भैरहवा, १० साउन । रोजगारीको नाममा जोखिम मोलेर भारत तथा भारत हुँदै तेस्रो मुलुक जान लागेका ३ हजार ७ सय ९६ जना किशोर–किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसारबिरूद्ध सक्रिय संस्था केआई नेपालले उद्धार गरेको छ ।
के.आई नेपाल रूपन्देहीले गत आर्थिक वर्षमा जोखिम मोलेर सीमा नाका बेलहिया–सुनौली हुँदै भारत तथा भारत हँुदै तेस्रो मुलुक जान लागेका ३ हजार ७ सय ९६ जनालाई उद्धार गरेको हो ।
घरपरिवारको सल्लाह बिना भारत जान लागेका यी मध्ये २ सय ६१ जनालाई सूचना तथा परामर्शपछि अभिभावकको जिम्मा लगाइएको छ ।
त्यस्तै दलालको विस्वाशमा परी बेचबिखन तथा यौन शोषणमा पर्न सक्ने बढी संभावना भएका २ सय २२ जनालाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।
अघिल्लो वर्ष वैशाखमा गएको महाभूकम्पका कारण आफन्त गुमाएका तथा घरबारबिहीन भएकाहरू बाध्यताबस असुरक्षित रूपमा भारत तथा भारत हुँदै असुरक्षित रूपमा तेस्रो मुलुक जाने बढी रहेको के.आई नेपाल रूपन्देहीकी संयोजक तारा सापकोटाले जानकारी दिइन् ।
उनका अनुसार अरू वर्षको तुलनमा भूकम्पपछि असुरक्षित रूपमा रोजगारीको नाममा विदेशिने किशोरी तथा बालबालिकाहरूको संख्या बढेको छ । जसमा भूकम्प प्रभावित जिल्लाहरू मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, गोर्खा लगायतका छन् ।
मानवबेचखिन बिरूद्धका ४ मुद्दा दर्ता
यस्तै गत आर्थिक वर्ष २०७२/७३ मा मानवबेचखिन बिरूद्धका ४ वटा मुद्धा दर्ता गराइएको संयोजक सापकोटाले बताइन् । रोजगारीको प्रलोभन देखाएर किशोरीहरूलाई बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागेका उनीहरूलाई प्रहरीको सहयोगमा पक्राउ गरी मुद्दा दर्ता गरिएको हो ।
सीमाबाट उद्धार गरिएका आठ जनालाई संस्थाले सञ्चालन गरेको सिपमूलक तालिमका लागि तालिम केन्द्रमा पठाइएको उनले बताइन् । तालिम केन्द्रमा बुटिक तथा सिलाई कटाई तालिम दिइन्छ ।
मानव बेचबिखन तथा ओसार पोसारको बिरूद्धमा कार्यरत के.आई नेपालले विदेश जानेलाई सीमामा सूचना तथा परामर्श सेवाका साथै तालिम तथा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । संस्थाले रूपन्देहीको देवदहमा समूह गठन, समूहमा आवद्धलाई पुँजी परिचालन, बचत गर्ने बानीको विकास तथा सिपमूलक तालिम दिँदै आएको छ ।
देवदहमा १२ वटा समूह गठन गरी कार्यक्रम सञ्चालन भइरहेको छ । महिलामाथि हुने हिंसा न्युनिकरण तथा मानव बेचखिन अन्त्य गर्ने उद्देश्यले विद्यालयहरूमा समेत सचेतनामूलक कार्यक्रम संचालन गर्ने गरिएको संयोजक सापकोटाले जानकारी दिइन् ।
प्रतिकृया लेख्नुहोस्: