आषाढ़ १७ गते, २०७३ शुक्रवार 1st July, 2016 Fri१२:१३:५७ मा प्रकाशित
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट नेकपा माओवादी केन्द्रसँगको एकतामा आएमा पुराना कम्युनिष्ट नेता तिलक परियार सशस्त्र क्रान्तिबाट नै मुक्ति गर्छौं भने पनि जनताले विश्वास नगरेपछि एकतामा प्रक्रियामा आएको बताउँछन् । तर पनि बल प्रयोगद्वारा नै सत्ता कब्जा गर्नुपर्छ भन्नेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएको उनको दाबी छ । संसदलाई प्रयोग गरिए पनि संसदवादलाई स्वीकार गर्नै नसकिने उल्लेख गर्दै आफूहरुमा माक्र्सवादी मान्यता रहुन्जेल संसदवाद वा मिलेरावाद भन्न नमिल्ने उनको भनाइ छ ।
फेरि पनि क्रान्ति गर्न तस्सिएको मान्छे संसदीय राजनीतिमा आएपछि तपाईँहरुको राजनीतिक भविष्य के हुने भन्ने सन्दर्भमा विप्लव माओवादी छाडेर एकता प्रक्रियामा आएका पहिलाे संविधानसभाका सदस्यसमेत रहेका नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तिलक परियारसँग गरिएको संक्षिप्त कुराकानी ः
...
सशस्त्र क्रान्ति गर्छौ भन्ने विप्लव माओवादी छाडेर एकतामा आएको हुनाले तपाईँहरुप्रति चासो छ । तपाईँहरुको भविष्य चाँही के हो ?
हामी वास्तवमै क्रान्ति गर्न भनेर एकीकृत नेकपा माओवादीबाट विद्रोह गरेर ड्यास माओवादी बनायौं । ड्यास माओवादी बनाइसकेपछि ड्यास माओवादीको मुल नेतृत्व कमरेड किरणले हाँक्नुभयो । किरण नेतृत्वको पार्टीमा जुन स्प्रिडका साथ विद्रोह गरेका थियौं । क्रान्तिकारीहरुमा अपेक्षा जगाएको थियो । तर क्रान्तिकारी कार्यदिशा कार्यान्वयन गर्नतिर अघि बढ्न सकेन । अन्ततः न अगाडि बढ्ने न पछाडि हट्ने स्थितिमा गएर नेतृत्व अकर्मन्यतामा फस्यो । गतिहिनताको स्थिति पैदा हुन पुगेपछि युवा नेता विप्लवको नेतृत्वमा हामी फेरि अगाडि बढेकै हो ।
राष्ट्रिय सम्मेलन गरियो, प्रथम राष्ट्रिय सम्मेलनबाट एकीकृत जनक्रान्तिको कार्यदिशा पनि पारित गर्यो । पार्टी गठन गरेको तथा एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गरेको १८ महिना बितिसक्दा पनि कुनै गति पैदा हुन सकेन । त्यो पार्टीको दिशा पनि गोलचक्करमै फस्यो । तर पनि तुलनात्मक रुपले अन्य कम्युनिष्ट घटकभन्दा विप्लव माओवादी क्रियाशील नै रह्यो ।
विप्लवप्रति हामीले जुन अपेक्षा गरेका थियौं, त्यो काम पनि गर्ने देखिएन । हाम्रो वैधानिक आन्दोलनको खाका के हो र अवैधानिक आन्दोलनको खाका के हो भन्ने स्पष्ट खाका दिनुपथ्र्यो तर उनले स्पष्ट क्रान्तिको खाका आम जनता र आम कार्यकर्तामा दिन सकेनन् । हाम्रो सैन्य कार्यदिशा के हो र कसरी हामी अगाडि जान्छौं र क्रान्तिलाई सम्पन्न गर्छौ भन्ने कुरा स्पष्ट पार्न त्यो पार्टीले पनि सकेन । जब हामी जनताको बीचमा जान थाल्यौं । जनताकोबीचमा गएर क्रान्तिको कुरा गर्न थाल्यौं, हामीलाई जनताले विश्वास गर्न सकेनन् । तपाईँहरु पनि प्रचण्ड र बाबुराम जस्तो बन्नु हुन्न भन्ने के ग्यारेन्टी भने जनताले प्रश्न उठाए ।
फेरि पनि सशस्त्र क्रान्ति गर्छौ भनेर जनतामाझ जाँदा के प्रश्न उठाए त जनताले ?
त्यतिठूलो जनमुक्ति सेनाको फर्मेशनलाई बुझायौ र विघटन गर्यौ । जनताको रगत पसिनाबाट साटेर ल्याएको हतियार थियो, जनताको कुनै उपलब्धीबिना र, जनतालाई अधिकार सम्पन्न नबनाएर त्यो हतियार पनि बुझायौ । सबैभन्दा ठूलो पार्टी बनाएर संविधानसभाको निर्णायक ठाउँमा पुर्यायौं तर त्यस्तो अवस्थामा पनि जनताको संविधान दिन सकेनौ । आफ्नै एजेण्डा बोकेको संविधानसभा आफ्नै हातबाट अवसान गरायौ, विघटन गरायौ र अर्को प्रायोजित संविधानसभाको निर्वाचन गरायौ । प्रायोजित संविधानसभाबाट विगतको संविधानसभाले गरेको जनपक्षीय निर्णयहरुलाई रद्दिको टोकरीमा फालेर जनविरोधी एजेण्डा समेटेर जनविरोधी संविधान घोषणा गरायौ जस्ता जनताले प्रश्न तेर्साए ।
संविधानमा केही सकारात्मक पक्षहरु प्नि होलान् । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता सकारात्मक पक्षहरु यो संविधानमा छन् । तापनि जनताको मौलिक अधिकारको सवालमा यो संविधान त्यति स्पष्ट छैन । जसको परिणाम स्वरुप जनजाति, थारुवान, मधेसी आन्दोलन चर्किरहेको छ । सबै पक्ष असन्तोष स्थितिमा रहिरहेका छन् । यस्तो अवस्थामा तिमिहरु अब फेरि क्रान्ति गर्छौ ? भन्ने जनताले प्रश्न गर्न थाले । त्यो प्रश्नको जवाफ दिने हामीसँग अर्को कुनै उपाय भएन । उनीहरुले माओवादी धारालाई एक पटक सहयोग गर्छौं तर माओवादीहरु एक ढिक्का हुनुपर्छ भन्ने जनमत देखियो । माओवादीहरु एक नभएसम्म विश्वास गर्ने स्थिति देखिएन । विगतमा हाम्रो लगानी भएको हुनाले माओवादीहरु एक ढिक्का भए भने एक पटक फेरि हेर्छौैं भन्ने आम नागरिकको चाहना छ । फेरि एक ढिक्का भएर क्रान्ति गर्ने प्रतिवद्धतासहित हामीलाई विश्वास दिलायो भने आफूले गरेका कमी कमजोरी आत्मलोचित भएर काम गर्ने प्रतिवद्धता माओवादीले जाहेर गर्यो भने हामी माओवादीलाई सहयोग गर्न र साथ दिन तयार छौं भन्ने जनताको भावहरु हामीले बुझेपछि हामीले एकताको आवश्यकता ठान्यौं । र एकताको पहल गरी १० वटा घटकलाई एक ठाउँमा ल्याएर माओवादी केन्द्र निर्माण गरेका हौं । तपाईँको कुराले त क्रान्ति गर्न सकिन्न भनेर नै फेरि प्रचण्डसँग नै आत्मसमर्पण गर्न पो आइपुग्नु भएछ होइन ?
यो आत्मसमर्पण होइन । प्रचण्ड कमरेड जुन स्थितिमा पुग्नु भएको थियो, हामी ठ्याक्कै त्यहि अवस्थामा गएका होइनौं र हामी जुन अवस्थामा अगाडि बढेका थियौं, त्यो अवस्थामा प्रचण्ड कमरेड आउनु भएको पनि होइन । हामीले १३ बुँदे सहमति गरेका छौं । १३ बुँदे सहमतिले प्रचण्ड कमरेडहरु एक स्टेपमाथि उठ्नु भएको छ । किनभने एउटा चरणमा गएपछि बल प्रयोगको सिद्धान्तमा पुग्नुपर्ने हुन्छ । एउटा चरणमा गएर तयारी पूरा गरी बल प्रयोगद्वारा नै सत्ता कब्जा गर्नुपर्छ भन्नेमा कुरामा प्रचण्ड कमरेडहरु सहमत हुनुहुन्छ । बल प्रयोगद्वारा नै सत्ता प्राप्त हुन्छ भन्ने मान्यता भनेको माक्र्सवादी मान्यता नै हो । माक्र्सवादी मान्यता रहुन्जेलसम्म त्यसलाई संसदवाद वा मिलेराबाद भन्न मिल्दैन । त्यसकारण उहाँहरु केही हदसम्म माथि उठ्नु भएको छ । हामी हदबाट अलि पछि हटेका हौं । हाम्रो मिलन बिन्दु भनेको शान्तिपूर्ण तरिकाले अघि बढ्नु तथा सडक आन्दोलनलाई प्राथमिकता दिने नै हो । सदन र सरकारलाई सहायक बनाएर तयारीमा जाउँ भन्नेमा हामी सहमत छौं । एउटा चरणमा पुगेर सशस्त्र या बल प्रयोगको सिद्धान्तलाई प्रयोग गरेर जनताको बलबाट नै कम्यनिष्ट सत्ता स्थापना गर्ने भन्ने लक्ष्य र उद्देश्यका साथ नै हामीले एकता गरेका हौं ।
उसोभए, तपाईँहरु संसदवाद चाँही स्वीकार गर्नु नै हुँदैन ?
हामी संसदबाद कदापी स्वीकार्दैनौं । संसदबादको विकल्प जनवाद नै हो । जनवाद ल्याउने तरिका भनेको राष्ट्रिय स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउँदै नयाँ जनवादी क्रान्तिको आधारभूत र सारभूत कुरा पूँजीवादी जनवादी क्रान्तिलाई सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने नै यसको विकल्प हो ।
तपाईँहरुले नै प्रचण्डलाई नवसंशोधनवाद र दक्षिणपन्थी अवसरवाद भन्नु भएको थियो, अहिले चाँही कसरी करेक्सन गर्नुभयो ?
हेर्नुस्, कुनै चिज संसारमा स्थायी हुँदैन । हरेक चिज गतिशील हुन्छ । त्यसैले विचारहरु पनि जडतामा बुझ्नु हुँदैन । त्यो विकासमा बुझ्नुपर्छ । त्यसकारण विचार वा सिद्धान्तलाई जडसुत्रवादी तरिकाले बुझ्यो भने हामी क्रान्तिकारी हुन सक्दैनौं । त्यसकारण विचार र सिद्धान्तको प्रयोगमा नै त्यसको विकास हुन्छ भन्ने मान्यतालाई हामीले बुझ्नुपर्छ ।
दश वर्षको जनयुद्धमा हामीले माक्र्सवाद, लेनिनबाद, माओवादको हामीले प्रयोग गर्यौं, त्यही प्रयोगबाट नेपाली धर्तिमा नयाँ विचारको विकास अनिवार्य छ । त्यसकारण विकासको विचारको प्रक्रियामा जिकज्याक हुँदै अगाडि बढ्नु स्वभाविक हो । त्यतिबेला दक्षिणपन्थी रुझान अलि हावी हुन गएको स्थिति हो भने अब बामपन्थी रुझान हावी हुने स्थिति पैदा हुन थालेको छ । त्यसले गर्दा नव संशोधनवाद वा अवसरवाद भनेर एक अवस्थामा हामीले संश्लेषण गरेका थियौं, अहिले करेक्सन भएर आफ्ना कमीकमजोरीहरुबाट आत्मलोचित हुँदै अघि बढ्ने साहस र आँट प्रचण्डले गर्नु भएको छ ।
तपार्इँ जस्तो कम्युनिष्ट विचार बोक्ने पुरानो मान्छेमा यो त ढुलमुले कुरा भएन र ?
हो, म कम्युनिष्ट आन्दोलनको २०२१ सालमा पार्टी सदस्यता लिएको ब्यक्ति हँु । त्याहाँदेखि अहिलेसम्म नेपाली कम्युनिष्ट आन्दोलनको म प्रत्यक्ष जिउँदो साक्षी हुँ । यो दौरानमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व पंक्तिलाई नजिकबाट बुझ्ने अवसर पाएँ, त्यसमा सबैभन्दा राम्रो र इमान्दार नेताको रुपमा मैले कमरेड पुष्पलाललाई मान्छु । त्यसपछिका नेताहरुकोबीचमा अध्ययन गर्दै मोहनविक्रम, निर्मल लामा लगायत थुप्रै पुराना नेताहरुलाई मैले नजिकबाट बुझ्ने मौका पाएको छु । मनमोहन अधिकारीलाई चार पाँच दिन मैले नै कोठामा राखेर सेवा गर्ने मौका पाएको थिएँ । पुराना नेताहरुसँग मैले जति पनि संगत गरेँ, ती नेताहरुले अरुलाई उपदेश दिने काम मात्र गर्ने आफ्नो ब्यवहारमा लागू गरेनन् ।
कम्युनिष्ट नेताहरुमा एकातिर सबैले अरुलाई उपदेश दिने तर आफ्नो जीवनमा त्यसलाई लागू नगर्ने र अर्कातिर अरुले गल्ति गर्यो भने त्यसलाई कारबाही गर्ने, आत्मालोचित गराउने तर आफूले गल्ती गर्यो भने कहिल्यै पनि आत्मालोचित नहुने जुन खालको विरासत थियो, त्यो विरासतलाई प्रचण्डले तोड्नु भएको छ । कम्युनिष्ट आन्दोलनमा मैले कहिल्यै पनि यस्तो नेता भेटाएको थिइन । आफूले गरेका गल्ती, कमीकमजोरीहरुलाई स्पष्ट रुपमा राख्ने ब्यक्ति भनेकै प्रचण्डलाई भेट्टाएँ ।
आफू चिप्लिएँ, आफ्नो वर्गलाई छाडेर अर्को वर्गप्रति विश्वास गरेंँ, अरुको चिप्लाकुरामा म भुलेँ । जसले गर्दा ममा विचलन आयो, त्यहि विचलनका कारणले पार्टी टुक्रा भयो । त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु, गम्भीर आत्मालोचित हुन्छु भनेर प्रचण्डले स्वीकार गरेको कुरा ऐतिहासिक र महानता छ ।
आखिर तपाईहरुले भनेजस्तो सबै माओवादी एक हुन त सकेनन् नि, बरु तपाईँहरुलाई दक्षिणपन्थी हावाहुरी र अवसरवादको पिछलग्गु पो भन्ने आरोप लाग्या छ ? होइन र ?
उहाँहरुले सतही रुपबाट हेर्दा त्यस्तो लाग्न सक्छ, तर वास्तबमा देशको बस्तुगत परिस्थिति भने फरक छ । अहिले पुरानै तरिकाले क्रान्ति सम्भब छैन । यसको निम्ति बिचारको बिकाश अनिबार्य छ । नयाँ बिचारको बिकाश गरेर नयाँ राजनीतिक कार्यदिशाको बिकाश गर्ने र नयाँ रणनीति र कार्यनीतिको तय गरेर संघर्षको योजनाहरु बनाएर अगाडि बढे मात्रै क्रान्ति गर्न सकिन्छ । त्यसैले उहाँहरुले जुन आरोप लगाउनु भएको छ त्यो आरोपको कुनै सत्यता र दम हामी देख्दैनौं । हामी आफै करेक्सन भएर (सुध्रिएर) नेपाली क्रान्तिको बिचारधारात्मक राजनीतिक कार्यदिशा सहि निर्माण गरेर अगाडि बढ्ने क्रममा गयांै भने ढिलोचाँडो उहाँहरु पनि हामीसँग एकता गर्नु आउनु हुन्छ भन्नेमा हामी बिश्वस्त छौं ।
प्रचण्ड कमरेडलाई बाबुरामप्रति जुन डर थियो त्यही पूर्ति गर्नका लागि तपाईँहरुलाई एकतामा ल्याएको हो भन्ने जस्तो लाग्दैन ?
त्यस्तो त मलाई लाग्दैन । किनभने बाबुरामले त माक्र्सबाद, लेनिनबाद र माओवाद नै छाडेर साम्राज्यबादको पछिल्लो सन्तानको रुपमा नवउदारवादको बिकाश गर्ने दिशामा लागिपर्नु भएको छ । साम्राज्यबादको अन्तिम चरणको अवस्था भनेको नै नवउदारवाद हो । त्यही नवउदारबादको नेतृत्व गर्ने पात्रको रुपमा बाबुराम अगाडि बढ्नु भएको देख्दा हामीलाई दुःख लागेको छ । दश बर्षको जनयुद्ध र त्यसको प्रक्रियामा उहाँको पनि देन छ । बाबुराम एउटा महत्वपूर्ण नेता हो, उहाँले पनि नेतृत्व गरेर आउनु भएको थियो । प्रचण्ड, बाबुराम, किरण, बादल उहाँहरु सबैले नेतृत्व गरेर आउनु भएको महान जनयुद्ध हो । जनयुद्धको प्रक्रियामा खटेको लडेको नेता अहिले शान्ति प्रक्रियामा आएर साम्राज्यबादको अन्तिम पतनको अबस्थामा नबउदारबादको पात्र बन्न जानु दुखद कुरा हो । बिशेषतः बाबुरामलाई मैले नै पार्टीमा समाबेश गरेको हुँ । उहाँहरु दुई जना हिसिला र बाबुरामको बिबाह बन्धन पनि हाम्रै नेतृत्वमा गराइदिएका थियौं । उहाँले अन्तिम अबस्थामा आएर निराश भइ साम्राज्यबादको अन्तिम अबस्थामा पतनको अवस्थामा बिकाश भएको नवउदारबादी बिचारको प्रतिनिधित्व गर्नु हुदैन थियो भन्ने मलाई लाग्छ ।
जेहोस्, भोलि चुनाबी प्रतिष्पर्धामा जाने भएपछि बाबुरामसँगै हारिने हो कि भन्ने ड त होला नि प्रचण्डलाई ?
यो संसदीय चुनाबी प्रक्रियामा जित्ने हार्ने भन्ने कुरा साम, दाम, दण्ड, भेदकै सिद्धान्तमा निर्भर गर्दछ ।
त्यस्तो अबस्थामा कसले कसलाई पछार्ने भन्ने कुरा रहेको हुन्छ तर चुनाबी प्रक्रियाको कुरा चाँही ठूलो कुरा होइन । मुल कुरा कुन वर्गको मुक्ति, कुन बर्गको हित भन्ने हुन्छ भन्ने सवाल हो यसमा प्रचण्डको नेतृत्वमा नेकपा माओबादी केन्द्र बिजयी भएर अगाडि बढ्छ भन्ने नै हो ।
फरक प्रसंगमा, तपाईँकै मूल्यांकनमा आफ्नो गल्ति स्वीकार गरेर आउनु भएको महान नेता प्रचण्ड अहिले फेरि कांग्रेसको पिछलग्गु बनेर सरकार बनाउने खेलमा लाग्नु भएको छ भन्ने पो सुनिन्छ नि ?
सैद्धान्तिक बैचारिक रुपले कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजानको निम्ति प्रतिबद्ध भएर अगाडि बढ्ने जो सोच हो जो चिन्तन हो जुन बिकाशको दिशामा अगाडि बढने र माथि उठ्ने जुन प्रयास प्रचण्डले गर्नु भएको छ त्यसको निम्ति हामीले सकारात्मक रुपले लिनु पर्छ ।
अर्को कुरा केही राजनीतिक ट्याक्सिटसहरु पनि हुन्छन् । बिशिष्ट अबस्थामा सरकारको प्रयोग उपयोग गर्ने, देश जनताकै हितमा जनयद्धको उपलब्धीको रक्षाको हितमा उहाँले जुन ट्याक्टिस गर्नु हुन्छ , त्यो ट्याक्टिसहलाई आधार बनाएर काग्रेस पिछलग्गु बन्नुभयो भन्न उपयुक्त हुदैन । कम्युनिष्टहरुको रणनीति र कार्यनीति दुईटा ट्याक्टिसहरु हुन्छन । रणनीतिको सेवा गर्ने कार्यनीति २४ घण्टा भित्रमा पनि फेरबदल गर्न सकिन्छ भन्ने मान्यता छ । त्यसो भएको हुनाले उहाँले खेल्ने ट्याक्टिसहरुलाई आधार बनाएर उहाँको जुन सैद्धान्तिक बैचारिक हैसियतलाई नै धुमिल पार्ने खालको मान्छेहरुले आशंका गर्दछन्, त्यो गलत हो ।
रमाइलो कुरा त अहिले बनेको १५ सय जनाको केन्द्रीय समिति बनेको छ । यो चाँही कस्तो खालको ट्याक्टिस हो ?
यो अहिलेको आबश्यकता हो । एकताको भाब दिनको लागि पनि दश वटा घटकहरुलाई एकै ठाउँमा ल्याउँदा स्वतः संख्या बढ्न स्वभाबिक हो । अर्को कुरा हामी निकट भबिष्यमा नै महाधिबेशन गर्न गईरहेका छौ । त्यसैको निम्ति यो आयोजक समिति पन्ध्र सयको हुनु कुनै ठूलो कुरा होइन । हामीले पाँचहजार भन्दा बढि सदस्यको आयोजक समिति पनि बनाएको देखेका छौ । त्यसकारण यो केन्द्रीय समिति होइन यो महाधिबेशन आयोजक समिति हो । हामी मंसिर र पुसकोबीचमा एकता महाधिबेशन गर्ने र नयाँ बिचारको सष्लेषण गर्ने भन्ने प्रतिबद्धता हामीले १३ बुदाँमा नै सहमति गरिसकेका छौं । एकता महाधिबेशन सम्मको लागि यो संख्यालाई अचम्मै मान्नु पदैन भन्ने मलाई लाग्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: