काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयारीमा थियो ।
१० साउनको राति खाना खाइसकेर सुत्ने तयारीमा थिए स्थानीय ओमप्रकाश मेहता । त्यही बेला गाउँमा दुई समूहबीच झगडा भएको खबर आयो ।
खबर सुन्नासाथ उनी घरबाट निस्किए । हतारमा जुत्ता खोजेनन् । चप्पल लगाए र चोकतिर दौडिए । कप्तानगञ्जको चौबाटोमा पुग्दा दुई समूहबीच झडप भइरहेको थियो । उनी चोकको दक्षिणपट्टि उभिएका थिए । केही क्षणमै गोली चल्यो ।
ओमप्रकाश गोली लागेर ढले । उनले लगाएको चप्पल रगतले भिज्यो । ओमप्रकाशलाई अस्पताल लगियो । तर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरिसकेका थिए ।
त्यसपछि उनको चप्पल त्यहीँ रह्यो—रगताम्ये । साथमा रहेका साथीले चप्पल छेउमा राखिदिए । कसैले त्यसको तस्बिर खिचे । त्यो चप्पल विस्तारै कप्तानगञ्ज घटनाको एउटा मौन साक्षी बन्न पुग्यो ।
त्यो चप्पलले गोली चलेको रात मात्र सम्झाउँदैन । त्यसले एउटा गाउँको पीडा, मधेशको आक्रोश र राज्यसँग न्याय मागिरहेका नागरिकको कथा पनि बोकेको छ ।
एउटा चप्पल, एउटा मृत्यु र एउटा प्रश्न
१० साउनको राति कप्तानगञ्ज चोकमा चप्पल लगाएर पुग्ने ओमप्रकाश एक्ला थिएनन् । गोली लागेर ज्यान गुमाएका जयप्रकाश मेहता र रविन्द्र मेहतासहित धेरै स्थानीय त्यही चप्पलमै चोक पुगेका थिए ।
उनीहरू कुनै ठूलो राजनीतिक कार्यक्रमका लागि निस्किएका थिएनन् । कुनै औपचारिक आन्दोलनको पोसाक लगाएका थिएनन् । उनीहरू गाउँको झगडा हेर्न, रोक्न वा बुझ्न सामान्य नागरिकका रूपमा चोकमा पुगेका थिए ।
तर त्यो रात उनीहरूको जीवन त्यहीँ रोकियो । कसैको हातमा हतियार थिएन । खुट्टामा महँगा जुत्ता थिएनन् । थियो त सामान्य चप्पल ।
त्यही चप्पलमध्ये एउटा गोली लागेर ढलेको शरीरसँगै रगतमा डुब्यो ।
त्यसैले स्थानीयका लागि त्यो चप्पल अब केवल चप्पल रहेन । त्यो मृत्युको प्रमाण हो । त्यो प्रश्न हो । त्यो आक्रोश हो । र, त्यो न्यायको प्रतीक्षा पनि हो ।
काठमाडौंको रगताम्ये जुत्ता र मधेशको चप्पल
नेपालको पछिल्लो राजनीतिक आन्दोलनको स्मृतिमा रगतले लतपतिएको एउटा जुत्ता अझै ताजा छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते प्रकाश बोहराले लगाएको रगताम्ये जुत्ता सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । त्यो जुत्ता आन्दोलनमा घाइते पुस्ताको पीडा र विद्रोहको प्रतीक बन्यो ।
रगतले भिजेको त्यो जुत्ताले नयाँ पुस्ताको आक्रोशलाई एउटा दृश्यमा कैद गर्यो । तर कप्तानगञ्जमा रगतमा निथ्रुक्क भिजेको चप्पल भने त्यति टाढा पुग्न सकेन ।
देशको राष्ट्रिय बहसमा त्यो चप्पलले त्यति ठाउँ पाएन । तर कप्तानगञ्जका नागरिकका लागि त्यो चप्पल सबैभन्दा ठूलो दस्तावेज हो ।
उनीहरू भन्छन्—ओमप्रकाशको चप्पलमा लागेको रगत सुकिसक्यो होला, तर त्यसले उठाएको प्रश्न अझै सुकिसकेको छैन ।
विश्लेषक तथा अग्रज पत्रकार चन्द्रकिशोरका लागि यो केवल एउटा दुर्घटनास्थलमा भेटिएको वस्तु होइन । यो मधेशको जीवन बुझ्ने एउटा प्रतीक हो ।
‘मधेशलाई बुझ्न एउटा चप्पल हेर्नुस्,’ उनी भन्छन्, ‘त्यो चप्पलले खेतदेखि बजारसम्म, गाउँदेखि सदरमुकामसम्म यात्रा गरेको हुन्छ ।’
उनका अनुसार मधेशको विकासको कथा कागजमा जति सुन्दर देखिन्छ, चप्पलको घिसाइमा त्यति नै कठोर देखिन्छ ।
त्यसैले मधेशमा चप्पल केवल गरिबीको प्रतीक होइन । यो श्रमको प्रतीक हो । यात्राको प्रतीक हो । जीविकाको प्रतीक हो । र नागरिकको धैर्यको प्रतीक पनि हो । मधेशको आन्दोलन चप्पलमै हिँडेको छ
मधेशका आन्दोलनको इतिहास पल्टाउने हो भने सडकमा उत्रिएका हजारौँ सामान्य मानिस देखिन्छन् । उनीहरूको खुट्टामा प्रायः चप्पल हुन्छ ।
कसैको चप्पल खेतको हिलोले मैलो भएको हुन्छ । कसैको चप्पल घामले फाटेको हुन्छ । कसैको चप्पलको फित्ता बारम्बार बाँधिएको हुन्छ । तर त्यही चप्पलले अधिकार माग्दै सडक नापेको छ ।
न्याय माग्दै जिल्ला सदरमुकाम पुगेको छ । आफ्नो आवाज सुनाउन राजधानीसम्म यात्रा गरेको छ । चन्द्रकिशोर भन्छन्, ‘मधेशका धेरै आन्दोलन महँगा गाडीबाट होइन, घिस्रिएका चप्पलबाट चलेका छन् । सत्ताको कुर्सीमा पुग्दा मधेशका नेताले चप्पल फेरे, तर जनताको बाटो फेरिएन ।’
यो भनाइमा मधेशको राजनीतिप्रतिको एउटा गहिरो असन्तुष्टि लुकेको छ ।
आन्दोलनमा जनता उत्रिन्छन् । सडक भरिन्छ । नाराबाजी हुन्छ । सम्झौता हुन्छ । नेताहरू सत्ता र शक्तिको केन्द्रमा पुग्छन् । तर गाउँका नागरिकको जीवन उस्तै रहन्छ ।
त्यसैले चप्पल फेरिएको र बाटो नफेरिएको कथा मधेशको राजनीतिमाथिको एउटा तीखो टिप्पणी बनेको छ ।
चप्पल किन यति ठूलो प्रतीक बन्यो ?
समाजशास्त्रका उपप्राध्यापक चन्द्र उपाध्यायका अनुसार चप्पल तराईको दैनिकीको अभिन्न हिस्सा हो ।
‘चप्पल लगाउन र खोल्न सजिलो हुन्छ । यो मधेशको जीवनशैलीको एउटा अभिन्न हिस्सा हो,’ उनी भन्छन्, ‘यसले समाजको अवस्था र सांस्कृतिक सम्बन्ध पनि जनाउँछ ।’
उनका अनुसार मधेशका आन्दोलनमा सामान्य जनजीवनको स्वतःस्फूर्त सहभागिता हुने भएकाले चप्पलको बाहुल्य देखिनु स्वाभाविक हो ।
तर आन्दोलनमा कुनै सामान्य वस्तु पनि प्रतीक बनेपछि त्यसले घटनालाई लामो समयसम्म सम्झाइरहन्छ ।
‘आन्दोलनमा आइकोनिक प्रतीकहरूले सम्बन्धित घटनालाई भावनात्मक रूपमा जीवित राख्न र मानिसहरूलाई त्यो क्षण नबिर्सन निरन्तर घच्घच्याइरहने काम गर्छन्,’ उनी भन्छन् । कप्तानगञ्जको चप्पल पनि त्यस्तै प्रतीक बन्न थालेको स्थानीयको बुझाइ छ ।
जुत्ता र चप्पलको फरक कथा
काठमाडौंको सडक र मधेशको सडकको कथा एउटै छैन । जेनजी आन्दोलनमा देखिएको जुत्ता नयाँ पुस्ताको परिचय, आकांक्षा र विद्रोहसँग जोडिएको थियो । त्यो जुत्ता शहरको औपचारिक जीवनशैलीबाट सडकमा आएको पुस्ताको प्रतीक बन्यो ।
कप्तानगञ्जको चप्पल भने गाउँको दैनिकीबाट आएको हो । यो खेतमा जान्छ । हाटबजार पुग्छ । मजदुरी गर्न जान्छ । विद्यालय पुग्छ । अस्पताल पुग्छ । र आवश्यक परे आन्दोलनमा पनि पुग्छ ।
चन्द्र उपाध्यायका अनुसार काठमाडौंको जुत्ता र मधेशको चप्पल दुवैले आ–आफ्नो भूगोल, संस्कृति र संघर्षको प्रतिनिधित्व गर्छन् ।
‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता युवा र विद्यार्थीको परिचय र सपनासँग जोडिएको थियो,’ उनी भन्छन्, ‘यसले शहरी क्षेत्रको औपचारिक पहिरन र संस्थागत परिवेशबाट सुरु भएको विद्रोहलाई प्रतिविम्बित गर्छ ।’
तर मधेशको चप्पलमा त्यस्तो औपचारिकता छैन । त्यहाँ चप्पल जीवन हो । दैनिकी हो । बाध्यता हो । र संघर्षको साथी हो ।
रगत सुक्यो, आन्दोलन रोकिएन
कप्तानगञ्ज घटनाको विरोधमा ११ साउनदेखि स्थानीय नागरिक आन्दोलनमा छन् ।
आन्दोलनमा सहभागी अधिकांशका खुट्टामा चप्पल नै छन् । उनीहरू त्यही चप्पल लगाएर सडकमा उभिएका छन्, जुन चप्पलले उनीहरूको दैनिक जीवन धानेको छ ।
उनीहरू न्याय मागिरहेका छन् । घटनामा संलग्नमाथि कारबाही मागिरहेका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् । काठमाडौंमा उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको शवसमेत परिवारले बुझेका छैनन् ।
परिवारको माग छ—पहिले मधेशमाथिको विभेदपूर्ण व्यवहार अन्त्य हुनुपर्छ, सहमति कार्यान्वयन हुनुपर्छ ।
त्यसपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । यसले घटनालाई केवल एउटा गोलीकाण्डमा सीमित राखेको छैन । यो अहिले राज्य र नागरिकबीचको विश्वासको प्रश्न बनेको छ ।
चप्पलले सोधिरहेको प्रश्न
कप्तानगञ्जको चोकमा ओमप्रकाश मेहता ढलेको रातदेखि धेरै कुरा बदलिएको छ । घटनास्थलमा मानिसको भीड आयो । शव अस्पताल पुग्यो । छानबिनका कुरा भए ।
सरकार र पीडित परिवारबीच सहमति भयो । तर सडकमा उत्रिएका नागरिकको प्रश्न अझै बाँकी छ । त्यो प्रश्न रगताम्ये चप्पलले सोधिरहेको छ । सामान्य नागरिकको जीवनको मूल्य कति हो ?
कसैको चप्पलमा लागेको रगत केवल व्यक्तिगत पीडा हो कि राज्यको जवाफदेहिताको प्रश्न पनि हो ?
काठमाडौंको रगताम्ये जुत्ता राष्ट्रिय प्रतीक बन्न सक्छ भने मधेशको रगताम्ये चप्पल किन राष्ट्रिय बहसको केन्द्र बन्न सक्दैन ?
सायद यसको उत्तरमा पनि मधेशको लामो पीडा लुकेको छ । काठमाडौंमा उठेको आवाज छिटो सुनिन्छ । सिंहदरबारको ढोका छिटो ढकढक्याउँछ । तर गाउँको धुलोबाट उठेको आवाज राजधानीसम्म आइपुग्दा धेरैपटक कमजोर भइसकेको हुन्छ ।
कप्तानगञ्जको चप्पलले त्यही दूरी देखाएको छ । त्यो चप्पल अहिले कुनै पसलमा बिक्री हुने वस्तु होइन । कुनै संग्रहालयमा राखिएको वस्तु पनि होइन । तर त्यसमा लागेको रगतले एउटा गाउँको इतिहास लेखेको छ ।
ओमप्रकाशको चप्पलले अब बाटो नापिरहेको छैन । तर उसले देखाएको बाटोमा मधेशका नागरिकहरू न्याय खोज्दै हिँडिरहेका छन् । र उनीहरूको खुट्टामा अझै चप्पल नै छ।
प्रतिकृया लेख्नुहोस्: