हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौं, ती उपलब्धिहरु महान उपलब्धि थिए, त्यसलाई नै हामीले रक्षा गर्यौं, त्यसैको जगमा टेकेर अब अगाडि जाने हो । एउटा समृद्ध समाजवाद हुँदै अघिल्लो दिशातिर जाने हो भने नेपालमा अब एउटा उत्पादक शक्ति र श्रमको उत्पादकत्वको विकास नगरीकन हामीले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिँदैन ।अहिले देशभित्र जुन प्रकारको संकटको बादल मडारिइरहेको छ, पूराना उपलब्धिहरु गुम्ने त होइन भन्ने खतरा छ, त्यसलाई बचाउन हामीले ध्यान दिनै पर्दछ । त्यसमा भक्ति पाण्डेले बाबुराम र प्रचण्ड मिल्नुपर्दथ्यो, मिल्नुपर्दछ भनेर पटक पटक भन्नुभएको छ । हामी मिल्न नचाहेको होइनौं, हामी मिल्न अहिले पनि चाहन्छौं, मिल्ने सम्भावना भोलि पनि रहन्छ तर सम्भावना हुनको लागि विचार एक ठाउँमा हुनुपर्दछ । विचार, नीति र कार्यक्रम एक हुनुपर्दछ । अब नेपालमा पुरानो माओवादको जुन एउटा परिभाषा हो, जुन ढंगले हामीले हिजो बुझ्यौं, त्यसले अहिले पुग्दैन । हिजोको युगको लागि त्यो ठीक थियो । खासगरी माक्र्सवादको आधारभूत तत्व द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद त एउटा विज्ञान हो, विज्ञानले त्यसलाई पुष्टि गरेको छ । तर त्यसको प्रयोग विभिन्न देशहरुमा जुन ढंगले भयो, खासगरी स्टालिनको पालापछि जुन ढंगको यान्त्रिकीकरण भयो र जड र यान्त्रिकतामा त्यसलाई गिराइयो र पार्टी र सत्तालाई एउटा ठूलो नोकरशाही संयन्त्रमा परिणति गरियो, संसारभरीका कम्युनिष्टहरुले त्यसैलाई यान्त्रिक नक्कल गरे र नेपालमा पनि हामी त्यसको नक्कलबाट मुक्त हुन सकेनौं । त्यहीकारण त्यो विज्ञान अलिकति ‘डेभिएटेड’ भएकै हो । त्यसैले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका आधारभूत तत्वहरुमाथि टेकेर समयानुकूल हामीले विकास र परिमार्जन गर्नु पर्छ । माओवादलाई हामीले किन प्रयोग गरेका थियौं भने त्यसका दुईवटा पक्ष थिए । एउटा दार्शनिक पक्ष हो, त्यो फेरिँदैन, तर राजनीतिक पक्ष हो, त्यो समयानुकूल परिवर्तन हुन्छ । हामीले माओको पूर्वकाल पुरानो सत्ताका विरुद्ध किसानहरुलाई जागृत गराएर विद्रोह संगठित गराउने अभियान माओले जसरी चीनमा माओवादको प्रयोग गरेका थिए, त्यसलाई नेपालको सन्दर्भमा पनि हामीले प्रयोग गरेकै हो । तर हामीले सम्पूर्ण सत्ता जनताको हातमा पुर्याउन सकेनौं । सम्झौताको बाटो लिनुपर्यो । त्यो अवस्थामा हामीले अलिकति बाटो मोडेकै हो । त्यसैले चीनमा माओ जसरी अगाडि जानुभयो, त्यसरी हाम्रोमा सम्भव थिएन । अब हामीले एउटा नयाँ बाटो लिनै पर्दथ्यो । त्यसैले विकास र समृद्धिको एउटा नयाँ बाटोमा टेकेर मात्रै बाँकी अरु बाटो हामी अगाडि जान सकिन्छ । त्यसर्थ, माओवादको पनि हुबहु नक्कल यहाँ हुन सक्दैन । त्यसैले म हिजोका सम्पूर्ण माओवादी क्रान्तिकारी साथीहरुलाई र अन्य कम्युनिष्ट क्रान्तिकारी साथीहरुलाई पनि के आग्रह गर्न चाहन्छु भने माक्र्सवाद भनेको कुनै एउटा यान्त्रिक जडसुत्र होइन । समयानुकूल ठोस स्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्ने एउटा विज्ञान हो । नेपालको सन्दर्भमा हामीले त्यो आँट गर्नुपर्दछ । म लगायत केही साथीहरुले नेपालको सन्दर्भमा अलिकति फरक ढंगले जाने आँट गरेकै छौं । त्यसैले साथीहरुले पनि अब त्यही ढंगले सोचिदिनुभयो र आफूलाई पनि केही रुपान्तरित गरेर नयाँ ठाउँमा ल्याउन सक्नुभयो भने भोलि हामी एकठाउँमा हुन सक्छौं । व्यक्तिगतरुपमा हाम्रो (प्रचण्डसँग) केही पनि दुश्मनी छैन । तर अहिले हाम्रा बुझाई, नीति र कार्यक्रमहरुमा जुन अन्तर छन्, त्यसले हामी एकठाउँमा रहन सम्भव छैन । (चाचा भक्ति पाण्डेको संघर्षरत यात्रा पुस्तक सार्वजनिकरणमा ब्यक्त विचारको सम्पादित अंश)
प्रतिकृया लेख्नुहोस्: