वैद्य, सिमली परेको बाँधजस्तो ! विप्लवमा गति छ, मुल छैनः घर्ती
जेष्ठ १८ गते, २०७३ मगलवार 31st May, 2016 Tue१८:५४:३२ मा प्रकाशित
विभिन्न माओवादी घटकहरुबीच एकतापछि नेकपा माओवादी केन्द्र बनेको छ । माओवादी केन्द्र गठनसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा ६ सय ९९ सदस्य महाधिवेशन आयोजक समिति गठन गरिएको छ । आयोजक समितिलाई एक हजार सदस्य सम्म बनाउने तयारी भइरहेका छन् । विभिन्न माओवादी घटकहरुबीचको एकतासँगै विप्लव माओवादीबाट विद्रोह गरी आएका कार्यदल सदस्य बसन्त घर्तीमगरले मोहन वैद्यमा विचार भए पनि गति नभएको र विप्लवमा गति भएर पनि विचार नभएको नेताका रुपमा विश्लेषण गरे । सिमली परेको विचारलाई बाँध बनेर भत्काए पनि विप्लवमा विचारको मुल सुकेर रित्तिएको उनको बुझाइ छ । एकतामा आएसँगै ब्यवस्थापिका संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको कार्यदल सदस्य घर्तीले आफूहरु संसदवादी नभएको दाबी गरे । आफूहरु संसदलाई उपयोग मात्र गर्न आएको उनको बुझाइ छ । जनयुद्धकालको मुद्दाहरु ब्युँताएर माओवादीहरुलाई कठघरामा राख्ने र सदन नै छाड्नुपर्ने स्थिति बनेमा हतियार उठने उनी बताउँछन् । आफूलाई अवसरवादीको रुपमा नबुझ्न आग्रह गरेका एकता संयोजन समिति कार्यदल सदस्य बसन्त घर्तीसँग गरिएको कुराकानीको सारसंक्षेपविभिन्न माओवादी घटकहरुबीचको एकतासँगै तपाईँ पनि एकतामा आउनु भयो । अहिलेको एकता के लागि हो ?
जनताको भावना, कार्यकर्ताको भावना र क्रान्तिको आवश्यकताले गर्दा हामीलाई एक ठाउँमा ल्याउने वातावरण बनायो । अहिले नेपालको सन्दर्भमा माओवादीहरु विभाजित हुँदा जनतामा ठूलो निराशा पैदा भयो । कार्यकर्तामा निश्क्रियता पैदा भयो । त्यसैले जनताविनाको र कार्यकर्ताबिनाको राजनीति गर्नु आवश्यक थिएन । माओवादीहरु विभाजित हुँदा माओवादीका एजेण्डाहरु पनि ड्यामेज हुँदै जान्छन् । माओवादीको एजेण्डा अरुले चोर्दै र कब्जा गर्दै जान्छन् । त्यसैले हाम्रो माओवादीको एजेण्डाले देश बन्ने, गणतन्त्र आउने, धर्म निरपेक्षता हुने, संघीयता आउने, सारा उत्पीडित समुदायले अधिकार पाउने तर माओवादीहरु नै टुक्रा टुक्रा भएर अवसान हुने विचित्रको राजनीतिक अवस्था देखियो । माओवादीहरुको राजनीतिक अधिकारको पहिचानको निमित्त पनि सबै एक ठाउँमा आउनुपर्छ भन्ने सोंचका साथ सबैले आफ्नो आफ्नो अस्तित्व स्वीकार गर्दै आ–आफ्नो पुरानो धरातल छाडेर नयाँ ढंगले नयाँ धरातलमा, नयाँ प्रतिवेदन, नयाँ विधान, नयाँ कार्यदिशा, नयाँ प्रतिवद्धता र नयाँ सपनाका साथ अघि बढ्ने हामी सबैको साझा स्वीकारोक्तिका आधारमा हामी एक ठाउँमा आएका हौं ।
यसको अर्थ हिजो भएका माओवादी विभाजन सबै गलत थियो भन्ने हो ?
क्रान्तिमा एकता, विभाजन, फेरि एकता, विभाजन निरन्तर चलिरहन्छ । कहिलेकाँही एकता र फुटको द्वन्द्वात्मक सम्बन्ध हुन्छ । कहिलेकसो फुटले क्रान्ति जन्माउँछ, कहिले एकताले क्रान्ति जन्माउँछ । त्यसकारण हामीले अहिले क्रान्तिको निम्ति एकता भनेका हौं । परम्परागत क्रान्ति भनेका होइनौं । हिजो गाउँबाट शहर घेर्ने दीर्घकालिन जनयुद्धको कार्यदिशाका साथ हामीले दश वर्ष जनयुद्ध लड्यौं । त्यसपश्चात एउटा राजनीतिबाट गुज्रिने बेलामा दश वर्षको शान्ति प्रक्रियामा गयौं । युद्धकालमा हाम्रो फुट भएन । शान्ति प्रक्रियामा बढी फुट भयो । हाम्रो दिमागमा क्रान्ति हुँदाहुँदै पनि हाम्रो समाज क्रान्तिकारी नभएका कारण शान्ति प्रक्रियामा आएपछि केही समस्याहरु भए । हाम्रो समाजको प्रतिबिम्ब हामीमा परिरहन्छ । हामी यहि समाजका उपज हौं । हामी यहि समाजले जन्माएका मान्छे हौं । यहि समाजमा हामी कतै न कतै एउटा प्रतिनिधित्व गरेर आइरहने हुनाले शान्ति प्रक्रियामा केही समस्याहरु भए । यो अवस्थामा मान्छेमा ब्यक्तिवाद, गुटवाद तथा समूहवाद हावी हुन्छ । मान्छेमा नितान्त स्वार्थवाद हावी हुन्छ । त्यसैले विगतमा पार्टीमा विभाजन र मनमुटावहरु भए ।
तर हिजोका फुट पनि गलत थिएनन् । नेतृत्वबाट कतै न कतै कार्यकर्ताहरुको क्रान्तिकारी विचार बोक्ने टिमहरुको उचित सम्बोधन भएन । हाम्रा नाराहरु, मागहरु सहि हुँदा हुँदै पनि कार्यकर्ताहरुलाई सम्बोधन भएन भन्ने हामीलाई अनुभूति भयो ।
त्यसैले क्रान्तिकारी स्पिड भएका साथीहरु २०६९ सालमा विभाजित हुन पुग्यौं । क्रान्तिकारी स्प्रिडका साथ अघि बढ्ने प्रतिवद्धताका साथ २०६९ सालमा एमाओवादीबाट विभाजित भयौं । वैद्य नेतृत्वमा पार्टी गठन गर्यो । तर बैद्यबाट पनि सम्भव नभएप्छि हामी पुनः २०७१ सालमा बैद्यबाट विभाजित हुन पुग्यौं । क्रान्ति गर्ने स्पिडका साथ विभाजन त गर्यौं तर वैद्यसँग गति भएन । त्यसैले हामीले पुनः विद्रोह गर्यौं । वैद्यमा विचार भयो, गति भएन । गतिहिन विचार भयो । जमेको पोखरी जस्तो वैद्यको विचार भयो । त्यसैले सिमली परेको बाँध फोर्नुपर्ने स्थिति बन्यो । त्यसपछि विप्लवको टिममा हामी एक वर्ष बस्यौं । तर त्यहाँ फेरि गति छ, मुल सुक्यो । भएको जति बग्ने नभएपछि मुल सुक्यो । विप्लवमा वैचारिक लिडर भएनन् । दृष्टिकोण दिने, विचार दिने लिडरको खाँचो पर्यो । त्यहाँ नयाँ विचार अभिवृद्धि गर्ने भन्ने थियो । नयाँ विचार अप गर्ने भनेको त एउटा धक्का दिएन नै हो । मनोगत ढंगले कोठमा बसेर मात्रै विचार पैदा हुँदैन । त्यसो हुन्थ्यो भने त मोहनविक्रमले कति विचार बनाइसक्थे । त्यसैले हिजोका फुटहरु आवश्यक नै थिए । तर त्यो विभाजनले हामीहरु सबै कतै न कतै बिग्रिएका रहेछौं भन्ने अहिले सबैलाई आत्मसमीक्षा गर्न बाध्य पारिदियो । कोही दक्षिणपन्थी अतिवाद र कोही बामपन्थी अतिवादमा फसेछौं । हिजोको दक्षिणपन्थी अतिवादले संसदवादमा लगेर बसाल्यो, बामपन्थी अतिवादले जंगलतिर लैजाने खतरा भयो । बम र बन्दुकबाहेक केही नदेख्ने स्थिति पनि कतै न कतै देखियो । हुनत युद्धमा त्यो आवश्यक नै छ । तर ती पनि हाम्रो कतैकतै वामपन्थी उग्रवाद जस्तो देखिने अवस्था भएको हुनाले हामी दक्षिणपन्थी अतिवाद र बामपन्थी अतिवादबाट एक स्टेप माथि उठेर क्रान्तिकारी माक्र्सवादलाई जीवन ब्यवहारमा प्रयोग गर्ने र नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभारहरु पूरा गर्दै समाजवादी क्रान्तिमा अघि बढ्ने भन्ने मान्यताका साथ हामी आएका छौं । हिजोको फुट विभाजन आवश्यकतामा भए, आजको एकता पनि आवश्यकतामा नै भयो ।
एकतामा आएर नयाँ किसिमको क्रान्ति गर्ने भन्नु भएको छ, अब कस्तो खालको क्रान्ति गर्दै हुनुहुन्छ ?
यहाँ पहिलो कुरा, रुपान्तरणको क्रान्ति हुन्छ । मान्छेको जीवनशैलीमा रुपान्तरण, आचरणहरुमा रुपान्तरण, कार्यशैलीहरुमा रुपान्तरण र मान्छेको सोँच्ने तरिकामा पनि रुपान्तरण हो । अहिले नयाँ संविधान घोषणा गरिएको छ । तर हामी नयाँ संविधानको विरोध गर्नेहरु पनि एकतामा आएका छौं । हामीले अहिलेको संविधान मान्दैनौं भनेर बहिष्कार नै गरेका हौं नि । निर्वाचन नै बहिष्कार गरेका हौं । निर्वाचनको उपयोग गरेर तेस्रो शक्ति बनेर आएको पार्टीसँग हामीले एकता गरेका छौं । सतहमा हेर्दा त अचम्म नै लाग्छ । तर हामीले अलिकता नयाँ गर्न खोजिरहेका छौं । संविधान सबैथोक हो भन्ने दक्षिणपन्थी अतिवाद, यो संविधान केही पनि होइन भन्ने बामपन्थी अतिवाद यी दुवै अतिवाद खराब हुन् । त्यसले हामीलाई जनता, राष्ट्र र कार्यकर्ताबाट टाढा लैजान्छ । त्यसले गर्दा विचारको राजनीति हुँदैन । जनयुद्धको जगमा २० सय वर्षदेखि राजतन्त्र अन्त्य हुनुलाई हामीले उपलब्धी मान्नुपर्छ । नेपालमा चार पाँच सय वर्षसम्म एकात्मक शासन चल्यो । संघीय सरचनामा जाने भन्ने कुरा पनि जनयुद्धकै बलमा भएको छ । मधेसी, आदिवादी जनजाति, दलित समुदायत तथा कर्णाली लगायतका उत्पीडित समुदायका जनताहरुले समानुपातिक समावेशी सिद्धान्त खोजिरहेका थिए । समानुपातिक प्रतिनिधित्वको सिद्धान्त संविधानमा सुनिश्चित भएको छ । सबै धर्ममा आस्था राख्नेहरुलाई प्रतिनिधित्व गर्दै धर्मनिरपेक्षता भएको छ ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी सिद्धान्तका विषयमा हामी सहमत भएका छौं । यो सबै थोक पनि होइन, यो केही हो, केही होइन ।
भनेपछि अब संसदबाट नै तपाईँहरु क्रान्ति गर्दै हुनुहुन्छ ?
लेनिनको भाषामा संसदलाई उपयोग गर्ने भनिन्छ । हामी पनि संसदवादी होइन, संसदलाई उपयोग गर्ने हो । माक्र्सवादी, लेनिनवादी, माओवादीहरु कहिले पनि संसदवादी हुँदैनन् । हामीले संसदलाई उपयोग गर्ने मात्र हो । संसदलाई उपयोग नै गर्नु हुँदैन भन्ने पनि त्यति राम्रो हुँदैन । वैरीको मञ्चबाट पनि हामीले हाम्रो विचार राख्न पाउनुपर्छ । हाम्रा कुराहरु जनताले सुन्न पाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । हामीले संसदलाई उपयोग गर्ने मात्र हो । तत्कालको कार्यक्रम भनेको सडकलाई निर्णायक बनाएर जाने, सदनलाई सहायक रुपमा लिने र सरकारलाई विशिष्ट अवस्थामा आवश्यकताअनुसार प्रयोग गर्ने भन्ने नै रहेको छ ।
माओवादी विभाजनले हामीले कमजोर भएकै कारण एकतामा आयौं त भन्नु भएको छ तर तपाईँहरुलाई त ठूलो भाग खोज्न आएको अवसरवादी समूह भन्ने पो आरोप लाग्या छ ?
हो, हामीलाई अवसरवादी भनेर आरोप लागेको छ, हामीले सुनिरहेका छौं । त्यसको जवाफ पनि आवश्यकताअनुसार दिँदै जाउँला । नेपालको नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा कमजोरी के देखियो भने कतै न कतै अतिवादी धाराको विकास भइरहेको छ । अहिले संसद उपयोग गर्ने साथीहरुले संसदबाहेक अरु विकल्प छैन भन्ने पनि दक्षिणपन्थी अतिवाद हो । संसद बाहिर रहेका साथीहरु संसदको उपयोग गर्नै हुन्न भन्नु भएको छ, त्यो पनि बामपन्थी अतिवाद हो । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तअनुसार हामीले आश्यकताअनुसार दुवै चिजलाई प्रयोग गर्नुपर्छ । आवश्यकता पर्यो भने हामीले हतियार पनि प्रयोग गर्नुपर्छ । आवश्यकता पर्यो भने संसद पनि प्रयोग गर्नुपर्छ । संसद र हतियार भनेको खासखास बेला प्रयोग गर्ने हो । आवश्यकताअनुसार सदनलाई पनि उपयोग गर्दै जाने हो । तर सदनबाट हाम्रो अपमान नै भयो, उपेक्षा गरियो अथवा जनयुद्धकालको मुद्दाहरु ब्युँताएर माओवादीहरुलाई कठघरामा राख्ने र सदन नै छाड्नुपर्ने स्थिति बन्यो भने स्वभाविक रुपमा जनविद्रोह हुन्छ । त्यो जनताको सार्वभौम अधिकार हो ।
केहीलाई एकता दक्षिणपन्थी भन्ने लागेको छ । तर एकता दक्षिणपन्थी हुँदैन । एकता दक्षिणपन्थी हुन्थ्यो भने त ०४७ सालमा सात वटा कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आएका थियौं नि त । क्रान्तिको तयारीको निम्ति आएका थियौं । जनयुद्ध शुरु गर्ने भइसकेपछि केही साथीहरु साइड लाग्नुभयो । मुल पार्टी र मुल नेतृत्वले जनयुद्ध शुरु गर्यो । चुनावमा जाँदैमा, संसदमा जाँदैमा दक्षिणपन्थी भन्ने हुँदैन । कोही नगए पनि दक्षिण पन्थी हुन्छन् कोही गए पनि क्रान्तिकारी भइरहन्छन् । मुल कुरा दिमागमा वर्ग राख्नु पर्यो । जंगल नै पसेपछि दिमागमा सुधार छ, अवसरवाद छ भने जंगल नै पसे पनि बम बोकेर हिँडे पनि कुनै अर्थ राख्दैन ।
एकतामा नआएका माओवादीले मात्र होइन, गैरमाओवादीहरुले पनि त तपाईँहरुलाई अवसरवादी समूह भनेका छन् नि त ?
कम्युनिष्ट आन्दोलनमा अवसरलाई अस्वीकार गर्नु गलत हो । अवसरलाई अस्वीकार गर्नुं हुँदैन । अवसरवादी चाँही हुनुहुँदैन, अवसरलाई छोप्नुपर्छ । अवसरलाई छोपिएन भने क्रान्ति पनि सम्भव हुँदैन । साम्राज्यवादीहरुको विरोधको अवसर छोप्नुपर्छ । बैरीहरुबीचको लडाइँको अवसर छोप्नुपर्छ । कुन कुन बेला सदनलाई उपयोग गर्दा वा सरकार र मञ्चहरु उपयोग गर्दा फाइदा हुन्छ त्यससको प्रयोग गर्नुपर्छ । अवसरवादी हुनुहुँदैन तर अवसरलाई अस्वीकार गर्नु हुँदैन । हामी पनि अवसरवादी भएका होइनौं, अवसरलाई समातेका हौं । अहिलेको आवश्यकता भनेको एक ठाउँमा जुटेर मात्रै हुन्छ, फुटेर हुँदैन भन्ने आवश्यकताको महशुस गरेको हुनाले हामी एकतामा आएका हौं ।
अवसरको उपयोग गर्दै आउने क्रममा केन्द्रीय समिति पनि ६ सय ९९ हुँदै एक हजार पुग्नेवाला छ, यसको सन्देश चाँही के हो ?
एकतामा आएका घटक शक्तिहरुको सल्लाह अनुसार नै यो संख्या बनाएका हौं । अहिले संख्या निर्णायक होइन । अहिले संख्यामा बाझिनु हुँदैन । संख्या थोरै बनाउने कि संख्या धेरै बनाउने कि भन्ने कुरामा बझ्नु हुँदैन । सकभर थोरै बनाउने नै हो । संख्याकै कारणले एकतामा राम्रो सन्देश जाँदैन सबै ठाउँ एक ठाउँमा आइसकेपछि । राजनीतिक एकता त हामीले गरिसक्यौं । राजनीतिक कार्यदिशा हामीले बनाइसक्यौं । राजनीतिक एकता गरिसकेपछि स्वभाविक रुपमा हामीले संगठनात्मक एकताका सन्दर्भमा के छ भने हिजो जनयुद्धमा त्याग गरेका साथीहरु ठूलो हुनुहुन्छ । सहिद परिवार, घाइते अपाङ्ग, जनयुद्धका कमाण्डरहरु, संगठनमा त्याग गरेका राम्रा राम्रा संगठकहरु हुनुहुन्छ । मिडिया क्षेत्रमा काम गर्ने ठूलो क्रान्तिकारी योद्धा साथीहरु हुनुहुन्छ । सबै साथीहरुलाई हेर्दा कसैलाई पनि अपमान नै हुन दिनु भएन नि त । अहिले अलिकता संख्या तानिएको छ । हामीले ५ सय ९९ संख्या बनाएका थियौं तर सबै साथीहरु आउँदा अलिकता बढ्यो ।
अहिले चाँही हामीलाई तीन अंक सम्म बनाउँदा ठीकै हुन्छ भनेका छौं ।
भनेपछि, सबैलाई छुटाउन पनि भएन, अपमान गर्न भएन, त्यसो हुनाले भाग पुर्याउन यसो गरियो ?
भाग नै पुग्ने भन्दा पनि साथीहरुलाई अपमानित अनुभूति नहोस् भन्ने हो । मेरो हैसियतमा मान्छेहरु त्याहाँ पुगे, मैले चलाएको मान्छे त्याहाँ पुगे, म भन्दा जुनियर मान्छेहरु एकताको प्रक्रियामा आएर केन्द्रमा पुगे भन्ने खालको ह्युमलेशन साथीहरुमा नहोस् । कम्तिमा पनि आत्मसम्मान होस्, कुनै पनि क्रान्तिरकारी साथीहरुलाई बाहिर राख्नु हुँदैन भनेर नै अलिकता संख्या बढेको हो । अहिलेको चरण भनेको विशिष्ट चरण हो । विशिष्ट चरणको एकता महाधिवेशन तयारी समितिमा सक्षम साथीहरु नै आउनु भएको छ, त्यसैले संख्याको महत्व भन्दा पनि राजनीतिक एकताको महत्व, एक ठाउँमा आउने तथा भावनाको महत्व नै ठूलो ठानेर हामीले यसो गरेका हौं ।
यो तीन अंकको केन्द्रीय समिति चाँही कहिलेसम्म रहन्छ ?
यो एकता महाधिवेशन आयोजक समिति भएकोले महाधिवेशन नहँुदा सम्म कायम रहन्छ । त्यसपछि महाधिवेशनले फैसला गरेर निश्चित संख्या बन्न पुग्छ । महाधिवेशन अघि संख्याको निर्धारण गर्ने अधिकार हामीलाई हुँदैन । म आयोजक समितिको सदस्य तथा कार्यदलको सदस्यको हैसियतले भन्नु पर्दा कार्यदलको वैठकले केही कुरा टुगो लगाउँछौं । अब कार्यविभाजन पनि छिट्टै हुन्छ । प्रदेशको भेला गर्ने कुरा पनि निश्चित गरिसकेका छौं । महाधिवेशनसम्म हामी यसरी नै जान्छौं । सबै साथीहरुलाई समेटेर जान्छौं ।
एकता प्रक्रिया पनि चलिरहन्छ भन्नु भएको छ, एकतामा नआएकाहरुलाई के भन्नु हुन्छ ?
एकतमा नआएका साथीहरुलाई हामी पुनः अपिल गरेका छौं । एकतामा सामेल नभए पनि वर्ग संघर्षका क्रममा संयुक्त मोर्चा बनाएर जाऔं भन्छौं । एकतामा आउनका लागि पनि माक्र्सवाद, लेनिनवाद र माओवादको सैद्धान्तिक विचार एउटै हुनु पर्यो । त्यो हाम्रो छँदैछ । क्रान्तिको कार्यदिशा हुनुपर्यो । क्रान्तिको कार्यदिशा पनि हामीसँग छँदैछ । जनयुद्ध लगेका माओवादी तथा शान्ति प्रक्रिया पश्चात जोडिएका माओवादी साथीहरु सबै माओवादी दर्शनलाई मानिरहेका छौं । हामी सबै एक ठाउँमा बस्दा नै क्रान्तिको निम्ति फाइदा हुने भएकाले सबैलाई एकतामा आउन अपिल गछौं । महाधिवेशन नहुँदासम्म एकता प्रक्रिया कायमै रहन्छ । विप्लव, वैद्य सबै कमरेडहरुलाई हाम्रो ढोका खुला छ । हामीलाई जे आरोप लगाए पनि आरोप्रति हामीलाई कुनै पश्चाताप छैन ।
एकता अहिलेको आवश्यकता हो । एकता भएरै एक ठाउँमा जुटेर नै हामीले वैरीका सामना गर्न सक्छौं । भोलि ठूलो क्रान्तिको आँधिबेहेरी तयारी गर्न सक्छौं । त्यसैले हामी टुटफुट गुटमा होइन कि एक ठाउँमा आएर उभिएर, स्वाभिमानी माओवादीहरु एक ठाउँमा आएर जुटेर राष्ट्रिय स्वाधिनताको रक्षा गरौं भन्ने नै हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: