काठमाडौँ । नेपालमा खाद्यान्न बाली हुने जमिन घटिरहेको तथ्यांकले चिन्ताजनक तस्वीर प्रस्तुत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ रिपोर्टअनुसार, मुलुकको खाद्य सुरक्षाको आधार मानिने मुख्य बालीको क्षेत्रफलमा गत आव २०८१/०८२ मा ठुलो गिरावट आएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा कृषि बालीले ढाकेको कुल क्षेत्रफल २.२ प्रतिशतले घटेर ४७ लाख ४२ हजार ४ सय ९७ हेक्टरमा झरेको छ। यो गिरावटले उत्पादनशील जमिन क्रमशः बाँझो हुँदै गएको देखाउँछ।
विशेषगरी, नेपालीको मुख्य आहार धानको क्षेत्रफल मात्र १.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १४ लाख ३६ हजार हेक्टरमा लगाइएको धान यस वर्ष १४ लाख १९ हजार हेक्टरमा सीमित भएको छ। मकै र गहुँजस्ता पहाडी र तराईका मुख्य बालीमा पनि समान ३.६ प्रतिशतको गिरावट देखिएको छ।
रैथाने बाली कोदो र फापरको स्थिति अझै दयनीय छ। कोदोको जमिन ८ प्रतिशत र फापर १३.८ प्रतिशतले घटेको छ। युवा किसान दिपेश नेपालका अनुसार, “रैथाने बालीहरूको गिरावटले पोषण सुरक्षा र ग्रामीण अर्थतन्त्रको मौलिकतालाई जोखिममा पारिरहेको छ। घरैपिच्छे युवाहरू विदेश गएका छन्, खेतबारी जंगलमा परिणत हुँदै गएको छ।”
नगदे बालीले दिएको आशा
यद्यपि नगदेबालीले केही आशा जगाएको छ। आलु र उखुमा क्रमशः ०.१ र २.५ प्रतिशतको वृद्धि देखिएको छ। तेलहन र दलहनमा गिरावट भए पनि भटमासमा २४.१ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ।
फलफूल खेतीमा भने कुल ८.३ प्रतिशतको गिरावट आएको छ। तराईका मुख्य फल आँपको जमिन २३.७ प्रतिशत घटेर ५१ हजार ७ सय ३६ हेक्टरमा झरेको छ। केरा खेतीमा पनि ५.९ प्रतिशत कमी देखिएको छ। पहाडी भेगमा भने सुन्तला र स्याउमा क्रमशः ३.८ र ६.६ प्रतिशत वृद्धि भएको छ।
तरकारी र बागवानी क्षेत्र भने आशाजनक देखिएको छ। कुल क्षेत्रफल ५.७ प्रतिशतले बढेको छ। तरकारी ५.४ प्रतिशतले विस्तार भई ३ लाख २७ हजार ८ सय ४७ हेक्टर पुगेको छ भने बागवानी १५ प्रतिशतले वृद्धि भएको छ।
उच्च मूल्यका नगदे बाली र पेय पदार्थमा पनि प्रगति देखिएको छ। विशेषगरी, कफी खेती ३७.६ प्रतिशतले बढेको छ। चिया, अदुवा–बेसार र मसला बालीमा ३.२ प्रतिशत वृद्धि भएको छ। मौरीपालन क्षेत्रमा ५.४ प्रतिशत सुधारले मह उत्पादन र जैविक विविधता संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रको गिरावटको मुख्य कारण
राष्ट्र बैंकका तथ्यांकले देखाएको छ कि मुलुकको आधारभूत खाद्यान्न बाली घट्दै गएको छ भने किसान व्यावसायिक बालीतर्फ आकर्षित भएका छन्।
कृषि अभियान्ता सुदर्शन श्रेष्ठका अनुसार, गिरावटको मुख्य तीन कारण सहरीकरण र घरजग्गा प्लटिङ पहिलाे रहेकाे छ । जसका कारण सहर नजिकका उर्वर धान खेतहरू कंक्रीटका जंगलमा परिणत हुँदैछन् ।
यसकाे दाेस्राे कारण वैदेशिक रोजगारी रहेकाे छ । जसले गर्दा ग्रामीण भेगका युवाहरू विदेश गएका कारण खेतपाती गर्ने जनशक्ति अभावमा परेका छन्।
कम प्रतिफल र बजारको अनिश्चितता: परम्परागत खाद्यान्न बालीमा लगानी तुलनात्मक रूपमा बढी र बजार अस्थिर भएकोले किसान व्यावसायिक बालीतर्फ आकर्षित भएका छन्।
नेपालको कृषि क्षेत्र अहिले दुई दिशामा विभाजित छ – एकातिर खाद्यान्न बाली घट्दै खाद्य सुरक्षा चुनौतीमा परेको छ, भने अर्कोतिर तरकारी, कफी, फलफूल र बागवानीमा वृद्धि भएर व्यावसायिक कृषिमा नयाँ अवसर देखिएको छ। सरकार, कृषि विज्ञ र किसानको साझा पहलले मात्रै यो असन्तुलन सुधार्न सक्ने देखिन्छ।
प्रतिकृया लेख्नुहोस्: