गाउँका जमिन्दारले एउटा गरिब परिवारलाई उठिवास लगाएको घटनाले एक आठ बर्षिय बालिकाको मनमा निक्कै गहिरो प्रश्न खडा ग¥यो । समाजमा कसैले किन अर्कोको पसिना चुस्छ र कोही किन जिबनभर काम गरेर पनि विरामि पर्दा औषधि मुलो गर्न समेत आफै बन्दकि बस्नु पर्ने हुन्छ जस्ता प्रश्नहरु ति बालिकाको मनमा खेल्न पुग्यो । त्यहि असमानता विरुद्ध उनको पाइला आन्दोलनतिर लम्कन थाल्यो ।
ति बालिकालाई यसको समाधानको बाटो थाहा थिएन तर उनी समाजमा धनि र गरिब बिचको अन्तर नभएको न्यायपूर्ण समाजको कल्पना गर्थिन । न्यायपूर्ण समाजको कल्पना गर्ने ति बालिका हुन् भर्खरै व्यबस्थापिका संसदको सभामुखमा निर्वाचित ओनसरी घर्तीमगर । रोल्पा जिल्लाको जङ्कोट—१ मा आमा नौमति घर्तिमगर र बुवा प्रसाद घर्तिमगरको सन्तानको रुपमा ओनसरीको जन्म २०३४ साल कार्तिक २८ गते भएको थियो । समाजमा ब्याप्त धनि र गरिब बिचको असमानता , सहर र गाउ“ बिचको विभेद अनि गाउँका जमिन्दारहरुले गरिब गाउँले माथि गरेको ज्यादती जस्ता असमानताले नै बाल्यकाल बाटै घर्तीले मुक्तिको सपना देख्न थालेकी थिइन् । मध्यम किसान परिवारमा जन्मिएकी ओनसरीको बाल्यकाल आर्थिक हिसाबले धेरै दुखमा नबिते पनि उनलाई समाजमा व्याप्त असमानता र विभेदले आन्दोलनमा सक्रिय हुनका लागि घच्घचाइरहेको थियो । सानैबाट विद्यार्थी संगठनमा सक्रिय हुन थालेपछि उनले आफ्नो सपना आन्दोलनबाटै प्राप्त हुने कुरा बुझन् थालिन् ।
२०४५ सालमा जब निरकुंस राजतन्त्र विरुद्ध आन्दोलन अघि बढ्दै थियो त्यतिबेला उनले पाएको जिम्मेवारी भनेको पंचायति शासन विरुद्ध हातले सयौ पर्चा छाप्नु थियो । त्यतिबेला उनी लगायत उनका सहकर्मीले राता रात सयौ पर्चा छापेका थिए । सामाजिक विसंगति ,विभेद र अन्यायका विरुद्ध न्यायपूर्ण समाज स्थापना गर्ने लक्ष्य सहित अघि बढेको उनको यात्रा समयक्रम संगै सक्रिय राजनीतिक गन्तब्य तर्फ अघि बढ्दै गयो ।
२०४६ सालको राजनीतिक परिवर्तनले समाजमा कुनै सुधार गर्न नसकेपछि अन्तत तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध शुरु गर्ने तयारी गरिरहेको थियो । उनी लगायत उनी जस्ता युवा पंक्ति जनयुद्धको शुरुवात हुने कुराले निक्कै उत्साहित थिए । केही प्राविधिक तयारी गर्दै माओवादीले सांकेतिक रुपमा केही फौजी कारवाही सहित जनयुद्धको शंखघोष गर्ने योजना बनाएको थियो । जमिन्दारको शोषण विरुद्ध बाल मस्तिष्कले देखेको विद्धोहको सपना अन्तत यर्थाथतामा बदल्ने यात्रा सुरु हुन लागेपछि ओनसरी लगायत देशका सचेत युवाहरु निक्कै उत्साहित थिए विद्धोहको विगुल फुक्न । पार्टीको योजना बमोजीम देशका तिन स्थानमा चौकी माथि फौजी हमला र अन्य केही बैंक कब्जा लगायतका कारवाही गर्ने योजना बनाएको थियो । यसै योजना अन्तर्गत रोल्पाको होलेरी चौकी माथिको कारवाहीमा ओनसरी सहित तिन महिला र अन्य पुरुष युवाहरु सहभागि भएका थिए । उनीहरुले सफलता पूर्वक चौकी कब्जा गरी केही विष्फोटक पदार्थ समेत कब्जा गरेर उनीहरु फर्किएका थिए ।
जनयुद्धको शुरुवात सफलता पूर्वक हुन सकेकोमा लडाई जितेर फर्किएका सबै हर्षित थिए । फागुन १ गतेको विहानी संगै फैलिएको फौजी कारवाहीको खबर नेपालमा मात्रै होइन विष्वका अन्य मुलुकमा समेत फैलिन पुगेको थियो । जनयुद्ध पूर्व नै रोमियो अप्रेशनले राज्य आतंक मच्चाइसकेको रोल्पामा यो सफल कारवाहीबाट राज्य पक्ष निक्कै हतोत्साहित भयो र गाउ गाउमा प्रहरीका ज्यादती चौगुणा बढेर गयो । स्थानिय स्तरका सामान्य जनता बाहेक पार्टीका सक्रिय कार्यकर्ता सबै पूर्ण रुपमा भुमिगत हुन बाध्य भएका थिए । चौतर्फी दमन बढेपछि माओवादी कार्यकर्ताहरुको जीवन रात भर हिड्ने र दिनभर भुमिगत रुपमा घर भित्रै रहने हुदै अघि बढेको थियो । यस बिचमा ओनसरी घर्तिले पनि प्रहरीको घेराबाट फुत्किन सफल भएका घटना थुप्रै छन् । राज्य पक्षले चौतर्फी रुपमा धरपकड ,मुठभेडका नाममा हत्या , झुठा मुद्धा लगाएर निर्दाेष जनतालाई गिर्फतार गर्ने जस्ता असख्य घटना घटाएको थियो । जनयुद्ध पूर्व राज्य पक्षले चलाएको रोमियो अप्रेशनको क्रममा हतियार बोकेका प्रहरीले निशस्त्र युवाहरुलाई झुठा मुद्धामा गिर्फतार गर्दा स्थानिय महिलाहरुले प्रहरीलाई घेरा हाली हतियार सम्म खोसेर अन्तत आफ्ना गाउका युवाहरुलाई बचाएको घटना अहिले पनि नेत्तृ ओनसरीको दिमागमा ताजै छ । ति प्रतिरोधका घटना प्रति उनी गर्व गर्छिन् ।
जनयुद्धको शुरुवाती समय ०५२ सालमा नै ओनसरीको विवाह युवा नेता वर्षमान पुन संग भएको थियो । जनयुद्ध अघि बढ्दै जादाँ माओवादीमा लागेका सक्रिय कार्यकर्ता हुन् वा सामान्य जनता जो सुकै पनि प्रहरीको निशानामा पर्न सक्दथ्यो । ओनसरीको जिबनमा सबै भन्दा सुखद क्षण जनयुद्ध शुरु गर्दाको होलेरी चौकी माथिको आक्रमण थियो भने पूर्णकालिन कार्यकर्ताको रुपमा निष्कने तयारी गर्दा गर्दै तत्कालिन अ.ने.म.संघ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष ललि रोकालाई प्रहरीले घरबाटै गिरफ्तार गरेर बलात्कार गरि मारेको घटनाले त्यतिबेला रोल्पा जिल्ला मात्रै होइन सिंगो मुलुक नै स्तब्ध भएको थियो । यो घटना नै ओनसरीका लागि पनि सबै भन्दा दुखद क्षण बनेको थियो । यसक्रममा ओनसरी क. उषामा परिणत भएकी थिइन् । गााउँकी एक छोरी लाल सेना बनेकी थिइन् । युद्ध भित्रै वैवाहिक जिबनमा बाधिएकी उषाले युद्धकै क्रममा आफ्नो सन्तानलाई जन्म दिदै थिइन् । पेट भित्रको बच्चा सात महिना पुग्दा पनि न त उनले कहिल्यै विशेष आराम चाहिन वा आफनो कार्यक्षेत्र नै छोडिन ।
२०५४ सालमा पाखापानी चौकी कब्जा गर्नलाई पार्टीले योजना बनाएको थियो । सर्भे सबै सकेर चौकी कब्जाको अन्तिम तयारी गर्दै गर्दा पार्टी भित्रकै एक गद्धारले सबै पोल खोलेपछि प्रहरीले चौकी कब्जाको तयारीमा रहेका कार्यकर्ताको ठूलै पक्तिलाई घेरा हाल्दा उषा पनि घेरा भित्र परिन् । सात महिनाको बच्चा पेट भित्र लिएर दुश्मनको घेरा तोड्न उनी पनि अरु साथीहरु संगै दौडिन । दौडिदै जादा धेरै हिडन् नसकेपछि उनी एक्लै झाडिको बाटोबाट अघि बढिन तर झाडिको बाटो गन्तब्य विहिन थियो न त उनी संग फर्कने बाटो थियो न त झर्ने ठाउँ नै थियो । दुश्मनको हात बाट मर्नु भन्दा छागोबाटै हाम फाल्नु उनले उचित ठानिन् र करिब ६, ७ मिटर उचाईबाट हाम फालिन । छागोबाट फाम फाल्दा उनले बाच्ने आशा गरेकै थिइनन् तर मसिना गेगर माथि परेर उनी बाच्न त सफल भइन् तर छागोबाट तल खस्दा उनको पेट भित्रको बच्चालाई भने असर प¥यो र उनलाई दुखाई पनि शुरु भयो तर संयोगले एक मासिकाकै घरमा उनी पुग्न सफल भइन् र केही घण्टाको प्रशब बेदना पछि उनले सात महिनामै छोरीलाई जन्म दिइन् । उषालाई अहिले पनि ति क्षणहरु सम्झदा कुनै काल्पनिक कथा जस्तै लाग्छ । अबधि नै पुरा नभै जन्मिए पनि बच्चाको स्वास्थ्य स्थिति राम्रै थियो । सुत्केरी भएको तिन दिनमा प्रहरीले घेरा हालेपछि फेरी त्यस ठाउँबाट उषा बच्चा सहित प्रहरीको घेराबाट फुत्किन । यसपटक भने उनी संग अर्की एक सहकर्मी पनि थिइन् । प्रहरीको घेरा तोडेर उनीहरु सुरक्षित गन्तब्यमा पुग्न तिन रात हिडे ।
अबधि नै नपुगि दुर्घटनाका कारण बच्चा जन्मनु र त्यस माथि पनि प्रहरीको लखेटाईमा पर्नुले उषाको स्वास्थ्य अबस्था राम्रो थिएन् । तिन रातको हिडाई पछि उनीहरु बल्ल सुरक्षित क्षेत्रमा पुगे । बच्चाको जन्म संगै उषाले कहालि लाग्दा क्षणहरु ब्योहोर्दै उनले करिब दुई बर्ष सम्म युद्धका भिषण आधि हुरीहरुका बिचमै छोरीलाई हुर्काइन् । फौजी कलामा पोख्त उषा बच्चा जन्मिए पछि केही समय प्रत्यक्ष लडाईमा नगए पनि उनी संग एउटा बन्दुक सधै साथमा रहन्थ्यो आत्मरक्षाका लागि । कलाकार बाट शुरु भएको उनको राजनीतिक जीबन विद्यार्थी हुदै सैन्य क्षेत्र, भुगोल हदै अघि बढ्यो । नालापानीको किल्लामा महिलाहरुले पिठ्युमा बच्चा बोकेरै अग्रेज विरुद्ध लडेर रचेको इतिहास जस्तै नया“ नया“ शाहसिक इतिहास जनयुद्धका क्रममा पनि रचिएका छन् । अन्य साथीहरुले जसरी भाग दौड गर्दै प्रतिकुल स्थितिको सामना गर्दथे त्यसरी नै ओनसरीले पनि बच्चा पिठ्युमा बोकेरै साथमा बन्दुक भिरेर परिस्थितिको सामना गर्दथिन् । छोरी तिन महिनाको हुँदा जुन घरमा उनी सेल्टर बसेकी थिइन् ति घरकी दिदिले उनलाई औधि माया गर्दथिन् । ति दिदिको बच्चा पनि तिन महिना कै थियो । पार्टीले फौजी कारवाहीको योजना बनाइरहेको थियो र उनलाई पनि कारवाहीमा जान मन लागिरहेको थियो ।
उनले आफ्नो इच्छा त्यस घरकी दिदि संग बताइन् र दिदिले जाने भए आफुले बच्चा हेरिदिने वाचा समेत गरेकी थिइन् । जनस्तर बाट पाएको यो भरोसा उनी अहिले पनि सम्झन्छिन् । उनको इच्छा भएपनि बच्चा सानो भएको कारण पार्टीले प्रत्यक्ष लडाईमा जान अनुमति नदिए पछि भलै उनी त्यस मोर्चामा जान पाइनन् । जनताले कठिन भन्दा कठिन मोडमा पनि उनलाई दुश्मनको दृष्टिबाट लुकाएर सुरक्षा दिएका क्षणहरु उनी अहिले पनि सम्झन्छिन् र आत्मिय ति जन समुदाय प्रति श्रदाले शिर झुक्छ उनको । छोरी दुई वर्षकी भएपछि छोरीलाई घरमा छोडेर उनी पुन कार्यक्षेत्रमा फर्किन । त्यसपछि उनले दाङ जिल्लाको इन्चार्ज भएर भुमिका निर्वाह गरिन् । ०५८ सालमा उनले पून सैन्य क्षेत्रमा जिम्मेवारी लिदै पुर्वाञ्चल क्षेत्रमा बटालियन कमिसारको भुमिका निर्वाह गरिन् । पूर्व र पश्चिममा गरि उनले दर्जनौ लडाईहरुमा आफ्नो भुमिका निर्वाह गरेकी छिन् । ०६० सालबाट उनी माओवादीको केन्द्रिय सदस्यको भुमिकामा छिन् । अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएकी ओनसरी युवा तथा खेलकुद मन्त्री समेत बन्न सफल भइन् । जब पार्टी शान्ति प्रक्रृयामा प्रबेश गर्यो तब लडाईको प्रकृती फरक भएको तर अहिले पनि पार्टी नयाँ मोर्चाको लडाई लडिरहेको उनको बुझाई छ । संविधानसभाको पहिलो निर्वाचन मार्फत एकिकृत माओवादी सबै भन्दा ठूलो पार्टी बने पनि अग्रगामि शक्तिहरुको दुई तिहाई बहुमत बन्न नसक्दा संविधान नै नबनाई विघटन हुन पुगेको थियो । संविधानसभाको दोस्रो निर्वाचन पश्चात भने अत्यधिक बहुमत बाट नया“ संविधान जारी भएको छ । नयाँ संविधान कार्यान्वयन गर्दै केही असहमत पक्ष पनि संवाद मार्फत सहमतिको बाटोमा छिट्टै आउनेमा सभामुख ओनसरी आशावादी छिन् ।
प्रतिकृया लेख्नुहोस्: