पञ्चायतको ‘सांस्कृतिक विरासत’लाई नै ‘राष्ट्रियता’ वा ‘राष्ट्रिय एकताको आधार’ ठानिरहेको गणतान्त्रिक राजनीति सूबथाको सौर्यगाथा हुँदै कता जाँदैछ, सजिलै अनुमान लगाउन सकिन्छ ।गोविन्द केसी प्रकरणमा चिकित्सा क्षेत्रको व्यापारीकरणका विरोधमा, दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवाका पक्षमा र गरिखाने वर्गले सर्वसुलभ स्वास्थ्य उपचार पाउनुपर्ने हकका बारेमा फेसबुक–ट्वीटरमा एकथरी पत्रकारहरूले ‘अभियान’ जस्तै चलाएका थिए । कतिपय ‘नागरिक अधिकारकर्मी’हरूले स्वास्थ्य क्षेत्रजस्तो जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको सेवाक्षेत्र राज्यको दायित्वभित्र पर्नुपर्छ भनेर वकालत पनि गरेका थिए । राजधानीभित्र मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिनुहुन्न भन्दै दूरदराजका जिल्लाका जनताको स्वास्थ्यमा ध्यान नदिइएकोमा आक्रोशित हुने ठूलो पंक्ति फेसबुक–ट्वीटरमा सक्रिय थियो । तर, जब साँच्चिकै जनताको स्वास्थ्य खतरामा पर्यो, जब साँच्चिकै दुर्गम क्षेत्रका जनता उपचारबाट वञ्चित भए, जब साँच्चिकै औषधि र डाक्टर दूरदराजमा पुर्याउनुपर्ने बेला आयो, अनि मूलधारका कतिपय मिडियाले मुन्टो बटार्न थाले । हिजो जनताले निशुल्क उपचार पाउनुपर्छ भन्दै चर्को नारा लगाउने ‘अगुवा’ आज अमूक पार्टी उपनिर्वाचनमा हार्यो भन्दै फेसबुकमा ‘खुच्चिङ’ लेखेर मनोरञ्जन लिइरहेका देखिन्छन् । हिजो स्वास्थ्य क्षेत्रका ‘भ्रष्टचारीहरू जेल परुन्’ भन्ने टिसर्ट बाँड्ने परोपकारीहरू आज राज्यले जाजरकोटप्रति देखाएको भ्रष्ट आचरण देखो–नदेखो गरिरहेका छन् । शिक्षण अस्पतालको प्रांगणमा लोकप्रिय जुलुस निकालेका श्वेतवस्त्रधारीहरूमध्ये को–को पुगे जाजरकोटको मुद्दा लिएर प्रधानमन्त्री निवास ? आफूलाई दुर्गमका जनताको स्वास्थ्यका पक्षमा छु भन्ने पत्रकारहरू अहिले किन मुखमा पिँडालु हालेर बसेका छन् ? उनीहरू वास्तवमै दुर्गमको जनताको स्वास्थ्यको चिन्ता गर्नेहरू थिए भने बागलुङमा अमुक पहिचानवादी हारेको खुशीमा होइन, जाजरकोटमा जनता थलिएको र मारिएको शोकमा फेसबुक स्टाटस लेख्ने थिए । उनीहरू वास्तवमै सामाजिक कार्यकर्ता वा अभियन्ता हुन्थे भने दिल्लीको मेदान्त अस्पतालमा आयु थप्न गएका पञ्चनेता सूर्यबहादुर थापाको वियोगमा रुने थिएनन्, मध्यपश्चिममा राज्यको हेलचक्राइँबाट मारिएका निर्दोष केटाकेटी–बूढाबूढी सम्झेर राज्यको उदासिनतालाई धिक्कार्ने थिए । परोपकारी पत्रकारिताको वकालत गर्दै आएका रवीन्द्र मिश्रसँग विमल आचार्यले फेसबुकमा जुन गुनासो गरेका छन्, त्यो धेरै श्रोताको चासोको विषय अवश्य हो । पछिल्ला दिनमा कवितामार्फत् भ्रष्ट व्यक्तिहरूलाई ‘पाप त एक दिन लाग्छ, लाग्छ’ भन्दै हिँडेका बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र एकजना निमित्त पात्र मात्रै हुन् । सूर्यबहादुरको सौर्यगाथा ठूला भनिएका सबै मिडियाले गाइरहेकै छन् । कम्युनिस्ट आन्दोलनका स्थापित नेताहरू पनि उनकै वियोगमा देखावटी भावुकता प्रदर्शन गरिरहेका छन् । आचार्यजीमा भने अझै पनि नेपालको मूलधारको पत्रकारिता क्षेत्रप्रति एकप्रकारको विश्वास देखिन्छ । पत्रकारिता क्षेत्रको सामाजिक सम्पर्क र पहुँच भएका एकथरी पत्रकारहरू बिस्तारै ‘नयाँ शक्ति’को घोडा चढेर राजनीतिको मैदानमा आउन खोजेका जस्ता देखिन्छन्, तर उनीहरूले कसको राजनीति गर्नेछन् भन्ने तथ्य गोविन्द केसी प्रकरण र जाजरकोट प्रकरणमा उनीहरूले देखाएको दुईथरी भूमिकाबाटै प्रष्ट हुन्छ । जाजरकोटमा ज्यान गुमाइसकेका वा मृत्युको मुखतिर धकेलिइरहेका सयौँ जनताको चिन्ता कम र पञ्च नेता सूबथाको स्मृतिमा रोदन बढी देखाउनुभित्र लुकेको राजनीति आखिर त्यही हो । पञ्चायतको ‘सांस्कृतिक विरासत’लाई नै ‘राष्ट्रियता’ वा ‘राष्ट्रिय एकताको आधार’ ठानिरहेको गणतान्त्रिक राजनीति सूबथाको सौर्यगाथा हुँदै कता जाँदैछ, सजिलै अनुमान लगाउन सकिन्छ ।
प्रतिकृया लेख्नुहोस्: