बुटवल । तिहारको रौनक नजिकिँदै जाँदा रुपन्देहीका खेतबारी सुनौलो र बैजनी रंगले सजिएका छन्। सयपत्रीको पहेँलो चमक र मखमलीको बैजनी रङले खेतबारी मात्र होइन, किसानका अनुहारमा पनि खुशीको झल्को ल्याएको छ।
बुटवलदेखि तिलोत्तमा र देवदहसम्म फैलिएका बारीहरू अहिले फूलको बास्नाले मुग्ध छन्। बिहानको हिउँदो घामसँगै फूल टिप्ने र माला उन्ने महिलाको व्यस्तता हेर्दा लाग्छ— यो चाड किसानका लागि मात्र होइन, परिश्रमको पर्व पनि हो।
परिवर्तनको रंग : निराशाबाट उत्साहसम्म
केही वर्षअघिसम्म भारतीय फूलको प्रभुत्वका कारण स्थानीय किसानहरू निराश हुन्थे। बजार नपाएर र मूल्य नपाएर लगानी उठाउनै धौ-धौ पर्थ्यो। तर अहिले त्यही किसानहरू उत्साहित छन्।
बुटवल उपमहानगरपालिकासहितका स्थानीय सरकारहरूले प्लास्टिकका फूल र मालामाथि प्रतिबन्ध लगाएको र पुष्प खेतीमा प्रोत्साहन दिएका कारण किसानमा नयाँ जोश आएको हो। यसले स्थानीय फूललाई बजारसम्म पु-याउने सहज बाटो खोलिदिएको छ।
‘पहिले बजारमा भारतकै फूल चल्थ्यो, अब हाम्रो बारीकै फूलले माला बन्छ,’ बुटवल–१५ का किसान राजेश कुँवर मुस्कुराउँदै भन्छन्। पाँच जना साथीहरूसँग मिलेर १० कठ्ठा क्षेत्रफलमा फूल खेती गर्दै आएका उनी भन्छन्, ‘यसपालि फूल राम्रै फुलेको छ, बजारको पनि चिन्ता छैन।’
उनको बारीमा अहिले फूल टिप्ने र माला उन्ने काममा १६ जना महिलाले रोजगारी पाएका छन्। “प्रतिकिलो ४५० देखि ५०० रुपैयाँ वा प्रतिमाला १ रुपैयाँभन्दा बढी मूल्य पाउने अपेक्षा छ,” कुँवरले गर्वसाथ भने।
आँकडामा फूलेको आशा
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष सयपत्रीको उत्पादन ३ लाख २५ हजार किलोग्राम पुगेको छ, जुन गत वर्षको तुलनामा १७ हजार किलोग्राम बढी हो। त्यस्तै, मखमली मालाको उत्पादन पनि २४ हजारबाट बढेर २६ हजार पुगेको छ।
निर्देशनालयका बागवानी निर्देशक सन्देश धिताल भन्छन्, “स्थानीय सरकारको अग्रसरताले फूल खेती व्यावसायिक हुँदै गएको छ। यसले किसानको आयमा सुधार ल्याउँदै प्रदेशलाई पुष्प उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा अग्रसर बनाएको छ।”
उत्पादनसँगै कारोबारमा पनि वृद्धि भएको छ। निर्देशनालयको अनुमान अनुसार, यस वर्ष तिहारमा सयपत्री फूलको मात्रै १३ करोड रुपैयाँको कारोबार हुनेछ। मखमली फूलले पनि करिब १० लाख रुपैयाँभन्दा बढी बजार पाउनेछ।
महिलाको हातमा रोजगारी, गाउँमा आत्मबल
फूल खेतीले गाउँघरमा महिलाको भूमिकासमेत विस्तार गरेको छ। बुटवल र तिलोत्तमा क्षेत्रमा सयौं महिलाहरू फूल टिप्ने, माला उन्ने र बिक्रीमा संलग्न छन्।
तिलोत्तमा–४ की नवीना भण्डारी क्षितिज कृषक समूहकी सदस्य हुन्। उनी भन्छिन्, “पहिले खेती भनेको धान–गहुँ मात्रै सोच्थ्यौं, तर अहिले फूलले पनि आम्दानी दिने कुरा सिक्यौं। घरको जिम्मेवारी र आम्दानी दुवै सन्तुलनमा राख्न सजिलो भएको छ।”
माग र आपूर्तिको खाडल अझै बाँकी
तर सबै कुरा सहज छैन। फ्लोरिकल्चर एसोसिएसन रुपन्देहीका पूर्वअध्यक्ष किरण श्रेष्ठका अनुसार तिहारमा रुपन्देहीमा मात्रै करिब ७० हजार मालाको माग हुन्छ, तर स्थानीय उत्पादनले ४० हजारको हाराहारीमा मात्र आपूर्ति गर्न सक्छ।
“माग र आपूर्तिबीचको खाडल अहिले पनि छ,” श्रेष्ठ भन्छन्, “तर खुसीको कुरा के हो भने, अब भारतबाट ठूलो परिमाणमा फूल आयात गर्नुपरेको छैन। स्थानीय उत्पादनले नै बजारको ठूलो हिस्सा धानेको छ।”
बजार व्यवस्थापन र स्थानीय सहयोग
किसानहरूलाई बजारको सुनिश्चितता दिन बुटवल उपमहानगरले शहरका ११ ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ । ट्राफिक चोक, बीपी चोक, अस्पताल लाइन, राजमार्ग चौराहा, गोलपार्क लगायत।
नगर प्रमुख खेलराज पाण्डे भन्छन्, “हामीले प्लास्टिकजन्य माला बन्द गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छौं। यसले किसानमा आत्मविश्वास र बजारमा नेपाली फूलको पहिचान दुवै बढाएको छ।”
आत्मनिर्भरतातर्फको बाटो
तिहारको आगमनसँगै रुपन्देहीका बारीहरू फूलले मात्र होइन, आशाले पनि रंगिएका छन्। सयपत्री र मखमलीको सुगन्धसँगै यहाँका किसानहरूले आत्मनिर्भरताको सपना देख्न थालेका छन्।
सरकारी प्रोत्साहन, किसानको मिहिनेत र बजारको सहयोग निरन्तर रह्यो भने, अब आउने तिहारहरूमा नेपाली फूलले मात्र देशका घर–आँगन सजिने दिन टाढा छैन।
प्रतिकृया लेख्नुहोस्: