काठमाडौं । ती दिनहरू सम्झिन पनि कठिन छ, जब एक सानो बालकको जिन्दगीले अचानक भिन्न मोड लियो । २०४७ साल अर्थात् ३४ वर्षअघि, काठमाडौंबाट हराएका ती १० वर्षीय बालकको जीवनले एक यस्तो मोड लियो, जुन उनले कल्पना समेत गर्न सकेनन् ।
त्यसबेला उनी डरले काँपिरहेका थिए । न उनलाई आफ्नो घरको ठेगाना याद थियो, न आमाबुबाको अनुहार । मात्र एउटा धुमिल सम्झना बाँकी थियो— बुबालाई ‘झाँक्री बा’ भनेर बोलाउँथे । झापा भन्ने ठाउँमा घर थियो भन्ने झिनो याद मात्रै थियो । आफूलाई काले भनेर बोलाउने गरेको मात्र थाहा थियो ।
उनी कसोगरी काठमाडौं जोरपाटी पुगेका रहेछन् । जोरपाटीबाट हराए । उनको यात्रा हिमाली भेगतिर मोडियो । काठमाडौंबाट धेरै टाढा पुगे, उनको घर झापाबाट त कता हो कता । अक्षर नचिनेको अबोध बालक ‘काले’ हिमालमा चौँरी चराउने ठाउँमा पुगे । कसैले त्यही काम लगाइदियो । तर घर ठेगाना सोधे, तर घर पठाइदिएन ।
भोटे गाउँमा भाषा नबुझ्दा आउने असहायता थियो नै । अन्ततः चौँरीको गोठालो बन्नुको विवशता— यी सबैले उनलाई समयको कठोरतासँगै परिपक्व बनायो । तर, उनी आफ्नो विगतलाई कहिल्यै बिर्सन सकेनन् ।
उनको जीवन सङ्घर्षपूर्ण थियो । हिमाली गाउँका कठोर मौसममा चौरीको गोठालो बनेर बिताएका ती दिनहरूमा, उनले आफ्नो परिवारलाई कहिल्यै भुल्न सकेनन् । उनी हराएको ३४ वर्षसम्म बिर्सन सकेनन् । ती स्मृतिहरूले उनलाई रातभर निद्रा लाग्न दिँदैनथे ।
‘काले’ नाबालक हुँदा हराएका उनलाई अहिले ‘प्रकाश’ नाम राखिएको थियो । धेरैजसोले ‘पका’ भन्थे । ‘के म कहिल्यै आफ्ना आमाबुबासँग भेट्न सक्छु ?’—यो प्रश्नले सधैँ उनलाई सताइरहन्थ्यो । ‘म घर जानसक्छु कि नाइँ, घरमा बुबा आमा छन् कि छैनन् ? दाजुभाइ दिदी बहिनी के गर्दै होलान् ?’ यस्तै कौतूहलले सताउँथ्यो ।
समय बित्दै गयो, र त्यो सानो बालक अब एक परिपक्व मानिस बने, उनको उमेर अब ४४ वर्ष नाघिसकेको छ । तर, मनको कुनै कुनामा एक धुमिल आशा ज्यूँदै थियो—आफ्नो विगतसँग पुनर्मिलनको ।
यो असम्भवलाई सम्भव बनायो सामाजिक सञ्जालमा चर्चामा रहेको कार्यक्रम विद्या चापागाईँको ‘हेर्ने कथा’ले । एक दिन ‘हेर्ने कथा’को टिम कथा खोज्दै गोरखाको माथिल्लो भेग पुग्यो । मनासलु पदमार्गमा पर्ने चुमभ्याली पुगे ।
त्यहाँ कथा खोज्दै गर्दा भेटिए, प्रकाश । एक दिन हेर्ने कथाका टीम चुम भ्यालीमा फुन्जोको कथा खिच्न गएको थियो । त्यो बेला उनीहरूले प्रकाशलाई भेटेका थिए ।
फुन्जोले बाल्यकाल बिताएको गोठमा जाँदा प्रकाश त्यहीँ थिए । फुन्जोको कथा सकिएपछि उनीहरूले प्रकाशलाई पछ्याउन सुरु गरे ।
उनले आफ्नो कथा हेर्ने कथाको टीमसँग बाँडे । आफ्नो विगतको धुँमिलिएको तस्वीरलाई पुनः स्मरण गरे । आफ्नो घर झापा र बुबा झाँक्री रहेको बताए ।
आमाको तीनजना पत्नी भएको बताए । आफ्नो घर छिमेकको बारेमा सम्झना आएसम्म चर्चा गरे । त्यो काममा हेर्ने कथाको टीमलाई झापाका पत्रकार पर्वत पोर्तेलले सहयोग गर्ने वाचा गरे ।
त्यसपछि उनीहरूले प्रकाश ३४ वर्ष अघि छुटेको त्यो स्थानको खोजी गरे । जहाँबाट उनको जीवनले पहिलो पटक अनिश्चितताको बाटो लियो, त्यही ठाउँ पुग्यो, हेर्ने कथाको टिम प्रकाशलाई लिएर । प्रकाश झापा पुगे, त्यहाँ उनले आफ्नो गाउँ खोज्ने मौका पाए ।
हेर्ने कथाको विद्या र उनको टिमले अनुसन्धान गरेपछि थाहा पाए कि उनका बुबा भोजपुरमा छन् । आमा मरिसकेकी छिन् । आमा मरेको खबरले प्रकाश ज्यादै दुखी भए ।
बुबा गाउँमै रहेको खबर पनि पाए । त्यो समाचारले प्रकाशको मनमा मिश्रित भावना जाग्यो—दुखी र खुसी । प्रकाश बुबा र परिवार रहेको भनिएको भोजपुर पुगे।
जब उनीहरु एक गाउँ पुगे । एक जनालाई प्रकाशले आफ्नो बुबाको ठेगाना सोधे । त्यो सोधिएको व्यक्ति प्रकाशकै दाइ रहेछन् । ३४ वर्षअघि छुटेका आफ्नै दाइभाइले आपसमा चिनेनन् ।
प्रकाशले आफ्ना आमाबुबालाई देखे, तर चिनेनन्, जतिबेला ३४ वर्षअघिको त्यो बालक आफ्ना आमाबुबासँग भेट्न पाएको थियो ।
बुबा र कान्छीआमासँग अँगालो मार्नासाथ, ती बिछोडका वर्षहरूले जम्मा गरेका सबै वेदनाहरू बाहिर निस्किए । ती क्षणहरू आँसु, हाँसो र भावनाहरूले भरिएका थिए ।
त्यो बच्चा, जो ३४ वर्षअघि काठमाडौंबाट हराएको थियो, आज आफ्नो घर, आफ्नो परिवार, र आफ्नो पहिचानसँग पुनर्मिलन गर्न सक्षम भयो ।
प्रतिकृया लेख्नुहोस्: