद हाम्रो सुधोपनका निशानी हुन । अँ, केही समय अगाडी देखि हाम्रो वस्तीमा एक अचम्मको सन्सनाहट छिरेको थियो । यो तिमीले सोचेको जस्तो अवान्छित उपद्रोको रहर थिएन । बस केही समय अँग्रेजको दास वन्न विवस यो भुमीलाई नेपालीपनको पुर्ण आभास दिने संकल्प थियो । राष्ट्रको सेवा गर्ने र राष्ट्रनिर्माणमा नागरीक सरह सहभागी बन्ने अभिलाषा थियो । त्यसका निम्ती निस्किएका अनेकन छलफलले कमलरी उठायो, जनयुद्ध उठायो र आफ्नो माटोको रखवाला आफैं बनेर भुमी खुसाउने एक असाधारण चेत निर्माण भो । विस्वास गर, यो तिमीबाटै होला भन्ने हम्रो पुर्ण विस्वास थियो । त्यसकारण त हामीले बामदेवदलाई जिताएको । अनेकन तरंगका वावजुद सुर्य र रुखका झण्डा हाम्रा झुप्राहरुमा फर्फराएको । विडम्वना , तिमी पुरानै मुखियाको मुटु बोकेर हाम्रा पिपिरा चेतलाई कुल्चन थाल्यौ । भावनात्मक एकताको प्रयासलाई तिमीले विखण्डन अलाप भनेर अथ्र्यायौ । एक जातीय वहुलताका क्षेत्रहरु एकैठाउँमा रहदाँ हामी सहज ढंगले मुलुक निर्माणमा सहभागी वन्न सकौला भन्ने आकलनलाई तिमीले अपराध ठहर्यायौ । अनेकन आसंका निमार्ण गरी हामीलाई टुक्रा टुक्रा पार्दै हामीलाई मुर्छित वनायौ । महामहिम तिम्रो ज्यानको भाग लगाउँदा तिमीलाई दुख्छ कि दुख्दैन ? हामीलाई पनि त्यसरी नै दुख्यो । बाँधिएको ज्यान र कुल्चिएको चेत डरलाग्दो हुँदो रहेछ । निर्धा थारु वस्तिहरुमा उठेको एक असाधारण हुरीको कारण यहि थियो । पछिल्लो समय हामी घरलौरी सडकमा उभिएकै हो । हाम्रो सुधोपनको मापनले भन्छ हामी ज्यान दिन सक्छौ लिन जान्दैनौ । चार गते टिकापुरमा जे भयो ,हाम्रो कारणले भएन, कि राज्यले आक्रोसको आकलन गर्न सकेन कि दक्षिणका मान्छे आन्दोलनमा छिरे । दक्षिणका को हुन त्यो गृहमन्त्रीलाई थाह होला । दक्षिणबाट आएका मानिसको मेसो हामीलाई के थाहा ? उनीहरुले हाम्रो अधिकार प्राप्तीको उच्च वेगलाई बराल्न यतिविधि षड्यन्त्र गर्लान भन्ने हामीले हिसाव गर्न सकेको भए हामी नै यो राज्यका संचालक हुन्थ्यौं । जे भयो नराम्रो भयो । आन्दोलन तुहाउन प्रहरी अधिकृतको वली चढाइयो र शोक रमिता मन्चन गरेर आन्दोलनमा पानी खन्याइयो । मान्छेहरु भन्छन हाम्रा अधिकृतलाई भाला हान्नेहरु हाम्रो अनुहारका थिएनन , जवानलाई आगो झोस्नेहरु हाम्रो भाषाका थिएनन ति प्रशिक्षित थिए र कतै वाट आयातित थिए । तिनको आयात कतावाट गरीएको हो गृहपति र अखण्डका हीमायती शेरहरुले जानुन । राज्य यति सम्म निकृष्ट कर्ममा लागे होला भन्ने विस्वास हामीमा छैन र यो आरोप लगाएर हामी राज्यलाई विवादित वनाउन सक्दैनौ । हो थारु भुमीमा उक्साहटपुर्ण भाषण गर्नेहरु पनि हाम्रो वस्तीका होइनन ति त हाम्रो ज्ञानमा भए सम्म सत्ताधारी पार्टिका सवासदहरु नै हुन । हामी लई यस्तो नाटक पनि थाह थिएन सत्ताधारी दल मध्ये एक अखण्डको नाममा सुर्खेत उचाल्छ अर्को थारुको वस्तीमा प्रवेश गरेर मुलुक विखण्डनको झुसिलो डकार उग््रयाउछ । यो हाम्रो ज्ञानको वुता भन्दा माथीको कुरा । आज टिकापुरमा सन्सनाहट छ आतंक छ आन्दोलन छैन,। सुडानको डार्फोरमा झैं यहाँका गल्लीहरुमा वर्दी र लामा हतियारको आतंक छ । पुलिसका साइरन सहितका सवारी साधन र सेना बोकेका थोत्रा ट्रकहरुको आवाजमा दवेको एक भयानक सन्नाटा छ । लाग्छ यो तालिवानी क्षेत्र हो र अमेरिका विनलादेनलाई खोजिरहेछ ।थारुका वस्तीहरुमा युवाको पलायन छ तिनका घरमा आगो र आतंक छ ।निषेध क्षेत्र थारुलाई छ कफ्यु पनि थारुलाई मात्र छ । तर यसले थारुहरुलाई एक चिज गज्जवले पढाएको छ । त्यो हो सिंहदरबार थारुहरुलाई माया गर्दैन । राज्य जनजातीको अधिकारको पक्षमा चिन्तीत छैन ।थारु आन्दोलनका अभियन्ताले बर्षौ सिकाउन नसकेको यो पाठ क्षणभरमै सिकाएकोमा सिंहदरबार धन्य छ । तर सिंहदरबारले यो पनि बुझोस वर्दिको आतंकले मान्छे गिरफ्तार गर्न सक्ला तर विद्रोहको चेत गिरफ्तार गर्न सक्दैन ।
प्रतिकृया लेख्नुहोस्: