चन्द्रागिरी । सङ्घीय संसद सचिवालयले सदन, संसदीय समिति र सचिवालयका कामकारबाहीसम्बन्धी समाचार सङ्कलन र सम्प्रेषणलाई सहज एवम् व्यवस्थित तुल्याउन पत्रकार प्रवेश पास कार्यविधि २०८१ को मस्यौदामाथि सुझाव लिएको छ ।
सचिवालयले नेपाल पत्रकार महासङ्घ, संसदीय मामिला पत्रकार समाजका पदाधिकारी, विषयविज्ञ र संसदीय मामिलाका सम्बन्धमा समाचार लेखिरहेका पत्रकारसँग छलफल गरी राय सुझाव लिएको हो ।
त्यस अवसरमा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसद् र सञ्चार माध्यमको एउटै लक्ष्य तथा उद्देश्य भनेको नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेण गरी लोकतन्त्रलाई सुदृढ गर्नु रहेको बताए ।
उनले भने, “संसद् र पत्रकारितको लक्ष्य एउटै हो तर हरेक विधाका आआफ्नै सीमा र मर्यादा हुन्छन् भन्ने पाटोलाई दुवै पक्षले आत्मसात् गर्नुपर्छ । जनता र नागरिकलाई के ठिक लाग्छ त्यही गर्नुपर्छ । अन्तरराष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै राज्यको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ ।”
प्रतिनिधिसभाका सचिव हर्कराज राईले संसद् र पत्रकारबीच लोकतन्त्रप्रतिको साझा बुझाइले सहयात्रा र लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सचिवालयका सचिव सुदर्शन खड्काले संसदीय पत्रकारितालाई व्यवस्थित र मर्यादित तुल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकार प्रवेश पाससम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताए । “राष्ट्र र जनताका आवश्यकता र प्राथमिकताका आधारमा समाचार सम्प्रेषण हुनुपर्छ । खुला र पारदर्शिताको मापन हुनुपर्छ । संसदीय पत्रकारिता विशिष्टिकृत विधा भएकाले समाचार सङ्कलनमा अनुभवीलाई प्राथमिकता दिइनुपर्छ”, उनले भने।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले संसदीय गतिविधिका समाचार सम्प्रेषणका लागि पत्रकारलाई सहज पहुँचको व्यवस्था गरी प्रेरित र आकर्षित गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले पत्रकारितालाई स्वनियम, नियन्त्रण र नियमन गर्ने भन्ने कोणबाट उठाइँदै आएकामा आफूहरूले सधैँ स्वनियमलाई नै ठूलो महत्व दिइएको बताए ।
सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वका विभिन्न देशमा संसदीय समाचार सङ्कलन र सम्प्रेणसम्बन्धी अभ्यास, कानुनी प्रावधानलगायत विषयमा जानकारी गराए। सचिवालयका उपसचिव दशरथ धमलाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयको समाचार सावधानिकपूर्वक गर्न तथा पत्रकारिता आचारसंहिताको पूर्णपालना गरी द्वेषपूर्ण र भ्रामक समाचार सम्प्रेषण नहोस भन्ने सचिवालयको मनसाय रहेको सुनाए।
उनले भने, “सङ्घीय संसद्का दुवै सदनको कार्यशैली, भूमिका र प्रतिक्रियाबारे स्पष्ट बुझेर मात्र समाचार सङ्कलन होस्, अनर्थ हुने समाचार र सूचना प्रसारण नहोस् भनी संसद् प्रवेशलाई व्यवस्थित गर्न खोजिएको हो ।”
प्रतिकृया लेख्नुहोस्: