लाखौं विदेशिने क्रम बढेको बढ्यै छ । यसको कारण के होला ? किन यस्तो भइरहेको छ ? यसको दोषी को हो ? यसको दोषी गरिवी हो या गरिव बनाइदिनेहरु हो ?ओली सरकारको भर्खरै पारित भएको बजेटबाट केही महत्वाकांक्षी योजनाहरु पारित भए । जसमध्ये कुल ग्रार्हस्थ उत्पादनको ३२ प्रतिशत योगदान रेमिट्यान्सले गरेको कुरा स्विकारिएको मात्र छैन, रेमिट्यान्स नभए देशको अर्थतन्त्र नै धरासाही भएर जाने अर्थविद्हरुले बताइनै सकेका छन् । चालु आर्थिक वर्षमा ३२ प्रतिशतमात्रै होइन त्यो भन्दा बढि रेमिट्यान्सबाट योगदान हुनसक्ने ओली सरकारको अपेक्षा रहेको छ । यसबाट प्रष्ट देखिन्छ, जति युवाहरु बेच्न सक्यो उति देश विकास हुन्छ । [caption id=\"attachment_79604\" align=\"alignleft\" width=\"819\"] फाइल तस्विर[/caption] अब हामी सजहै अनुमान लगाउन सक्छौं । नेपाली शासकको आँखामा काबुलमा मारिएका १२ नेपाली को हुन् ? के उनीहरु मानिस हुन् ? होइनन्, मारिनेहरु विक्रिका लागि बेचिएका माल हुन् । बेचिएका मालहरु मध्ये कुनै केही हुनसक्छ । त्यसमा के को आपत्ति ? वर्तमान शासन सत्ता र व्यवस्थाको आँखामा तिनीहरु तोरीका दानासरह हुन् । जसलाई जति पेल्यो त्यति तेल निस्कन्छ । देशबाट जति बढि युवाहरु बेच्न सक्यो उति देश विकास हुन्छ । प्रष्ट छ, शासकहरु विदेशिएका युवाहरुको लासमाथि टेकेर समृद्धिको गफ हाँकिरहेका छन् । शासन सत्तामा बस्नेहरुको मनमा भएको खास कुरा यही हो । उनीहरु आज समवेदना प्रकट गरिरहेका छन् । ती सहानुभूति र समवेदनाहरु फगत गोहीका आँशु हुन् । शासन सत्तामा बस्ने ठूला कर्मचारीका छोराछोरीदेखि नेताका छोराछोरीसम्म विकसित मुलुकमा उच्च शिक्षा हासिल गर्न गएका छन् । उनीहरु पढ्नुपर्छ । भोली अरबबाट फर्कनेहरुलाई शासन गर्ने तिनीहरुनै हुन् । गरीवीको रेखामूनि पारिएका नेपालीहरुलाई घरबार बन्दकी राखेर काबुलदेखि इराकसम्म, इजरायलदेखि साइप्रससम्म यही नेपाल सरकारले बेचिरहेको छ । सत्तामा बस्नेहरु भन्दैछन् ‘देश विकास गर्ने भए विदेश जाउ, पैसा कमाउ । यही हो गणतन्त्र भनेको ।’
शासकको आँखामा काबुलमा मारिएका १२ नेपाली को हुन् ? के उनीहरु मानिस हुन् ? होइनन्, मारिनेहरु विक्रिका लागि बेचिएका माल हुन् ।विडम्बनानै मान्नुपर्छ गणतन्त्र आएपछि झनै मानिसहरु रोजगारीका लागि भौतारिदै विदेशिनु परेको छ । यसको एउटै कारण हो, नवउदारवादी अर्थनीति । समाजवादउन्मुख भनिएको देशमा पुँजीवादले विकास गरेको आर्थिक नीति भन्दा छुट्टै बैकल्पिक नीति निमार्ण गर्नु पथ्र्यो । तर कागजमा समाजवादतिर जाने भन्ने वाक्यांश लेखिराखेर देश दलाल पुँजीवादको गोटी बन्नतिर लाग्यो । उपभोक्तावाद, नीतिकरण र सांस्कृतिक भूमण्डलीकरण जस्ता पुँजीवादका अस्त्रहरुले देशलाई छिया छिया बनाउन शासकहरुले भूमिका खेलिरहेका छन् । राजनैतिक रुपमा प्राप्त भएका उपलब्धीहरु न अर्थनीतिद्धारा संस्थागत गर्ने जमर्को देखिन्छ, न संस्कृतिबाट । उल्टै पुँजीवादको दैलोमा लम्पसार परिरहेको अवस्था देखिन्छ । यी सबै पर्यावरणकाबीच आज १२ नेपाली मारिए भनेर उच्च ओहोदामा बसेकाहरु गोहीको आँशु झार्नुको कुनै तुक छैन । १२ जना होइन, १२ हजार नेपाली एकै पटक हताहत हुँदापनि राज्यले भन्ने र गर्ने यति हो । राज्य आफै नीतिनिमार्ण गरि युवाहरुलाई गुलाम बनाउन विदेश पठाइरहेको छ, अनि यस्तो बेला आँशु झारेको नक्कल गर्ने राज्यको अभिनयलाई हामी चुपचाप पत्याइरहेका छौं ।
कागजमा समाजवादतिर जाने भन्ने वाक्यांश लेखिराखेर देश दलाल पुँजीवादको गोटी बन्नतिर लाग्यो ।यस्ता घटनाहरु सामान्यीकरण बनाइदैछ । धार्मिक अतिवादीहरुलाई दोष दिएर, गैरकानुनी ढंगले किन गएको ? भनि उल्टै दोषारोपण गरेर सरकार चोखिन खोज्दैछ । यसले मानवीय समवेदनाको मृत्यु हुने क्रमलाई बढाइरहेको छ । दुखेको थाहै नपाउने, दुख्दा दुख्दै दुखाई सहन अभ्यस्त पार्ने, ‘यस्तै त रहेछ नी’ भन्ने जस्ता प्रतिरोधात्मक चेतनालाई नष्ट पार्ने काम नेपालमा तिव्र गतिमा सुसुप्त ढंगले भइरहेको छ । यस प्रति युवाहरु सचेत भएर लाग्नु पर्ने भएको छ ।
प्रतिकृया लेख्नुहोस्: