‘माओवादी एकता नभए यदुबंशे लडाईँमा गएर टुंगिन्छ’ -रामदिप आचार्य
मंसिर ११ गते, २०७२ शुक्रवार 27th November, 2015 Fri१७:५७:१७ मा प्रकाशित
काठमाडौं । एकीकृत माओवादीसँग चार वर्षअघि अलग भएको भइ मोहन वैद्य नेतृत्वमा गठन भएको नेकपा–माओवादी नेकपा एकीकृतसँग एकता गर्दै हालै नेकपा (क्रान्तिकारी माओवादी) बनेको छ । क्रान्तिकारी शक्तिहरुसँगको एकताको प्रक्रियालाई अघि बढाएको सो पार्टीले एकीकृत माओवादीसँग नै एकता गर्ने गरी छलफल तीब्र पारेको छ । यहि मंसिर महिनाभित्रै पार्टी एकीकरण गर्ने गरी दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको वैद्य माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले बताए । पार्टी विभाजनको कारण माओवादी आन्दोलन कमजोर भएको उनी बताउँछन् । मंसिर १५ देखि शुरु हुने एकीकृत माओवादी केन्द्रीय समिति बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव लैजाने पनि बताइएको छ । प्रचण्ड यतिबेला दस्तावेज लेख्नमा ब्यस्त छन् । दुई पार्टीबीचको एकता प्रक्रियाका बारेमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यसँग गरिएको संक्षिप्त कुराकानी । एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच एकताको कुरा साँच्चिकै चलिरहेको हो कि बजार हल्ला मात्रै हो ?
बजार हल्ला मात्र होइन, एकीकृत माओवादीसँग एकताका लागि साँच्चिकै छलफल अगाडि बढेको छ । नेपालको राजनीतिक आन्दोलनको पछिल्लो नबिनतम् कडी परिवर्तनको संवहकको रुपमा माओवादी आन्दोलन उदायो । माओवादी आन्दोलन ठूलो बलिदानीबाट आएको कारणले गर्दा नेपाली समाजलाई बदल्नका निम्ति यसले ठूलो योगदान गर्छ भन्ने जनताको अपेक्षा थियो । त्यो अनुसार जनसमुदायले लडाई लड्दा र चुनावमा लड्दाखेरि पनि माओवादी आन्दोलनलाई साथ पनि दियो । माओवादी आन्दोलन जनअपेक्षाअनुसार माओवादी नेता कार्यकर्ता आफैले अकथनीय दुःख कष्ट गरेर त्यसलाई सिञ्चित गरेर राखेका थिए । त्यसले एकाकारग्रहण गर्न नपाउँदै विकृतिहरु देखापरे र विभाजनहरु देखा पर्यो । यसको परिणाम अहिले विभिन्न नामका नेताकै नामपिच्छे माओवादी पार्टीहरु परिचय दिनुपर्ने ठाउँमा आइपुग्यो । यसले परिवर्तनको संवाहक जनसमुदाय, नेता र कार्यकर्ताहरुलाई दुखित तुल्यायो र परिवर्तनका विरोधीहरुलाई उत्साहित तुल्यायो । यो वस्तुगत आधारमा हामी एउटा छलफलको निश्कर्षमा पुग्यौं कि जनसमुदायको आकांक्षालाई सम्बोधन गर्ने, नेता कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने र परिवर्तनको अगुवाई गर्ने । माओवादी आन्दोलन एकतावद्ध हुनुपर्छ । र यसभित्र रहेका विकृति विसंगतिहरु र विपरीतहरुलाई रुपान्तरित गरेर जानुपर्ने अवस्था रह्यो । रुपान्तरणसहितको माओवादी आन्दोलन आजको जरुरी आवश्यकता हो भन्ने निश्कर्षमा हामी पुग्यो ।
हाम्रो तर्फबाट भन्दाखेरि नेकपा क्रान्तिकारी माओवादीले औपचारिक रुपमा निर्णय गर्यो । एकीकृत माओवादी र अन्य माओवादी घटकहरु मात्रिका यादवले नेतृत्व गर्नु भएको माओवादी, मणि थापाले नेतृत्व गर्नु भएको माओवादी, विप्लवले नेतृत्व गर्नु भएको माओवादी, बाबुरामतिर लाग्नु भएका माओवादी सबैसँग छलफल र संवाद अघि बढाउने भन्ने हाम्रो निर्णय भएको छ । अहिले एकीकृत माओवादी, मात्रिका यादवको माओवादी र मणि माओवादीसँग हाम्रो सघन छलफल चलिरहेको छ । मलाई लाग्छ, निश्चित आकार ग्रहण गर्नेतिर अगाडि बढ्नेछ ।
एकीकृत माओवादीसँग एकता गर्ने आधार चाँही के हो ?
एकताको आधार भनेको पहिलो कुरा माओवादी जनयुद्धले राखेका उद्देश्यहरु हुन् । किसान, मजदुर तथा श्रमजीवी जनताको सत्ता स्थापना गर्नका निम्ति जनताको शक्तिलाई केन्द्रिकृत गर्ने यसको मुल उद्देश्य हो । त्यो शक्तिको केन्द्रिकरणको मुर्त आकारग्रहण भनेको संगठन र पार्टी हो । जनताको शक्ति असंगठित रुपमा अभिब्यक्त हुन सक्दैन । संगठित रुपमा अभिब्यक्त गर्दा पार्टी मार्फत नै त्यो अभिब्यक्त हुने हो । पार्टीहरु विभाजित हुँदा तथा नेता कार्यकर्ताहरु विभाजित हुँदाखेरि मजदुर किसान र उत्पीडित समुदायको शक्ति पनि स्वतः विभाजित हुन्छ । त्यसले वर्गलाई कमजोर बनाउने हो । एकताको मुल आधार भनेको क्रान्तिको मुल उद्देश्य हो । त्यो उद्देश्यलाई परिपूर्ति गर्ने साधनलाई एक ठाउँ जुटाउने कुरा हो । आज त्यसलाई बस्तुगत रुपमा हेर्दा खेरि के देखिन्छ भने माओवादी आन्दोलन टुक्रा टुक्रा भएर क्षयीकरण हुने र शक्ति सञ्चयन गरेर झन् अगाडि बढ्नुको साटो शक्तिको क्षयीकरण भएर विसर्जन हुने र यो विसर्जनबाट जोलाउनुपर्ने आवश्यकता पनि हाम्रो आजको एउटा एकताको आधार हो । हिजो बलिदानी गर्दा खेरि सँगै सहकार्य गरेर आएका छौं, कतिपय कुरा विग्रेका पनि छन् । भत्किएका छन्,त्यसलाई बनाएर जाउँ भन्ने हिसाबले हामी छलफल गर्दैछौं । मुल आधार भनेको माक्र्सवाद, लेनिनबाद, माओवाद वैचारिक आधारहरु हुन् । जनताको सत्ता स्थापना गर्ने राजनीतिक आधार हो । संगठित शक्तिलाई शक्तिमा रुपान्तरण गर्ने त्यो सांगठनिक आधार हो । र हाम्रा विग्रेका कार्यशैलीहरुलाई रुपान्तरण गरेर जाने सांस्कृतिक आधार हो । जनता प्रति नै प्रतिबद्ध हुने आधारमा हामी एकताको कुरा गर्दैछौं ।
एकीकृत माओवादी संसदीय भासमा पतन भएको निश्कर्षमा तपाईहरु चार वर्षअघि छुट्टै संगठित हुनुभयो । उसले संसदीय ब्यवस्थालाई नै स्वीकारेर आएको अवस्थामा कसरी फेरि मिल्न सकिन्छ त ?
हामीले एमाओवादीलाई र त्यतापट्टि रहेका नेता कार्यकर्ताहरुलाई पनि राजनीतिक हिसावले हेर्दाखेरि केही प्रश्नहरु उठायौं । र संश्लेषण गर्यौं । उहाँहरुले पनि हामीहरुलाई केही प्रश्नहरु उठाउनुभयो र संश्लेषण गर्नुभयो । यो हाम्रो एउटा आत्मगत पाटो हो । वस्तुगत हिसावले हेर्दा पनि समीक्षा गर्नुपर्यो । उहाँहरु चुनावमा जानुभयो तर सफलता प्राप्त गर्नु भएन । हामी बहिष्कारमा गएर झण्डा उठाउँछौं भनेर गयौं, हामीले पनि सकेनौं । त्यसकारण यसलाई अर्को पाटोबाट हेर्दा खेरि यो हारको समीक्षा पनि हो । हामी आ–आफ्नो बाटो लागेर क्रान्तिको झण्डा उठाएर कसैले सम्पन्न गरेको भए समीक्षा अर्कै ठाउँमा हुन्थ्यो । हामी प्रतिक्रान्ति भएर आफ्नो शक्तिको झन् क्षयीकरण भएर जाँदा यो पराजयको समीक्षा हो । पराजयको समीक्षा हुँदाखेरि एकले अर्कोलाई आरोपित गर्ने भन्दा पनि एकले अर्काको कमजोरीहरु सच्याउन मद्दत गर्ने, आत्मालोचना गर्ने र आलोचना गर्ने । यो दिशातिर जाने हो भने हामीले एकअर्कालाई लगाएका आरोपहरु कति बस्तुगत तत्यमा आधारित थिए र कति कति मनोगत थिए त्यसको एउटा जगमा हुन्छ । भएन भने यो यदुबंशे लडाईँमा गएर टुंगिन्छ । यो कारणले गर्दाखेरि हामी रुपान्तरण गर्ने दिशामा जानुपर्छ । हाम्रा आरोपहरुलाई समीक्षा गर्ने, बस्तुगत धरातलहरुमा उभिएर समीक्षा गर्ने र त्यसलाई नदोहोर्याउने प्रतिवद्धता गरेर अगाडि बढ्ने । त्यो कारणले गर्दाखेरि हामी एक ठाउँमा जाँदैछौं ।
तपाईँहरुले बहिष्कार गरेको संविधान सभाबाट जारी गरिएको संविधान तपाईँहरुले स्वीकार गर्नु भएको छैन, एमाओवादी ऐतिहासिक संविधान भनेको छ, कसरी मिल्छ यो कुरा ?
मैले भनें नि नमिल्ने कुराहरु पनि धेरै छन्, मिल्ने कुराहरु पनि धेरै छन् । हामी मिल्ने मिल्नेबाट शुरु गर्यौं । हामी एकतावद्ध हुनुपर्छ भन्ने निश्कर्षबाट शुरु गर्यौं भने हामी मिल्ने विषय खोज्छौं । र नमिलेका कुराहरुलाई कसरी हल गर्ने भन्ने एउटा दिशातिर जान्छौं । हामी नमिल्नु छ भने नमिल्ने विषयबाट उठान गर्न शुरु गर्छौं । आजको आवश्यकता भनेको नमिल्ने विषयबाट उठान गर्ने होइन । इतिहासका कैंयौं कुराहरु अहिले मात्रै समिक्षा हुँदैन । अक्टोबर क्रान्तिको आज हामी फर्केर समिक्षा गर्छौं । पेरिस कम्यूनको हामी समिक्षा गर्छौं । चिनिया क्रान्तिको आज हामी फर्केर समिक्षा गर्छौं भने हाम्रो क्रान्तिको समिक्षा हामी आजै यहि पुस्ताले पनि नगर्न सक्छ । हाम्रा गतिविधिहरुको । त्यसकारणले गर्दा हाम्रो प्रक्रिया छ । एउटा मिल्ने प्रक्रियामा जाँदाखेरि मलाइ के लाग्छ भने महाधिवेशन, सम्मेलन, बैठक छन्, त्यो प्रक्रियासम्म हामी यसलाई तान्न सक्छौं । नमिलेका कुराहरु के सहि हो त ? संविधान प्रगतिशील समाजवाद उन्मुख संविधान हो कि यो संविधान प्रतिगामी संविधान हो कि अथवा यो संविधान ठीकैको संविधान हो वा नेपाली समाजको बाधक हो भन्ने बारेमा हाम्रा मतभेद छन् । यो सहि कुरा हो । तर एउटा दुइटा कुराहरुमा देखापरेको मतभेदका कारणले गर्दाखेरि सिङ्गो एकता र ध्रुविकरणको प्रक्रिया नै भाँडिन्छ जस्तो लाग्दैन मलाइ ।
उसो भए एकतापछि यही संविधानलाई तपाईँहरु पनि स्वीकार्नु हुन्छ ?
होइन, त्यो स्वीकारिसकेपछि त हाम्रो मतभेद नै रहेन नि । पार्टी विपरीतहरुको एकत्व हो । विपरीतहरुको एकत्व भन्नुको मतलव के हो भने विचारहरु, बुझ्ने तरिकाहरु एवम् लागू गर्ने तरिकाहरु, घटना प्रक्रियाहरुलाई हेर्ने दृष्टिकोणहरुको फरक भनेको हुनाले त्यसलाई विपरीत भनिएको हो । हामी पार्टी बनाउँछौं । त्याहाँ विपरीत र एकत्वहरुको पार्टी बनाउँछौं । सबै ठाउँमा र्याङठ्याङ शुरुदेखि अन्त्यसम्म एउटै सोंचाइ भएका मान्छेहरुको मात्रै पार्टी बनाउँदैनौं । विपरीत प्रवृत्तिहरु, विपरीत धाराहरु, विपरीत दृष्टिकोणहरुलाई जम्मा गर्छौं । मुल रुपमा त्यो क्रान्तिकारी प्रवृत्तिको हुन्छ । र त्यसमा अरु बाम, मध्ये, दक्षिण प्रवृत्तिहरु सँगसँगै आउँछन् । र तिनहरुकोबीचमा टकराव हुन्छ । क्रान्तिकारी प्रवृत्तिहरु हावी भयो भने त्यो पार्टी क्रान्तिकारी दिशामा जान्छ । सहायक प्रवृत्तिहरु हाबी भयो भने चाँही त्यो पार्टी क्रान्तिकारी प्रवृत्तिबाट च्यूत हुन्छ । त्यसकारणले हामीले अहिले बनाउन खोजेको पार्टी भनेको विपरीतहरुको एकत्वको पार्टी हो । केही मतभेदहरुलाई दीर्घकालिन हिसाबले एउटा एकता प्रक्रियामा गइसकेपछि महाधिवेशन, विशेष महाधिवेशन या कुनै प्रक्रियाबाट समाधान गर्ने र निश्कर्षमा पुर्याउने दिशातिर जाने गरी हामी छलफल गर्दैछौं ।
यही मंसिर भित्रै पार्टी एकता हुने गरी दुई पार्टीको संयुक्त बैठक बस्ने कुरा तयारी पनि भएको छ भनिन्छ । तपाईँहरुको केन्द्रीय समितिले संयुक्त बैठककै म्याण्डेट दिएको हो ?
यति समयभित्र एकता गरिसक्ने भनेर हामीले समय तालिका तोकेका छैनौं । मुल स्प्रिटमा हामी आजको आवश्यकता, माओवादी क्रान्तिकारीहरुको ध्रुविकरण र एकता हो भन्ने आजको आवश्यकताको निश्कर्षमा पुगेको कारणले र औपचारिक अनौपचारिक हिसावले हेर्दा र छलफलको प्रक्रियामा अगाडि बढेको कारणले गर्दा सकेसम्म यसले मूर्त आकार ग्रहण गर्ला भन्ने हाम्रो अपेक्षा हो । यद्यपी मंसिरभित्र एकता नगरे ठूलो वित्यास पर्दैन । हामी छलफललाई निरन्तर अगाडि बढाउँछौं । यो छलफलले धेरै कुरा टुंग्याइसकेपछि एउटा प्रक्रियामा प्रवेश गर्नको निम्ति सहज वातावरण बन्ला । जस्तोः प्रचलन छ, कम्युनिष्टहरुको आफ्नो केन्द्रीय समितिहरु अलग्गै राखेर संयुक्त अधिवेशन गर्ने र छलफल गर्ने अथवा संयुक्त केन्द्रीय समितिको मिटिङ बोलाएर महाधिवेशन आयोजक समिति बनाएर जाने अथवा मिल्ने विषयहरुलाई संयुक्त रुपमा कार्यान्वयन गर्दै र नमिलने विषयहरुलाई बहस चलाएर जाने । कम्युनिष्टहरुमा अन्तर्राष्ट्रिय र राष्ट्रिय आ–आफ्ना प्रचलनहरु छन् र ती प्रचलनहरुसहित कुन चाँही पद्धतिलाई हामीले नेपालको ठोस सन्दर्भमा अहिले हामीले लागू गर्ने भन्ने अझै निश्कर्षमा पुगेका छैनौं । त्यो एउटा छलफलमै रहेको कारणले गर्दा एउटा निश्कर्षतिर पुग्नका निम्ति त्यसले एउटा आधार प्रदान गर्छ ।
एमाओवादीबाट डा.बाबुराम भट्टराई बाहिरिएको अहिलेको अवस्थामा एमाओवादीसँगको एकताका लागि हतारो किन ?
होइन, हामीले यो अभियान शुरु गरेको भर्खरै मात्र होइन । भूइँचालो जानुभन्दाअघि पनि छलफल चलिरहेको थियो । वैशाख १२ गते नै छलफल हुँदै गर्दा नेताहरु बसेकै ठाउँमा भूइँचालो गयो । नेताहरु बसेकै ठाउँमा । त्यसले असर गर्यो । प्रमुख दलहरुबीच १६ बुँदे सहमति हुँनुभन्दा अघि पनि छलफल चलेको थियो । नेता र कार्यकर्ताहरुबीच विभिन्न चरणमा छलफलहरु अगाडि बढेका थिए । बाबुरामजी एउटा ब्यक्तिलाई हेरेर हामी निश्कर्षमा पुगेका छैनौं । यो सहि होइन । प्रवृत्तिगत हिसाबले हेर्दा अलिबढी दक्षिणपन्थी धाराको अगुवाई बाबुरामले गर्नु भएको कारणले गर्दाखेरि निर्णयमा पुग्न सहज होला भन्ने अनुमान होला । तर त्यो मुख्य र निर्णायक कुरा होइन । निर्णायक कुरा त माओवादी नेता कार्यकर्ताहरुको भित्रैदेखि अन्तस्करणदेखि पलाएको अनुभूति हो । माओवादीहरुको एकता आजको जरुरी आवश्यकता हो भन्ने कुरा । त्यसकारणले गर्दाखेरि बाबुरामजी बाहेकको पनि भनेका होइनौं । त्याहाँ रहेका माओवादी आन्दोलनबाटै आएका नेता कार्यकर्ता जो कम्युनिष्ट शासन स्थापना गर्न चाहन्छन् । ती नेता कार्यकर्ताहरु तथा समर्थक शुभचिन्तकहरुको पनि केन्द्रीकरणको कुरा गरेको हुनाले पनि बाबुरामजी गएको कारणले हामी एकता हुनु कुनै जरुरी छैन ।
माओवादी टुटफुट र दिवासपना बाँडेको कारणले कार्यकर्ता पंक्तिमै निराशा छ । अब फेरि पनि माओवादीप्रति आशा जाग्ने ठाउँ बन्छ ?
हामीले यो अभियानलाई अगाडि बढायौं र एउटा निश्कर्ष दियौं भने यो शुरुवात हुन्छ । आशावादिताको शुरुवात हुन्छ । शक्तिको केन्द्रिकरणले निराशाहरुलाई चिर्छ । अकर्मन्यताहरुलाई चिर्छ । विजयप्रति आशावादी बनाउँछ । तर त्यो मात्रै अस्त्र होइन । त्यसपछि हामी नयाँ चरणमा प्रवेश गर्छौैं । रुपान्तरणको अभियान, जनसंगठनलाई सुदृढिकरण गर्ने अभियान नयाँ ढाँचामा विकाश गर्ने । अहिले हामी बेथितिमा छौं । संगठन तदर्थवादमा चलेको छ । संगठन भए÷नभएको जस्तो स्थितिमा देखापरेको छ । यो सबै प्रक्रियालाई हल गर्ने आज राष्ट्रले भोगेका समस्या र जनताले भोगेका समस्याहरुलाई सम्बोधन गर्ने । राष्ट्र र जनताका समस्याहरु एकातिर छन्, कम्युनिष्ट पार्टीका समस्याहरु अर्कातिर छन् । अथवा राजनीतिक पार्टीहरु अर्कातिर भए । ती राजनीतिक पार्टीहरु जनताप्रति एकाकार भएनन् । जब जनतासँग राजनीतिक पार्टीहरु एकाकार हुन्छन्, तब जनताबाट उनीहरुले शक्ति बटुल्छन् र उनीहरुलाई उर्जा पैदा हुन्छ । जब जनताबाट अलग थलग हुन्छन्, तिनका शक्तिहरुको क्षयीकरण हुन्छ र ती निराश हुन्छन् । हाम्रो समस्या भनेको मासलाइन प्रयोग गर्ने । जनदिशा लागू गर्न नसक्नु हो । जब हामी जनतासँग एकाकार हुने नीतिहरु अबलम्बन गर्छौं र पार्टीलाई जनतासँग जोड्छौं भनेपछि त्यसमा असाधारण उर्जा पैदा हुन्छ ।
मलाइ लाग्छ,माओवादी विसर्जन भएको छैन । सिद्धिएको छैन । माओवादीमा केही गत्यावरोध देखापरेको छ । निराशाहरु देखा परेका छन् । त्यसलाई उत्साहमा बदल्न सकिन्छ । त्यसलाई नयाँ उर्जामा तथा नयाँ अभियानमा बदल्न सकिन्छ । माओवादीले जनयुद्धकालको स्प्रिटका साथ एउटा राष्ट्रब्यापी अभियान चलाउने बित्तिकै यो फेरि एउटा नयाँ शक्तिको रुपमा अगाडि आउँछ । जनताको अगुवाइ गर्ने भरोसायोग्य श्रमजीवी वर्गको शक्तिको रुपमा यो अगाडि आउँछ । राष्ट्रलाई पनि एउटा नयाँ दिशा प्रदान गर्छ । हामीले सामान्य अवस्थामा फुट्यौं, झगडा भयो, कमजोर भयौं, त्यसैले अब मिलौं भन्ने अर्थमा मात्रै सोंचेका छैनौं । राष्ट्रलाई अगुवाई गर्ने, राष्ट्रको नेतृत्व गर्ने, समस्याहरुलाई हल गर्ने तहमा उठाउने पार्टी बनाउँ भनेर हामीले शुरुवात गरेको कारणले हामी त्यो दिशामा जान्छौं ।
नारायणकाजीहरुसँगको एकताले मात्रिका यादव बाहिरिनुभयो, फेरि एमाओवादीसँगै एकताको कुराले एक वर्षअघि मात्रै विप्लवहरु अलग हुनुभयो, अब फेरि एकताको कुराले अरु कोही बाहिरिने अवस्था छ कि ?
त्यस्तो सम्भावना हुन सक्छ । कसैलाई यो एकता मन परेन, यो एकता आजको आवश्यकता होइन भन्छ भने एकतामा सहभागी हुन सक्दिन भन्न पायो । स्वतन्त्रताको पक्षपाती कम्युनिष्टहरुले आफ्नै पार्टीभित्र स्वतन्त्रताको अनुभूति नगर्ने भन्ने कुरा भएन । कोही कमरेडहरुलाई यो कुरा ठीक छैन भन्न पाउला । तर फेरि हामीले भनेको के छ भने विप्लव कमरेडहरुलाई पनि क्रान्तिकारीहरुको विभाजनले जनतालाई, राष्ट्रलाई कमजोर बनाउँछ । त्यो दिशातिर जानु हुँदैन भनेर हामीले अन्त्यसम्म भनेको, त्याहाँ भित्रका साथीहरुसँग पनि हाम्रो छलफलहरु चलिराखेको, क्रान्तिकारी साथीहरुलाई एकतावद्ध गरिराख्नुपर्छ भनेको सन्दर्भमा हामीभित्र भएका साथीहरु बाहिरिनुपर्ने कुनै आवश्यकता देखिदैन । अथवा एमाओवादीतिर भएका साथीहरु पनि बाहिरिनुपर्ने, निराश हुनुपर्ने कुनै आवश्यकता देख्दिन । जो साथी क्रान्तिप्रति, जो साथी वर्गप्रति र राष्ट्रप्रति प्रतिबद्ध छ, त्यो साथीले जनताको शक्तिको एकताबाट तर्सिनु पर्दैन । जो आत्मकेन्द्रित ब्यक्तिवादमा रमेको छ, जसले निजी स्वार्थलाई मात्र केन्द्रमा राखेको छ, त्यो साथी मात्रै अत्तालिनुपर्छ । हाम्रो वर्ग राष्ट्र र पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्दाखेरि एउटा क्रान्तिकारी किन आत्तिने ? मलाइ लाग्छ, कोही पनि बाहिरिदैन । बाहिरिनु हुँदैन ।
मंसिर १५ देखि बस्ने एमाओवादी केन्द्रीय समिति बैठकमा तपाईँहरुसँगको एकताको प्रस्ताव लैजाने भन्ने सहमति पनि भएको छ कि ?
एमाओवादी केन्द्रीय समिति वैठकमा एकताको प्रस्ताव लैजाने बारेमा त कुनै निर्णय भइसकेका छैनन् होला । यद्यपी हामीले अपेक्षा गर्ने कुरा चाँही प्रस्ताव आओस् भन्ने हो । केन्द्रीय समिति वैठकका लागि कमरेड प्रचण्डले दस्तावेज लेख्दै हुनुहुन्छ भन्ने सुनिएको छ । त्यो दस्तावेज क्रान्तिकारी भावनाले ओतप्रोत भएको दस्तावेज होस्, उहाँले लेख्ने र त्यो केन्द्रीय समितिलाई माओवादीहरुको यो अभियानलाई अगाडि बढ्नको निम्ति नेतृत्व गर्नेहरुले काम गर्नुभयो भने हामीले थालेको अभियानले सार्थकता पाउनको निम्ति महत्वपूर्ण पाइला हुन सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: