सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको छ । महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने बहस नसकिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत भने चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आफ्नै गृहपालिका बाह्रबिसेमा चुनावी सभा आयोजना गरेका छन् ।
देशभर निर्वाचनको मिति नै अन्यौलमा रहेको बेला पहिलो पटक चुनावी सभा आयोजना गरेर बस्नेतले राजनीतिक वृत्तमा तरंग पैदा गरेका छन् । यद्यपि, उनी आफैँ टिकट पाउने–नपाउने अनिश्चितताबाट मुक्त भने छैनन् । टेरामक्स खरिद प्रकरणमा उनीविरुद्ध दायर भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ । कानुनी जोखिम कायमै रहे पनि बस्नेतले आफू भावी उम्मेदवारझैँ प्रस्तुत गर्दै चुनावी गतिविधि तीव्र पारेका छन् ।
कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि बस्नेतको नाम एकल रूपमा सिफारिस गरेको थियो । तर जिल्ला तथा बागमती प्रदेश समितिले बस्नेतसँगै जिल्ला सभापति जंगबहादुर लामा र नेता महेन्द्र लामाको नाम समेत केन्द्रमा पठाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।
यसै विवादका कारण बस्नेत जिल्ला नेतृत्वसँग खुलेआम असन्तुष्ट देखिएका छन् । बाह्रबिसेमा गरिएको चुनावी सभामा जिल्ला सभापति जंगबहादुर लामालाई आमन्त्रण नगरिनुले कांग्रेसभित्रको अन्तरविरोध सार्वजनिक भएको छ ।
क्षेत्रीय समितिको सिफारिस बेवास्ता गर्दै छलफलविनै थप नाम पठाइएको आरोप लगाउँदै बस्नेत पक्षधर नेताहरूले पार्टी केन्द्रीय समितिमा औपचारिक उजुरीसमेत दर्ता गराएका छन् । जिल्ला उपसभापति दोर्जे लामा र टंक कार्की, सचिव भक्तध्वज बोहरालगायत नेताहरूलाई काठमाडौं पठाएर जिल्ला नेतृत्वविरुद्ध ‘काउन्टर अट्याक’ सुरु गरिएको कांग्रेस स्रोतको भनाइ छ ।
बाह्रबिसे नगरपालिकाका मेयर तथा कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा बस्नेत निकट नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर मोहन बस्नेतबाहेक अरू उम्मेदवारले चुनाव जित्न नसक्ने दाबी गरेका छन् । बस्नेतलाई उम्मेदवार बनाए जसरी पनि जिताएर पठाउने प्रतिबद्धता उनीहरूले सभापति देउवासमक्ष राखेका थिए ।
जिल्ला समितिको निर्णयविरुद्ध उजुरी दर्ता, केन्द्रीय नेतृत्वसम्म प्रत्यक्ष पहुँच, चुनावी अन्यौलकै बीच आक्रामक सभा र राजधानीबाट दुई दर्जनभन्दा बढी पत्रकारलाई बाह्रबिसे लैजानु—यी सबै गतिविधिलाई कांग्रेसभित्र बस्नेतको ‘टिकट सुरक्षित गर्ने रणनीति’का रूपमा हेरिएको छ ।
“सिन्धुपाल्चोकमा आफू नै सबैभन्दा बलियो उम्मेदवार भएको सन्देश केन्द्रसम्म पुर्याएर दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ,” कांग्रेसका एक नेताले भने, “आवश्यक परे दबाबकै राजनीतिबाट टिकट हात पार्ने रणनीति देखिन्छ ।”
यता, देशभर देखिएको जेन–जी असन्तोष, भ्रष्टाचारविरुद्धको बढ्दो जनआक्रोश र निर्वाचन आयोगले भ्रष्टाचार तथा नैतिक प्रश्नमा परेकाहरूका लागि स्वमूल्यांकनसम्बन्धी कानुन ल्याउने तयारीले बस्नेतको सम्भावित उम्मेदवारी थप चुनौतीपूर्ण बनेको कांग्रेस नेताहरूको विश्लेषण छ ।
विशेष अदालतबाट निर्वाचनअघि नै सफाइ पाए बस्नेतको उम्मेदवारी सहज हुन सक्छ । तर मुद्दा विचाराधीन अवस्थामा नै रहे केन्द्रले टिकट नदिन सक्ने सम्भावना पनि उत्तिकै रहेको कांग्रेस स्रोत बताउँछ ।
रोचक त के छ भने, बाह्रबिसेमा आयोजित सभामै बस्नेतले “टिकट मैले पनि पाउन सक्छु, अरूले पनि पाउन सक्छन्, जसले पाए पनि कांग्रेसकै उम्मेदवारले जित्नुपर्छ” भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्रै ‘बस्नेतलाई टिकट नपाउने डर बढेको हो कि ?’ भन्ने बहस सुरु भएको छ ।
प्रतिकृया लेख्नुहोस्: