जेष्ठ ३ गते, २०७२ आइतवार 17th May, 2015 Sun०७:३२:५८ मा प्रकाशित
काठमाडौं, वैशाख १२ मा गएको भूकम्पले र त्यसपछिका पराकम्पनले थुप्रै मानिसको बसाइलाई पालमा सारिदिएको छ । भूकम्पको यस्तो असरबाट सर्वसाधारणसँगै दलका नेताहरूको बसाइ पनि बिथोलिएको छ । भूकम्पको झड्का आउनासाथ नेताहरूले घरबाट हतार–हतार निस्किएर खुला ठाउँमा जानुलाई रुटिनजस्तै बनाएका छन् ।
सुशील कोइराला
बालुवाटारस्थित प्रधानमन्त्री सुशील कोइरालाको निवास भूकम्पका कारण चर्किएको छ । तर, प्रधानमन्त्रीको बेडरुममा केही नभएपछि कोइराला भूकम्पपछि पनि पुरानै स्थानमा सुत्दै आएका छन् ।
कोइरालाकी जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले भनिन्, ‘प्रधानमन्त्रीज्यू घरमै बस्दै आउनुभएको छ । बालुवाटारको घर चर्किएको छ । मर्मत हुँदै छ । तर, प्रधानमन्त्री सुत्ने कोठातिर चर्किएको छैन । त्यसैले पुरानै ठाउँमा सुत्नुहुन्छ ।’ नियमित भेटघाट पनि बालुवाटारको पुरानै कोठामा हुने गरेको जानकारी उनले दिइन् ।
केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित आफ्नै निवासमा बस्दै आएका छन् । वैशाख १२ मा भूकम्प गएपछिका केही दिन ओलीले बालकोटस्थित आफ्नो निवासको भुइँतलामा रात बिताएका थिए । त्यसपछि उनी दोस्रो तलामा रहेको पुरानै शयनकक्षमा फर्किएका थिए । ‘अहिले पनि उहाँ घरमै बस्नुहुन्छ,’ ओलीका सहयोगी राजेश बज्राचार्यले भने, ‘२९ गते शक्तिशाली पराकम्पन आउँदा उहाँ घरभित्रै हुनुहुन्थ्यो ।’ ओलीको निवास तीन तलाको छ ।
पुष्पकमल दाहाल प्रचण्ड
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरबाहिर पाल टाँगेका छन् । दिउँसोको भेटघाटदेखि खानपिनसम्मको काम निवासबाटै चलाए पनि रातिको समय सुत्नका लागि टेन्टमा पस्ने गरेका छन् । प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले प्रचण्डले शुक्रबारको रात भने घरभित्रै बिताएको बताए । ‘आउन सक्ने भूकम्पप्रति उहाँ सतर्क हुनुहुन्छ,’ उनले भने ।
डा.बाबुराम भट्टराई
एमाओवादी नेता डा. बाबुराम भट्टराईले भूकम्पपछिको अधिकांश समय काठमाडौंबाहिर बिताए । राहत तथा उद्धारकार्यमा उनी काठमाडौंबाहिरतिर बढी सक्रिय छन् । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा रहँदा भट्टराई भूकम्पप्रति सतर्क रहने गरेका छन् । तर पनि, उनले पालमा नभई सानेपास्थित पुरानै घरमा रात बिताउने गरेका छन् ।
झलनाथ खानाल
पहिलो भूकम्प जाँदा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाममा थिए । इलामबाट फर्किएयता उनी डल्लुस्थित आफ्नै घरमा बस्दै आएका छन् । ‘भूकम्प गएको दोस्रो दिन उहाँ काठमाडौं फर्किनुभयो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘काठमाडौं फर्केपछि घरमै बस्दै आउनुभएको छ ।’ डल्लुमा खनालको तीनतले घर छ ।
शेरबहादुर देउवा
१२ वैशाखको भूकम्पछि करिब पाँच दिन नेता शेरबहादुर देउवा बूढानीलकण्ठस्थित घरको प्रांगणमै टेन्ट हालेर बसे । पराकम्पन आउन नरोकिए पनि भूकम्प गएको पाँच दिनपछि उनी घरमै बस्न थाले ।
गत मंगलबार पुनः ठूलो पराकम्पन गएपछि देउवा पुनस् टेन्टमा सुत्न थाले । देउवाका सहयोगी भानु देउवाले भने, ‘अस्तिको ठूलो झड्कापछि उहाँ घरबाहिरै टेन्ट हालेर बस्न थाल्नुभयो । घरमा क्षति नपुगेको हुनाले शुक्रबार बेलुका उहाँ फेरि घरभित्रै सुत्न थाल्नुभयो ।’ टेन्टमा उनी परिवारका सदस्य र उनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसँगै सुतेका थिए ।
रामचन्द्र पौडेल
भूकम्पको डर नमानीकन कांग्रेस उपसभापति रामचन्द्र पौडेल घरभित्रै बस्ने गरेका छन् । करिब १५ वर्षअघि बनाइएको साढे दुई तलाको घरभित्र उनी सपरिवार बस्दै आएका छन् । उनका सहयोगी चिरञ्जीवी अधिकारीले भने, ‘वैशाख १२ र अस्ति मंगलबार भूकम्प गएपछि पनि उहाँ घरमै सुत्नुभयो । हामी केही सहयोगी साथीहरूचाहिँ टेन्ट हालेर बाहिर बस्यौँ ।’ भूकम्पछि पौडेल तनहुँ गएका थिए । तनहुँमै रात बिताउनुपर्ने भएपछि उनी जिविसको अतिथि गृहमा बसेका थिए । १२ गते भूकम्प गएपछि छरछिमेकका केही परिवारलाई पौडेलले आफ्नो घरको कम्पाउन्डमा पाल हालेर बस्न दिएका थिए ।
माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता माधवकुमार नेपालको घरको आँगनमा १२ गते भूकम्प गएपछि पाल टाँगिएको थियो । भूकम्प गएको वेला उनी बुटवलमा थिए । त्यो दिन चितवन बसेर भोलिपल्ट सडकमार्ग हुँदै उनी राजधानी फर्केका थिए । राजधानी फर्किएपछि उनले आँगनमा टाँगेको पालमा दुई रात बिताए । त्यसयता उनी घरभित्रै बस्दै आएका छन् । ‘भूकम्पको पहिलो झड्कामा उहाँ बुटवल हुनुहुन्थ्यो,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘काठमाडौं फर्केपछि केही दिन घरको कम्पाउन्डमै टाँगिएको पालमुनि बस्नुभयो । अहिले घरमै बस्नुहुन्छ ।’
यी नेताको पनि उस्तै हाल
एमाओवादी महासचिव कृष्णबहादुर महरा, सचिवहरू टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल र वर्षमान पुनको पनि रात्रि बसाइ पालमुनि नै छ । नन्दकिशोर पुन पासाङ र देवेन्द्र पौडेलजस्ता नेताले पनि घरबाहिर पाल टाँगेर रात बिताउने गरेका छन् ।
साँघुरा गल्ली भएका ठाउँमा बसाइ रहेकाले पौडेलले रातिको समय बढी सतर्कता अपनाउने गरेको बताए । पासाङले पालसँगै अब अलि व्यवस्थित अस्थाथी निवास बनाउँदै छन् । उनले भूकम्पबाट क्षति पुगेपछि आफू बस्दै आएको घर छाडिसकेका छन् ।
नेकपा–माओवादीका नेता मोहन वैद्य किरण, सिपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङलगायतका नेताहरूले पनि उत्तिकै सतर्कता अपनाएका छन् । कतिपय नेताहरूले पनि घरआसपास टाँगिएका पालमै रात बिताएका छन् । वैद्यका स्वकीय सचिव अरुण उपाध्यायका अनुसार ठूलो झट्का आएको दिन वैद्य घरबाहिर गाडीमा सुतेका थिए । त्यसयता उनी घरको भुइँतलामा सुत्दै आएका छन् ।
त्यसैगरी गजुरेल र बादल पनि ठूलो झ्टका आएका दिन गाडीमा सुतेका थिए । त्यसता उनीहरू पनि भुइँतलामै सुत्दै आएका छन् ।
उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम मन्त्रीनिवासमै बस्दै आएका छन् । भूकम्प गएको पहिलो दिन पालमुनि सुते पनि गौतम त्यसलगत्तै पुल्चोकस्थित मन्त्रीनिवासमै बस्दै आएका छन् । उपाध्यक्ष विद्या भण्डारी अनामनगरस्थित आफ्नै निवासमा बस्दै आएकी छिन् । उनी भूकम्पको पहिलो दिन पनि घरभित्रै बसेकी थिइन् । अर्का उपाध्यक्ष युवराज ज्ञवाली कलंकीस्थित घरमै बस्दै आएका छन् । पहिलो र दोस्रो दिन घरबाहिर पालमा बिताएका ज्ञवाली त्यसयता घरभित्रै बस्दै आएका छन् । माथिल्लो तलाको बसोबास छोडेर ज्ञवाली पनि भुइँतलामा बस्ने गरेका छन् ।
स्वयम्भूमा घर भएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि घरभित्रै बस्दै आएकी छिन् । शाक्यका श्रीमान् एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा घरको पहिलो तलामा बस्ने गरेका छन् । उपाध्यक्ष भीम रावल भूकम्प आए पनि घरमा बस्न छोडेका छैनन् । टोखास्थित मिराज कोलोनीमा रावलको दुईतले घर छ ।
ग्रान्डी टावरमा बस्दै आएका एमाले महासचिव ईश्वर पोखरेल भने बाँसबारीमा डेरा सरेका छन् । २९ वैशाखमा पोखरेल डेरा सरेका हुन् । अहिले उनी डेराभित्रै बस्दै आएका छन् । यस्तै उपमहासचिव विष्णु पौडेल भैँसेपाटीस्थित आफ्नै निवासमा बस्दै आएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: