अहिले संविधान संशोधन हुँदैन, गरिँदैन, सकिँदैन भन्न जति सजिलो छ, संविधान कार्यान्वयन भएन भने त्यसबाट निम्तने परिणामको सामना गर्नु त्यति नै चुनौतिपूर्ण छमोर्चाको समेत संलग्नता र सहमतिमा निर्वाचनमा जाने एवं संविधान कार्यान्वयनको मार्ग प्रशस्त गर्ने तयारी अनुरुप यतिबेला सरकार संविधान संशोधनको अन्तिम तयारीमा छ । मोर्चासँग सत्तारुढ गठबन्धन माओवादी कांग्रेसले गरेको तीनबुँदे सहमतिअन्तर्गत संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गर्न बाँकी छ । यद्यपि, प्रचण्ड नेतृत्वको सरकारले प्रारम्भदेखि नै संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल गर्दै आएको छ । [caption id=\"attachment_103016\" align=\"alignleft\" width=\"250\"] बुद्ध लोप्चन[/caption] माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठन हुनुपूर्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मोर्चाको माग पूरा नगरेपछि मोर्चा र सरकारबीचको दूरी बढेको थियो । ओली र मोर्चाका नेताबीच वार कि पारको अवस्था सिर्जना भइरहेकै बेला माओवादी केन्द्रले शान्ति प्रक्रियाका कामलाई ओली नेतृत्वको सरकारले बेवास्ता गरेको भन्दै सरकारको समर्थन फिर्ता लिएको थियो । संशोधनमार्फत आफूहरुको माग सम्बोधन गर्ने जो कोहीलाई समर्थन गर्ने बताउँदै आएका मोर्चा र कांग्रेस, माओवादीबीच मिलेर अघि बढ्ने सहमति भयो । त्यसैअनुरुप संविधानको स्वीकार्यता बढाएर संविधान कार्यान्वयन गर्ने समझदारी पनि भयो । आन्दोलनरत मधेशी मोर्चा र संघीय गठबन्धनको मागलाई सम्बोधन गरी संविधानको स्वीकार्यतालाई फराकिलो कसरी बनाउने भन्ने विषयमा बहस केन्द्रित छ । समयमै संविधान संशोधन भएन भने निर्वाचन हुन सक्दैन, निर्वाचन भएन भने संविधान कार्यान्वयनको वातावरण बन्दैन, जसले देशमा राजनीतिक र संवैधानिक संकट निम्त्याउने खतरा बढेर जान्छ । तर, प्रतिपक्षी दल नेकपा (एमाले) ले यति गुरुत्वपूर्ण सवाललाई गम्भीरतापूर्वक लिन सकिरहेको छैन ।
एमालेले संविधान संशोधनको आवश्यकता र औचित्य खोज्नु आफैँमा लज्जास्पद विषय थियो । कारण, ओली नेतृत्वको सरकारले पनि मोर्चालाई हातमा लिएर संशोधनमार्फत् मोर्चाको माग पूरा गर्ने प्रयास गरेकै थियो ।सरकार गठनपूर्व गरेको सहमति उल्लंघन गरेको भन्दै माओवादी केन्द्र त्यसका नेतृत्व प्रचण्डले ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गरेपछि ओली र प्रचण्डबीचको दूरी बढ्यो । मधेसी मोर्चालाई सहमतिमा ल्याई संविधान कार्यान्वयनमा जुट्नुपर्ने बेला एमाले गैरजिम्मेवारीपूर्ण ढंगबाट पछि हट्यो र उसले संविधान संशोधनको औचित्य र आवश्यकता खोज्न थाल्यो । हिमाल, पहाड र तराईबीच सद्भावपूर्ण सम्बन्ध निर्माण गर्नु, राष्ट्रिय एकता सुदृढ गर्नु र संविधान कार्यान्वयन गर्नु मुलूककै सर्वाधिक महत्वको आवश्यकता र औचित्य हो भन्ने कुरा अझै पनि एमालेले बुझ्न सकिरहेको छैन । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले मोर्चालाई सहमतिमा ल्याउने प्रयास नगरेको होइन । तर, ओलीको आफ्नै अडानका कारण उनीहरुबीचको दूरी झन्झन् बढ्दै गएको थियो । त्यसैको बीचमा मोर्चाले ओली सरकार ढाल्न सहयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिन थालेपछि ओलीले मोर्चाको मागलाई विदेशीको मागको संज्ञा दिँदै व्यक्तिगत माग सम्बोधन हुन नसक्ने बताउँदै आए । र उसले संविधान संशोधन आफ्नो पार्टीको समर्थनमा नहुने अडान राख्दै संशोधन प्रक्रियामा सहभागी नहुने प्रशस्त संकेत देखायो । एमालेले संविधान संशोधनको आवश्यकता र औचित्य खोज्नु आफैँमा लज्जास्पद विषय थियो । कारण, ओली नेतृत्वको सरकारले पनि मोर्चालाई हातमा लिएर संशोधनमार्फत् मोर्चाको माग पूरा गर्ने प्रयास गरेकै थियो । र उसले पहिलो प्रयास स्वरुप मोर्चालाई मनाउन मोर्चाको मागमध्येका एक समानुपातिक समावेशितालाई संविधान संशोधनमार्फत पूरा गर्यो । एमालेले त्यतिबेला न संशोधन औचित्य खोज्यो न आवश्यकता नै । तर एमाले जब प्रतिपक्षीको भूमिकामा पुग्यो, उसले संशोधनको आवश्यकता र औचित्य खोज्न थाल्यो । त्यसको फलस्वरुप प्रचण्ड नेतृत्वको सरकारले सरकार गठनको झण्डै साढे तीन महिना एमालेलाई आवश्यकता र औचित्य बुझाउन बिताएको छ । संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति जुट्ने आशा राख्ने प्रधानमन्त्री प्रचण्डको आशा अनुरुप पछिल्लो दिनमा प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँग संवादको ढोका खुलेको छ । संविधानको स्वीकार्यता बढाउने र देशलाई राजनीतिक प्रणालीमार्फत् विकासको गन्तव्यमा अगाडि बढाउने प्रचण्ड नेतृत्वको सरकारको प्रयास परिणाममूखी दिशातिर जाँदैछ, यसले छिटै सहमतिको वातावरण बन्ने र देश निर्वाचनमा होमिने परिस्थिति निर्माण हुँदैछ । आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउनु यतिबेलाको राष्ट्रिय कार्यभार हो । प्रचण्ड नेतृत्वको सरकारले त्यसैलाई प्राथमिकतामा राखेर मुलुकका असन्तुष्ट पक्षसँग निरन्तर संवाद गरिरहेको सर्वविदित्तै छ । नयाँ संविधानप्रति असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चा, थारु, आदिबासी जनजाति, महिला, दलित लगायत सबैको माग सम्बोधन गर्नु प्रमुख राजनैतिक दलको कर्तव्य हो । उनीहरुको माग सम्बोधन गर्नु केवल सरकारको नेतृत्वकर्ता प्रचण्ड र उनी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रको मात्रै कर्तव्य होइन । यसो नगर्दा देश अनिर्णयको बन्दी बन्ने कुराप्रति जिम्मेवार नेताहरु संवेदनशील बन्नैपर्छ । नेपालको सीमानाभित्र बसोबास गर्ने हरेक समुदायले उठाएको जायज मागलाई कुनै पनि ढंगबाट सम्बोधन गर्नु राजनैतिक दलको कर्तव्य हो । तर कुनै पनि समुदायले उठाएको मागलाई सम्बोधन गर्नुको साटो त्यसलाई अन्य देशका नागरिकको मागको संज्ञा दिई जिम्मेवारीबाट पन्छिनु केवल गैरजिम्मेवारीपनको गतिलो उदाहरण बाहेक अरु केही हुन सक्दैन । त्यसमाथि सदियौदेखि उत्पीडनको महसुस गरेका नागरिकलाई आत्मस्वाभिमानको प्रत्याभूति गराउनु राज्यको प्राथमिक दायित्व पनि हो । जतिबेला नयाँ संविधान जारी हुँदै थियो, त्यति नै बेला देशमा मधेशी, थारु, आदिवासी जनजाति लगायतले संविधानप्रति असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिरहेका थिए । संविधान संशोधनमा आलटाल गरिरहेका अहिलेका प्रमुख राजनीतिक दलका नेताहरुले त्यतिबेला आन्दोलनरत पक्षलाई संविधान एक गतिशील दस्तावेज भएको भन्दै नसमेटिएका विषयवस्तुहरु संशोधनमार्फत सम्बोधन गर्न सकिने बताए । संविधानलाई गतिशील दस्तावेजकै अर्थमा स्वीकार गरिएका कारण २ पटक संशोधनको प्रक्रिया पुरा भएको छ । यद्यपि, त्यसले राष्ट्रिय एकताको आवश्यकतालाई अझै सुदृढ गर्न सकिरहेको छैन, यस्तो अवस्थामा तेस्रो संशोधन राष्ट्रिय एकता र संविधान कार्यान्वयनका लागि अनिवार्य बन्दै गएकोमा सायदै बिमति नहोला । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संविधान संशोधनलाई सकारात्मक रुपमा मात्र लिएका छैनन्, उनीहरु प्रमुख प्रतिपक्षी एमाले र मोर्चालाई सहमतिमा ल्याई संशोधन गर्ने तयारीमा छन् । तर नेकपा एमालेले हिजो गरेका बाचा र प्रतिबद्धतालाई बिर्सेर संशोधनको औचित्य र आवश्यकता मागेर देशलाई अस्थिरतातिर धकेल्न खोजेको छ भन्दा अनुपयुक्त होइन । यदि एमालेले देशलाई अस्थिरतातिर धकेल्न खोजेको होइन भने संशोधनमा एमालेले किन अनिच्छा देखाइरहेको छ ? प्रश्नको विषय छ । संविधान कार्यान्वयन आजको अनिवार्य आवश्यकता हो । संविधान कार्यान्वयनका लागि निर्वाचनको वातावरण निर्माण गर्नु पूर्वशर्त हो । जबसम्म निर्वाचनको वातावरण बन्दैन, तबसम्म संविधान कार्यान्वयनको ढोका खुल्दैन । मधेशका जायज र अर्थपूर्ण मागलाई सम्बोधन नगर्ने हो भने उनीहरुले निर्वाचन स्वीकार गर्ने परिस्थिति बन्दैन । यसले देशलाई अनिर्णयको बन्दी मात्र बनाउने छैन, देशमा गम्भीर राजनीतिक तथा संवैधानिक संकट पनि सँगै निम्त्याउने छ । यस्तो जटिल परिस्थितिमा प्रमूख दल र शीर्ष नेताहरुले आफ्नो व्यक्तिगत तुष्टि, दलीय स्वार्थलाई माथि राख्छन् कि देशको राजनीतिक निकास र प्रणाली स्थापित गर्ने प्रश्नलाई माथि राख्छन् ? आजको सर्वाधिक महत्वपूर्ण सवाल यही हो । अहिले संविधान संशोधन हुँदैन, गरिँदैन, सकिँदैन भन्न जति सजिलो छ, संविधान कार्यान्वयन भएन भने त्यसबाट निम्तने परिणामको सामना गर्नु त्यति नै चुनौतिपूर्ण छ । यस दिशामा प्रमूख दल र मूख्यतयः प्रतिपक्षी दल एमालेले गम्भीरतापूर्वक सोच्न ढिलो भइसकेको छ । (प्रेस सेन्टर नेपालमा आबद्ध लेखक लोप्चन कानुनमन्त्री अजयशंकर नायकका प्रेस संयोजक हुन् ।)
प्रतिकृया लेख्नुहोस्: