विनासकारी भूकम्पले अपुरणीय क्षति पुर्याएको छ तर सबै मिलेर महाविपत्तिको सामान गर्नुको विकल्प छैन ।वैशाख १२ गते आएको विनाशकारी महाभूकम्प र त्यसयता लगातार आइरहेका पराकम्पनहरुले मुलुकलाई अत्यन्तै जर्जर बनाएको छ । ठूलो मनोवैज्ञानिक त्रास छ । असुरक्षाको भावना छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । धैरै मानिसहरु हताहत भएका छन् । करिव १२ खरब बराबरको भौतिक क्षति भएको छ । मानसिक क्षतिको त कल्पना नै गर्न सकिँदैन । यस्तो अवस्थामा महाविपत्तिको सामना गर्नुबाहेक हामीसामु अरु विकल्प छैनन् । महाविपत्तिको यस घडीमा रोएर–कराएर हुँदैन, सबै मिलेर विपत्तिको सामना गर्नैपर्छ । हामी यो विपत्तिको सामना कसरी गर्छौं ? कसरी एकताबद्ध, स्पष्ट योजना र कार्यक्रमका साथ अगाडि बढ्छौं ? मुलुकलाई नयाँ ढंगले कसरी बलियो पार्ने र तंग्राउने काम गर्छौं ? त्यसमा नै मुलुक र हाम्रो भविष्य जोडिएको छ । हामीलाई भावी पुस्ताले मूल्याङ्कन गर्ने विषय यही नै हो । नेपालमा जुन मात्राको भूकम्प आयो, यसको पूर्वानुमान गरिएकै थियो तर अनुमान गरिएअनुसारको तयारी चाहिँ थिएन । भूकम्पको पूर्वानुमान र तयारीबीचको ठूलो खाडलका कारण नै मुलुकले धेरै ठूलो क्षति व्यहोर्नुपर्यो । भूकम्पीय दृष्टिले नेपाल उच्च जोखिममा छ भन्ने कुरा विज्ञापनको हिसाबले मात्रै प्रचार गरियो, विपतको सामना गर्न समर्थ हुनेगरी तयारी गरिएन । राज्यको जुन संरचना छ, त्यसले काम गरेन । राज्यले आफ्ना लागि बनाएको आफ्नै घर समेत भत्किएका छन् । जसलाई भूकम्प प्रतिरोधी भनियो, त्यही घर भत्कियो । ‘भवन निर्माण आचारसंहिता’ लागू भएपछि बनेका सरकारी भवनहरु नै ढले । भूकम्प प्रतिरोधी भनिएका घर चार–पाँच वर्षमै के कारणले ढले ? यसप्रति गम्भीर हुनु आवश्यक छ । तर, यसो भन्दैमा सबै घरहरु ढलेका छैनन् । बलिया र राम्रोसँग बनाइएका घरहरु नभत्किएका प्रमाण पनि हामीसँग छन् । यसले के देखाउँछ भने जुन मात्रामा काठमाडौं ध्वस्त हुन्छ भनेर प्रचार गरिएको थियो, त्यस्तो देखिएन । काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको भनी एनजीओ–आईएनजीओले बढी प्रचार गरे तर सुरक्षासम्बन्धी काम चाहिँ गरेनन् । प्राकृतिक विपतसम्बन्धी सरकारले केही रणनीति त बनायो तर समयानुकूल संशोधन–परिमार्जन गरेन । स्थानीय निकायलाई अधिकारसम्पन्न निकाय बनाएनौं, ‘रिसोर्स’ सित स्रोत र साधनलाई एकीकृत गर्ने तथा उचित वितरण गर्न सक्नेगरी क्षमतावान् जनशक्ति तयार गरेनौं । तर, हामीसँग भएका सेना, प्रहरी, नागरिक समाजलगायत परोपकारी संस्थाहरुलगायत जति थिए, तिनले चाहिँ राम्रो काम गरेका छन् । बाहिर प्रचार भएजस्तो खत्तमै भएको अवस्था भने होइन । उद्धार र राहतका काम सम्पन्न भएसँगै अब हाम्रो ध्यान वृहत् नवनिर्माणकार्यमा जानु जरुरी छ ।
नवनिर्माणजस्तो ठूलो कार्यमा बाहिरको सहायोग लिनुपर्छ । तर, सहयोगका नाममा हामी वैदेशिक दासता स्वीकार्न चाहिँ सक्दैनौं । विपत्तिमा हामी सबै दुःखी छौं, पीडामा छौं, केही कठिनाइ छन् तर जस्तोसुकै चुनौतीमा पनि दासता स्वीकार्दैनौं; मुलुकको स्वाभिमान गिर्न दिँदैनौं । जुन मुलुकमा स्वाभिमान हुँदैन त्यस मुलुकका जनताका शिर ठाडो हुँदैहुँदैन । यति कुरा त बुझुनु पर्यो नि सचेत नागरिकले– खरबौं रकमभन्दा पनि मुलुकको स्वाभिमान निःसन्देह ठूलो कुरा हो ।कसरी गर्ने पुनर्निर्माण ?
प्रतिकृया लेख्नुहोस्: