\"देगमा उमालेर बनाइने अत्तरहरुको माग हाल छँदै छैन भने पनि हुन्छ\", भन्छन् पुष्पराज जैन। उनी एउटा अत्तर कारखाना प्रागमति अरोमा डिस्टिलरीका मालिक हुन्। \"आजको पुस्ता आधुनिक अत्तरमा रुचि राख्छन् र उनीहरुको मागलाई ध्यानमा राखेर नै मैले आफ्नो व्यापार व्यवसायमा पनि परिवर्तन गर्नुपरेको छ।\"उनको डिस्टिलरीमा देगमा पनि अत्तरहरु बन्छन्, ती सँगसँगै उनले आधुनिक अत्तर बनाउने नयाँ खाले यन्त्र पनि राखेका छन्। कन्नौजमा अत्तरको भविष्यलाई लिएर विद्यमान असहजता व्यापक रुपमा देख्न सकिन्छ। मुन्नालाल एण्ड सन्सका एकजना अत्तरशिल्पी उस्मानलाई आफूले तयार पार्ने उत्पादनको गुणस्तरको उत्कृष्टतामा कुनै शंका छैन। “कृत्रिम रुपमा तयार पारिने अत्तर र प्राकृतिक अत्तरबीचको फरक भनेको माइक्रोवेभ ओभनमा पकाएको खानेकुरा र दाउराको चुलोमा पकाएको खानेकुराबीचको भिन्नता जस्तै हो,\" उनी भन्छन्। तर उनलाई के डर छ भने उनी काम गर्ने उद्योग विस्तारै मर्दैछ। उनले आफ्ना छोराछोरीलाई अरु नै पेशा अपनाउन मनाएका छन्। अरु पेशाबाट आफूले पाएको भन्दा बढी आम्दानी होस् र छोराछोरीको जीवन सहज होस् भन्ने उनी चाहन्छन्। कन्नौजमा टिकिरहनका लागि संघर्षरत अत्तर उद्योगको संकेत फेला पार्न केही गाह्रो छैन। हालसम्म सञ्चालनमा रहेका डिस्टिलरीहरुमा लगानी सुख्खा छ। कम्तीमा एउटाले महारानी भिक्टोरियाको जमानाको उपकरण प्रयोग गरिरहेको छ। कतिपय मृत अवस्थामा रहेका डिस्टिलरीहरु यत्रतत्र छन् । तिनीहरुका बन्द गरिएका झ्यालको कापबाट छिर्ने प्रकाशमा धूलो र माकुरोको जालोले भरिएका तामाका देगहरु देख्न सकिन्छ। यी स्थानहरुमा गुलाफको आत्माको झझल्को अझै रुमल्लिरहेको पाइन्छ । तर त्यसको बास्ना कतिञ्जेलसम्म सुंघ्न पाइएला त ? बीबीसी
प्रतिकृया लेख्नुहोस्: