प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा
भाद्र ६ गते, २०७३ सोमवार 22nd August, 2016 Mon११:३५:१९ मा प्रकाशित
चितवन, ६ भदौ । स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् ।
सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गर्ने र निजी एवम् अर्को सामुदायिक क्याम्पसमा पढाउन जाने प्रचलन बढेपछि स्थानीय प्रशासनले त्यस्ता प्राध्यापकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
निगरानी बढाएसँगै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुराना सातजना प्राध्यापकले राजीनामा दिएका छन् । सहायक क्याम्पस प्रमुख धर्मराज घिमिरेका अनुसार क्याम्पसको स्थापनादेखि नै कार्यरत प्राध्यापकले समेत राजीनामा दिएका छन् । सोही सिफ्टमा सरकारी क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका उनीहरुले प्रशासनको निगरानीपछि राजीनामा दिएका हुन् ।
त्यसैगरी भरतपुरकै मैयादेवी कन्या क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखसहित पाँचजनाले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख कृष्ण न्यौपानेका अनुसार वीरेन्द्र क्याम्पसमा एउटै सिफ्ट परेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिएलगत्तै राजीनामा स्वीकृत गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताए । स्थापनाकालदेखिका प्राध्यापक भएकाले धेरै सुविधा खाने प्राध्यापकले छाडेसँगै क्याम्पसको व्ययभारमा समेत कटौती भएको छ ।
अर्को बालकुमारी क्याम्पस नारायणगढमा कार्यरत दुईजना प्राध्यापकले पनि राजीनामा दिएको क्याम्पस प्रमुख शिव पौडेलले बताए । उनले भने –“दुईजनाले यहाँ छोडेर वीरेन्द्र क्याम्पसमा पढाउन थाल्नुभयो, एकजनाले वीरेन्द्र क्याम्पस छोडेर यहाँ मात्रै पढाउन थाल्नुभएको छ ।”
त्यस्तै सरकारी स्वामित्वको स्कुल अफ हेल्थ साइन्स भरतपुरमा पढाउँदै आएका केही प्राध्यापक हाजिर गर्न जान छाडेको प्रिन्सिपल अच्युत दाहालले बताए । अहिले कक्षा सञ्चालन नभएकाले हाजिरमात्रै गर्नुपर्नेमा अन्य क्याम्पसमा पूर्णकालीन भएकाले हाजिर गर्न नमिल्ने भन्दै केही प्राध्यापक हाजिर गर्न आउन छाडेका छन् उहाँले भन्नुभयो । उनीहरुको तलब रोक्का गरिएको छ ।
नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनका अध्यक्ष कृष्ण सुवेदीले क्याम्पसहरु स्वयम्ले गर्नुपर्ने निगरानी प्रशासनले गर्नु सकारात्मक रहेको बताए । आफू क्याम्पस प्रमुख रहेको सहिद स्मृति कलेजमा भने गतवर्षदेखि नै यसमा कडाइ गरिएकाले अहिले कसैले राजीनामा दिनु नपरेको बताए ।
यसको प्रत्यक्ष प्रभाव जिल्लाका निजी उच्च माविहरुमा पनि परेको छ । अधिकांश वीरेन्द्र बहुमुखी क्याम्पस पढाउने प्राध्यापकले यहाँका निजी उच्च मावि सञ्चालन गरेका छन् । सिफ्ट मिलाउन सक्नेबाहेक अधिकांशले निजी पढाउन नपाउने भएपछि उच्च माविहरुले प्राध्यापकको रुटिङ मिलाउन कठिन भएको जनाएका छन् ।
निजी उच्च माविहरुको संस्था ९हिसान० चितवनका अध्यक्ष भूपेन्द्र धितालले कतिपय निजी उच्च माविको जिम्मेवारीसमेत सरकारी एवम् सामुदायिक क्याम्पसका प्राध्यापकले सम्हालेको भन्दै यसले प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । यद्यपि विधि सिकाउने प्राध्यापक एकै समयमा दुई ठाउँमा पढाउन जानु आफैँमा लाजमर्दो भएकाले प्रशासनले गरेको निगरानी स्वागतयोग्य रहेको बताए । विज्ञान विषयका केही प्राध्यापकहरु भने पाउन कठिन हुने हुँदा समस्या पर्ने उनले बताए ।
स्थानीय प्रशासनले एकै सिफ्टमा दुई वा सोभन्दा बढी ठाउँमा पढाउने प्राध्यापकमाथि कारबाही गर्ने जनाउँदै सबै क्याम्पसबाट रुटिङ मागेपछि प्राध्यापकहरुले राजीनामा दिन थालेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: