Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

राजनीतिमा यौवन : सोचको ताजगी कि उमेरको विद्रोह?

प्रकाश रेग्मी
प्रकाश रेग्मी

समाजको अगुवाइ गर्ने व्यक्ति नै साँचो अर्थमा नेता हो। यो भूमिकाको सुरुवात आदिम समाजदेखि भएको पाइन्छ, जहाँ शारीरिक क्षमता, साहस र रणनीतिक सिपका आधारमा नेतृत्व उभिन्थ्यो। समय फेरियो, समाज परिष्कृत हुँदै गयो, र नेतृत्व चयनका तरिका पनि बदलिँदै आए। आज नेतृत्व केवल शक्ति प्रदर्शनको माध्यम होइन, साझा उद्देश्यतर्फ समन्वयकारी यात्राको दिशानिर्देशक बन्न पुगेको छ।

राजनीतिक नेतृत्वको विकास कुनै एकपल्टको घटना होइन, यो एउटा प्रक्रिया हो। सम्भावनाहरूको पहिचानदेखि जिम्मेवारी ग्रहण गर्न सक्ने हैसियतमा पुग्दासम्मको यात्रामा तालिम, अनुभव र परिपक्वताको समिश्रण हुन्छ। यहाँ प्रश्न उठ्छ, जब नेतृत्व परिपक्वतासँग गासिएको हुन्छ, तब त्यो परिपक्वता कुन बिन्दुमा गइसकेपछि बोझ बन्न थाल्छ?

नेपाली राजनीति यतिबेला यस्तो मोडमा आइपुगेको छ, जहाँ नेतृत्वको अनुभव र यथार्थबीचको द्वन्द्व सतहमा छ। जीवनको उत्तरार्धमा रहेका नेताहरू अझै पनि निर्णायक शक्ति भएर उभिन खोजिरहेका छन्। उनीहरूको तर्क हुन्छ- हामीसँग अनुभव छ, स्थायित्व ल्याउने क्षमता छ। तर त्यो अनुभव कहिले सत्ताको मोहमा परिणत हुन्छ, छुट्याउन कठिन भइरहेको छ।

नयाँ पुस्ता राजनीति भित्रिन चाहन्छ, तर ढोका खोल्ने कुञ्जीहरू अझै पुरानै हातमा छन्। समयसँगै सोच, मूल्य र प्राथमिकता बदलिँदै जान्छन्, तर नेतृत्वमा भने परिवर्तनको गति सुस्त देखिन्छ। अनुभवी नेताको ज्ञान प्रशंसनीय छ, तर त्यो ज्ञान सत्ताको गन्धले भरिएको छ भने, त्यो शिक्षणभन्दा बढी नियन्त्रणको औजार बन्छ।

आज जनताको मनमा प्रश्न छ- पाका नेताहरू अझै किन सक्रिय छन्? के यो राष्ट्रको आवश्यकता हो, कि केवल उनीहरूको व्यक्तिगत चाहना? समाजले यति धेरै भोगेपछि अब नेतृत्वमा नयापन खोज्न थालेको छ। विकल्पको अभावले पुरानै अनुहारहरू फेरि फर्किएका हुन् कि जनताको स्मृतिमा अझै पुरानै छायाहरू बाँकी छन्?

अन्ततः, नेतृत्व हस्तान्तरण केवल उमेरको कुरा होइन, दृष्टिकोणको कुरा हो। यदि पाका नेताहरूले आफ्नो अनुभवलाई मार्गदर्शकको रूपमा प्रयोग गरेर नयाँ पुस्तालाई स्थान दिन्थे, त्यो राजनीतिक परिपक्वताको उच्चतम रूप हुन्थ्यो। तर सत्ता मोहले त्यो सम्भावना छायामा परेको छ।

नेपालको राजनीतिको भविष्य तब मात्रै उज्यालो हुन सक्छ, जब पुरानाले ससम्मान बाटो देखाउने र नयाँले त्यो बाटोमा अग्रसर हुने साझा समझदारी बन्न सक्छ।

नेतामा हुनुपर्ने आधारभूत गुण

बुद्धिमानी : बुद्धिमान व्यक्तित्व एक कुशल नेतामा हुनुपर्ने एक प्रमुख गुण हो। चौधौं शताब्दीमा नारायण पण्डितद्वारा लिखित हितोपदेशमा भनिएको छ - जब एक राजनीतिक नेता बुद्धिमान हुन्छ, उसले घमण्ड, अहंकार र विकृत बोलीलाई घृणा गर्छ।

समझदार : ज्ञानसहितको समझदार राजनीतिक नेताले, सम्मान र इमानदारीका साथ आचरण गर्न सिकेको हुन्छ। सम्मानित नेताहरूको अधिनमा मानिसहरू फस्टाउँछन् र नैतिक रूपमा विकृत नेताको अधिनमा जनताहरूले अनेकौं दुःख भोग्नु पर्छ। 

इन्साफ : कुशल नेता आफ्ना जनताप्रति समानताभन्दा पनि समतालाई आधार मानेर जनताप्रति उत्तरदायी हुन्छन्। समता भनेको समाजका तल्लो वर्गलाई थप अतिरिक्त ऊर्जा दिने उत्तरदायित्व बहन गर्न सक्नु हो। यसको अर्थ यो होइन कि नेताहरूले गरिबहरूको पक्षमा प्रणालीमा धाँधली गर्नुपर्छ।

नम्रता : जनताप्रतिको आधारभाव र नम्रताले बुद्धिमानी मानिसलाई थप बुद्धिमानी बनाउँछ। अहंकारले अपमान निम्त्याउँछ, जबकि नम्रताले बुद्धिमानी निम्त्याउँछ भन्ने कुरो अशल नेतालाई थाहा हुनु आवश्यक छ।

आत्मनिर्णय : खराब आचरणले व्यक्तिको तर्क राख्ने र निर्णय लिने प्रक्रियामा अबरोध पैदा गर्दछ। मद्यपान, अनैतिक शारीरिक सम्बन्ध र रिसजस्ता आचरणले आत्मनिर्णयको क्षमतामा गतिरोध उत्त्पन्न गर्दछ। यस्ता किसिमका आचरणबाट नेता सधैं सजग हुनु पर्दछ।

रानजनीतिक नेतृत्व विकास प्रक्रिया

राजनीतिक नेतृत्व विकास एक बहुआयामिक प्रक्रिया हो, जसले औपचारिक शिक्षा र व्यावहारिक अनुभव दुवैलाई साथ साथै अगाडि बढाउँछ। नेतृत्व गर्ने व्यक्तिले विद्यमान राजनीतिक परिदृश्यलाई प्रभावकारी रूपमा सकारात्मक दिशातर्फ चलायमान गर्ने आवश्यक सिप र ज्ञानले सुसज्जित हुनुपर्छ। यसमा राजनीतिक प्रणालीहरू बुझ्ने, गठबन्धनहरू निर्माण गर्ने, प्रेरक सञ्चार विकास गर्ने र नैतिक निर्णय लिने क्षमता विकास गर्ने कुरा समावेश हुन्छन्। यस्तो संयोग २०६५ जेठ १५ गते नेपालका सामूहिक नेतृत्वले झन्डै २४० वर्ष पुरानो राजतन्त्र समाप्त गरेर गणतन्त्र घोषणा गर्दाको बखत भएको थियो। पृष्ठभूमिमा १० वर्षे युद्ध भए तापनि राजनीतिक परिवर्तनको समय बिन्दुमा बिनारक्तपात यति ठूलो परिवर्तन हुन सक्नु कुशल नेतृत्वको अभ्यास थियो।  

कुनै पनि नेताको चरित्रले त्यस स्थानको समाजको चरित्रलाई प्रतिनिधित्व गर्दछ। समाज जस्तो किसिमको छ नेता पनि त्यस्तै हुन्छ। समाजको चरित्र एकातिर अनि नेताको चरित्र फरक किसिमको हुन सक्दैन। किनकि, उक्त्त नेता त्यही समाजको प्रतिनिधि हो।    

नेताहरूको उमेर प्रारुप

संसारमा झन्डै २ सयको संख्यामा रहेका देशहरूमा इतिहासमा अहिलेसम्म सबैभन्दा बढी उमेरका शासक कम्बोडियाका चाउ सेन कोक्सल छुम हुन्। उनले आफू १०३ वर्ष र १४३ दिन को उमेर सम्म सक्रिय शासन गरेका थिए। उनको मृत्यु सन् २००९ मा भएको थियो। १०० वर्ष  भन्दाबढी उमेरका थुप्रै शासकहरू, सेलाल बायर (टर्की १०३ वर्ष), एन्टोइन पिने (फ्रान्स १०३ वर्ष), राजकुमार नारुहीको हिगाशिकुनी (जपान १०२ वर्ष), बाबिकेर अवदल्ला (सुडान १०२ वर्ष), विलेम ड्रिस (१०२ वर्ष), डाई मुई (भियतनाम १०२ वर्ष), झाङ कुन (१०२ वर्ष) सम्म शासन सत्तामा रहेर काम गरे्को इतिहास पाइन्छ। 

हाल कार्यरत उमेरका हिसाबले वरिष्ठ शासकहरूमा पाँल बिया (क्यामरुनका राष्ट्रपति ९२ वर्ष ), महमूद अब्बास (प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणको अध्यक्ष, प्यालेस्टाइन राज्यको राष्ट्रपति ८९ वर्ष), सलमान बिन अब्दुलअजिज अल साउद (साउदी अरेबियाका राजा ८९ वर्ष ), ह्याराल्ड वी (नर्वेका राजा ८८ वर्ष ), अलि खामेनी (इरानका सर्वोच्च नेता ८६ वर्ष), जीन-लुसियन सावी डे टोभे (टोगोका राष्ट्रपति ८६ वर्ष), मोहम्मद युनुस (बंगलादेशका प्रमुख सल्लाहकार ८४ वर्ष), माइकल डी हिगिन्स (आयरल्याण्ड को राष्ट्रपति ८४ वर्ष) र सर्जियो म्याटारेला (इटालीका राष्ट्रपति ८४ वर्ष) रहेका छन्। 

अहिले संसारको सबैभन्दा कान्छो शासक क्रिस्ट्रुन फ्रोस्टाडोटिर हुन्। उनी आइसल्याण्डका प्रधानमन्त्री हुन्। उनी अहिले ३७ वर्षकी छिन्। यस्तै गरेर इब्राहिम ट्राओरे (बुर्किना फासोको अन्तरिम राष्ट्रपति ३७ वर्ष), डेनियल नोबोआ (इक्वेडरका राष्ट्रपति ३७ वर्ष), मिलोज्को स्पाजिक (मोन्टेनेग्रो को प्रधानमन्त्री ३८ वर्ष), पेटोङ्टार्न शिनावात्रा (थाइल्याण्डका प्रधानमन्त्री ३८ वर्ष), गेब्रियल बोरिक (चिलीका राष्ट्रपति ३९ वर्ष), महामत डेबी (चाडका राष्ट्रपति ४१ वर्ष) र असिमी गोइटा (मालीको अन्तरिम राष्ट्रपति ४१ वर्ष)का छन्।

वर्तमान समयमा सबै देशका प्रमुखहरू र उनीहरूको उमेर यो छोटो लेखमा उतार्न सम्भव भएन। त्यसैले औसतको कुरा गर्दा द इकोनोमिस्ट र डब्ल्यूएसजेका अनुसार सन् २०२५ मा विश्वका राज्यहरूको प्रमुख नेताहरूको औसत उमेर लगभग ६२ वर्षको रहेको भनिएको छ। त्यसमा राजतन्त्र र निरंकुशता भएका देशहरूमा बढी उमेरका शासकहरू बढी भएका र लोकतान्त्रिक वा प्रजातान्त्रिक मुलुकहरूमा कम उमेरका राष्ट्र प्रमुखहरू रहेका छन्।  

नेपालका राजनीतिक नेताहरू र युवाहरूको धारणा

हाल कार्यरत प्रधानमन्त्री केपी शर्मा ओली ७३ वर्षका छन्। यसअघिका प्रधानमन्त्रीहरू क्रमश पुष्पकमल दाहाल सन् १९५४ मा जन्मिएका उनी पछिल्लो पटक प्रधानमन्त्री हुँदा ७० वर्षका थिए। त्यसअघि नेपालमा शेरबहादुर देउवा  प्रधानमन्त्री थिए जुन समयमा उनी ७६ वर्षका थिए। सुशील कोइरालाले सन् १९१५ मा नेपालको छिमेकी देश भारतको असहमतिमै नेपालको नयाँ गणतन्त्रात्मक संविधान घोषणा गरेका थिए, जुन बेला उनी ७७ वर्षको उमेर व्यथित गर्दै थिए।

माथि उल्लेख गरिएका नेपालका प्रधानमन्त्रीहरू वास्तवमा आन्दोलनकै गर्भ र प्रशव पीडाको अनुभूतिबाट जन्मेका र हुर्केका अहिलेका पाका नेताहरू हुन्। समयको परिवर्तनसँगै विज्ञान र प्रविधिमा भएको अद्भूत विकासले युवा वर्गमा सानै उमेरमा धरै कुरा सिकाएको छ। फेरि देशको  विद्यमान आर्थिक र सामाजिक कारणले नयाँ पुस्तालाई प्रशस्त समय प्रदान पनि गरेको छ। त्यसैले, वर्तमान युवा वर्गमा राजनीतिप्रति थप चासो बढ्नुका साथै राजनीतिक जिम्मेवारी लिनका लागि पनि तत्पर रहेको बुलन्द आवाजहरू आउन थालेका छन्।

ओशो भन्छन्- जसमा जोश छ, ऊर्जा छ, उत्साह छ, उमंग छ, सकारात्मक चेत र चिन्तनको गतिशीलता छ, ऊ नै युवा हो। उमेरको अंकले मात्र कसैलाई युवा वा पाका भनेर छुट्याउनु न्यायोचित हुँदैन भन्ने ओशोको दृष्टिकोण गहिरो छ। वास्तवमा, यथार्थ समाजमा परिवर्तन ल्याउने शक्ति त्यो हो, जसमा जीवनप्रति ताजापन, सोचमा ताजगी र कार्यशैलीमा गति हुन्छ।

नेपालका विभिन्न सहरहरूमा हालसालै निर्वाचित भएका कम उमेरका जनप्रतिनिधिहरूले त्यसैको प्रमाण दिएका छन्। उनीहरूको जोस, प्रतिबद्धता र नतिजामुखी कार्यशैलीले विकासका परियोजनाहरूमा देखिएको तीव्रता र लागत–प्रतिफलको सन्तुलनले जनतामा सकारात्मक सन्देश दिएको छ। युवा वर्गले प्रदर्शन गरेको ऊर्जा र उमंगले अब नेतृत्वको संरचना पनि बदलिनुपर्छ भन्ने आवश्यकता थप प्रस्ट पारेको छ।

आजको सन्दर्भमा युवाको चाहना केवल प्रतिनिधित्वमा सीमित छैन, उनीहरूले दृष्टिकोणमा नवीनता, कार्यशैलीमा पारदर्शिता र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलित नीति खोजिरहेका छन्। अबको आवश्यक दिशा भनेको यही हो, जहाँ देशको कूटनीतिक सन्तुलन, भूराजनीतिक संवेदनशीलता र आन्तरिक विकासबीच सशक्त समन्वय कायम गर्न सकिने दीर्घकालीन दृष्टिसहितको रणनीति निर्माण हो।

पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन अनुभवको महत्व अझै रहन्छ।

वर्तमान परिप्रेक्ष्यमा भारतप्रतिको आशंका युवापुस्तामा बलियो देखिन्छ, तर यसबीचमा भारत–पाकिस्तान सम्बन्धदेखि दक्षिण एशियाली राजनीति बुझ्नेसम्मका सन्दर्भमा अनुभवी नेताहरूले देखाएको सन्तुलन र संयमताले उमेरलाई मात्र आधार बनाएर उनीहरूको आलोचना गर्नु सरल तर अपर्याप्त विश्लेषण हुन सक्छ।

लेख लेख्ने क्रममा अध्ययन गरिएका सन्दर्भ सामग्रीहरू र विचार–विमर्शको आधारमा मलाई लागेको कुरा के हो भने नेपाली राजनीतिमा आज न त केवल युवा नेतृत्वको अन्ध समर्थन आवश्यक छ, न त पाका नेताको निरन्तरता। आजको आवश्यकता हो - ऊर्जा र अनुभवको संयोजन।

जहाँ युवा दृष्टिकोणले मार्ग तय गर्छ र पाको विवेकले गति निर्धारण गर्छ। जहाँ नेताको मूल्यांकन उमेरले होइन, दृष्टिकोण, प्रतिबद्धता र नतिजाले गरिन्छ। त्यो नेतृत्व नै देशको मुहार फेरिदिने छ, जहाँ उमेरभन्दा माथि सोचको परिपक्वता र समाजप्रतिको जिम्मेवारी मूल्यांकनको आधार हुने छ।

(भरतपुर चितवन, हाल अमेरिका)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending