चैत्र १४ गते, २०७२ आइतवार 27th March, 2016 Sun१८:०१:४३ मा प्रकाशित
नेपाली जनसंगीतका साधक हुन् खुशीराम पाख्रिन । तीसको दशकदेखि जनसंगीत कर्ममा क्रियाशील पाख्रिनले १० वर्षको जनयुद्ध कटाए । जनयुद्धका समयमा भोकानाङ्गा गरीव जनताका गीत गाए । जनताको गीत गाएर जनता जगाए । यीनै जनवादी गीत संगीतको प्रभावमा लाखौं जनता युद्धमा होमिए । परिवर्तनका खातिर हाँसी हाँसी ज्यान गुमाए । तर आज जनताको सुखदुःखका गीत गाउने जनवादी सर्जकहरुसमेत अहिलेको परिवर्तनप्रति खुशी छैनन् । माओवादी युद्धका बेला युद्धसिपाहीहरु फुट्नु हुँदैन भनेर सन्देश दिने सर्जकहरु नै आज विभाजित भएको अवस्था छ ।
प्रस्तुत छ, जनवादी कलाकार पाख्रिनसँग गरिएको संक्षिप्त कुराकानी ।
जनपक्षीय सांस्कृतिक आन्दोलनको धरोहरमध्ये तपाई एक हुनुहुन्छ। जनयुद्ध पूर्व र सिंगो जनयुद्धभर गाउँगाउँमा जनता जगाउँदै हिड्नु भयो । अहिलेको सांस्कृतिक आन्दोलनको अवस्था कस्तो देख्नु हुन्छ ?
सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनको एउटा महत्वपूर्ण अंगको रुपमा अगाडि बढ्यो । तर शान्ति प्रक्रियापछि सांस्कृतिक आन्दोलन शिथिल हुँदै गयो । हिजो ज्यानको बाजी लगाएर होमिएका कलाकारहरुको बिचल्ली भयो। सिङ्गो सांस्कृतिक महासंघ अस्तव्यस्त भूमिकाविहिन भयो । यसको भूमिकालाई पार्टी नेतृत्वले पटक्कै महत्व नदिएकै हो ।
अर्को कुरा, हाम्रो पार्टीसहितको कम्युनिस्टहरुको सरकार भएको बेलामा जनपक्षीय पत्रपत्रिकाहरु एकदमै कम छ । मालेमावादी दर्शन साहित्य बजारमा छ्याप्छ्याप्ति हुनुपर्ने थियो, त्यो छैन । अन्य सांस्कृतिक गतिविधिहरुपनि सुन्यप्राय छ । यो चिजलाई त्यति महत्व दिएको देखिदैन ।
जस्तो हिजो तपाईसँगै नाच्ने गाउने कलाकार साथीहरु आज कोही डान्सबारमा रातीराती नाची राखेका छन् । कोही अरबमा गएर तातोबालुवामाथि पसिना बगाएको छ । कोही भाँडा माझ्न गएका छन् । त्यस्तो अवस्था देख्दा तपाई एक जना जनकलाकारको नाताले तपाईलाई कस्तो महशुस भएको छ ?
तपाईले यो प्रश्न गरिहँदापनि मलाई एकदमै छोएको छ मनमा । एक ढ्ङगले मेरो शरिर सिरिङ्ग भएको छ । हुन त हामीले अरबको खाडीमा गएर दुःख गर्न हुदैन, डान्सबारमा काम वा ब्यवसायिक ठाउँमा काम गर्न हुदैन भन्न खोजेको पनि होइन, त्यो पनि कुनै हदसम्म गर्नुपर्दछ । त्यसको पनि एउटा सीमा हुन्छ । तर अहिले हामीले हाम्रै कलाकारहरुलाई एकदमै सशक्त बनाएर पुरै जनवादी गीत संगीतमा वा कार्यक्रमहरु मेची–महाकाली अभियान नै चलाउनुपर्ने स्थितिमा हुनुपर्दथ्यो । त्यो नहुनु चाहिँ असाध्यै दुःखको कुरा हो । नेतृत्वले यो क्षेत्रलाई असाध्यै गहन र यसको महत्वलाई बुझन नसक्नु नै हो भन्ने लाग्छ मलाई ।
कसको दोष हो ? पार्टीको दोष हो की, आन्दोलनको हो की, स्वयम कलाकारको दोष हो ?
यो एउटाखालको चाहिँ हाम्रो साँस्कृतिक बिचलन हो । कुनै नेतृत्वलाई, कुनै ब्यक्तिलाई दोष लाउनुभन्दा पनि यो अहिलेको एउटा माहोलमा हाम्रो पार्टी शान्तिप्रक्रियामा आएर यहाँसम्म आईपुग्यो । यो अवस्थासम्म आउदा हाम्रो हरेक गतिविधि साराचिज हाम्रो जस्तो नभई अलि भिन्नै भएको र यो माहोलले सांस्कृतिक बिचलन ल्याएको हो । त्यसैको परिणाम हो । अहिलेसम्म दुःख गरेको र यसको भूमिकालाई, उनीहरुको महत्वलाई पार्टीले नदेख्न साह्रै दुःखको कुरा हो ।
सिङगो आन्दोलनमा आएको सांस्कृतिक बिचलनको परिणाम हो । यो एउटा प्रचण्ड–बाबुराममा आएको भन्दा पनि सिङ्गो आन्दोलनमा आएको सांस्कृतिक बिचलन हो र।
त्यो चुनबाङ बैठकमा तपाईले अपेरा देखाएर प्रचण्ड, बाबुराम, बादलहरुलाई रुवाउनुभयो । ती रुने मान्छेहरु आज भिन्नभिन्नै बाटोमा छन् । तपाईलाई लाग्छ, त्यो रुवाई भाववेशमा आएर भएको हो वा त्यो रुवाई अहिले बिर्सेका हुन् नेताहरुले ?
त्यतिबेला उहाँहरुमा एकैचोटी जुन चिज चाहीँ देखापर्यो त्यही समयको लागिमात्रै त्यो चिजले छोयो । त्यसपछि त्यो चिजको महत्व मर्म चाहिँ उहाँहरुको दिमाखबाट मेटिँदै गएको हो भन्नुपर्यो अब । हिजो चुनवाङ बैठकको भेरीडाँडाको बैठकको कार्यक्रममा पार्टी पंक्ति केन्द्रीय समिति सिङ्गै रोएको हो । त्यो प्रचण्ड–बाबुराम मात्रै होईन । र त्यो तातो युद्धको जुन एउटा सिनारी त्यहाँ देखाइए त्यसले उहाँहरुलाई छोएकै हो । यो पछिल्लो परिवेशले मान्छेलाई कुनैपनि एउटा सम्वेदनशील कुराले नछुने, मान्छेको समवेदनामा नै नछुने त्यस्तो खालको वातावरण अहिले संबेदनासून्य हुँदै गईरहेको छ ।
तपाईले त्यसरी रुवाउनु भयो र भावावेशमा आएर उहाँहरु रुनु भयो त्यतिबेला अहिले आएर संबेदनासून्य हुँदै गएको छ । त्यतिबेला टुटफुट खण्डितको कुरा नगर भन्ने गीत पनि तपाईँको टिमले गायो । त्यो गीत अहिले पुरै प्रयोगहिन भएको हो ?
त्योबेला त्यो गीतले असाध्यै सहि बोलेको हो । अहिले पनि त्यो गीतको भाव उस्तै रहेको छ । सहि कुरालाई आत्मसाथ गर्न नसकेपछि त्यसैको परिणाम भोगेको हो । हामीले भनेजसरी टुटफुट खण्डितको कुरा नगर, टुटफुट हुनु हुदैन भन्ने कुरा सबैलाई थाहा थियो नि । अब विचारमा राजनीतिमा अन्तरबिरोधहरु हुन सक्छ । मत भिन्नताहरु हुन सक्छन् । त्यसलाई एकै ठाउँमा बसेर हल खोज्नुपर्ने ठाउँमा जसरी फुटेर गयो, त्यो फुटेर हामीलाई यति ठूलो घाटा पर्यो की अहिले हामी तेस्रो पार्टीमा झर्यौ । र अहिले आएर पार्टीहरु जुट्ने कुरामा पनि फेरि संबाद भइरहेको छ । आखिरीमा त जुट्नै पर्ने रहेछ नी । एक्लै एक्लै कसैले केहि गर्न नसक्ने रहेछ। के के न गर्छु भनेर जनयुद्धको जगमा जनबिद्रोह उठ्छ भनेर जाने पार्टीहरुले यो चाहीँ जनताको संविधान हो । यसलाई त आउनै दिन्न, यो कागजको खोष्टा हो भनेर भन्ने पार्टीहरुले मधेसीहरु उठ्दा, थारु उठ्दा, जनजाति, महिला उठ्दा त्योपार्टी चाही कहाँ थियो कहाँ थियो । एक दिन एउटा आन्दोलन चाँही उनीहरुले उठाएको देख्न पाइएन । त्यसैले कुनैपनि चिज भनौं आन्दोलन भन्ने कुरा त्यो एउटा वस्तुगत स्थितिसँग मिल्दो जुल्दो हुनुपर्दो रहेछ अथवा भनौं वस्तुसापेक्ष हुँदो रहेछ । कसैको कल्पनाको भरमा बिद्रोह हु्ने क्रान्ति हुने कुरा होइन रहेछ भनेर बुझ्नुपर्छ भन्ने लाग्छ मलाई ।
कालो वनकोबीचमा त्यो वस्ति आज झनैं जर्जर भएको जस्तो देखिएको छ । एक ढङ्गले भन्ने हो भने । त्यो कालो बनबाट आज कयौं मान्छे अरब गएका छन् । विदेशमै मृत्युवरण गरी कयौं बाकसमा प्याक भएर आएको अवस्था छ । अब कस्तो गीत लेख्नुहुन्छ तपाई ?
अब कालो बनकोबीचमा लेख्ने बेलाको अवस्था र अहिलेको अवस्था केही मात्रामा फरक भएको छ । मान्छेहरुले यहाँ ज्याला पानी जिउनुभन्दा बिदेशमा गएर दुःख गरेर सानो भएपनि खरको छानो भएकोले एउटा ब्लकको वा टिनको छानो भएको छाप्रो बनाएका छन् । त्यति भएपछि उनीहरुको त्यो कालो बनकोबीचबाट मुक्त भएको भन्ने जस्तो देखिएको छ ।
मुक्त भए त कालो बनकोबीचमा भएकाहरु ?
वास्तविक रुपमा भएको छैन। धेरै उत्पीडित मान्छेहरुको काहालीलग्दो स्थिति छ बिदेशमा, पत्रपत्रिका पढेर पनि थुप्रै बुझ्न सक्छौ । अहिले दिनका दिन बाकसमा प्याक गरेर आउने अरबको जेलहरुमा नेपालीहरु थुप्रै छन् । कति अबैध किसिमले अर्काको देशमा बसेका छन् । घरेलु नोकरको रुपमा हाम्रा चेलीबेटीहरु कति दुःख पाइरहेका छन् । अर्काको अबैध छोराछोरी बोकेर फर्केको अवस्था पनि छ । घरमा आउन नसकेर त्यतै बिलाप भएर बसेको अवस्था पनि छ । एकदम काहालीलाग्दो स्थिति छ । त्यो कालो बनकोबेलाको स्थिति भन्दा अहिलेको झन नाजुक छ । गाउँघरमा हेर्दाखेरी अलि बदलिएको जस्तो देखिने, त्यो गीत गाउँदा पनि अलि फरक भएको हो की ? बेकारमा अलि फाल्तुु कुरा गरेको होकी जस्तो लाग्ने तर वास्तविकता भित्र पसेर हेर्ने हो भने त्यो बेला भन्दा अहिले झन जर्जर छ । असाध्यै कहालीलाग्दो स्थिति छ ।
कालो वनको बस्तीले मुक्ति पाउने भनेको अब समाजवादी आन्दोलनतिर गएर नै हो ? त्यसको मुक्ति कसरी हुन्छ अब ?
त्यसको मुक्ति समाजवादी आन्दोलनतिर गएर पनि हो । तर समाजवादी आन्दोलनमा जानुभन्दा अगाडि त्यस्तो खालको परिबेशहरुबाट पनि मान्छेलाई मुक्ति दिँदै जान सक्नुपर्दछ । हाम्रो सैद्धान्तिक रुपमा सबै ठीक छ तर ब्यवहारिक रुपमा यो अहिलेको उपलब्धि भएको छ राजनितिक उपलब्धी, त्यसपछि कतिपय चिज चाहिँ हाम्रो स्वामित्वमा कति हो, हामीले गर्न सक्ने चिज र जनतालाई दिन सक्ने मौलिक अधिकार भनेको छ त्यो कहिले लागू हुने हो ? असाध्यै उत्पीडित वर्गहरु छ, उनीहरुलाई चाहिँ तत्कालै महशुश गर्न सक्ने खालको चिज केहो ? त्यसको निम्ति हामी लड्नु पर्दछ । हामी संङ्घर्ष गर्नुपर्छ । नभए यो सपना एउटा सपना मात्रै हुन्छ भन्ने मलाई लाग्छ । त्यो सिद्धान्तमा मात्रै सीमित रहन्छ ।
अहिलेको समयलाई तपाईले कसरी हेरिरहनु भएको छ ?
नयाँ र पुरानोबीचको द्वन्द्व भएको समय हो अहिले । नयाँले पुरै जितिनसकेको स्थिति र पुरानाले पनि जनताले चाहेको कुरा आफ्नो कब्जामा राखेको स्थिति हो अहिले । राष्ट्रियता, जनजीविकाजस्ता कुराहरु संविधानमा उल्लेख भएतापनि कार्यान्वयनको क्रममा गएको छैन । अझै देशले दुःख पाउने अवस्था देखिन्छ । कानूनहरु बनेर सजिलै लागू होला जस्तो चाँहि लागेको छैन । अझै देश अन्योलमै गुज्रिराखेको छ । जनजाति, दलित, मधेसी, थारुहरुले आफ्नो अधिकार पाउने स्थिति अझै देखापरेको छैन । अपुग चिजहरु धेरै छन् । अहिलेको नेपालको अवस्था निश्चिन्त हुने खालको छैन । केही आंशिक उपलब्धिहरु भएपनि त्यो लागू भएर अगाडि बढ्न निकै चुनौति छ ।
संविधानमा समाजवादतिर जाने भनिएको छ । यस्तै अवस्थामा देश समाजवादतिर जाला त ?
सैद्धान्तिक रुपमा पुँजीवादी जनवादी क्रान्तिका आधारभूत कार्यभारहरु पूरा भएका छन् । बाँकी कार्यभारहरु पूरा गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्दै अगाडि बढ्नु पर्छ भन्ने कुरा सैद्धान्तिक रुपमा त ठीकै छ । रुसमा पनि एकै पटकमा अक्टोवर क्रान्ति भएको थिएन । त्यो भन्दा अगाडि फेब्रुअरी क्रान्ति भएको हो । त्यो भनेको पुँजीवादी क्रान्ति नै हो । चीनमा पनि जनवादी क्रान्ति हुनुभन्दा अगाडि सन् यात सेनको नेतृत्वमा पूँजीवादी क्रान्ति भएको थियो । त्यहाँको वस्तुस्थिति र हाम्रो वस्तुस्थिति धेरै फरक होला । अब हामी माओवादीहरुले माओवाद मात्रै पढेर नपुग्ने भयो, लेनिनवाद पनि अझै पढ्नु पर्ने हुन्छ । समाजवादतिर जाने सैद्धान्तिक कुरा एकदम ठीक छ । तर व्यवहारिक रुपमा जानको निम्ति हामी माओवादीहरुले आफै भित्र क्रान्ति गर्नु प¥यो । क्रान्तिभित्र क्रान्ति गर्नु प¥यो । साँस्कृतिक रुपान्तरण भनेकै त्यही हो । यो नभए समाजवादतिर जाने सपनामै सीमित रहन्छ । जनताको जीवनमा पनि केही परिवर्तन देखिनुपर्छ । अहिले जनताको जीवनमा कुनै परिवर्तन भएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: