फाल्गुन ४ गते, २०७१ सोमवार 16th February, 2015 Mon१५:२९:५९ मा प्रकाशित
संसदमा जिब्रो छँदाछँदै गरिने बाहुबली चलखेल हिजोको होस् वा आजको, त्यो कदापि स्वीकार्य छैन, त्यो त्याज्य छ, त्यो निन्दनीय छ
लोकप्रिय लोकोक्ति भन्छ— विचारवान् मानिसले जिब्रो छँदाछँदै हात चलाउनु बुद्धिमानी होइन । तर सँगसँगै यसको वैकल्पिक भनाइ पनि हाजिर छ— रिस उठेका बेला बाहुनले वेद पढ्दैन । यो भनाइमा अन्तर्निहित अभिप्राय के हो भने रिस उठेका बेला शास्त्रको ठेकेदार भइखाएको बाहुनले पनि बुद्धिबल होइन, बाहुबलकै सहारा लिन्छ । बाहुबल मानिसले विकासक्रममा पशु जगत्बाट लिइआएको आदिम वृत्तिको संस्कारजन्य अवशेष हो । बुद्धिबल त विकासक्रममा धेरैपछि अस्तित्वको संघर्षमा प्रारम्भिक प्रविधिको विकास सँगसँगै पैदा भएर सुस्त गतिमा विकसित हुँदै आएको मानवीय विशिष्टता हो । जब आक्रोश र क्रोधको तीव्र र उग्र आवेगलाई शब्दमा व्यक्त गर्न जिब्रो असमर्थ हुन्छ तब त्यो आवेग मुड्कीधारी हातको माध्यमले अभिव्यक्त हुन्छ । बाहुबल स्वभावत: कडा हुन्छ । बाहुबलको चलखेल भयो कि तत्काल केही न केही क्षति भइनै हाल्छ । अस्ति सत्ता संघर्ष चुलिएर तनावको आँधी उठेको क्षणमा कथित संविधानसभामा प्रतिपक्षको वृत्तमा बाहुबल क्रियाशील भयो, र केही न केही क्षति भइहाल्यो । केही कटु वचनहरु प्रयोग भए, केही फर्निचर विकलाङ्ग भए, र आफ्नो अनिष्ट कर्मको फलस्वरुप बाहुबलीहरुका नाक अलिकता काटिए पश्चिमा विकसित पूँजीवादी मुलुकहरुका संसदमा हम्मेसी बाहुबलको चलखेल हुँदैन । पश्चिममा बुद्धिबलको इतिहास अपेक्षाकृत लामो छ, र नै बुद्धिबल तैबिसेक समुन्नत छ । त्यताका संसदहरुमा आक्रोश र क्रोधका उत्ताल आवेगहरुलाई वशमा राखेर शब्दको माध्यमले अभिव्यक्त गर्ने अभ्यासबाट खारिएको वाचाल जिब्रो समर्थ छ । यता हाम्रोमा त्यो छैन । बाहुबलको चलखेल त वास्तवमा अल्पविकसित मुलुकहरुका संसदहरुको अभिन्न अङ्ग नै हो । झिनामसिना प्रजातन्त्रका के कुरा, विश्वकै विशालतम् प्रजातन्त्र भनिने भारतको संसदमा प्राय: विशाल कुटाकुट र विशाल विनाश हुन्छ । संसदमा निकै समय कुटाकुट र विनाश नहुँदा मित्रराष्ट्र भारतका सांसदहरुलाई सके जीवन नै रोमाञ्चक घटनाविहीन, केही नभएजस्तो, सुनसान, फिका र त्यसैत्यसै रित्तो लाग्दो हो । त्यसैले जीवनको उच्चाटलाग्दो सुनसानलाई भङ्ग गर्न पनि ती कुटाकुट र विनाशतर्फ हात बढाउँदा हुन् ।
देशको क्षेत्रफल, जनसंख्या, अर्थव्यवस्था, सैन्यबल र अहंकार आदिको विशाल आकारका आधारमा होला शायद, मित्र मुलुक भारतलाई क्षेत्रीय ‘ठूल्दाइ’ भनिन्छ । ठूला घरको ठूलै चाला हुन्छ । त्यसैले त भारतीय संसदमा ठूलै हङ्गामा र ठूलै हात हालाहाल हुन्छ । छरछिमेकका साना भाइहरुले ठूूल्दाइको मति र व्यवहारको सिको गर्नु स्वाभाविकै हो । लेखनाथीय काव्यमा सामन्ती नीतिवचन भन्छ— ‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत’ । यस अर्थमा हाम्रो सान्भाइ संसदको बाहुबल प्रयोग र क्षतिको प्रेरणाश्रोत भारतीय ठूल्दाइ संसद हो । गोर्खे संसदमा यो बाहुबली कर्मका आविष्कारक र थालनीकर्ता माओवादी, मधेशी र जनजाति किमार्थ होइनन् । वास्तवमा यो संसदमा बाहुबली कर्मको प्रथम र जाज्वल्यमान् नजीर तथा दृष्टान्त निर्माताको श्रेय एमालेलाई जान्छ । त्यसपछिको श्रेय जान्छ बाहुबली पथमा एमालेको निष्ठावान् अनुयायी नेपाली कांग्रेसलाई ।
छयालीस सालपछिको कुरा हो । राजतन्त्र कानुनी लिखतमै मात्र भए पनि संवैधानिक भयो, र महेन्द्रको फौजी कूद्वारा बध गरिएको संसदले पुनर्जीवन पायो । सनातनी संसदवादी कांग्रेसको सरकार बन्यो, र नवप्रवेशी संसदवादी एमाले प्रतिपक्षमा नारियो । झापामा वर्गशत्रु भनिने केही जीवात्का गर्धनमा नाङ्गा खुकुरी नचाएर पार्टीको भ्रूण ग्रहण गरी कालान्तरमा एमाले बनेको यो पार्टीका नेतागणका नशानशामा झापाकालीन तातो रगतको धङधङी बाँकी थियो । त्यो तातो रगतमा आक्रोश थियो, क्रोध थियो र सुखानीका व्याधाहरुप्रति प्रतिशोधको ज्वाला थियो । त्यसैले एमालेले संसदमा बाहुबलको तुजुक देखाउँदै गर्नुसम्म ताण्डव गर्यो । संसदमा कुर्सी तोडाइ र माइक फेराइ भनिनसक्नु र गनिनसक्नु भए । यसरी एमालेले बाहुबली पराक्रमको अखाडामा कीर्तिमानै नाथे त कति रच्यो कति † यो हिंस्रक पराक्रमको वेदीमा सडक किनारका सारा रेलिङहरु ध्वस्त भए । सडक छेउछाउका गाराका इँटाहरुको सडकैभरि बिस्कुन लाग्यो । बन्दको हैकमलाई अटेर गर्ने अभागी वाहनहरु त कति जले कति ! यो भयो कमरेड रोहितका शब्दमा संसदमा ‘भाइ कांग्रेस’ले प्रदर्शन गरेको बिछट्टको चर्तिकला । पछि जब चुनावी रेसमा दाइ कांग्रेसलाई उछिनेर ‘भाइ कांग्रेस’को सरकार बन्यो, दाइ कांग्रेसले बाहुबलको प्रदर्शनमा बडो निष्ठापूर्वक आफ्नो प्रिय ‘भाइ कांग्रेस’को बिँडो थाम्यो । यो हो संसदीय राजनीतिको बाहुबली फाँटको हिजोको कथा ।
आज हिजोको उही कथाको प्रेतले मुन्टो उठाएको छ । मुन्टो उठाएको संविधानसभामा हो । यो नाममात्रको संविधानसभा हो, वास्तवमा यसमा संविधानसभाको चारित्रिक विशेषता लेसमात्र पनि छैन । यसमा बहुमत र अल्पमतको प्रस्टाप्रस्टी कित्ताकाट भएको छ । यसमा तर्कयुक्त संवादको प्रयोग होइन, विवाद, आक्षेप, निषेध र मारमुङ्ग्रीको तमासा छ । यो कोलाहलमय सभामा राजनीतिका परस्परविरोधी एजेन्डाहरुको धुवाँधार टक्कर चल्दो छ । एकथरी एजेन्डामा प्रगतिशील परिवर्तनको आकांक्षा छ, अर्कोथरी एजेन्डामा खाइपाइ आएको स्वर्ग यथास्थितिमा जोगाइराख्ने जिद्दी छ । एकथरी एजेन्डामा उत्पीडितहरुको अधिकार र पहिचानको आग्रह छ, अर्कोथरी एजेन्डामा सनातनी वर्चस्ववादीहरुको संकीर्ण स्वार्थको रक्षा गर्ने हठ छ । एउटा राजनीतिको रथ अगाडि तान्न यत्नशील छ, अर्को राजनीतिको रथ पछाडि फर्काउन कटिबद्ध छ । यो उल्टो र सुल्टो, न्याय र अन्याय, प्रगतिशीलता र अगतिशीलता, प्रकाश र अन्धकार एवं समानता र विभेदबीचको भीषण द्वन्द्वमा कथित संविधानसभामा उग्र तनाव पैदा भयो, र यो द्वन्द्वमा उत्पीडितहरुको भाग्य र भविष्यको प्रतिनिधित्व गर्ने पक्षले उत्पीडकप्रति आक्रोश प्रकट गर्ने मेसोमा बाहुबलको प्रयोग गर्यो । केही कुर्सी उभिन्डो परे, केही माइक्रोफोन घाइते भए र केही पूर्व बाहुबलीका कोमल गाथमा माइक्रोफोन प्रहारको हल्का स्पर्श भयो । बस्, सुनिजाने र देखिजानेअनुसार भएको यति नै हो । संसदमा जिब्रो छँदाछँदै गरिने बाहुबली चलखेल हिजोको होस् वा आजको, त्यो कदापि स्वीकार्य छैन । त्यो त्याज्य छ, त्यो निन्दनीय छ ।
अप्रिय बाहुबली हङ्गामाको यो कथा यत्तिकै टुङ्गिदैन । यसको अर्को गम्भीर पाटो छ । कथित संविधानसभामा जब यो ताण्डव भयो, सनातनी वर्चस्ववादीहरुका मथिङ्गलमा करिबन आठ रेक्टर स्केलको भूइँचालो गयो । र, यस फाँटका राजनीतिकर्मी र बुद्धिकर्मीहरु तथा मानवअधिकारवादी र ज्ञानी–मनीषीहरु सन्त र शान्त एवं शालीन र सौम्य मानवीय सद्गुणका जन्मजात पूजकका रुपमा प्रस्तुत भए । र, यस्तो लाग्यो मानौँ ती अहिंसाका परम् उपासक बुद्ध र गान्धीभन्दा पनि बढी बुद्ध र गान्धी हुन् । तिनले आक्रोश र क्रोधको झोँकमा बानेश्वरको सभामा बाहुबलका प्रयोग गर्नेहरुको दानवीय बिम्ब निर्माण गर्न अभिव्यक्तिका सबै माध्यमहरु प्रयोग गरी गर्नुसम्म चेष्टा गरे । मेटिन नमान्ने इतिहास साक्षी छ— राजनीतिका यी तिनै कर्ताहरु र निजका सेवकहरु हुन् जसले निकट अतीतमा विभेद र अन्यायविरुद्ध विद्रोह गर्ने मूल वागीहरुका टाउकाको मोल तोकेका थिए । तिनलाई यिनले आतंककारीको दर्जा दिएका थिए । झोलामा तिनका टाउका लिएर आउन र जल्लादी ज्यालाबापत त्यही झोलाभरि रकम लिएर जान यिनले बडो प्रलोभनकारी सूचना जारी गरेको थिए । तिनको समूल विनाशमा यिनले आफ्नो भूस्वर्गको रक्षा हुने सपना देखेका थिए । पीडकहरुको स्मरणशक्तिको आयु छोटो हुन्छ । त्यसैले होला, हिजोको आजै यिनले आफ्नो त्यो हिंस्रक अतीत भुसुक्कै बिर्से । संसदमा हिजोदेखि आजसम्म भएका बाहुबली बितण्डाका अपजसहरु तिनका कर्ताहरुका नाउँमा तिनका कर्मको मात्राअनुसार वितरण हुनुपर्ने हो । तर, आफ्नो भागको अपजससमेत अर्काका थाप्लामा थोपरेर हाम्रा यी महान् मनीषीहरु दूधले धोइएका स्वच्छ र पवित्र पात्रको अभिनय गर्नमा तल्लीन छन् ।
यथास्थितिको महलका हाम्रा ज्ञानी–मनिषीहरु लघुदृष्टिका धनी छन् । यी केवल झिँगा देख्छन्, तिनको उद्गमस्थल देख्दैनन्
संसदमा बाहुबलको अभिव्यक्ति त्यस्तो परिणाम हो जसको पृष्ठभूमिमा निश्चय नै खास कारण लुकिबसेको हुन्छ । केवल परिणामको भत्र्सना गर्नु र कारणतिर आँखा चिम्लिनु नाकअगाडि भन्किएको झिँगो देख्नु तर झिँगाको उद्गमस्थल देख्न नखोज्नु हो ।
यथास्थितिको महलका हाम्रा ज्ञानी–मनिषीहरु लघुदृष्टिका धनी छन् । यी केवल झिँगा देख्छन्, तिनको उद्गमस्थल देख्दैनन् कथित संविधानसभामा बाहुबली अभिनयका साथ सबैभन्दा चर्को आक्रोश प्रकट गर्नेहरुमा मधेशी र जनजाति थिए । र, निरन्तर चर्काे स्वरमा नारा लगाउनेहरुमध्ये दलित र महिलाहरु थिए । ती जो थिए आखिर तिनै किन थिए ? ती किन थिए भने तिनका आहत चित्तमा सदियौँदेखिको उत्पीडन, विभेद, वञ्चना र अपमानबाट उत्पन्न आक्रोशको आगो बलेको थियो । त्यो ऐठनकारी आगो हो । त्यो सन्तापकारी आगो हो । त्यो विस्फोटक आगो हो । तिनको त्यो बाहुबली हुङ्कार र त्यो गगनभेदी चित्कार त्यो हुङ्कार र चित्कारका स्रष्टाहरु अर्थात् सत्तावासी उत्पीडकहरुका संवेदनाहीन कानका जालीमा कम्पन पैदा गर्नमा समर्पित थियो । ऐठनको आगोबाट उठेको त्यो हुङ्कार र सन्तापको ज्वालाबाट उठेको त्यो चित्कारमा क्रूर, दमनकारी र असहिष्णु सत्ताको वास्तविक चरित्र उजागर भएको थियो । तर बाहुबली कृत्यको अखण्ड निन्दा गर्ने यथास्थितिका उपासक, रक्षक र पूजकहरुले त्यो देखेनन् । त्यो देख्न सक्ने भए ती कुरुप यथास्थितिका द्वारपाले किन पो हुँदा हुन् र ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: