Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

प्रधानमन्त्री ओलीकै अगाडि दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ताको संरक्षण

प्यारापिटमा रहेका दर्शक कुटपिट गर्ने एमाले कार्यकर्ता
खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै अगाडि रंगशालाभित्र दर्शक कुट्ने एमाले कार्यकर्ताले सत्ताको संरक्षण पाएका छन् । सोमबार साँझ दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि जंग तामाङसहितका कार्यकर्ताले आक्रमण गरेका थिए । 

सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् । 

सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् । तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ । घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहरा रंगशालामा भएको कुटपिटका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भिडियो भेरिफाई गर्ने काम भइरहेको बताउँछन् । ‘रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।’

युवा संघका उपाध्यक्ष महाराज गुरुङले भने रंगशालामा कुटपिट गर्ने व्यक्तिहरू युवा संघका कार्यकर्ता नरहेको दाबी गरेका छन् । उनीहरू एमाले समर्थक भएको र घटनालाई पनि सामान्य रूपमा लिएको उनले बताए । ‘युवा संघका कार्यकर्ताले दर्शक कुटपिट गरेको छैन । भिडियोमा देखिएका युवा एमाले समर्थक हुन्,’ उनले भने, ‘सोमबार केहीबेर भनाभन मात्रै भएको हो । पाँचैँ मिनेटमा समस्या समाधान भयो । यो घटनालाई हामीले सामान्य ढंगले नै लिएका छौँ ।’

खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला प्रवेश गरेलगत्तै नाराबाजीमा उत्रिएका दर्शकमाथि कुटपिट भएको थियो ।

योजनाबद्ध रूपमा खटाइएका थिए चार हजार कार्यकर्ता

गत १४ कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा समेत प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । सोमबार पनि प्रधानमन्त्रीविरुद्ध कसैले नारा लगाए ‘ठिक पार्न’ भन्दै युवा संघले चार हजारभन्दा धेरै युवा रंगशालामा उतारेको थियो । एन्फाले १६ हजार टिकट बिक्री गरेको थियो । तर, युवा संघले शक्तिको आडमा चार हजार कार्यकर्तालाई निःशुल्क प्रवेश पास बाँडेको स्रोतको दाबी छ । प्यारापिटका हरेक ब्लकमा युवा संघका कार्यकर्ता खटिएका थिए । उनीहरूलाई ओलीविरुद्ध नारा लगाउने दर्शक पहिचान गर्ने र रंगशालाबाट बाहिर निकाल्ने निर्देशन थियो । सोही निर्देशनअनुसार सोमबार कुटपिट भएको प्रहरी स्रोतले बतायो । 

दर्शक कुट्नेलाई कारबाही गर्न सांसदहरूको माग
सांसदहरूले रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकलाई कुट्नेमाथि कारबाहीको माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रंगशालाभित्रै देखादेखी दर्शक कुट्नेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । सत्ता र शक्तिको बलमा परिचालित पद्धति अन्त्य हुनुपर्ने उनको माग छ ।

सिंहदरबारमा समितिको बैठकपछि उनले भने, ‘सत्ता र शक्तिको आडमा परिचालित हुने पद्धति अन्त्य हुुनुपर्छ । पुलिसलाई कुट्दा कारबाहीको दायरामा ल्याउनुपर्छ भन्यौँ । त्यस घटनामा संलग्न कुन पार्टीको भनेर हामीले हेरेनौँ । त्यहाँ (रंगशालामा) पनि देखादेखी कुटपिट भयो । ती मान्छेलाई कारबाहीको दायरामा सरकारले ल्याउनुपर्छ ।’

त्यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा फुटबल हेर्न पुगेका दर्शक कुट्नुलाई ‘ओलीतन्त्रको अराजक गतिविधि’ भनेका छन् । राणा शासनमा भन्दा धेरै अत्याचार भएको उनको भनाइ छ । कार्यव्यवस्था समितिको बैठकपछि उनले भने, ‘रंगशालामा ओली सरकारको गुन्डागर्दी खुलमखुला देखियो । जहानियाँ राणा शासनमा नदेखिएको दृश्य देख्यौँ । प्रहरीकै सामुन्ने पब्लिक कुटिए । बर्दिवाला डिएसपीले कुटपिटमा संलग्नविरुद्ध कारबाही गरेनन् । यो त राणा शासनभन्दा पनि चर्को भयो ।’ यो समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending