Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सहकारी ठगीमा संलग्न दुई फरार कांग्रेस र राप्रपा सांसदको पद जोगाउन चलखेल, सभामुखकै साथ

रविलाई भने सभामुखले फास्ट ट्रयाकमा गरेका थिए निलम्बन

खबरडबली संवाददाता

काठमाडौं । संविधान र प्रतिनिधिसभा नियमावली अनुसार कुनै सांसद १० दिनभन्दा लामो बिदा बस्नुपरे सभामुखलाई अग्रिम सूचना दिनुपर्छ । नत्र पद नै खारेज हुन्छ । तर, सहकारी ठगीमा संलग्न देखिएपछि फरार कांग्रेस सांसद माया राई र राप्रपा सांसद गीता बस्नेत १० दिन होइन, सदनको सिंगो अधिवेशनमै अनुपस्थित छन् । तर, उनीहरूको पद जोगाउन सभामुख देवराज घिमिरे नै सक्रिय बनेका छन् ।

सांसद राई र बस्नेतको पद जोगाउन संसद् सचिवालयमा चलखेल सुरु भएको छ । सूचनाविनै प्रतिनिधिसभाका हिउँदे अघिवेशनभर (२७ बैठकमा) अनुपस्थित फरार सांसद बस्नेतलाई ‘बिरामी’ भन्दै बिदा नै स्वीकृत गरिएको छ । त्यस्तै, राईको अधिवेशन अन्त्यको अघिल्लो दिन निवेदन परेको कांग्रेसको दाबी छ, तर संसद् सचिवालयलाई तयसको जानकारी छैन । उनको पद पनि जोगाउने तयारी छ । 

संविधानको धारा ८९(घ) मा सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे सांसद पद रिक्त हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम २१३ मा अस्वस्थ वा काबुबाहिरको परिस्थितिमा लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने व्यवस्था छ । त्यस्तो सूचना सभामुखले सभाको स्वीकृतिका लागि प्रस्तुत गर्नुपर्ने र सभाले स्वीकृत गर्नुपर्ने भनिएको छ । 

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुईपटकसम्म सञ्चालक रहेर दुई अर्ब ६५ करोड बचत रकम हिनामिना गरेको आरोप लागेकी राई पाँच महिनादेखि फरार छिन् । तर, उनलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको ‘आदेश’ नै छैन । फरार राईले संसद् सचिवालयमा अग्रिम सूचना दिएकी छैनन् । बरु पद जोगाउन कांग्रेस संसदीय दलले हतार–हतार सोमबार सभामुख घिमिरेको सचिवालयमा बिदाको निवेदन दिएको छ । तर, १० वटा बैठकमा अनुपस्थित सात सांसदको बिदाको सूचना मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सुनाएका सभामुख घिमिरेले राईको सूचना प्रस्तुत गरेनन् । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पार्टीकी सांसद राईले सभामुखलाई दुई–चार दिनअघि बिदाको सूचना दिएको दाबी गरे । ‘सभामुखले सभामा बिदाको सूचना प्रस्तुत गर्दा कसरी छुटाउनुभयो, थाहा भएन । तर, उहाँ (राई) ले साथीभाइमार्फत दुई–चार दिनअगाडि नै निवेदन दिनुभएको हो । बिदाको कारण सभामुखलाई थाहा भएन कि !’ उनले भने । 

तर, संसद् सचिवालयका पदाधिकारीले भने घिमिरेले सोमबार साँझ मात्रै सभामुखको निजी सचिवालयमा निवेदन बुझाएको बताए । ‘कांग्रेस सचेतकले सभामुखको निजी सचिवालयमा अबेर गरेर निवेदन बुझाउनुभएको हो । हाम्रो कार्यव्यवस्थामा जति उपलब्ध थियो, सभामा पठाइदियौँ । सभामुखको सचिवालयबाट नआएको हुन सक्छ । सिंहदरबारमा आएर बानेश्वरमा नआएर छुटेको पनि हुन सक्छ,’ एक पदाधिकारीले भने । सूचना छुटेको भए अर्काे अधिवेशनको प्रारम्भमा सुनाउन सकिने उनले बताए । 

सभामुख देवराज घिमिरेले माया राईको बिदाको निवेदनबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘माया राईको बिदाको निवेदनबारे मलाई थाहा छैन । उहाँ (कांग्रेस प्रमुख सचेतक) ले दिएको भन्नुभएको रहेछ भने थप बुझ्नुपर्छ,’ उनले भने । 

महासचिव पदम पाण्डेयले सांसद राईको बिदाको निवेदनबारे जानकारी नभएको बताए । प्रतिनिधिसभा सचिव हर्क राईले थाहा नभएको उल्लेख गर्दै कार्यव्यवस्थामा सोध्नुनपर्ने बताए । सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले पनि थाहा नभएको बताए । सभामुखका निजी सचिव एवं संसद् सचिवालयका उपसचिव ओमबहादुर कार्कीले पनि निवेदन आएको थाहा नभएको र आएको भए कार्यव्यवस्था परामर्श समितिमा गएको हुनुपर्ने बताए । 

तर, कार्यव्यवस्था परामर्श समितिले आएका निवेदनमध्ये १० दिनभन्दा माथिको सूचना हेरेर सभामा पठाएको थियो । ‘हामीले रेकर्ड हेरेर १० दिनभन्दा माथिका सबै सूचना सभामा पठाएका छौँ । त्यसमा माया राईको नाम छैन,’ कार्यव्यवस्था समितिका एक अधिकारीले भने ।  

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राईको बिदाको सूचनाबारे बुझेर मात्रै भन्न सकिने बताए । ‘उहाँले सिंहदरबारमा बुझाउनुभयो होला । हामी कर्मचारी बिहानै हाउस चलाउन बानेश्वर गएकाले हतारमा छुटेको हुन सक्छ । यसबारे बुझ्नैपर्छ । भोलि अभिलेख हेरेर भन्न सकिन्छ,’ उनले भने । 

निलम्बन ‘रिभ्यु’ गर्न रविको माग

सहकारीकै रकम अपचलनमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको हकमा भने सभामुख देवराज घिमिरेले ‘फास्ट ट्रयाक’मा सांसद पद निलम्बन गरेका थिए । मंगलबारै उनले आफ्नो निलम्बन फुकुवा गर्न सभामुख घिमिरेसँग पुनः आग्रह गरेका छन् । तर, घिमिरेले निलम्बन आपूmले नभई कानुनले गरेको र सूचना मात्रै टाँसेको जवाफ दिएका छन् । 

लामिछानेले मंगलबार सिंहदरबारमा सभामुख घिमिरेलाई भेटेर प्रतिशोधपूर्ण निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । तर, सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीभन्दा अन्य कानुनले निलम्बन गरेकाले आफूले फुकुवा गर्न नमिल्ने जवाफ दिए । अन्य कानुनले भएको निलम्बन फुकुवा गर्दा अदालतको अवहेलना हुने उनको भनाइ थियो । 

सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेर दफा २७ अनुसार निलम्बन गर्न सिफारिस गरेपछि संसद् सचिवालयले ८ पुसमा ‘दफा २७ (मुद्दा किनारा नभएसम्म कर्मचारी, पदाधिकारी, राष्ट्रसेवक स्वतः निलम्बन हुने) अनुसार’ नै निलम्बन गरेको थियो । कानुनको गलत व्याख्या गरेर निलम्बन गरिएको भन्दै लामिछानेले फुकुवा गर्न १८ माघमा सभामुख घिमिरेलाई निवेदन दिएका थिए । त्यसमा पनि केही निर्णय भएको छैन । 

सहकारी ठगीमा कांग्रेस सांसद माया राई र राप्रपा सांसद गीता बस्नेतलाई महिनौँसम्म पक्राउ नगरेको सरकारले रास्वपा सभापति रविलाई भने फास्ट ट्रयाकमा पक्राउ गरेको थियो । चारवटा जिल्लामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर उनलाई सांसद पदबाट निलम्बन गरिएको थियो । पाँचौँ जिल्ला पर्सामा मुद्दा नै दर्ता गरेको छैन । 

सभामुखको जवाफपछि रविले आफूमाथि राजनीतिक प्रतिशोधमा मुद्दा लगाइएको र भविष्यमा यो डरलाग्दो नजिर हुन सक्नेबारे सभामुखको ध्यानाकर्षण गराएको बताए । ‘सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दूषित मनसाय राखी अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्बन हुनुहुँदैन भनेर राखेको थिएँ । एउटा मान्छे सधैँ अदालत नै जाने, झगडा नै गरिरहने भन्ने होइन । पहिला संसद्को विषय संसद्बाटै निराकरण गरौँ भन्ने मेरो अभिप्राय हो । फेरि म कति ठाउँमा मुद्दा लड्दै हिँड्ने ? जिल्लैपच्छिे मुद्दा, फेरि अर्काे मुद्दाभन्दा मैले यहीँबाट निरूपण होस् भन्ने अपेक्षा गरेको थिएँ,’ उनले भने, ‘त्यसकारण मुद्दा–मामलामा नजाऊँ, यहीँ (संसद्) बाटै समाधान खोजौँ । दलहरूसँग छलफल गरियोस् र यहीँबाट टुंगियोस् भनेर पुनः स्मरण गराउन आएको छु ।’ 

रविका अनुसार यो विषय राजनीतिक हतियार बन्नेमा सभामुख सचेत र चिन्तित छन् । ‘यसले भोलि प्रतिशोधको रूप लिने र यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुन सक्छ भन्नुभयो,’ उनले भने । अर्काे आउँदो बिहीबार म यो देशका चारवटा अदालतमा एकैपटक हाजिर लाउन जानुपर्छ, के यो सम्भव छ ?’ उनले प्रश्न गरे । पर्सामा मुद्दा विलम्बमा आमजनताले हेरे जसरी आफूले पनि हेरेको उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending