काठमाडौं । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै नयाँ रेकर्डसमेत कायम भएको छ । चाँदीको मूल्यमा पनि साता भरमा केही घटबढपछि अन्त्यमा बढेको देखिएको छ ।
साताभरमा सुन ८ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको समग्र वृद्धि देखिएको छ ।
साताको पहिलो कारोबारको दिन अर्थात् आइतवार सुनको मूल्यमा गिरावट देखियो उक्त दिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भयो । चाँदीको मूल्य पनि ७० रुपैयाँले घट्दै १ हजार ८ सयमा झर्यो ।
सोमवार सुन पुनः ७ सय रुपैयाँले घट्दै १ लाख ७३ हजार ८ सय रुपैयाँमा झर्यो । तर चाँदी भने प्रतितोला ३० रुपैयाँले बढ्दै १हजार ८ सय ३० रुपैयाँमा पुग्यो ।
मङ्गलवार पनि सुनमा अझै ४ सय रुपैयाँको गिरावट देखियो र सुनको मूल्य प्रतितोला १ लाख ७३हजार ४सयमा झर्यो । चाँदीको मूल्य भने स्थिर रहँदै सोमवारकै मूल्य अर्थात् प्रतितोला १ हजार ८ सय ३० नै कायम रह्यो ।
गत मङ्गलवारसम्म घट्दै आएको सुनको मूल्य साताको उत्तरार्ध अर्थात् बुधवार, बिहीवार र शुक्रवारमा भने तीव्र वृद्धि भयो र ऐतिहासिक रेकर्ड समेत कायम गर्यो ।
बुधवार सुनको मूल्यमा २ हजार रुपैयाँको वृद्धि आएको थियो, जसले मूल्यलाई प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुर्यायो । चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा पुग्यो ।
बिहीवार सुनमा साताकै सबैभन्दा ठूलो वृद्धि देखियो । ५ हजार ७ सय रुपैयाँको भारी उकालो चढ्दै सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गर्यो । चाँदीमा पनि ६५ रुपैयाँको वृद्धिसँगै मूल्य प्रतितोला १ हजार ९ सय पुगेको थियो।
त्यस्तै साताको अन्तिम दिन अर्थात् शुक्रवार पुनः सुनमा उल्लेखनीय ३ हजार ९ सय रुपैयाँको वृद्धि भएको थियो, जसले सुनलाई प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा पुर्यायो । चाँदी पनि ५ रुपैयाँले बढ्दै १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भयो ।
अघिल्लो साताको शुक्रवार भने सुन प्रतितोला १ लाख ७६ हजार ४ सयमामा कारोबार भएको थियो भने चाँदी प्रतितोला १हजार ८ सय ७० रुपैयाँमा कायम भएको थियो ।
प्रतिकृया लेख्नुहोस्: