माघ ८ गते, २०७३ शनिवार 21st January, 2017 Sat१५:२५:३५ मा प्रकाशित
चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको महान् नेता थिए । उनले चिनियाँ क्रान्तिकाबेला ३४/३५ महिनासम्म लम्बे अभियान चलाएका थिए । त्यतिबेला लम्बे अभियानमा जाँदा माओ त्से तुङले ८० हजार लालसेना लिएर जानु भएको थियो । एक वर्षपछि युनान प्रान्तको सुनयेन भन्ने ठाउँमा (जुन ठाउँलाई जुली पनि भनिन्छ) पुग्दा जम्मा तीन हजार सेना बाँकी भए । तर उनी निराश भएनन्, अब हामी नयाँ तरिकाले जानु पर्छ भनेर भनेर नै अगाडि बढे । माओ विचारक पनि थिए । उनी सिद्धान्तकार लडाकु र योजनाकार पनि थिए । त्यसकारणले नै चीनमा क्रान्ति सम्पन्न भयो ।
[caption id=\"attachment_113838\" align=\"alignleft\" width=\"243\"] हस्तबहादुर केसी[/caption]
नेपाली क्रान्तिको मोडल पनि चिनियाँ नै हो । तर चिनियाँ मोडलअनुसार क्रान्ति हुन सकेन । नेपाली क्रान्तिमा नेतृत्वको कारणले जनयुद्धबाट जनमुक्ति सेना हुँदै सबै कुरा गुमायौं । जनमुक्ति सेना, जनता र कार्यकर्ताको कारणले गर्दा हामीले जनयुद्धबाट प्राप्त सबै किसिमका हतियारहरु गुमाउन पुगेका हौं । खासगरी नेतृत्वमा आएको वैचारिक विचलनले गर्दा नै नेपाली क्रान्तिले सबै कुरा गुमाएको हो ।
तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ सालदेखि दश वर्ष नेपालमा जनयुद्ध भयो । दश वर्षे जनयुद्धबाट शान्ति प्रक्रिया हुँदै माओवादी आन्दोलन करिब करिब विघटनकै आवस्थामा आइपुग्यो । दश वर्षे जनयुद्ध हुँदै स्थापित भएका माओवादी नेताहरु अहिले विभिन्न कित्तामा उभिएका छन् । एक समय क्रान्तिकै नायक भनिएका नेताहरु संसदीय भासमा डुबेका छन् भने कोही माक्र्सवाद, लेनिनवाद र माओवादी नै गलत भएको भन्दै कम्युनिष्ट विचारबाट च्यूत भएर मालेमावादी विचारबाटै अलग भएका छन् ।
वर्गयुद्धको नेतृत्व गर्ने नेताहरु सिद्धान्तकार र विचारक मात्र भएर पुग्दैन । त्यसका साथसाथ एक जुझारु योद्धा अर्थात लडाकु हुनुपर्छ । नेपालको माओवादी आन्दोलनको विगत र वर्तमान अवस्थालाई हेर्दा राजनीतिक नेतृत्वका रुपमा स्थापित भएका नेताहरु विचारक र लडाकु के थिए भन्ने केलाउनु जरुरी छ ।
जनयुद्धको डिजाइनर प्रचण्ड
दश वर्षे जनयुद्धको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा –माओवादी केन्द्र)का अध्यक्ष छन् । उनी प्रधानमन्त्री पनि हुन् । जनयुद्धको योजना बनाउने, जनयुद्धको सैद्धान्तिक राजनीतिक तथा वैचारिक सबैको डिजाइन गर्ने काम प्रचण्डले नै गरे । वर्ग संघर्षमा खासगरी जनयुद्धको नीति पारित गराउन, नीति ल्याउने प्रस्ताव गराउने काम प्रचण्डले नै गरेका हुन् । त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि पार्टीले प्रचण्डलाई नै दियो ।
प्रचण्डले नेतृत्व गर्दै आउने क्रममा जनयुद्ध वर्ग संघर्ष टकरावमा जान थाल्यो । सत्तासँग आमनेसामने भयो । त्यसपछि प्रचण्ड भागेको भन्ने नै छ । त्यो बेला खाराको लडाइँका क्रममा जब तत्कालिन शाही सेनासँग जनमुक्ति सेनाको प्रत्यक्ष लडाइँ भयो, त्यहाँ जनमुक्ति सेना पराजित भयो । जनयुद्धका कमाण्डर भए पनि त्यतिबेला मात्रै पहिलो पटक प्रचण्डले प्रत्यक्ष लडाइँ देख्न पाए । खारामा भएको लडाइँको उनले नै नजिकबाट कमाण्ड गरेका थिए ।
जब अमेरिकी सेनासहितको टोलीले लगातार नाइटभिजनबाट आक्रमण गर्यो, त्यसपछि नै उनी भागेर लोकतान्त्रिक गणतन्त्र हुँदै सुरक्षित अवतरणका लागि शान्ति प्रक्रियातिर मोडिएका हुन् । प्रचण्ड खारा आक्रमणपछि डराएर नै भागेको भन्ने एमाओवादीसँग अलग भइ गठन भएको मोहन वैद्य किरण नेतृत्वको माओवादीको बौद्ध भेलाको दस्तावेजले पनि विश्लेषण गरेको छ ।
त्यतिबेला जनमुक्ति सेनाले हारेको भए पनि पार्टीको विचारले हारेको थिएन । प्रचण्ड लडाकु भएका भए बचेको सेनालाई संगठित गरेर साहस बटुलेर अगाडि बढ्नु पर्दथ्यो । प्रचण्डले माक्र्सवाद, लेनिनवाद, माओवाद त भन्दै छन् तर ब्यवहारतः त्यस्तो देखिएको छैन । उनी प्रतिक्रियावादी राज्यसत्तासँग नजिकिएका छन् । प्रतिगामी संविधानलाई कार्यान्वयन गर्ने दिशामा नै उनी ज्यान फालेर लागिपरेका छन् । अहिलेको संविधानलाई कांग्रेस, एमालेले समेत मतलव गर्न खोजिरहेको छैन तर प्रतिगामी संविधानलाई ‘उत्कृष्ट संविधान’ भनेर प्रचण्डले ब्याख्या विश्लेषण गरिरहेका छन् । मरिमेटेर भारतको निर्देशनमा उसका सामुन्ने लम्पसार परेर कार्यान्वयनमा गएको देखिन्छ । अहिले गरिएको संविधान संशोधनको प्रस्ताव कसैको दबाब र बाध्यतामा गरिएको भनेर स्वयं माओवादी केन्द्रकै नेताहरुले सार्वजनिक अभिब्यक्ति नै दिँदै आएका छन् ।
यो स्थितिलाई हेर्दा फेरि पनि युद्धमा फर्किने भन्ने त प्रचण्डको सम्भावना नै देखिदैन । उनमा एक किसिमको डेभिएशन नै भइसकेको छ । उनी लडाकु पनि नभएको, विचारक र वीरयोद्धा पनि नभएकै कारण जनयुद्धको विरासत सबै विघटनतिर पुग्यो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले त ‘प्रचण्डपथ’ भन्ने अनुमोदनसमेत गरेको थियो । त्यो समेत स्वयं प्रचण्डले नै सिध्याए । प्रचण्डपथ अनुमोदन भएको अहिले सुन्दा पनि कता कता अनौठो लाग्छ । त्यसैले उनी विचारक पनि होइनन्, र लडाकु पनि होइनन् ।
किरण माक्र्सवादी ज्ञाता हुन्, लडाकु होइनन्
तत्कलिन नेकपा (माओवादी)का बरिष्ठ नेता मोहन वैद्य किरण नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष छन् । मोहन वैद्य किरण एक क्रान्तिकारी योद्धा नै हो, उनी विचारक पनि हुन् । किरण कमरेडको विचार, विश्लेषण, बुझाइहरु सबै छन् । माक्र्सवादी ज्ञान सिद्धान्तमा उनी अहिले सम्भवतः अहिले दक्षिण एशियाकै पहिलो छन् । अहिलेसम्म उनका समकक्षी देखिदैनन् । यद्यपी कतिपय सौन्दर्यशास्त्री, भाषाशास्त्रीहरु होलान्, किरणका पनि गुरुहरु होलान् तर जहाँसम्म उनी जुन सतहमा छन् र पार्टी नेतृत्व गर्दै पनि गर्दै छन्, त्यो हिसाबले उनी माक्र्सवादी ज्ञाता नै हुन् । उनले आवश्यक परे फेरि पनि जनयुद्ध, जनविद्रोह गर्नुपर्छ भन्दै पनि छन् । उनी क्रान्तिकारी नेता नै हो । वैचारिक नेतृत्व तथा विचार पनि उनीसँग छ । तर कमरेड किरण पनि लडाकु भने होइन ।
हुनत किरणलाई लडाकु हो कि होइन भन्ने बेला आएको छैन । हिजो पार्टी जनयुद्धमा हुँदाको जिम्मा प्रचण्डलाई दिएका थिए । अहिले चाँही प्रचण्डलार्य बुझ्न सकिएनछ, चिन्न सकिएनछ भन्दैछन् । उनले आशा र विश्वास गरियो तर चिन्न सकिएका रैनछ, के गरम् त नि भन्ने गरेका छन् । हुनत प्रचण्डसँग आशावाद सबै जना भएकै हो । दुनियाँ नै आशावादी भएको थियो । यद्यपी वर्ग संघर्षको उठान गरौं भने अहिले ब्यवहारमा नगएकाले पनि किरणको परीक्षा हुन भने बाँकी नै छ । फेरि हामी अहिले नै मनोगतवादी हुने कुरा पनि आउँदैन । नेपाली समाजको वर्ग विश्लेषण गर्दा भने किरणले सहि ढंगले नै ल्याएका छन् । अब वर्ग संघर्षमा जाँदा उनी टिक्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्न बाँकी नै छ ।
विप्लव ‘इमोस्नल’
माओवादी आन्दोलनका नेताहरु मध्येका एक हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ । एकीकृत नेकपा माओवादीबाट मोहन वैद्य किरणसँगै विद्रोह गरी विप्लव ड्यास माओवादीमा आएका थिए । ड्यास माओवादीबाट अलग भएपछि उनले नेकपा (माओवादी) भन्ने छुट्टै पार्टीको नेतृत्व गरेका छन् । हिजोका दिनमा उनी सहायक नै थिए । उनी युद्धकालिन अवस्थामा कार्यकर्ता नै हो ।
एमाओवादीबाट विद्रोह गरेर ड्यास माओवादी बनाएको पनि किरणकै नेतृत्वमा भएकाले त्याहाँ पनि विप्लव सहयोगी मात्रै थिए । अहिले विप्लवले एकीकृत जनक्रान्तिको सिद्धान्त भनेर अघि सारेका छन् । उनी पनि अहिलेसम्म वर्ग संघर्षमा होमिएका छैनन् ।
विप्लवमा जोस, जाँगर र उत्साह छ । उनी लडाकुयोद्धा अथवा विचार होइन कि मोस्नल चाँही हो । उनले कार्यकर्ताहरु चलाएका छन् । इमोस्नल किसिमले मात्रै उनले कार्यकर्ता चलाएका छन् । पछिल्लो जनयुद्धदेखि भने विप्लवले राजनीतिक विकास गरेकै हुन् । तर पनि लडाकु विकास गर्दै वर्गयुद्धमा गएर नेतृत्व गर्न सकेमा विप्लव स्थापित वीरयोद्धा हुनुहुनेछन् । त्यसका लागि विचार पनि चाहिन्छ । सत्ता कब्जा गर्न विचार, लडाइँ र साहस तीन वटै कुरा चाहिन्छ । तर अहिले सम्मको अवस्थालाई हेर्दा विप्लव सिद्धान्तकार पनि होइन, विचारक पनि होइनन् र लडाकु योद्धा पनि होइनन् ।
बाबुराम इमान्दार तर विचारविहिन र सून्य
माओवादी जनयुद्धका समयमा डा.बाबुराम भट्टराई एक चर्चित नाम हो । उनी राजनीतिक मात्रै नभएर बौद्धिक छबिका नेताका रुपमा पनि दरिएका थिए । भूमिगत कालमै पनि खुलामोर्चादेखि वार्ता संवादहरुम पनि भट्टराई नै देखिएका थिए ।
माआवादी जनयुद्धकालिन अवस्थामा पार्टीको नेतृत्व भनेकै प्रचण्डपछि बाबुराम थिए तर उनी अहिले माक्र्सवाद नै मान्नु हुँदैन भनेर कित्ता नै छाडेर गएका छन् । तर उनले छलछामपूर्ण तरिकाले आफू माक्र्सवादी र क्रान्तिकारी नभएको कुरा इमान्दारीपूर्वक नै ब्यक्त गरेका छन् । बाबुराम अहिले विचारविहिन र सून्यमा नै झरिसकेका छन् ।
हिजो चाँही माक्र्सवाद, लेनिनवाद, माओवादलाई स्वीकार गरेर आए । बाबुरामले ‘आँखीझ्याल’ भन्ने किताब नै लेखे । उक्त पुस्तकमा उनले तत्कालिन नेपाली समाजको वर्ग विश्लेषण, तत्कालिन नेपाली समाजको अर्थतन्त्र र नयाँ जनवादी क्रान्तिको अर्थतन्त्रकोबारेमा राम्रो तरिकाले ब्याख्या विश्लेषण गरेका छन् । उनी क्रान्तिकारी विचारमै मान्छे थिए र नेतृत्वको तहमा पनि पुगेका हुन् । सबैले प्रचण्डसँग बाबुरामलाई नै जोड्दथे । बरु प्रचण्डसँग किरणको नाम कम जोडिन्थ्यो ।
पालुङटार बैठक ६५ को प्लेनम हुँदै आउँदा बाबुराम प्रतिगामी संविधान बनाउने दिशामा लागे । त्यतिबेलाको खरिपार्टी भेलाको भाव सामन्तवाद, साम्राज्यवाद विरोधी सारतत्व गएको जनताको गणतन्त्रात्मक संविधान बनाउने भन्ने नै थियो । यदि त्यस्तो संविधान बनाउन दिइएन भने विद्रोह गर्नुपर्छ भन्ने खरिपाटीको निश्कर्ष थियो । तर पालुङटार भेलासम्म पुग्दा कोर्ष फेरि बदलियो । पालुङटारमा प्रचण्ड, किरण र बाबुरामको तीन वटा दस्तावेज आयो । जनताको जनसंविधान बनाउने भन्ने पुरानै भावसहित किरणले ल्याए, जतिबेला एकीकृत माओवादी संविधानसभामा नै थियो ।
शान्ति र संविधानको संशोधनवादी बुर्जुवा गणतन्त्रवादी अर्थात संसदीय बुर्जुवा गणतन्त्रवादी संविधान बनाउने भन्ने भावसहितको दस्तावेज बाबुरामले ल्याए । त्यसपछि बाबुराम प्रधानमन्त्री भएको बेलामा एक वर्षपछि संविधानसभा विघटन नै भयो । अहिले म कम्युनिष्ट नै होइन भनेर बाबुराम इमान्दारीपूर्वक नै बाटो लागेका छन् ।
बादल संगठन हुन्, पार्टीले खटाएको काम गरे
रामबहादुर थापा बादल माओवादी जनयुद्धका बेला एक लडाकु हुन् भन्ने एक किसिमको बुझाइ थियो । उनको रसियामा गएर अध्ययन गरेका कुरा पनि चर्चामा आउँथे । तर उनले पार्टीको नेतृत्व गर्ने मौका पाएनन् । मोहन वैद्य किरणसँग अलग भएर समानन्तर पार्टी बनाए पनि उनले दुई दिनमै प्रचण्डमा गएर बिलिन भए ।
लडाकु भएको भए बादल अहिले आएर प्रचण्डसँग जाँदैनथे । उनले हिजो काम गरेको इतिहास चाँही हो तर आजको अवस्थालाई हेर्दा उनी कुनै विचारक र लडाकु दुवै होइनन् । जनयुद्धकालमा पनि बादलले पार्टीले खटाएको ठाउँमा काम गरे । जनयुद्धकालिन समयलाई हेर्दा बादल संगठन हो । इतिहासलाई मूल्यांकन गर्दा उनले हिजो कार्यकर्ता उठाउने काम गरेका हुन् । संगठक भएको कारणले लडाकु दस्तालाई प्रशिक्षण दिने काम उनले गरेका थिए । उनले नेतृत्व नगरेको कारणले पनि विचारक र लडाकुयोद्धा दुवै हुन सकेनन् । तर बादलले अहिले आएर आफ्नो इतिहास आफैले सिध्याएका छन् ।
मात्रिका र मणि थापाहरु बिनाविचारका पंगु
माओवादी आन्दोलनले जन्माएको नेताहरु मध्येका अर्का नेता हुन् मात्रिका यादव । उनी माओवादी आन्दोलनले जन्माएको मधेसका एक नेता हुन् । उनले जनयुद्धकालमा पनि आफूलाई माओवादीको एक सिपाही भन्दै आएका थिए । तर उनी लडाकु भने होइनन् ।
शान्ति प्रक्रियामा आएपछि उनलाई मन्त्रीसमेत बनाइयो । तर उनी मन्त्री भएपछि बढ्ता जान्ने बन्न खोज्दा कारबाहीमा परे । उनी सबै भन्दा बिग्रिएको प्रचण्डको बढी पिछलग्गु भएर नै हो । उनी मन्त्री भएर आफूलाई बढ्दा देखाउन खोजेर एलडीओलाई पिटेपछि नै मात्रिका सिद्धिए । मेरो बुझाइमा आलोक प्रवृति आएको पनि प्रचण्डकै कारणले हो ।
मात्रिकामा विचार भएको भए कताकता घुमेर अहिले फेरि त्यहि गोलचक्करमा जानै नै थिएनन् । मात्रिका र मणि थापाहरु भनेको विनाविचारका पङ्गु हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: